शनिबारको दिन।मजाले सुत्छु भनेको सुत्नै सकिन।एकातिर लव-कुशको बिहेको चटारो।जुम्ल्याहा छोराहरुको बिहे एकै घरको दिदी-बहिनीसंग हुने कुराले म बढी नै उत्साहित भएछु क्यारे।यो बुढेसकालमा आरामदायी निद्रा पनि नलाग्ने कठै।फेरि मेरी बुडी पनि त्यस्तै छे-माया गरेर सुत्नै नदिने क्या!कहिले चिया खाउ भन्छे।कहिले के खाउ भन्छे।खाएरै थाक्छु म।यसो छुट्टीको दिन कसरी मनाउने भनेर सोचें।जानुपर्ने त ठोसे बजार पनि छ।शिवालय बजार पनि जानुछ।कहाँ जाउँ,कहाँ नजाउँ भो।ह्या!बरु कतै जान्न।बुढेसकालमा थकित ज्यानलाई नुहाइधुवाइ गर्न लागें लिखु नदीतिर।
बुडीलाई मात्र कति दु:ख दिनु भनेर केही लत्ताकपडा पोको पारेर हिंडें।नदीमा पुगेर शुरुमा सबै कपडा धोएँ।अब पालो नुहाउने।जीउ हल्का भिजाएर साबुन दली ओरी नदीमा पौडिन थालें।सानैदेखि लिखुमा पौडेको मान्छे,पौडिनु सामान्य थियो मेरो लागि।उल्टो-सुल्टो सबै तरीकाले पौडिने सक्ने मेरो खुबी देखेर जवान हुँदा केटीहरु लट्ठ हुन्थे।केहीबेर सुल्टो पौडिएँ।अनि सर्लक्क उत्तानो पल्टेर हातपाउ चलाउन थालें।केही चीज मेरो शीरमा आएर ठोक्कियो।झसङ्ग भएँ।सर्लक्क सुल्टो जीउ पारेर हेरें-एउटा स्टीलको बाकस रहेछ।शुरुमा त बम होला भनेर डर लाग्यो तर देशमा शान्ति आइसकेको अवस्थामा बम हालेर पठाउने को होला र भनेर ढुक्क भएँ।एक हातले बाकस समाएर पौडिएर बाहिर निस्कें।बाकस त निकालें तर खोलुँ कि नखोलुँ भयो।बाकसमा के होला भनेर खुबै उत्साहित र कौतुहल भएँ।जे होला-होला,जे पर्ला-पर्ला भन्ठानेर बाकस खोलें।धन्न बम त रहेनछ।सबै सामान प्लास्टिकले मजाले कस्सिएको रहेछ।शुरुमा मेरो हातमा पर्यो-सिन्दूर।म झसङ्ग भएँ।कसैले तन्त्रमन्त्र गरेको त छैन?सिन्दूरको बट्टालाई एकतिर राखेर अर्को सामानतिर हात बढाएँ।पोते हातमा आयो।सोचें-कुन आइमाइको होला।त्यसलाई पनि सिन्दूरको बट्टासंगै राखेर अर्को सामान निकालें।चिट्ठीको खाम रहेछ।बाहिर नाम-ठेगाना केही लेखिएको थिएन।कसले।कसलाई लेखेको होला?लेखेर पनि किन यसरी बगाइदिएको होला?मनमा एकप्रकारको भय पनि सिर्जना भयो-कतै यमराजले मलाई नै पठाएको त हैन?हैन-हैन,यो पुरुषलाई पठाएको हैन।पक्कै नारीलाई हुनुपर्छ।मनमा अनेक सवालहरु उब्जिए।ती सवालहरुको जवाफ पाउन पनि यथाशीघ्र खाम खोल्नैपर्थ्यो।व्यग्र हुँदै खाम च्यातें।मुटुको ढुकढुकी बढ्दै थियोे।हजारौं सवालको जवाफ पाउने आशाले पत्र पढ्न थालें।
मेरी अघोषित प्रेमिका/श्रीमती
प्यारी सीता!
