Wednesday, 3 October 2018

काली

मुहारमा जून चम्काउने हैन
शिरीष सजाउने हैन
अग्निज्वाला दन्काउनु
दीपशिखा बनेर भस्म गर्नु-पुरुषत्वका पूतलीहरु!

आँखामा नजमाउनु-अश्रुकुण्ड
पौडीबाजलाई डुबाइदिनु-बिषको नदी बनाएर
घृणाको गाजल दलेर टार्नु-सम्भावित दुर्घटना।

सिउँदोमा बिछ्याउनु-जालको एम्बुस्
निधारमा टल्काउनु-झेलको क्षेप्यास्त्र
कपालमा उन्नु-एसिडको बम
दृष्टिमा जडान गर्नु- गोलीका थानहरु
सासमा भर्नु- बारुदका गन्ध
ओठमा लेपन गर्नु-मिसाइलको रङ।

नङलाई धारिलो खुकुरी बनाएर
पालिसको दापभित्र लुकाइराख्नु
जतिबेला पनि दुश्मन आइलाग्न सक्छन्।

फूल हैन पत्थर बनेर
हृदयमा प्रेमको सट्टा घृणा साँच्नु
मुटुका भल्भहरुबाट प्रतिशोध संचार गराउनु
कलेजीका कुना-कन्दराबाट उत्पादन गर्नु-कठोर हर्मोनहरु!
नशा-नशामा प्रवाह होस-क्रोधका बीजहरु!

स्तनहरुले उभिनुपर्छ अस्थिर पहाड भएर
योनीहरुले अब नाकाबन्दी गर्नुपर्छ
डिम्बहरुले हड्ताल गर्नुपर्छ
जुलुस निकाल्नुपर्छ
गर्भाशयले हुर्काउनुपर्छ-क्षमताका भ्रूणहरु 
जन्माउनुपर्छ-योग्यताका सर्टिफिकेटहरु!

हातमा कलमको चुलेसी लिएर भान्सा छिर्नु
पकाउनु-अक्षरका परिकारहरु
पस्किनु-परिवर्तनका स्वादहरु
चकित परून्-घरका सदस्यहरु!

मस्तिष्कमा युगको बिरुवा रोपेर
फुलाउनु लैंगिक समानताका फूलहरु
फलाउनु-गतिशीलताका फलहरु
सावित गरिदिनु दुनियाँलाई-आफ्नो औकात।

प्रतिशत र दयाको लैंगिक कोटासंग हैन
अब प्रतिस्पर्धा गर-आफैंसंग
शताब्दीको ऐनामा प्रतिबिम्बित गर-वास्ताविकताको चित्र।

ममतामयी आमा मात्र हैन
स्नेही दिदीबहिनी मात्र हैन
प्यारी श्रीमती मात्र हैन
मायालु प्रेमिका मात्र हैन
समय-परिस्थितिको मागानुसार
राक्षसको बध गर्ने कालीको रुप धारण गर्नु
नत्रभने उसैगरी हेपिनेछौ-साँघुरा गल्लीहरुमा
हातपात हुनेछौ-अँध्यारा बस्तीहरुमा
बलात्कृत हुनेछौ फेरि-
उही कोठाहरुमा
उही जंगलहरुमा
उही बारीका कान्लाहरुमा!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...