एकले अर्काको घर बिगार्छन् बाँदरहरु
मसिना माछा निल्छन् ठूला जलचरहरु
खाई,सुती,हगी,पादी दिनहरु बिताउँछन्
संसदीय चिडियाघरका ती जनावरहरु।
Sunday, 28 October 2018
चिडियाघर
Saturday, 27 October 2018
आरोह अवरोह गीत
आरोह.......अवरोह....
मिलन........बिछोड....
कहिलेकाही पिरतीको फूलले बेरिन्छ जीवन
कहिलेकाही दुश्मनको जालले घेरिन्छ जीवन
कहिलेकाही शिशिरको पासोमा परिन्छ जीवन
कहिलेकाही वसन्तको हाँसोमा भरिन्छ जीवन।
सत्यताको बाटो हिंड्न डराउने हैन कहिल्यै
असफलता हात लाग्दा हराउने हैन कहिल्यै
समाजको कुरीतिलाई तोड्ने आँट गर्नुपर्छ
माया भए सम्बन्धलाई जोड्ने आँट गर्नुपर्छ।
संघर्षको मैदानमा लडेपनि उठ्नुपर्छ
सफलताको सगरमाथा चढ्ने हिम्मत राख्नुपर्छ
जिन्दगीको गोरेटोमा ठेसहरु लागे पनि
बाधाहरु छिचोलेर हिंड्नुपर्छ सके जति।
भाग्यरेखा लम्ब्याउन कर्मले नै कोर्नुपर्छ
आइपरेमा हतौडाले ढुंगा पनि फोर्नुपर्छ
परिश्रमको बीज रोपी फलहरु फलाउनुछ
अभावका पीडाहरु पसिनाले बगाउनुछ।
Friday, 26 October 2018
सिमाना र सिमितता
सिमाना र सिमिततालाई उछिन्दै पछि पार्न थालेको छु
इष्ट-मित्र,आफन्त,धन-दौलत माया मार्न थालेको छु
तिम्रो मन माथि विजय हासिल गरेको दिनदेखि नै
थाहा छैन,किन-किन आफ्नै मनसंग हार्न थालेको छु।
धेरै खेल
धेरै खेल खेलें,खेलाडी संग दौडें
धेरै ठाउँमा प्रतिद्वन्दी संग जितें
तर पिरतीको खेल खेल्दा आज
घरेलु मैदानमा प्यारी संग हारें।
सल्लाह सुझाव
सल्लाह,सुझाव दिए के-के न जानेको भन्दारहेछन्
अरु कनिष्ठ आफूलाई वरिष्ठ ठानेको भन्दारहेछन्
समय उस्तो हो की मान्छे उस्तो हो बुझ्न सकिएन
सही मार्ग देखाउँदा खुट्टा तानेको भन्दारहेछन्।
नरम जिब्रो
नरम जिब्रोलाई कडा दन्तको डर हुँदैन अचेल
पराई होस् या त आफन्तको भर हुँदैन अचेल
हल्लामा रम्ने,झूटमा जम्ने जमात बढी भएर
तपाईंको क्षमता अनन्तको कदर हुँदैन अचेल।
Thursday, 25 October 2018
मन दुखेको ओखती
मन दुखेको ओखतीलाई कति पर्छ डाक्टर साब
ब्यान बेल्का कति पल्ट खानुपर्छ डाक्टर साब
कति धाएँ मेडिकलमा ,तर पाउन सकिएन
आफैं बिसेक होला भन्छु,तर दुख्न रोकिएन।
दिउँसोतिर बोल्दा,हिन्दा,खासै थाहा पाइँदैन
साँझ ढल्दा छट्पटीले,निंदाउनै सकिंदैन
कुन रोगको लक्षण हो,भनिदिनु डाक्टर साब
भरपर्दो उपचार गरिदिनु डाक्टर साब।
प्रेसर पनि ठीकै रहेछ,ज्वरो पनि आको छैन
बेचैनीले मर्न लागें,केही थाहा पाको छैन
ओसिला छन् आँखाहरु,सुकाउने केले होला
यो छातीको देब्रे पाटो,दुखाउने केले होला?