यो अभागी रामको तर्फबाट जूनी-जूनीसम्म असीमित प्यार र अविरल सम्झना।
मेरी सीता!बर्षौंपछि तिमीलाई यो पत्र लेख्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु।आजको यो घडीमा मैले अहिलेसम्म भन्न र लेख्न नसकेका कुराहरु उल्लेख गर्दैछु।शुरुकै सम्बोधनले तिमी छाँगाबाट खस्छौ होला।तर मलाई माफ गर सीता!जुगौंपछि आज हिम्मत जुराएर तिमीलाई आफ्नो ठानेर सम्बोधन गरेको छु।तिमी मलाई पराई ठान,त्यो तिम्रो अधिकारको कुरा हो।ए साँच्ची,सीता!शुरुदेखि अहिलेसम्मको सबै कुरा लेख्दैछु।पक्कै पनि तिमीलाई झर्को नलाग्ला।
भर्खर-भर्खर हामी जवानीको डुंगामा सवार हुन थालेका थियौं।बसन्तमा बोटबिरुवामा पालुवा पलाएझैं हामीमा पनि बैशका पालुवा पलाइरहेका थिए।तिमी कतैबाट आउँथ्यौ।तिमीलाई पनि यकिन थाहा थिएन होला म कताबाट आउँथें।तर दश बजेदेखि चार बजेसम्म हामी संगै हुन्थ्यौं।संगै के भनौं,एउटै स्कुलमा हुन्थ्यौं।एकैचोटी हाम्रो भेट छ कक्षामा भएको थियो।शैक्षिकसत्रको अन्तिमतिर मात्र म भर्ना भएको थिएँ।तिमी पनि बच्चै थियौ।कपडा पनि खासै नयाँ र मिलाएर लाएकी हुन्नथ्यौ।अन्तिम परिक्षामा हामी संगै पर्यौं।तिमीलाई पनि अझै स्मरण ताजै होला।तिमीलाई खासै आउँदैनथ्यो र घरीघरी मलाई नै सोध्थ्यौ।मैले सबै प्रश्न हल गरिसकेर उत्तरपुस्तिका तिमीलाई सार्न दिन्थें।तिमी मख्ख हुन्थ्यौ।तिमीलाई मद्धत गर्न पाउँदा म पनि खुशी नै थिएँ।परीक्षा सक्यो।म प्रथम भएँ।तिमी तृतीय भयौ।मेरै कारण तिमी तृतीय भएको भनेर सबैले होहल्ला गरे।
एउटै बेन्चमा त्यो भन्दा पहिले कोही केटीसंग त्यसरी बसेको थिइन।त्यो बार्षिक परिक्षाले त्यो संयोग पनि जुराइदियो।हाम्रो बीचमा नजरको हानाहान हुन्थ्यो।मैले।तिम्रो।नजरमा प्यार देख्थें।तिमीले मेरो नजरमा के देख्थ्यौ,थाहा भएन।बेला-बेलामा सोचिरहन्थें-म राम र तिम्रो नाम सीता।क्या जोडी मिलेको हाम्रो!नामले पनि साथ दिएकै थियो।हामी सात कक्षामा पुग्यौं।तिमीहरु राम्री-राम्री तीनजना एउटै बेन्चमा बस्थ्यौ।कहिलेकाही तिमीहरुको बीचमा बसुँझैं लाग्थ्यो।रुपको तुलना गर्दा तिमी तीनजनामा तेश्रो थियौ।तर मेरो मनले भन्थ्यो-तिमी नै पहिलो र सबैभन्दा राम्री छ्यौ।घरीघरी मेरो आँखा तिम्रै बेन्चतिर जान्थे।तिमी पनि मतिरै हेरेर मुसुक्क मुस्कुराउँथ्यौ।मिर्मिरेमा पूर्वको लाली जस्ती लाग्थ्यौ।