Friday, 12 October 2018

अदालतमा बालिकाको बयान

सम्माननीय  न्यायाधीश ज्यू,
म गीता छोई किरिया खाएर भन्छु
जे भन्छु-सत्य भन्छु
सत्य सिवाय केही भन्दिन।

हुन त यहाँ पर्याप्त दसी पेश गरेपनि,नगरेपनि
दोषीबहादुरहरुले उन्मुक्ति पाउँछन्
पीडितकुमार/पीडितकुमारीले निसाफ पाउँदैनन्
परन्तु मसंग त कुनै दसी छैन
न त कुनै साक्षी नै हाजिर छ।

कानूनलाई नुनले खरिद गरेको देशमा
गुणलाई खुनले हराएको देशमा
निरीहलाई अन्यायको भड्खारोमा पुरेको देशमा
पहुँचवालालाई हरबखत साइत जुरेको देशमा
बिना आधार कसरी सुनुवाइ होला मेरो नालिस?

१८ बर्ख नपुगी नागरिकता सम्म पाईन्न
१८ बर्ख नपुगी साक्षीसम्म वक्न पाईन्न
म २ बर्खे वादीले कसरी मुद्दा जित्न सक्छु र?
आत्मघातको डाँट नदिएको भए-दायरै हुन्नथ्यो
हाँस्नुहोस्,उपस्थित सबै खित्का छोडेर हाँस्नुहोस्
म यहाँ चुट्किला सुनाइरहेछु।

महाशय,
कुनै डाक्टरलाई भनसुन गरेर
मलाई पगली घोषणा गरियोस्
हाँसीहाँसी सहर्ष स्वीकार्न तत्पर छु
परन्तु एक खेप मेरो बयान ध्यानले सुनियोस्।

आश्चर्यचकित नहुनुहोला
विलखबन्दमा नपर्नुहोला
आज भन्दा ३ बर्ख पहिलेको कथा हो
दुईबर्खे बालिकाले कहँदैछु
शुरुमा त यकिनै भएन-कहाँ छु
लाग्यो-कुनै गुफाभित्र छु
लाग्यो-पृथ्वीको गर्भमा छु
तर हैन रहेछ
आफ्नै माताको कोखमा टुसाइरहेकी रहेछु।

एकदिन घरमा निकै कोकोहोलो मच्चियो
त्यहाँ चिन्ताको घनघोर मेघ मडारियो
विपत्तिको बर्षा छचल्किए जननीको लोचनमा
विश्मातका धर्साहरु तेर्सिए जीवनदाताको मुहारमा
पश्चातापको दावानल दन्क्यो उहाँहरुको छातीमा
आभास भयो भीमकाय भुलको
आफूहरुलाई अपरिपक्व सावित गरे 
एउटा भयंकर योजनामा सहमतिको हस्ताक्षर गरे।

एकदिन माताले हतास हुँदै केही ट्याब्लेट निल्नुभयो
ट्याब्लेटको रस मेरो देहभरी फैलियो
मस्तिष्कमा मात चढ्दै गयो
निकैबेर अचेत भएछु
शरीर मरणासन्न हुनेगरी दुखिरहेथ्यो
नयनहरु फर्फराउँदै थिए
ओठहरु बर्बराउँदै थिए
हस्त-पाउ थर्थराउँदै थिए
धेरै दिनपछि बल्ल बिसेक भएँ।

पुनः उस्तै रडाको मच्चियो
असफलताका विम्वहरु देखिए
मेरो सफलताको सिंढी देखि दुखी भए
बल्ल मैले कुरोको चुरो बुझें
एउटा भयंकर प्रपञ्च रचिएको रहेछ
जननी मेरै नाशको तान बुन्दै हुनुहुन्थ्यो
मेरो यमपुरीको टिकट काट्नुभएको रहेछ
अधुरो यात्रा छोडेर फर्केकोमा बेखुशी हुनुहुन्थ्यो।

मेरो जिजीविषाको निर्मम वध हुँदैरहेछ
कलिलो पल्लवी निमोठिंदै रहेछ
वसुन्धरामा उदाउने अधिकारको हनन हुँदैरहेछ
सपनामाथि तुषारापात हुँदैरहेछ
चाहनामाथि कुठाराघात हुँदैर्हेछ।

मैले अनगिन्ती गुहार मागें
माताजी!मलाई ननिमोठ्नुस्,म पलाउन चाहन्छु
न्यानो ममताको अनुभूत गर्न चाहन्छु
पिताको काँध चढेर स्नेहको दुनियाँ निहार्न चाहन्छु
हजुरहरुको बुढेसकालको लाठी बन्न चाहन्छु
आफ्नै नाकले शित्तल पवनको स्पर्श गर्न चाहन्छु
आफ्नै लोचनले रवि-रोशनीसंग मितेरी गाँस्न चाहन्छु
आफ्नै पाउले धरामा उभिन चाहन्छु
पिताजी! मेरो बिन्ती बुझिदिनुस्
मेरो आर्तनाद सुनिदिनुस्।

परन्तु मेरो आग्रह कुनै कर्णसम्म पुगेन।

अर्को कुनै दिन
अत्याधुनिक प्रविधिले सम्पन्न भवनमा
बैठक सुचारु भयो
"रक्तपात"को प्रस्तावलाई पहिलो बुँदामा राखियो
आर्थिक कारोबारको बार्गेनिङ भयो
ऐझेरू काट्दा बृक्षको ग्यारेन्टी लिन नसकिने शर्त तेर्सियो
बहस र छलफलहरु भए
परन्तु बैठक बिना निष्कर्ष टुंगियो।

बैठक सु-सम्पन्न भएको भए के हुन्थ्यो होला?
अस्पताल अलिकति भएपनि सम्पन्न हुन्थ्यो
डाक्टरको जेप थप गरम् हुन्थ्यो
एउटा कहानीको वियोगान्त हुन्थ्यो
मेरो रक्तले जननीको भाग्य रंगिन्थ्यो
रासलिलाको रंगमञ्चमा अभिनय गर्दा जन्मेको
एउटा फाल्टो पात्रको देहान्त हुन्थ्यो
कसैलाई लाग्दैनथ्यो-मेरो पनि अस्तित्व थियो
कसैको लागि यादगार हुन्नथें
जीवन-मरणको मर्म अवगत हुने थिएन
नजन्मिंदै मृत्यूवरण गर्थ्यो कुनै भ्रूणले।

सम्माननीय न्यायाधीश ज्यू!
अब भन्नुस्-मेरो के कसुर थियो?
म कसरी माता-पिताको बैरी भएँ
कसरी प्रगतिको बाधक भएँ?

न्यायमूर्ती ज्यू!
हुन त म जीवित छु
माता-पिताको ममता-स्नेह पाएकै छु
तथापि,किञ्चित हर्षित छैन
रक्तसंचार,श्वासप्रश्वास भएपनि
मन मरिसकेको छ
मरेको के भनौं,मारिएको छ
यसर्थ,उहाँहरु हत्यारा हुनुहुन्छ
उहाँहरुले आजीवन कारावासको सजाय पाउनैपर्छ
निर्णयको सर्वाधिकार हजुरसंगै सुरक्षित छ
हजुरको जो फैसला!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...