Wednesday, 24 October 2018
बैज्ञानिक
विकासका उपलब्धीलाई वास्तविक भन्दिन
सबैलाई काल्पनिक भन्छु,र ठिक भन्दिन
जबसम्म मनको स्क्यान गर्ने मेशिन बन्दैन
तबसम्म बैज्ञानिकलाई बैज्ञानिक भन्दिन।
Tuesday, 23 October 2018
ढुकढुकी छामी हेर
ढुकढुकी छामी हेर,म त्यहीं हुनेछु
नशा नशा छोई हेर,म त्यहीं बग्नेछु
महसुस गरी हेर,भावमा हुनेछु
तिमीले फेरिने हर,सासमा हुनेछु।
जिन्दगीको सप्तरंगी इन्द्रेणीमा खोज
मुस्कान र पिरतीको मझेरीमा खोज
कहीं कतै त्यतै हेर,रमेको हुनेछु
तिम्रै मनको आंगनीमा खेलेको हुनेछु।
शिशिरमा खोजी हेर,वसन्तमा खोज
कहिले ती भीडभाड,एकान्तमा खोज
कहिले रोदनमा र हाँसोमा हुनेछु
जहाँ जस्तो भएपनि चासोमा हुनेछु।
हिलवाली
हिलवालीलाई मनपर्यो
दिलवालीलाई मनपर्यो
बेला बेला लुकी हेर्ने
डिलवालीलाई मनपर्यो।
गाह्रो चिप्लो बाटोमा
खस्दा खेरी पाटोमा
स्यान्डल बोकी दिउँला
मान्छे बोकी दिउँला।
पातलीलाई मनपर्यो
गाजलीलाई मनपर्यो
बेला बेला ठुस्की हिन्ने
नक्कलीलाई मनपर्यो।
व्युटीपार्लर धाउने
फेयर एण्ड लभ्ली लाउने
दुनियाँलाई जलाउने
सब्जी पसल चलाउने।
पसल्नीलाई मनपर्यो
नेवार्नीलाई मनपर्यो
चम्सुरीलाई मनपर्यो
माहिलीलाई मनपर्यो।
गुरुआमा
गगनमै विराजमान भएर
मुस्कानको दिव्य-किरण छरी
निर्जन निस्पट्ट निशालाई चिरेर
धर्तीलाई मार्ग देखाउँछौ
कसैले टिप्न नसक्ने
तिम्रो माया जूनको माया।
स्वयं जल्दै,पग्लिंदै,नाशिंदै
कोठामा आलोक पस्केर
अन्धकारका कीटपतङ्गलाई भस्म पार्ने
स्पर्श गर्ने व्यभिचारीहरुलाई जलाउने
तिम्रो माया मैनबत्तीको माया।
अनवरत आफूलाई धरापमा राखेर
बर्षाको झरी खेप्दै
चिसो सिरेठो,तुसारो र शीत सहँदै
मक्किंदै,कुहिंदै,सड्दै,गल्दै
अक्करे खोंच र गल्छीहरुबाट
बटुवाहरुलाई पार लाउँछौ जिन्दगीको बाटो
तिम्रो माया झोलुङ्गे पुलको माया।
हामी तिम्रा प्रेमीहरु दूरै रहेर
व्यापकताको क्षितिजतिर
तेश्रो आँखाको अञ्जुली थापिरहन्छौं।
आँखामा बिझाउने
आँखामा बिझाउने काँडा भइसकेछु
म तिम्रो मनबाट टाढा गइसकेछु।
तिम्रो दिलको बाटो हुँदै म हिंडेकै हो
कहिलेकाही अल्झिएर ठेस् लागेकै हो
आज त संघारमै पर्खाल लाइसकेछौ
पर्खालको माथि माथि काँटी ठोकिसकेछौ।
हिम्मत छैन ममा अब तगारो भत्काउन
बिर्सिंसकें त्यतातिर पाइला लम्काउन
ढोकाकै नजिकमा पाले राखिसकेछौ
स्वागत कसैलाई गर्न थालिसकेछौ।
डुब्ने पक्का
अनुरागको मोती टिप्न नसके चुक्ने पक्का छ
होसियारीपूर्वक बढे टाकुरामा पुग्ने पक्का छ
बिना घाउ दुख्न सक्छ,मनको डोरी टुट्न सक्छ
प्रेमको सागरमा पौडिन नजाने डुब्ने पक्का छ।
