गगनमै विराजमान भएर
मुस्कानको दिव्य-किरण छरी
निर्जन निस्पट्ट निशालाई चिरेर
धर्तीलाई मार्ग देखाउँछौ
कसैले टिप्न नसक्ने
तिम्रो माया जूनको माया।
स्वयं जल्दै,पग्लिंदै,नाशिंदै
कोठामा आलोक पस्केर
अन्धकारका कीटपतङ्गलाई भस्म पार्ने
स्पर्श गर्ने व्यभिचारीहरुलाई जलाउने
तिम्रो माया मैनबत्तीको माया।
अनवरत आफूलाई धरापमा राखेर
बर्षाको झरी खेप्दै
चिसो सिरेठो,तुसारो र शीत सहँदै
मक्किंदै,कुहिंदै,सड्दै,गल्दै
अक्करे खोंच र गल्छीहरुबाट
बटुवाहरुलाई पार लाउँछौ जिन्दगीको बाटो
तिम्रो माया झोलुङ्गे पुलको माया।
हामी तिम्रा प्रेमीहरु दूरै रहेर
व्यापकताको क्षितिजतिर
तेश्रो आँखाको अञ्जुली थापिरहन्छौं।
No comments:
Post a Comment