सन्ध्यामा क्षितिजको गोधुलीझैं लाग्थ्यौ।त्यतिबेला तिमी भर्खर फक्रन लागेको चाँपको फूल जस्ती देखिन्थ्यौ।त्यो जमानामा,त्यो उमेरमा मायाप्रेमको बारेमा खासै जानकार थिइन।तैपनि मेरो मुटु तिम्रै लागि धड्के झैं लाग्थ्यो।तिम्रै लागि यो धर्तीमा जन्म लिए झैं लाग्थ्यो।मनमा एक-किसिमको माया जागेर आउँथ्यो।
चारैतिर पहाड।चुस्स-चुस्स देखिने हिमशृंखलाहरु।हरियाली वनजंगल।कलकल बग्ने पुम्पा खोला।सलल बग्ने त्यो निश्चल लिखु नदी।कल्पना गर्थें-त्यो नदीमा तिमी र म मात्र होस।जोडी माछा झैं संगै नदीमा डुबुल्की मारुँ।संगै पौडिएर वार-पार गरिरहुँ।अनि तृप्त भैसकेपछि ती ठूल्ठूला ढुंगाहरुमाथि पालैपालो पल्टिएर सूर्यको न्यानोपन लिउँ।तिम्रो मायाको न्यानोपन लिउँ।पुम्पाकोटको फाँटमा फलेका धानको बीचमा पिरतीको गीत गाएर तिमीसंगै नृत्य गरुँ-चलचित्रको नायक-नायिका झैं।तर त्यो सिर्फ कल्पना मात्र थियो।तिमी मेरी प्रेमिका हुन बाँकी नै थियौ।त्यसको लागि गर्नुपर्ने धेरै काम बाँकी नै थिए।प्रेमपत्र लेख्न बाँकी थियोे।प्रेम-प्रस्ताव राख्न बाँकी नै थियो।मेरो मुटुमा त कोरिसकिएको थियो प्रेमपत्र।केवल सेतो पानामा कलमको मसीले उतार्न मात्र बाँकी थियो।मैले आफूलाई तिम्रै हुँ भनेर स्वीकारिसकेको थिएँ।तर तिमीले स्वीकार-अस्वीकार गर्न बाँकी नै थियो।शुरूवात केही भएकै थिएन।सबै बाँकी थिए।
कक्षाकोठामा शुरुदेखि अन्तिम सम्म पाठ पढ्नु भन्दा म तिम्रै आँखा पढिरहेको हुन्थें।हामी बीचमा अघोषित प्रेम भैसकेको थियो।घोषणा त गर्न चाहन्थें तर मेरो एकल घोषणा तिम्रो लागि अमान्य पनि त हुनसक्थ्यो।कल्पनालाई यथार्थमा बदल्न चाहन्थें।त्यो लिखु नदीसम्म डोर्याएर लैजान चाहन्थें।ती खेतका गरा-गरासम्म लैजान चाहन्थें।तर व्यवहारिक हुन सकिरहेको थिइन।मनले त कैयौंपटक भनिसकेको थिएँ,तर तिमीले बुझे पो!फेरि तिम्रो मन जित्न के गर्नुपर्थ्यो,त्यो पनि त थाहा थिएन।यो राम सीताको लागि जस्तोसुकै कठीन परीक्षा दिन पनि तयार थियो।पुम्पाकोट देखि गर्जाङसम्म लगातार दौडिन तयार थिएँ।आँखा चिम्लेर पुम्पाखोलाको झोलुङ्गे पुल तर्न तयार थिएँ।तिमी जति किलोको वजन उचाल भन्छ्यौ,उचाल्न तम्तयार थिएँ।त्यतिमात्र कहाँ हो र,तिम्रो बाबाले भनेकै धनु उचालेर धनुवाण चढाउन तयार थिएँ।तर तिमीले कहिल्यै परीक्षा दिने मौका नै कहाँ दियौ र?