Monday, 22 October 2018
सबै मान्छे चित्रकार
परदेशी छोराछोरीले बा-आमाको चित्र कोर्छन्
प्यासीले पानीको चित्र
बिछोडिएका प्रेमी-प्रेमिकाले एक-अर्काको चित्र
लडाइँको लाहुरेले परिवार र देशको चित्र कोर्छ
सबै मान्छे चित्रकार हुन्।
नेताले राजनीतिको चित्र
शिक्षकले विद्यार्थीको भविष्यको
इन्जिनियरले इन्फ्रास्ट्रक्चरको
डाक्टरले उपचारको
लेखकले रचनाको चित्र कोर्छन्
सबै मान्छे चित्रकार हुन्।
चित्रकारले सजीव/निर्जीव बस्तुको चित्र
विद्यार्थीले आफ्नो नतिजा र भविष्यको
संसारका सबैले केही न केही चित्र कोर्छन्
सबै मान्छे चित्रकार हुन्।
सबै पुरुषले कुनै न कुनै नारीको
सबै नारीले कुनै न कुनै पुरुषको
अश्लील चित्र मस्तिष्कको क्यानभासमा कोर्छन्।
बीउ
पारीको माटो उर्वर भएको खबर सुनेर
ऊ पनि गयो एक भारी सपना बोकेर।
परिश्रमको बीउ रोपेर
सिंचाइ गर्यो पसिनाले
तर उसले सुने जस्तो रुख उम्रेन
पातहरु धेरै पलाएनन्
फूलहरु धेरै फुलेनन्
फलहरु धेरै लागेनन्।
फलेको फल टिपेर हर मास
थोरै आफूले खायो
अलिक धेरै घर पठायो।
समयको चक्रसंगै
त्यो माटोको लागि बीउ पुरानो भयो
कमजोर भयो
पुरानोलाई नयाँले बिस्थापित गर्यो।
अधुरो सपना लिएर ऊ फर्क्यो।
तर त्यही पुरानो बीउ
आफ्नै माटोको लागि नयाँ भयो
फलहरु लहलह झुलिए।
Sunday, 21 October 2018
स्पर्श
तिमीले कफीको चुस्की लिंदा
म कप बन्न खोजें
पीपलपाते ओठ रंग्याउँदा
लिपिस्टिक बन्न खोजें
भोकमा भोजन लिंदा
चम्चा बन्न खोजें
घना केशराशी कोर्दा
काइयो बन्न खोजें
सावर खोलेर सरर स्नान गर्दा
पानी बन्न खोजें
आँखामा सजिने गाजल बन्न खोजें
शरीर ढाक्ने पोशाक बन्न खोजें
खुट्टाको जुत्ता बन्न खोजें
तर सब बेकार थिए
त्यहाँ स्पर्श मात्र थियो
त्यहाँ प्रेम थिएन।
जिन्दगीको रुखबाट
पंक्षी जस्तै उडी नजाउ जिन्दगीको रुखबाट
आँधीबेहरी आएपनि नभागिदेउ दु:::खबाट
संघर्ष नै जिन्दगीको अर्को नाम भनी बुझ
कुनै बेला सुक्छ झरी,चाहे जतिसुकै रुझ।
दिनपछि रात आउँछ,रातपछि फेरि दिन
सुल्झी जान्छ पक्कै पनि समस्या हो एकैछिन
छैन होला संसारमा नदुख्ने हृदय कुनै
छैन होला संसारमा नरुझ्ने नयन कुनै।
सहेरै हजारौं कष्ट बाँचेकै छ तरुल पनि
चट्टानहरु थाकिजालान्,थाक्दैन ऊ कति पनि
पिपलुको जरा हेरी गर्नु तिमी यात्रा तय
मनलाई दह्रो बनाऊ,बोक्नु छैन कुनै भय।
Friday, 19 October 2018
कारागारको परिकल्पना
शारीरिक नभई मानसिक यातना दिने
डण्डा नभई दिमाग प्रहार गरिने
त्यस्तो खाले कारागारको परिकल्पना होस्।
मान्छे थुन्ने होइन,
बिकृत मानसिकता कैद गर्ने पिंजडा होस्
