जलको अभावमा शुष्क बृक्ष जस्तो
अनुरागले जीउ खाएर खङ्ग्रङ्ग भएको
कपाल-दाह्री फुलेर हिउँ जस्तै सफेद
यादै-यादको भूमरीमा फसेको
अन्त:करण ठेगानमा नभएको
कसैले यस्तै मनु बारे केरकार गरे
मेरो ठेगानामा पठाइदिनुहोला।
मस्तिष्कमा स्मृतिको भयंकर सागर
हृदयमा अघोर प्रणयको विशाल टाकुरा
लोचनमा आशाका किरणहरुको ताँती
नाडीमा कुनै स्त्री-नामको आलेख
ओठमा तिनै नामोच्चारण
छातीभरी पुनर्मिलनको जिजीविषा भएको
कसैले यस्तै मनु बारे केरकार गरे
मेरो ठेगानामा पठाइदिनुहोला।
प्रेमको खातिर जे पनि गर्न सक्ने
जीवन उत्सर्ग गर्न समेत पछि नहट्ने
अधिक खेप छातीमा गोली थाप्न अघि सरेको
अधिक खेप वैरीलाई घोक्रेठ्याक पारिसकेको
उसले चाहेको कुरा पाउनैपर्ने
साह्रै हठी स्वभावको मनुज
कसैले यस्तै मनु बारे केरकार गरे
मेरो ठेगानामा पठाइदिनुहोला।
तर
अभ्यन्तरमा काँडै-काँडाहरुको राश
नेत्रमा घृणै-घृणाको कुण्ड
बाहुलीमा बिषै-बिषको प्याला
मस्तिष्कमा हत्या र वितृष्णा
प्रेम-बिरोधी,हत्यारा
अन्धविश्वासको पर्दाले लपेटिएको
जातीय संकीर्णताले भरिपूर्ण
आबरु र घरानाको खोक्रो आदर्शवादी
यस्तै पात्रले केरकार गरे
मेरो ठेगानामा नपठाउनुहोला।
मुहारमा बिछोडको प्रतिबिम्ब अङ्कित
झोलाभरी प्रेमपत्रहरुको थाक बोकेको
बुद्ध जस्तै साधना/तपस्यामा लीन भएको
धेरै जनाको ढुंगामुढा खाएको
दोबाटोमा प्रतिक्षित पागलप्रेमी
कसैले मेरो परिचय सोधे यसरी भन्नुहोला।
आफ्नै ठेगाना बिर्सेकी-कुनै बूढी-प्रेमिकाले प्रेमीको खोजी गरे
मेरो हियाको ठेगानामा पठाइदिनुहोला।
No comments:
Post a Comment