कहिलेकाही तिम्रो मुहार बादलभित्रको जून जस्तै हुन्थ्यो।सायद केही समस्यामा पो थियौ कि।तनावमा पो थियौ कि।कि सानै उमेरमा तिमीलाई हेर्न कोही त आएनन्?
"राम!मलाई माग्न केटा आएको थियो,मलाई भगाएर नौंडाडा कटाएर लैजाउ न" भनेको भए म किन नाइँ भन्थें र?तर न त तिमीले आफ्नो समस्या मलाई सुनायौ न मैले सोध्नै सकें।छि!म पनि कति कायर है?केटामान्छे भएको नाताले मैले नै शुरुमा सोध्नुपर्ने नि!म कस्तो बुद्धू है?तिम्रा लोलाएका नयन,थकित बतन देखेर धुरु-धुरु रोइदिन मन लाग्थ्यो।तर कक्षाकोठामा पागल साबित हुनसक्थें।हुन त तिम्रो लागि म पागल पनि हुन तयार थिएँ।बश तिम्रो आज्ञाको प्रतिक्षा थियो।त्यसरी नै समयले कोल्टे फर्दै थियो।हामीले केही गर्न सकेनौं।एकबर्ष व्यर्थै बित्यो।बार्षिक परिक्षा आयो।तर त्यो पटक हामी एउटै बेन्चमा परेनौं।एउटै बेन्चको त कुरै छोडौं,एउटै कोठामा पनि परेनौं।सिट मिलाउने सरलाई गाली दिन मन लाग्यो-"मेरी सीतालाई किन संगै पारेनौं?"
फेरि अनुरोध गर्न मन पनि लाग्यो-"प्लीज सर,सीतालाई मेरै बेन्चमा पारिदिनुस् न!"
तर मैले केही गर्न सकिन सीता!म कायर हुँ।मैले त्यतिसम्म भन्न सकिन सरलाई।फेरि तिमी आफैं सोच त सीता!मैले किन र कुन हैसियतले त्यसो भन्न सक्थें र?अहिले भए भन्न पनि सक्थें।तर त्यतिखेर सर देखि कम त डर लाग्थेन?हो सीता,त्यो परिक्षामा पनि तिमीलाई सिकाउन चाहन्थें।उत्तरपुस्तिका सार्नलाई दिन चाहन्थें।बरु तिमी नै प्रथम होउन्।म तेश्रोसम्म भए पनि ठिकै थियो।हरबखत म बेन्चमा तिमीलाई खोज्थें।तर तिमी हुने कुरै भएन।तीन घण्टाको परिक्षा दुई घण्टामै सकेर म तिम्रो बारेमा सोच्थें।तिम्रै अभाव महसुस हुन्थ्यो।केही दिन त मैले लेखिसकेर उत्तरपुस्तिका बुझाएर तिमीलाई खोज्न निस्कें।सायद तिमीलाई केही नआएर होला कलम टोकेर बसिरहेकी हुन्थ्यौ।मतिर पनि हेरेनौ।झ्यालबाट सरको आँखा छलेर तिमीलाई हेरिरहन्थें।एकदिन त सरले थर्काउनु भयो।त्यस्तै पाराले त्यो बर्षको परीक्षा पनि सक्यो।नतिजा आयो।म बिल्कुल खुशी भईन।मेरो छातीमा चट्याङ बज्रेझैं लाग्यो।म त प्रथम नै भएको थिएँ तर बिडम्बना,तिमी फेल भएकी थियौं।सरलाई अनुरोध गर्न मन लाग्यो-"प्लीज सर!बरु मलाई फेल बनाउनुस्,सीतालाई पास गराइदिनुस्।"