खराब आचरण थुन्न सकियोस् सदाको लागि
तर बेलगाम घुम्न सकून् नैतिकता र असल चरित्र
निर्बाध उड्न सकून् अनुशासनका पंक्षीहरु
निफनिएका सकारात्मक तत्वहरु सल्बलाउन् हाताभित्र।
योग्यता,दक्षता र क्षमताको आधारमा
सञ्चालन होस सीपमूलक कार्यक्रमहरु
चलून् तालिमका कक्षाहरु
बुन्न जानून् जिन्दगीका तानहरु
लेख्न जानून् सभ्यताका वर्णमाला र बाह्रखरी
कण्ठस्थ होऊन् इमान्दारीताका पाठहरु
देख्न सकून् बौद्धिकताका आँखा
खोल्न सकून् बुद्धिको बन्द ढकनी
चिन्न सकून् मूल्य र मान्यताका लिपि
रोप्न सकून् सृजनाका सुन्दर फूलहरु
उमार्न सकून् शालीनताका बिरुवाहरु
फलाउन सकून् शान्तिका फलहरु।
दण्ड दिनुनै छ भने
ओसार्न लाउनु ढुंगा-माटो
ताकी उसले ओसार्न सकोस् आफूभित्र अनुराग
गोड्न लाउनु करेसाबारी/फूलबारी
ताकी उखेलेर फाल्न सकोस् आफ्ना नकारात्मक झारहरु
प्याज,तरकारी काट्न लाउनु
ताकी ताछ्न सकोस् अहंकारका बोक्राहरु
भाँडाकुँडा माझ्न लाउनु
ताकी फाल्न सकोस् सडेका बिचारहरु
भित्ता रंगाउन लाउनु
ताकी रंगाउन सकोस् आफ्नो छातीलाई नम्रताका रंगहरुले
कुचो लाउन दिनु
ताकी बढार्न सकोस् आफ्नै गिद्दे दृष्टीलाई
कपडा धुन दिनु
ताकी फाल्न सकोस् मनको कालो मैलो
दण्ड पनि सिर्जनात्मक होस।
लामो अवधिको कैदीलाई जागिरको व्यवस्था होस्
ता की
कुनै श्रीमती रोजीरोटीको लागि बिदेशिनु नपरोस्
कुनै छोरा लुटपाट र चोरीमा संलग्न नहोस्
कुनै छोरीले अस्मिता बन्धकीमा राख्न नपरोस्
कुनै लालाबालालाई आहाराको संकट नपरोस्
कुनै बालबालिकाले बिद्यालय छोड्न नपरोस्
कसैको उठिबास नहोस्
कसैको चुल्हो चिसो नहोस्।
कैदीको बहिर्गमन पश्चात्
पाएको होस उसले पुनर्जन्म
बदमास मरेर भलादमी जन्मोस्
डाकाहरु वाल्मिकीको पथमा हिंडून्
कुरुपता मरेर सुन्दरताको जन्म होस्
कुमार्गीहरु सुमार्गमा लागून्
विकृतिको नाश भई सु-संस्कृतितिर उन्मुख होऊन्।
कुनै दिन यस्तो पनि आओस्
'कारागार' शब्द शब्दकोषबाटै मेटियोस्
कारण-त्यतिबेला कुनै अपराध हुनेछैन
कुनै अपराधी हुनेछैन
कुनै कैदी हुनेछैन
कैदीको अभावमा कारागार विश्वविद्यालय बनिसकेको हुनेछ।
©माङ संग्राम
प्रेमका फलहरु
मायाका फलहरु लटरम्म झुलेको देख्छु
सम्बन्ध कतै टालेको,कतै फाटेको देख्छु
सकिन बुझ्न रहस्य,धेरै अनुसन्धान गरें
एउटा सित धेरै मैयाहरु लागेको देख्छु।
गणितको पारखी
गणितको पारखीलाई जोड्न घटाउन के गाह्रो भो र
आफ्नै इच्छाको कुरा हो,राख्न हटाउन के गाह्रो भो र
तौलको हिसाब नभएको ब्रम्हाण्ड त अटाउँछ मनमा
तिमी जाबो ५५ केजीको मान्छे अटाउन के गाह्रो भो र?
