Wednesday, 7 June 2017

तीता-मीठा पलहरु-१

                       भाग-१

        जीवन कहिले रहर त कहिले कहर भैदिंदोरहेछ।कहिले रोमाञ्चक र कहिले कहालीलाग्दो हुनेरहेछ।कहिले दु:ख लाग्छ र कहिले सुख।यी सब मनले निर्धारण गर्नेरहेछ।साँच्चिकै यो मनले पनि कहिलेकाही त कमालै गरिदिने रहेछ।एकछिनमा कल्पनाको जहाजमा चढेर बिश्वको परिक्रमा गरेर फर्किनेरहेछ।यो मन कहिले खित्का छोडेर हाँस्दोरहेछ र कहिले धुरुधुरु रुनेरहेछ।यही मनले खै के सोचेर हो,संयुक्त अरब इमिरेट्सको दुबई शहर आएको पनि लगभग ७ बर्ष पूरा भैसकेको थियोे।प्रबासी मन त झन ठेगानमा नरहने रहेछ,बेलगामको घोडा जस्तै।कहिले गायक बन्न मन लाग्ने र कहिले साहित्यकार।मनले यति तहल्का नमच्चाए त फेरि यो प्रबासको बसाइँ सहज कसरी हुन्थ्यो र?दुबई बसाइँको करीब ६ बर्ष त ब्यस्तमै बितिसकेको थियो।तर एक बर्ष जति भएको थियो-सुखको काम पाएको।पूरै १२ घण्टा बिना काम बसिरहँदा दिक्दार लाग्नु स्वभाविकै थियो।सोही १२ घण्टाको समयलाई सरल र सहज ढंगले ब्यतित गर्नको लागि मैले पनि साहित्यको पाटोलाई अंगालेको थिएँ।जानी-नजानी साहित्यका धेरै बिधामा मेरो कलम सल्बलाउन थाल्यो।भावनालाई साहित्यको रुपमा कलमको मसीले खाली पानामा उतार्न वास्तवमै बहुत आनन्ददायी हुनेरहेछ।संसारमा कतै नपाएको सुख र खुशी मैले साहित्यमा पाउन थालें।
        शुरूवातका दिनहरुमा मैले आफ्नै पाराले गजलहरु लेखेर फेसबुकको भित्तामा टाँसें।धेरै फेसबुक मित्रहरुबाट सकारात्मक टिप्पणी आउँदा मन झन हौसिएर कलमलाई निखार्न र तिखार्न थालें।पूर्व-पश्चिमका धेरै नारी र पुरुष मित्रहरू साथीको रुपमा जोडिए।दुई सय बाट छ सय मित्र बनाउन सफल भएँ।बि.सं. २०७३ सालमा फेसबुकबाटै चित परिचित १५० जना मित्रहरुको संयुक्त लगानीमा ५/५ गजल गरी जम्मा ७५० गजलहरुको संग्रह "सहकार्य" प्रकाशन गर्यौं।"सहकार्य" एउटा सफल र ऐतिहासिक कृतिको रुपमा चिनियो।तत्पश्चात हामीले अझ उत्साहित भएर नेपालको ७५ वटै जिल्लाका सर्जकहरु सम्मीलित "हातेमालो साहित्य संगम" गठन गर्यौं।दोलखा जिल्लाको प्रतिनिधित्व मैले नै गरेको थिएँ।हातेमालोमा संलग्न २५० जना सर्जकहरुको फेसबुक मेसेन्जरमा च्याट ग्रुपको पनि स्थापना गरियो।सबैले पालैपालो आफ्नो रचना राख्नेर प्रतिकृया दिन थाल्यौं।दैनिक तालिका र नियमहरु बनाएर रचना राख्दा मैले प्रायःजसो सबै साहित्यिक बिधामा कलम चलाएँ।