तर सकिन।सीता!मैले अनुरोध गर्न सकिन।मेरो लागि आफू प्रथम भएको कुनै अर्थ थिएन।त्यो रातभरी म होस्टेलमा सुत्न सकिन सीता!तिम्रो असफलतामा आँसु बगाउँदा-बगाउँदा रात छर्लङ्ग बित्यो।तिमी आफ्नो असफलतामा बरु त्यत्ति रोएनौ होली।बिहान ऐनामा हेर्दा आँखा सुन्निएर हेर्नै नहुने भएको थियो।मलाई आठ कक्षामा जाउँ जस्तै लागेन।सातमा तिमीसंगै पढुँ जस्तो लाग्यो।अब त हाम्रो कक्षाकोठा पनि फरक भैसकेका थिए।हाम्रो मन एउटै हुन पनि सकिरहेको थिएन।त्यसबेला देखि टिफिनमा पनि फुटबल खेल्न छोडेर तिमीलाई हेर्न थालेको थिएँ।तिमी त संगीहरुकै खेल्नमा मस्त थियौ।तिमी पनि मेरो लागि खेल्न छोडिदेउ भन्न पनि सकिन।मलाई साथीहरुले किताबको किरो भन्न थाले।तर म किताब भन्दा तिमीतिर ध्यान दिन्थें।यो कुरा कि मलाई कि भगवानलाई मात्र थाहा थियो।पढाइतिर खासै ध्यान गएन।किनकि म हाम्रो मिलन होस भन्ने पक्षमा थिएँ।फेल हुन मन लाग्यो।फेल भैहालें भने तिमीसंग फेरि भेट हुने निश्चित थियो।एकदिन हेडसरले अफिसमा बोलाउनुभयो।
"ए राम!तँलाई अचेल के भएको छ हाँ?फस्ट हुने मान्छे खस्किँदै गैरहेका छौ।के समस्या पर्यो भन,तँलाई हामी सहयोग गर्छौं।स्कुलले सहयोग गर्छ।तर पढाइमा ध्यान दिने।"
हेडसरको कुराले म अकमक्क भएँ।एकछिन अवाक भएँ।हेडसरले मेरो मनको कुरा थाहा पाएछ झैं लाग्यो।तर आफूलाई संयमित बनाएर जवाफ दिएँ।
"हैन सर केही भएको छैन।केही समस्या छैन मलाई।समस्या परे भनिहाल्छु नि सर।पढ्न मन अलि नलागेकै हो सर तर कारण केही छैन।"
"लौ ठिक छ।तिमी जान सक्छौ।राम्ररी पढ है।"
ढुकढुक भएको मेरो मुटुको गति बल्ल पूर्वावस्थामा आयो।
हेडसरले सम्झाएपछि पढाइमा जबर्जस्ती मन लगाउन थालें।तर तिमीलाई पनि कहाँ बिर्सन सक्थें र!गणितको सुत्र घोकेपछि तिम्रै नाम लिन्थें।गृहकार्य सकिएपछि तिमीलाई नै सम्झिन्थें।तिम्रै नाममा दर्जनौं प्रेमपत्र लेखेर फेरि च्यातेको थिएँ।कक्षामा पढ्दापढ्दै भागेर तिम्रो समिपमा जाउँ झैं लाग्थ्यो।हेडसरको केरकार पछि त तिम्रो लागि फेल पनि हुन नसक्ने भएँ।न त मनको कुरा तिमीलाई भन्ने साहस थियो ममा।म तिम्रो एकोहोरो प्रेमको दलदलमा कहिल्यै उम्कन नसक्ने गरी फसिसकेको थिएँ।तिम्रो सम्झनामा डुब्दा-डुब्दै कहिले त भोकभोकै सुतें।
"पढन्दासलाई किन खान चाहियो?किताबको पाठ घोके पुगिहाल्यो नि" भन्थे साथीहरु।तर खासमा त्यस्तो थिइन म।एउटा कुरा चाहिँ सत्य हो-तिम्रो याद भए केही चाहिन्नथ्यो।