के मन
त्यो मन के मन जहाँ कुरा नचले
आँगन के आँगन जहाँ भुरा नचले
सबैको आ-आफ्नै चल्ने ठाउँ हुन्छ
कलेजी के कलेजी जहाँ छुरा नचले।
आकाश साक्षी छ
आकाश साक्षी छ,धर्ती साक्षी छ
बतास साक्षी छ,नदी साक्षी छ
हामीले माया लाएको
हामीले कसम खाएको।
समय खराब हुँदैमा
भौगोलिक दूरी बढ्दैमा
मनको दूरी बढ्दैन
चटक्कै भुल्न सकिन्न।
जंगल साक्षी छ,पंक्षी साक्षी छ
पवन साक्षी छ,झरी साक्षी छ
हामीले माया लाएको
हामीले कसम खाएको।
सोधेर हेर पहाडलाई
सोधेर हेर हिमाललाई
कति छ हाम्रो पिरती
वक्नेछन् सबै सर्सर्ती
जून साक्षी छ,तारा साक्षी छ
डाँडा साक्षी छ,पाखा साक्षी छ
हामीले माया लाएको
हामीले कसम खाएको।
Thursday, 18 October 2018
गोला जवानीको
उनले खसाईन्,मैले खसाएँ,गोला जवानीको
उनले बर्साईन्,मैले बर्साएँ,गोली जवानीको
ज्वाला दन्कियो,राप फैलियो,सबै खरानी भो।
यौटा आगो हुने बेला अर्को पराल सुकेको
परालको सामू आगो कहिले छ र चुकेको
छर्लङ्ग छ सबै कुरा,छैन भेद लुकेको।
कामुकताको युद्धबाट कोनै भाग्न सक्छ र
घाइते भई लडेपछि कोनै जाग्न सक्छ र
प्रतिद्वन्दी संग कसले माफी माग्न सक्छ र?
नपिएका प्यालाहरु
नपिएका प्यालाहरु
चुमिएका गालाहरु
कति प्यारा प्यारा हुन्छन्
मनमा सदा गाढा हुन्छन्।
फूलहरु सुवास छर्छन्
काँडालाई माया गर्छन्
भमराले रस चुस्नु
आकर्षण हो कुरा बुझ्नु।
गरिएका बाचाहरु
राखिएका आशाहरु
कति प्यारा प्यारा हुन्छन्
मनमा सदा गाढा हुन्छन्।
नपाएको चीज मीठो
चपाएको चीज तीतो
खाएको पो धोका हुन्छ
नखाएको भोका हुन्छ।
जुधाएका आँखाहरु
समाएका हातहरु
कति प्यारा प्यारा हुन्छन्
मनमा सदा गाढा हुन्छन्।
मच्छरहरु
अस्तित्वहीन हुन्छन् संसारमा काँतरहरु
सोझालाई त हेपिदिन्छन् यहाँ बाँदरहरु
होसियार भै प्रतिरक्षाको नीति नअप्नाए
मान्छेको रगत चुसी हिंड्छन् मच्छरहरु।
Wednesday, 17 October 2018
आजकल प्रेम
खेती खुब फस्टाउँदैछ,मन मलिलो भएर हो की
कलिको याममा अंकुराउन सजिलो भएर हो की
कामवासना सहितको प्रेम नै हराभरा हुन्छ यहाँ
आजकल प्रेमको दायरा फराकिलो भएर हो की।
ट्यापेहरु
जागिर दिएको मालिकलाई छुरी हान्छन् ट्यापेहरु
हिलोमा फुलेको नालिकलाई छुरी हान्छन् ट्यापेहरु
जल्लाई पनि धस्न सक्छन्,उनीहरुको कुनै भर हुन्न
चोकमा उभेको सालिकलाई छुरी हान्छन् ट्यापेहरु
टिप्स र साग
कहिलेकाही हद भन्दा तल झर्छ मान्छे
कागजको फूल बनाई बास्ना छर्छ मान्छे
डिनर खाँदा रेस्टुरेन्टमा हजार टिप्स दिन्छ
एकमुठी सागको मूल्यमा विवाद गर्छ मान्छे।
पूच्छर समेत
अमृतको त के कुरा,जहर समेत छोड्दैनन्
दाल,चामलमा आको पत्थर समेत छोड्दैनन्
अचेलका मान्छेहरु यतिसम्म लोभी भए की
खसी,बोका काटेपछि पूच्छर समेत छोड्दैनन्।