          देश-बिदेशमा रहेर कलम चलाउने अग्रज तथा समकालीन सहयात्रीहरुका लेख-रचनामा प्रायः आफ्नै कथा,ब्यथा र भोगाइहरु समेटिएका हुन्थे।ती रचनाहरुको रस्वादन गर्न पाउँदा आफ्नै दु:ख र पीडा पनि क्षणभरमै दूर हुन्थे।लेख्नको लागि थप प्रेरणा र उर्जा मिल्थ्यो।कसैको लेख-रचना नआएको खाली समयमा सञ्चो-बिसञ्चो लगायत दु:ख-सुखका बारेमा भलाकुसारी हुन्थ्यो।त्यसैले पनि हामी एक-अर्कामा भावनात्मक हिसाबले पनि समिप,कस्सिलो र बलियो हुँदै थियौं।ग्रुपमा ओकल्न र ब्यक्त गर्न नसकेका कतिपय कुराहरु ब्यक्तिगत इन्बक्समा गएर पनि ब्यक्त गर्न थाल्यौं।अनुभव आदनप्रदान गर्न थाल्यौं।कोही सजिलैसँग बोल्थे र कोही भने बोल्न रुचाउँदैनथे।त्यसो हुनु स्वभाविकै थियो किन भने सबैको रुचि,चासो र स्वभाव एकै खालका हुँदैनन्।
         इन्बक्समा कुरा गर्ने शिलशिलामा साहित्यकार कुमार काफ्ले,उपन्यासकार मालिका केशरी,गजल,मुक्तक,कविता कथामा शसक्त कलम चलाउनुहुने शारदा पौडेल,गणेश खतिवडा,तुलसीनारायण चित्रकार,अमृत समीर,सौगात निराशी मगर,प्रीति प्रतीक्षा,प्रकाश पाठक योगी,दिपेन्द्र अश्रुमाली,सुनिल अधिकारी,चोमु शेर्पा खुशी,बिपिन मर्म,वीरेन्द्र असीमित,संगीता श्रेष्ठ,अमर त्यागी,निर्दोष महता,राजु क्षेत्री अपूरो,सोनाम शेर्पा सनम,टसी शेर्पा,दिलकुमार कार्की,प्रतिमा लामिछाने र प्रेमकुमार केसी लगायत अन्य धेरै सर्जकहरुसंग अन्तर्कृया,छलफल र बहस हुन थाल्यो।उपन्यासकार मालिका केशरी र कुमार काफ्ले जस्ता मुर्धन्य ब्यक्तिहरुबाट आख्यानमा कलम चलाउने प्रेरणा मिल्यो।
         इन्बक्समा ब्यक्तिगत तथा पारिवारिक बिषयमा भलाकुसारी हुने क्रममा बारा जिल्लाका उदायमान तथा नवोदित साहित्यकार सौगात निराशी मगर लाई एकदमै नजिकको दूरीबाट बुझ्ने सुअवसर मिल्यो।पारिवारिक समस्याको कारण उच्च शिक्षा बाट बञ्चित हुनुभएका सौगातजीले पढाई छोडिसकेपछि उचित मार्गदर्शकको अभावमा कुलत तथा दुर्व्यसनीको सिकार हुनुपर्यो।जीवनमा कुनै उपलब्धि हासिल नहुने स्थिति देखा परेको कारण तनावग्रस्त हुँदै जाने क्रममा उहाँको संगत त्यस्तै कुलतमा फसेका साथीभाइहरु संग हुन पुगेको रहेछ।ती दिनहरुमा उहाँ गुन्डागर्दी र लडाइँ-झगडामा समेत सरिक हुनुभएको रहेछ।तर उहाँले बेलैमा आफूलाई चिन्नुभएछ।गलत मार्गमा लागेर जीवन झन बर्बादीतिर धकेलिएको महसुस गर्नुभएर असल कर्मतिर लाग्ने प्रण गर्नुभएको रे।उहाँको एउटै सपना रहेछ-पढेर आमाको सपना पूरा गर्ने।ठूलो मान्छे बनेर आमालाई सुखमा राख्ने।चरम आर्थिक अभावको कारण पढाइलाई निरन्तरता दिन नसकेको कारण ठूलो मान्छे बन्न नसकेको गुनासो उहाँले सुनाउनुभएको थियो।