थाहा छ सीता तिमीलाई?मैले कतिसम्म दुस्साहस गरेको छु?तिमीहरुको पछि-पछि पछ्याउँदै शिवालयसम्म पुगेर फर्किन्थें।तिमीहरू अलग-अलग बाटोमा लागेपछि म पनि त्यतैबाट फर्किन्थें।होस्टेलसम्म पुग्दा दिनलाई रातले आफ्नो नियन्त्रणमा लिइसकेको हुन्थ्यो।तर मेरो मन सदा अनियंत्रित नै रह्यो।मेरै बशमा थिएन मेरो मन।होस्टलमा संगै बस्ने साथीहरुले मलाई एकान्तमा पढेर आएको भन्थ्यो।हुन पनि एउटा किताब हातमै हुन्थ्यो।त्यो केवल देखावटी थियो।अरुलाई उल्लु बनाउँदा-बनाउँदा आफैं उल्लु भैसकेको थिएँ।तिमीबाट पनि उत्तिकै माया पाउने कुनै ग्यारेन्टी नहुँदा-नहुँदै पागल भएर तिम्रो पछि पर्नु मुर्खता बाहेक के हुन सक्थ्यो र?पछ्याएको कुरा तिमीलाई थाहा भए पनि एउटा कुरा।म जस्तो पागलप्रेमी सायद संसारमा अरु कोही नहोलान्।
सीता!चाहेर पनि मैले तिमीलाई पर्खन सकिन।तिमी आठ कक्षामा पुग्यौ,म नौं मा पुगें।नौं कक्षा पनि प्रेमको दृष्टिकोणले फलदायी भएन।तिमीलाई एकान्तमा भेटेर मनको बह पोख्छु भन्दा-भन्दै दिनहरु कति छिट्टै बितिसकेछन्।तिमी नौं मा पुग्दा म दशमा पुगिसकेको थिएँ।एस.एल.सी.को तनावले तिमीसंग भेट्ने फुर्सदै भएन।तिमी नौं कक्षामा हुँदा त पूर्णरूपमा फक्रेको फूल झैं भएकी थियौ।हेर्दै टिपुँ-टिपुँ लाग्ने।तिमीलाई टिपेर सदाको लागि मेरो हृदयमा सजाउने धोको थियो।खै केले छेक्यो-छेक्यो!समय निष्ठुर बनेको थियो।धारिलो काँडा बनेर तिम्रो समिपमा आउनै दिएन,पापी समयले।टेस्ट परिक्षा पछि हिम्मत जुटाएर तिमीलाई भेट्न खोजें।तर ती दिनहरुमा तिमी स्कुलमा गयल भयौ।कारण थाहा भएन।एस.एल.सी.राम्रै भयो।त्यसको खुशी साट्न म स्कुलमा आएको थिएँ।तिमी पनि दशौं कक्षामा पुगेको खबर पाएँ।प्रमाणपत्र लिएँ।भेटघाटकै लागि तिमीहरुको कक्षामा आएको थिएँ।ढोकाबाट प्रवेश मात्र के गरेको थिएँ,मेरो पहिलो नजर तिमीमै पर्यो।साथै आँखाबाट आँसु पनि खस्यो।कारण-तिम्रो सिउँदोमा अरु कसैको सिन्दूर सजिएको थियो।गलामा अरु उसैको पोते र हातमा उसको चुरा।मैले आफूलाई सम्हाल्नै सकिन।सीता!सायद तिमीले पनि त बिर्सेकी छैनौ होला।म धुरु-धुरु रुन थालेको।तिम्रा कक्षाका साथीहरुले खै के-के भनेर सम्झाउँदै थिए।मैले केही सुनिन।