कहानी सुनेर
कहानी सुनेर जिल्ल हुनैपर्छ मलाई
हाँस्दा पनि त गिल्ल हुनैपर्छ मलाई
खानुपरे टन्न खाने नत्र भोकै बस्ने
मादक पिएर टिल्ल हुनैपर्छ मलाई।
याद फर्काइदेऊ
छाताले पानी तर्काए जस्तै तर्काइदेऊ
चट्याङ,आँधीबेहरी भएर थर्काइदेऊ
ए बादल!ए हावा!तिमीहरु सक्छौ भने
उनको यादको तरङ्ग उतै फर्काइदेऊ।
Monday, 15 October 2018
निजी हेलिकप्टर
कहिले न्युयोर्क कहिले लन्डन शहरमा घुमाउँछु नि
कहिले मर्सिडिज कहिले ल्यान्डक्रुजरमा घुमाउँछु नि
नसक्ने भएर खुट्टामा हिंडाउँदैछु,यदि सक्ने भए त
सरर लाएर आफ्नै निजी हेलिकप्टरमा घुमाउँछु नि।
भ्यागुता चिर्दा पनि
हेर्दा खेरी टोपी खस्ने खाले घर नभएको मान्छे म
सानै कुरामा खुशी हुने ठूलो रहर नभएको मान्छे म
हृदय पत्थर नभएको,कुनै कुराको पनि डर नभएको
सयौं भ्यागुता चिर्दा पनि डाक्टर नभएको मान्छे म।
Sunday, 14 October 2018
कोशौं दूर
कोशौं दूर भएपनि निमेषमै भेट्छु तिमीलाई
लुकामारी खेल्दाखेल्दै पछिपछि खेद्छु तिमीलाई
अचम्मको हुनेरहेछ कल्पनाको दुनियाँ पनि
आँखा बन्द गरेपनि झलझली देख्छु तिमीलाई।
खाली शिशी पुरानो कागज
गरिबीको थोत्रो बोरामा टिपिरहेछ ऊ खाली भाग्य
खाली शिशी,पुराना कागज त सिर्फ बहाना हुन्
मस्तिष्कमा सजिएका छैनन् कुनै स्वर्णिम सपनाहरू
स्वदेशीहरुका नजरमा उनी बिदेशी हुन्
व्यंग्यात्मक "भैया" हुन्
आलङ्कारिक "धोती" हुन्।
ऊ स्वदेशी होइन
किनकी उसको छाला कालो छ
उसलाई शुद्ध राष्ट्रियभाषा बोल्न आउँदैन।
उनी प्रेमपूजारीहरुका लागि बाधक हुन्
शत्रु हुन्।
प्रेमजोडीहरु रासलिलाको टाकुरा चढ्दा
उसले सिट्ठी बजाएर डिस्टर्ब गर्छ
साइकलको घण्टी बजाएर हैरान पार्छ
चिच्याएर दिक्दार बनाउँछ।
यसैपनि उसको जिन्दगी पुरानो साइकल हो
निर्दयी काँडा र पत्थरहरुले कतिचोटी पञ्चर बनाइसकेको छ
ट्युब टाल्दै,हावा भर्दै जीवित राखेको छ आफूलाई
चेन खियाले खाइसकेको छ
ह्यान्डिल बाङ्गिएको छ
पाइडल धरापमा छ
कतिबेला टायर नै सकिन्छ थाहा छैन
जुनैबेला ब्रेक नलागेर दुर्घटना हुनसक्छ।
ऊ देशभक्तिको गीत गाउँदैन
ऊ कुनै नामी साहित्यकारको पुस्तक पढ्दैन
ऊ कुनै चलचित्र हेर्न हलसम्म जाँदैन
ऊ कुनै नेताको भाषण सुन्न टुँडिखेल जाँदैन
ऊ कुनै नेताको झोला बोक्दैन
ऊ कुनै राजनैतिक दलको झण्डा बोक्दैन
ऊ कुनै आम-हाडतालमा सरिक हुँदैन
ऊ टायर बाल्नलाई सडकमा पुग्दैन
उसंग क्रान्तिमा होमिने साहस छैन
ऊ त्यसैले देशप्रेमी होइन
ऊ त आफ्नै पेटप्रेमी हो।
ऊ त आफ्नै दाजुहरुबाटै हेपिएको नाजुक सौतेनी भाइ हो
सुकिला-मुकिलाहरुबाटै लुटिएको थाङ्ने हो
बलियाहरुबाटै कुटिएको निर्धो जीव हो
सचेतहरुबाटै ठगिएको अचेत व्यक्ति हो
बुद्धिजीवीहरुबाटै दबिएको गवार हो