"माङ सर!त्यसपछि मैले गाडी र ट्र्याक्टरहरुमा काम गर्न थालें।मेरो संघर्षका ती दिनहरु सम्झेर अझै पनि आँसु झर्छ।गाडीमा सामान लोड र अनलोडको काम गर्दा ज्यान गलेको र हातगोडा खिएको हिजै जस्तो लाग्छ।सानैदेखि दु:ख र कष्ट गरेर होला मेरो ज्यान लाग्न सकेन।केही महिना सहचालकको काम गरेपछि मैले पनि एउटा अठोट गरें-गाडीको लाइसेन्स निकाल्ने।इच्छाशक्ति भए असम्भव भन्ने कुरा केही रहेनछ।मैले लाइसेन्स निकालेरै छोडें।एक सालजति गाडी चलाएँ पनि।तर सोचे जस्तो प्रगति गर्न सकिएन र सुनौलो भबिष्यको परिकल्पना गर्दै आमाको अधुरो सपना पूरा गर्न मलेसिया हानिएँ।मैले यहाँ सुपरमार्केटमा क्यासियरको काम पाएको छु माङ सर।काम राम्रै छ।चाइनिज साहुले बिश्वास गरेका छन्।पूरै मार्केट मैले सम्हालेको छु तर सोचेजस्तो तलब पाउन सकेको छैन।जिन्दगीमा एउटै मात्र सपना छ-आमालाई सुखमा राख्ने,किन भने मेरी आमाले मलाई सानैदेखि बहुत दु:ख,कष्ट र मिहिनेतले हुर्काउनु भयो।मेरी आमाको ब्यथा सायद वर्णन गरेर साध्य छैन।म मलेसिया आएको ऋण तिरेर सानो घर बनाएको छु।अझै धेरै गर्न बाँकी छ।"
सौगातजीको कहालीलाग्दो यथार्थ कहानीले मलाई निकै भावुक बनायो।आफ्नो साहित्यिक सहयात्रीको पीडाले भरिपूर्ण ब्यथा सुनेर खेद प्रकट नगर्ने को होला र?मैले पनि गरें।धेरै पीडाहरु महसुस गरें,अनुभव गरें।मैले पनि आफ्नो दु:ख उहाँलाई सेयर गरें।हामीले आफ्नो सुख र दु:खका कुराहरु आदनप्रदान गर्न थाल्यौं।उहाँ हातेमालोको मेसेन्जर ग्रुपमा धेरै कृयाशील हुनुहुन्थ्यो।नव सर्जकहरुलाई धेरै सिकाउनुहुन्थ्यो।अग्रजहरुबाट आफूले पनि सिक्नुहुन्थ्यो।सिकाइको साझा चौतारी थियो हातेमालोको ग्रुप।शुरुमा मुक्तक र गजलमा अब्बल भएपनि बिस्तारै उहाँले पनि आख्यान बिधामा कलम चलाउन थाल्नुभएको थियो।हामीले लेख-रचनाहरु पनि इमेल मार्फत एक-अर्कालाई सेयर गर्ने गर्थ्यौं।उहाँको "आमाको अधुरो सपना" र "भड्किएको आत्मा" कथाले मेरो मन-मुटुको भित्री कुना-कुनासम्म स्पर्श गर्न सफल भएका थिए।ती कथाहरुको अध्ययन गरे जोकोहीको आँसु झर्ने निश्चित थियो।
            सौगातजी र मेरो बीचमा कहिले रमाइलो ,कहिले भावुक र कहिले साहित्यिक बिषयमा कुराकानी हुन्थे।हाम्रो मित्रताको जरा धेरै पर-परसम्म फिंजिएको थियो।कहिले मेरो गुरु उहाँ र कहिले उहाँको गुरु म हुन्थ्यौं।समग्रमा भन्नुपर्दा हाम्रो बीचमा माया थियो।सम्मान थियो।दिनहरु फलदायी हुँदै थिए।साहित्यमा फड्को मारिंदै थियो।
"माङ सर!केही दिनदेखि मेरो हातखुट्टा झमझमाउँदै छन्,किन होला?"
