मेरो सामू ३ आँखाहरु नाचिरहेका छन्
पहिलो आँखा पश्चिमतिर तेर्सिएको छ
दोश्रो आँखा पूर्वतिर हेरिरहेको छ
तेश्रो आँखा जमिनतिर
सबैलाई पालैपालो अवलोकन गर्छु म।
पहिलो आँखा स्त्रीलिंगी हुन्छ
फूल जस्ती कलकलाउँदी
जवानीको आँगनमा बैशले परेड खेलिरहेछ
उच्च शिक्षाको आकांक्षा मनमा बयली खेलिरहेछ
निधारमा लागेको छ-अस्ट्रेलियाको स्टुडेन्ट भिषा
गलामा सजिएको छ-बिदाइको माला।
दोश्रो आँखामा प्रतिबिम्बित छ-आर्थिक मोह
छातीमा टाँसिएको छ-बेरोजगारको सर्टिफिकेट
शीरमाथि बर्षिरहेछ बाध्यताको वर्षा
भाग्यमा हानिएको छ कोरियाको भिषा
गहभरी छल्किरहेछ बिछोडको पानी।
तेश्रो आँखा-बूढो आँखा
आँखाभरी हुन्छ स्वदेशको माया
छातीमा कुँदिएको छ सगरमाथाको चित्र
नशा-नशामा दौडिरहेछ झर्नाको पानी
पाउहरु सल्बलाउँछन्-धान झुलेका फाँटहरुमा
प्यासी आँत पिउँछ आलीहरुको शीत
काँध लम्किरहेछ हलो-जुवा बोकेर खेततिर
ऊ हाँसिरहन चाहन्छ चाँप र गुराँसहरुसंगै
नाचिरहन चाहन्छ हिमालको सिरेठोसंगै
चुमिरहन चाहन्छ यहाँको माटोलाई।
पहिलो र दोश्रो आँखाहरु लम्किन्छन्-आफ्ना गन्तव्यतिर
तेश्रो आँखा आफ्नो बुत्तोले उनीहरूलाई रोक्न खोज्छ
बिन्तीपत्र चढाउँछ
वेदनाको सप्तकोशी बगाउँछ
तर उनीहरुले सुन्दैनन्
आफ्नो लक्ष्यमा अडिग रहन्छन्
हेर्दाहेर्दै उनीहरू ओझेलमा पर्छन्।
एक्लो आँखा बिरक्तिन्छ,छट्पटिन्छ
छाती पिटी-पिटी चिच्याउँछ
क्रमशः आँखाको रोशनी मधुरो हुँदै जान्छ
र झ्याप्प निभ्छ।
No comments:
Post a Comment