अधिकारकर्मीहरुकै आँखा नपुगेको पीडित हो।
बिरामी भएर ढले कुनै एम्बुलेन्स आउँदैन उसको लागि
बिनाकारण कुटियो भने कुनै सहयोगी आउँदैन बचाउन
कुनै मुख खुल्दैन उसको पक्षमा बोलिदिने
बरु कुकुर बिरामी भए टोल थर्किन्छ
कुकुर मरे मान्छे जम्मा हुन्छन्
तर ऊ मरे झिंगा बाहेक मलामी कोही आउँदैन।
खासमा ऊ मान्छे नै होइन
सीमान्तकृत प्राणी हो
एउटा भुसुना हो
आफ्नै देशको शरणार्थी हो।
बच्चाहरुको लागि ढुंगा फ्याँकिने देउराली हो
कुकुरहरुका लागि एउटा महापागल हो।
उसको हाँस्ने अधिकार छैन
नाच्ने अधिकार छैन
बाँच्ने अधिकार छैन
अचेल उसले नागरिकता बोक्न छोडेको छ
किनकी लज्जित हुनुछैन उसलाई
लज्जित पार्नुछैन कसैलाई।
ऊ यो देशको नागरिक हैन
उसित जसरी बोलेपनि हुन्छ
उसलाई जस्तो व्यवहार गरेपनि हुन्छ
लात्तले हाने पनि भयो
मुक्काले बजारे पनि भयो
उचाले पनि भयो
पछारे पनि भयो
किनकी उसको आफू बाहेक कोही छैन।
उसको लागि कुनै घाम उदाउँदैन
उसको लागि कुनै जून उदाउँदैन
उसको लागि कुनै हावा सुसाउँदैन
उसको लागि कुनै पानी बहँदैन।
Friday, 12 October 2018
अदालतमा बालिकाको बयान
सम्माननीय न्यायाधीश ज्यू,
म गीता छोई किरिया खाएर भन्छु
जे भन्छु-सत्य भन्छु
सत्य सिवाय केही भन्दिन।
हुन त यहाँ पर्याप्त दसी पेश गरेपनि,नगरेपनि
दोषीबहादुरहरुले उन्मुक्ति पाउँछन्
पीडितकुमार/पीडितकुमारीले निसाफ पाउँदैनन्
परन्तु मसंग त कुनै दसी छैन
न त कुनै साक्षी नै हाजिर छ।
कानूनलाई नुनले खरिद गरेको देशमा
गुणलाई खुनले हराएको देशमा
निरीहलाई अन्यायको भड्खारोमा पुरेको देशमा
पहुँचवालालाई हरबखत साइत जुरेको देशमा
बिना आधार कसरी सुनुवाइ होला मेरो नालिस?
१८ बर्ख नपुगी नागरिकता सम्म पाईन्न
१८ बर्ख नपुगी साक्षीसम्म वक्न पाईन्न
म २ बर्खे वादीले कसरी मुद्दा जित्न सक्छु र?
आत्मघातको डाँट नदिएको भए-दायरै हुन्नथ्यो
हाँस्नुहोस्,उपस्थित सबै खित्का छोडेर हाँस्नुहोस्
म यहाँ चुट्किला सुनाइरहेछु।
महाशय,
कुनै डाक्टरलाई भनसुन गरेर
मलाई पगली घोषणा गरियोस्
हाँसीहाँसी सहर्ष स्वीकार्न तत्पर छु
परन्तु एक खेप मेरो बयान ध्यानले सुनियोस्।
आश्चर्यचकित नहुनुहोला
विलखबन्दमा नपर्नुहोला
आज भन्दा ३ बर्ख पहिलेको कथा हो
दुईबर्खे बालिकाले कहँदैछु
शुरुमा त यकिनै भएन-कहाँ छु
लाग्यो-कुनै गुफाभित्र छु
लाग्यो-पृथ्वीको गर्भमा छु
तर हैन रहेछ
आफ्नै माताको कोखमा टुसाइरहेकी रहेछु।
एकदिन घरमा निकै कोकोहोलो मच्चियो
त्यहाँ चिन्ताको घनघोर मेघ मडारियो
विपत्तिको बर्षा छचल्किए जननीको लोचनमा
विश्मातका धर्साहरु तेर्सिए जीवनदाताको मुहारमा
पश्चातापको दावानल दन्क्यो उहाँहरुको छातीमा
आभास भयो भीमकाय भुलको
आफूहरुलाई अपरिपक्व सावित गरे
एउटा भयंकर योजनामा सहमतिको हस्ताक्षर गरे।