एकदिन उहाँले एक्कासी प्रश्न तेर्स्याउनुभयो।
"सौगात सर,तपाईं सधैं साहित्यमा लागिरहनुहुन्छ।सायद कमजोर हुनुभएको होला।समयमा खाना खाएर समयमै सुत्ने गर्नुस्।राती अबेरसम्म नबस्नुस्।एकपटक अस्पतालमा गएर जँचाउनुस् न सर।अनि खानेकुरामा बिशेष ध्यान दिनुस्।तागतिलो खानेकुरा खानुस्।"
मेरो सुझाबलाई उहाँले मनन गर्ने वचन दिनुभयो।डाक्टरको सल्लाह अनुसार औषधि लिन थाल्नुभएको थियो।तर उहाँको रोग निको भएन।मैले शारीरिक अभ्यास गर्ने सल्लाह पनि दिएँ।तैपनि २० को १९ भएन।उहाँ उपचारको लागि नेपालै जानुपर्ने भयो।
"माङ सर!मलेसियामा कस्तो सपना देखेर आएको थिएँ।तर सबै सपना अधुरै छोडेर जाँदैछु।मेरो सपना त पूरा भएन नै तर मैले मेरी आमाको सपना पूरा गर्न सकिन।देखेको सपना पूरा नहुँदा खासै दु:ख लागेको छैन।तर कसैलाई देखाएको सपना पूरा गर्न नपाउँदा अति पीडाबोध हुनेरहेछ।प्रवासको बसाइँ दुई साल भैसक्यो तर साहुको ऋण तिर्न सकेको छैन।आफ्नो लागि केही किन्दिन।झोला पनि पुरानैले काम चलाउँछु।अलिअलि भएको पैसाले मेरी आमाको लागि केही सामान किन्छु।मलेसियामा आउँदा जस्तो आएको थिएँ,उस्तै जाँदैछु।"
      नभन्दै सौगातजी स्वदेश जानुभयो।राजधानी पुगेर हातेमालो साहित्य संगममा आबद्ध साहित्यिक मित्रहरूसंग भेटघाट गर्नुभयो।नेपालको बसाइँ संगै उहाँ घरायसी काममा ब्यस्त हुनुभयो।बेला-बेलामा सबैलाई सम्झेको स्ट्याटस लेख्नुहुन्थ्यो।ब्यस्तताको बाबजुद पनि कहिलेकाही मेसेन्जर ग्रुपमा सामान्य हाइ हेल्लो हुन्थ्यो।तर उहाँ संग पहिलेको जस्तो कुराकानी हुन छोड्यो।तथापि मैले उहाँलाई सम्झिन भने छाडिन।सायद उहाँले बिर्सनुभएको छैन होला।
          नेपाली साहित्यलाई रंगीबिरंगी फूलको रुपमा लिंदै आफूलाई एउटा लोभी र प्यासी भमराको रुपमा स्थापित गर्दै विभिन्न फूलका रस्वादन गर्न उद्धत थिएँ।साहित्य यस्तो स्वादिलो रसको प्रचुर खानी रहेछ कि जति चुसिए पनि भण्डार कहिल्यै रित्तो नहुने रहेछ।खाली र फुर्सदको अमूल्य समयलाई साहित्यमा खर्च गर्दै जीवनको अमूल्य हिस्सा साहित्यमै समर्पित गर्न थालेको थिएँ।लेखेर के पाउँछु भनेर कहिल्यै चिन्तित भईन।आफ्नो साहित्यिक भविष्यको कुनै प्रवाह नगरी अनवरत रुपमा लेखनमै ब्यस्त भएँ।लेख्नु एक हिसाबले मेरो सौख पनि भैसकेको थियो।लेख्दा जति आराम र सन्तुष्टि सायद अरु कार्य गर्नमा देखिन।लेखनसंगै मेरो पठनपाठन कार्य पनि उस्तै गतिमा दौडिरहेकै थियो।अग्रज तथा समकालीन मित्रहरुका लेख-रचनाले मलाई थप हौसला,उर्जा र उत्साह मिल्थ्यो नै।वास्तवमा म साहित्यको महासागरमा चुर्लुम्मै डुबेर पौडिन थालेको थिएँ।उपन्यास,गजल,मुक्तक,कथा,कविता र अन्य बिधाहरुको संयोजनबाट निर्मित संयुक्त जहाजमा चढेर संसारको कुना-कुनामा सयर गर्न थालें।अर्को शब्दमा भन्नुपर्दा साहित्य मेरो लागि नशा-नशामा बग्ने रक्तबीज भैसकेको थियोे।स्वासप्रस्वासको लागि चाहिने नितान्त आवश्यक अक्सिजन भैसकेको थियो।माछालाई पानीको जति आवश्यकता थियो,मलाई साहित्यको उतिनै आवश्यकता थियो।साहित्य बिनाको मेरो जीवन अधुरो थियो।अपूरो थियो।असम्भव थियो।
