Wednesday, 10 October 2018

मान्छे र पैसा

पैसा
अल्छेसंगको सम्बन्ध भंग गर्नेछु
मिहिनेती भेट्न पाए दंग पर्नेछु
हिम्मत नहारी कोसिस जारी राख
तिम्रो जिन्दगीमा पनि रंग भर्नेछु।

मान्छे
आज हुन्छौ,भोलि हुन्नौ,के पारा हो?
तिमी नहुँदा मर्छु,ज्यानमारा हो!
मनको ब्रम्हाण्डमा चम्किरहन्छौ
सबै भन्छन्- पैसा दूरको तारा हो।

पैसा
तिमी हैन,मै तिम्रो पछि भाग्नेछु
कर्म गरेर देखाऊ,म जाग्नेछु
जसले कर्मलाई माया गर्छ
म उसैको खल्तीतिर लाग्नेछु।

मान्छे
बहुत बगाएँ पसिना,तिमी आएनौ
अप्ठ्यारो भयो तिमी विना,तिमी आएनौ
तिमी आउने आशमा हाडछाला घोटें
तर मलाई ठानी झिना,तिमी आएनौ।

पैसा
बडा,झिना सबैको भागमा पर्छु म
सकेसम्म आउने कोसिस गर्छु म
कहिलेकाही बाटोमा आउँदा-आउँदै
खाल्डो,खोल्सा,भीडमा पनि झर्छु म।

मान्छे
धनीतिर लाग्छौ,गरीबबाट भाग्छौ,पक्षपाती हौ तिमी
आवश्यक परेको बेला हुँदैनौ र त नजाती हौ तिमी
महिना मर्ने बेलामा ठूलो आशले पर्खिरहन्छु कति
गरीबको पीडा बुझ्दैनौ कहिल्यै,विश्वासघाती हौ तिमी।

पैसा
गर्नुहुन्न हतार,धैर्य हुनुपर्छ
गर्नुछ इन्तजार,धैर्य हुनुपर्छ
धैर्यता कायम राख्न सकियो भने
स्वप्न हुन्छ साकार,धैर्य हुनुपर्छ।

मान्छे
खानुपर्ने मानो,देख्दै-देख्दैनौ
पेट भयो सानो,देख्दै-देख्दैनौ
मेरो गुहार न सुन्छौ,न देख्छौ
कतै छौ कि कानो,देख्दै-देख्दैनौ।

पैसा
मनुक्खेले बनाउँदा,आँखा राखेनन्
बोलाउँदा सुन्नलाई,कान हालेनन्
तैपनि म बुझ्छु मनुक्खेको कथाव्यथा
देख्ने,सुन्ने बनाउ भन्दा मान्दै मानेनन्।

मान्छे
आँखा नभएपनि तिमी देख्न सक्छौ यार
कान नभएपनि तिमी सुन्न सक्छौ यार
सके मलाई माफ गरिदेउ मेरो साथी
खुट्टा नभएपनि तिमी हिंड्न सक्छौ यार।

पैसा
सबलाई उस्तै माया गर्छु,गाली नगर
कुनैबेला केही गर्न नसक्दा भर नपर
मैले गर्न सकेको काम त गरिहाल्छु नि
तर मेरो बारे नचाहिंदो भ्रम नछर।

मान्छे
तिमी मेरो,म तिम्रो,हातेमालो गर्नुपर्छ
सकेसम्म सबैको रित्तो थैली भर्नुपर्छ
चाहे धनी होस या त्यो गरीब नै होस
सबैको मनमा उत्तिकै खुशी छर्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...