एकदिन माताले हतास हुँदै केही ट्याब्लेट निल्नुभयो
ट्याब्लेटको रस मेरो देहभरी फैलियो
मस्तिष्कमा मात चढ्दै गयो
निकैबेर अचेत भएछु
शरीर मरणासन्न हुनेगरी दुखिरहेथ्यो
नयनहरु फर्फराउँदै थिए
ओठहरु बर्बराउँदै थिए
हस्त-पाउ थर्थराउँदै थिए
धेरै दिनपछि बल्ल बिसेक भएँ।
पुनः उस्तै रडाको मच्चियो
असफलताका विम्वहरु देखिए
मेरो सफलताको सिंढी देखि दुखी भए
बल्ल मैले कुरोको चुरो बुझें
एउटा भयंकर प्रपञ्च रचिएको रहेछ
जननी मेरै नाशको तान बुन्दै हुनुहुन्थ्यो
मेरो यमपुरीको टिकट काट्नुभएको रहेछ
अधुरो यात्रा छोडेर फर्केकोमा बेखुशी हुनुहुन्थ्यो।
मेरो जिजीविषाको निर्मम वध हुँदैरहेछ
कलिलो पल्लवी निमोठिंदै रहेछ
वसुन्धरामा उदाउने अधिकारको हनन हुँदैरहेछ
सपनामाथि तुषारापात हुँदैरहेछ
चाहनामाथि कुठाराघात हुँदैर्हेछ।
मैले अनगिन्ती गुहार मागें
माताजी!मलाई ननिमोठ्नुस्,म पलाउन चाहन्छु
न्यानो ममताको अनुभूत गर्न चाहन्छु
पिताको काँध चढेर स्नेहको दुनियाँ निहार्न चाहन्छु
हजुरहरुको बुढेसकालको लाठी बन्न चाहन्छु
आफ्नै नाकले शित्तल पवनको स्पर्श गर्न चाहन्छु
आफ्नै लोचनले रवि-रोशनीसंग मितेरी गाँस्न चाहन्छु
आफ्नै पाउले धरामा उभिन चाहन्छु
पिताजी! मेरो बिन्ती बुझिदिनुस्
मेरो आर्तनाद सुनिदिनुस्।
परन्तु मेरो आग्रह कुनै कर्णसम्म पुगेन।
अर्को कुनै दिन
अत्याधुनिक प्रविधिले सम्पन्न भवनमा
बैठक सुचारु भयो
"रक्तपात"को प्रस्तावलाई पहिलो बुँदामा राखियो
आर्थिक कारोबारको बार्गेनिङ भयो
ऐझेरू काट्दा बृक्षको ग्यारेन्टी लिन नसकिने शर्त तेर्सियो
बहस र छलफलहरु भए
परन्तु बैठक बिना निष्कर्ष टुंगियो।
बैठक सु-सम्पन्न भएको भए के हुन्थ्यो होला?
अस्पताल अलिकति भएपनि सम्पन्न हुन्थ्यो
डाक्टरको जेप थप गरम् हुन्थ्यो
एउटा कहानीको वियोगान्त हुन्थ्यो
मेरो रक्तले जननीको भाग्य रंगिन्थ्यो
रासलिलाको रंगमञ्चमा अभिनय गर्दा जन्मेको
एउटा फाल्टो पात्रको देहान्त हुन्थ्यो
कसैलाई लाग्दैनथ्यो-मेरो पनि अस्तित्व थियो
कसैको लागि यादगार हुन्नथें
जीवन-मरणको मर्म अवगत हुने थिएन
नजन्मिंदै मृत्यूवरण गर्थ्यो कुनै भ्रूणले।
सम्माननीय न्यायाधीश ज्यू!
अब भन्नुस्-मेरो के कसुर थियो?
म कसरी माता-पिताको बैरी भएँ
कसरी प्रगतिको बाधक भएँ?
न्यायमूर्ती ज्यू!
हुन त म जीवित छु
माता-पिताको ममता-स्नेह पाएकै छु
तथापि,किञ्चित हर्षित छैन
रक्तसंचार,श्वासप्रश्वास भएपनि
मन मरिसकेको छ
मरेको के भनौं,मारिएको छ
यसर्थ,उहाँहरु हत्यारा हुनुहुन्छ
उहाँहरुले आजीवन कारावासको सजाय पाउनैपर्छ
निर्णयको सर्वाधिकार हजुरसंगै सुरक्षित छ
हजुरको जो फैसला!
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...