          मेरा साहित्यिक मित्रहरुमध्ये अर्को एकदमै महत्वपूर्ण र अविस्मरणीय नाम हो ताप्लेजुङकी चोमु शेर्पा खुशी।हाम्रो प्रत्यक्ष साक्षत्कार नभए पनि हातेमालोले परोक्ष रुपमा भेट गराइसकेको थियो।उसो त हाम्रो बीचको फेसबुकके मित्रता भने हातेमालो भन्दा पूरानै थियो।अरु मित्रहरुले उहाँको रचनालाई सेयर र कमेन्ट गरेको बेला मैले उहाँको रचनालाई दिलमा सजाइसकेको थिएँ।फेसबुकमा मित्रताको लागि अनुरोध पनि पठाएँ।सागर भन्दा विशाल हृयद भएकी उहाँले अस्वीकार गर्ने कुरै थिएन।तर यतिबेला हाम्रो बीचमा सागर जतिको गहिरो सम्बन्ध भने थिएन।पछि हातेमालोमा जोडिएपछि भने हाम्रो परिचय संगै अन्तर्कृया पनि हुन थाल्यो।हामी एक-अर्काका साहित्यिक सहयात्री भयौं।साहित्यको मार्गमा मिलेर हिंड्न थाल्यौं।सुन्दर शारीरिक बनावट भएकी चोमुको कला,क्षमता र लगनशीलता अचम्मकै थियो।लेखनमा मात्र नभई उहाँ गायनमा पनि अब्बल हुनुहुँदोरहेछ।मीठो र सुरिलो आवाजकी धनी उहाँको म फ्यान भैसकेको थिएँ।कतै गीत रेकर्ड गर्नुपरेमा मैले सबैभन्दा पहिले उहाँकै स्वरमा गराउँछु भन्ने अठोट तथा प्रतिज्ञा गरें।उहाँलाई आशा समेत देखाउन भ्याएँ।तर मेरो आफ्नै आर्थिक समस्याले गर्दा मेरो त्यो चाहना भने पूर्ण हुन सकिरहेको थिएन।साहित्य भन्दा पर गएर कहिलेकाही हामी ब्यबहारिक गफमा पनि जोड दिने गर्थ्यौं।जोड दिएको के भनौं,प्रसंगबश ब्यक्तिगत बिषयमा प्रबेश गर्थ्यौं।सानैदेखि संघर्षरत चोमुले पारिवारिक समस्याको कारण माध्यमिक तहको शिक्षा समेत पूरा गर्न सक्नुभएको थिएन रे।पछि उमेर पुगेर शिक्षाको महत्वलाई आत्मसात गरेर ८ कक्षामा भर्ना भएर अध्ययन गर्नुभएको रहेछ।त्यतिबेला उहाँ बिर्तामोडमै १२ कक्षामा अध्ययनरत हुनुहुँदोरहेछ।आफ्नो पढाइसंगै जागिर र भाइबहिनीहरुको पढाइको जिम्मेवारी समेत उहाँले नै बहन गर्दै आउनुभएको रहेछ।उहाँको कदम,हिम्मत र साहसलाई मैले मनभित्र बाटै सलाम गरें।छोरी होस् त चोमु जस्ती।उहाँको जीवनबाट मैले धेरै सिक्ने मौका पाएँ।उहाँ केवल ताप्लेजुङको मात्र नभएर नेपालकै नमूना र आदर्श छोरी थिई,रहिरहने छिन्।हाम्रो मित्रता दिनप्रतिदिन झनझन प्रगाढ हुँदै थियो।हाम्रो बीचमा सर र मिसको सम्बोधन कायम थियो।अर्थात हामीबीच उच्चस्तरको सम्मान कायम थियो।मित्रतामा कुनै स्वार्थ लुकेको थिएन।मित्रताले मूर्त एवं सार्थक रुप लिए संगै एक-अर्कामा खुलेर कुरा गर्न थाल्यौं।उहाँ एकदमै ब्यस्त हुनुहुन्थ्यो।एक-एक सेकेन्ड समय उहाँको लागि किम्ती थियो।जागिर,शिक्षण अभ्यास,भाइबहिनीको हेरचाह र पढाइमा ब्यस्त भएसंगै उहाँ संगीतको विद्यार्थी पनि हुनुहुन्थ्यो।गायनमा निकै अब्बल हुनुहुँदोरहेछ।बेला-बेलामा फुर्सद निकालेर हातेमालोको ग्रुप च्याटमा मीठा-मीठा गीत गाएर सुनाउनुहुन्थ्यो।सबैले उहाँको प्रतिभाको गुणगान गाउँथे,तारिफ गर्थे।एकदिन उहाँ चर्चित गायिका हुनेमा निश्चिन्त थिएँ म।म पनि आफूलाई गीतकारको रुपमा समेत चिनाउन चाहन्थें।त्यसैले पनि उहाँसंग सहकार्य गर्ने सोच पनि बनाएँ।
          चोमु शेर्पा खुशीले प्रायः सबै बिधाहरुमा कलम चलाउनुहुन्थ्यो।कम्तीमा पनि दिनमा एउटा रचना फेसबुकमा शेयर गर्नुहुन्थ्यो।रचना मात्र नभई उहाँले घुमफिरको क्रममा खिचिएका सुन्दर तस्वीरहरु समेत फेसबुकमा अपलोड गर्नुहुन्थ्यो।रचनासंगै सुन्दर तस्वीर देखेर धेरै फेसबुक मित्रहरुले मन पराउँथे र प्रतिकृया दिन्थे।साँच्चिकै भन्नुपर्दा उहाँ फिल्मको कुनै नायिका भन्दा कम देखिनुहुन्न्थ्यो।फेसबुकमा उहाँ र उहाँको रचनाले ठाउँ पाएको देखेर म पनि अत्याधिक खुशी हुन्थें।आफ्नो मित्रको प्रगति देखेर को चाहिँ बेखुशी होलान् र!
         हाम्रो मित्रताले यति धेरै फड्को मारिसकेको थियो कि उहाँले सामान्य भन्दा सामान्य कुरा शेयर गर्नुहुन्थ्यो।एकदिनको कुरा हो,त्यो दिन नेपाल बन्द अर्थात चक्काजाम थियोे।देशका प्रायः सबै भागमा गाडी चलेका थिएनन्।पूर्वतिर पनि चल्ने कुरै भएन।तर उहाँ कुनै काम बिशेषले बाहिर कतै जानुभएको रहेछ।यात्राकै क्रममा उहाँले फेसबुकमा स्ट्याटस लेख्नुभएछ।
"चक्काजाम हामी जस्ताको लागि कम त गाह्रो छ?"
कमेन्ट बक्समा थरीथरीका कमेन्ट थिए।नेपाल बन्दको घोर निन्दा गर्दै आक्रोशित हुनेहरु धेरै थिए।तर अरुभन्दा मेरो ध्यान स्ट्याटसमै थियो।चोमुले के भन्न खोजेका हुन् जस्तो लाग्यो।चक्काजाम त वास्तवमा आम नेपालीको लागि नै अभिसाप थियो तर हामी जस्ताको लागि भनेर किन उल्लेख गरेको होला?हामी नेपालीको लागि भनेर लेखेको भए उत्तम हुन्थ्यो कि झैं लाग्यो।मनमा कौतुहलताले सीमा पार गर्दै थियो।उहाँलाई के अप्ठ्यारो परेको रहेछ भनेर जान्न उत्सुक भएँ र इन्बक्समा म्यासेज पठाएँ।
"किन के भयो र?के कामले निस्किनुभाथ्यो नेपाल बन्दको दिन?"
"त्यस्तै काम विशेषले निस्किनुपर्यो सर।नेपाल बन्दले त हैरानै बनायो।खास गरी म जस्तो लाई।"-उहाँको जवाफ थियो।
"किन तपाईं लाई मात्र?सबैको लागि उस्तै हैन र?"-मेरो अर्को सवाल।
"अरु र मेरो लागि आकाश र पातलको फरक हुन्छ सर।"-छोटो जवाफ।
"कसरी?"
"म शारीरिक रुपमा आशक्त छु नि सर त्यसैले।"
"हो र?हैन होला।के भएको छ र मिसलाई?"-मैले अबिश्वासका साथ भनें।
"मेरो कम्मर देखि मुनिको दुबै खुट्टा चल्दैनन् नि सर।"
"के भएर?कहिलेदेखि?"
"भयो सर ४ साल नै।"
"त्यो भन्दा पहिले सकुशल हुनुहुन्थ्यो?"
"हजुर थिएँ सर।"
"अस्पतालमा देखाउनुभएन र मिस?"
"देखाएँ नि सर।पहिलेको भन्दा अहिले त धेरै ठिक भएको नि।शुरुमा त चल्न पनि सक्तिनथें।"
"ए है?राम्रो अस्पतालमा देखाउनुस्।काठमाडौमा आउनुस् जँचाउन।"
"कुन पैसाले जँचाउनु र काठमाडौ जस्तो ठाउँमा।अहिले यही बिर्तामोडमै देखाउँदै छु।"
"ए, हवस्।राम्ररी उपचार गराउनु।"
मैले यति बाहेक केही भन्नै सकिन।म स्तब्ध भएँ।निशब्द भएँ।छाँगाबाट खसे झैं भएँ।आफैं भित्र अनेकौं सवाल पैदा भए।
"फोटोमा हेर्दा त हट्टकट्ट,स्वास्थ र तन्दुरुस्त देखिन्छ।सुन्दर देखिन्छ।शारीरिक रुपमा अशक्त मान्छे पनि यस्तो हुन्छ?पक्कै आज चोमुले मलाई उल्लु बनाउनु भयो।चोमुलाई पनि झापाको हावाले छोएछ क्यारे।आज किन ढाँटी त उनले मलाई?कहिल्यै यसरी ढाँटेकी थिइनन्।अप्रिल फूल त पक्कै हैन।"
सत्यतथ्य के होला भनेर जान्न उत्सुक भएँ।कहाँ कसलाई सोधेर पत्ता लाउने?अन्यौलग्रस्त भएँ।साँचो कुरा पत्ता नलागेसम्म मलाई न भोक लाग्यो,न त निद्रा।म नराम्रोसित छट्पटिएँ।आकुलव्याकुल भएँ।निस्सासिएँ।कौतुहल भएँ।अर्कोतिर चिन्तित पनि भएँ।चोमुको कुरा झूटो सावित होस भन्ने चाहन्थें।पत्यार त लागेको छँदै थिएन।झूट बोलेकोमा उनीप्रति आक्रोशित पनि भएँ।
"त्यत्रो असल साथी भएर पनि अनेक भन्ने?ढाँट्नुपर्ने के नै थियो र?"
मैरो चित्त दुखिरह्यो।तर जसरी भएपनि मैले सत्यतथ्य पत्ता लाएरै छोड्ने प्रण गरें।मेरो असल मित्र सौगातले बेला-बेलामा चोमुकै बारेमा कुरा गर्नुहुन्थ्यो।एकपटक मैले उहाँलाई सोध्ने बिचार गरें।तर सोध्न पनि त्यति सहज थिएन।अर्को दिन सौगात अनलाइनमा भएको मौकामा मैले सोधें।
"हेल्लो सौगात सर,आरामै हुनुहुन्छ?फुर्सद भए एउटा कुरा सोध्नु थियोे।"
"सोध्नु न सर के कुरा हो?"
"चोमु मिसको बारेमा।"
"के कुरा सर?"
"उहाँ शारीरिक रुपमा अशक्त हुनुहुन्छ हो?"
"हो नि सर।"
सबै कुरा छर्लङ्ग भैसकेको थियो।त्यसपछि केही सोध्नै परेन।फेरि एकपटक आकाशबाट धरातलमा खस्न पुगें।पीडाले रन्थनिएँ।खेद प्रकट गरिरहें मनमनै।अर्कोतिर चोमु जस्ती एक साहासी नारीलाई देखेर सलाम गरें।जीवनमा संघर्ष गर्न उत्प्रेरित गर्ने एक शसक्त नारीको नाम हो-चोमु शेर्पा खुशी।
       तत्पश्चात झन हाम्रो मित्रताले नयाँ मोड लियो।उहाँलाई झन बढ्ता सम्मान गर्न थालें।भलाकुसारी बाक्लै हुन थाल्यो।
"मिस,कहिल्यै हरेश नखानुस्।हिम्मत जुटाउनुस्।"
"मैले टेन्सन लिन छोडिसकें सर।हिम्मत जुटाएर बाँच्न सिकिरहेकी छु।"
उहाँको सकारात्मक जवाफ सुनेर म पुलकित हुन्थें।भौगोलिक दूरीको दृश्टिकोणले दूर भए पनि भावना दूरी बिल्कुल दूर थिएन।कुनै न कुनै हिसाबले र दृष्टिकोणले हामी बीच सामिप्यता र एकता थियो।उहाँको जीवनशैलीबाटै मैले पनि नयाँ र पृथक ढंगले जिउन थालें।

         

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...