"साथी हो!दस कक्षासम्म यही स्कुलमा पढियो।तिमीहरुको मायाले एस.एल.सी.उतीर्ण गरेर जाँदैछु।तिमीहरुलाई म कहिल्यै बिर्सने छैन।मनमा गाढा बनाएर सजाउनेछु।यहाँबाट गएपछि को कहाँ पुग्ला,को कहाँ पुग्ला।फेरि भेट होला-नहोला।कहीं-कतै भेट भए हाँसेर बोलिदिनुहोला।यही मेरो लागि लाख हुनेछ।"
मैले यति भन्दा धेरैका आँखा रसाएका थिए।तिम्रो आँखा पनि त ओभाना थिएनन्।तिमीले मेरो लागि पनि दुईथोपा आँसु झारिदियौ।त्यही मलाई काफी थियो।खुरुरु गएर तिमीलाई अंगालोमा बर्ने मन थियो तर सकिन।तिम्रो सिउँदोको सिन्दूरले छेक्यो।हो सीता,कसम सिन्दूरले छेक्यो।मेरो आँसु अरुको लागि ५% र तिम्रो लागि ९५% थियो।तर मलाई थाहा थियो,तिम्रो आँसु मेरै लागि १००% थियो।सोचेर खुशी पनि लाग्यो।तर खुशी भन्दा दु:खी बढ्ता थिएँ-हाम्रो बिछोडमा।कक्षामा धेरैबेर बस्न सकिन।बाहिरिएँ।एकैछिनमा मेरो ब्याजका साथीहरुलाई बिदाइको कार्यक्रम राखियो।मञ्च तयार गरिएको थियो।शुरुमै मलाई दुई शब्द राख्ने अवसर दिइयो।बोल्न खोजें।तर भक्कानिएर बोल्नै सकिन।मञ्चमै निकैबेर रोएँ।भाइबहिनीहरुले फूलमाला लाइदिए।अन्तमा केही शब्द बोलेर बिदा भएँ।हाम्रो बिदाइमा सिंगो बिद्यालय परिवार रोयो।
मुटुमा बिछोडको घाउ र आँखामा पीडाको आँसु लिएर त्यो पुम्पाको उकालो चढेको थाहै भएन।झोलामा भएका एस.एल.सी. को प्रमाणपत्र मलाई योग्यताको प्रमाणपत्र जस्तै लागेन।तिम्रो-मेरो बिछोडपत्र झैं लाग्यो।त्यतिखेरै च्यातेर धुजा-धुजा पार्न मन लाग्यो।माथि डाँडामा पुगेर फेरि एकपटक तिम्रो सिउँदोको सिन्दूर सम्झें।आफ्नो कायरता लाई सम्झें।बेलैमा आफ्नो मनको कुरा भन्न सकेको भए अवस्था अर्कै हुनसक्थ्यो।नसकेर अवस्था प्रतिकुल भैदियो।
क्याम्पस पढ्न राजधानी छिरें।राजधानीको महंगी र बेरोजगारीले पढ्ने वातावरण पनि अनुकूल भएन।राहदानी बनाएर बिदेश गएँ।कहिले घरदेश र कहिले परदेश गर्दा-गर्दै समय बितेको पत्तै भएन।सीता!तिमी कहाँ के गर्दैछौ,कुन हालतमा छौ,थाहा छैन।जे भएपनि घरबार राम्रै जमेको होला।तिमीले देख्ने भए भन्ने थिएँ-
"सीता!यी हेर त,तिम्रो यादकै साहाराले बाँच्दा-बाँच्दै केश सेतै फुलिसकेछ।सीता!तिमीलाई सम्झिँदा-सम्झिँदै मैले त बिहे गर्नै बिर्सेछु।"
तर तिमीले देख्ने कुरै भएन।थाहा पाउने कुरै भएन।बश म त मेरो मनको बहलाई यो कागजमा उतार्दैछु।तिम्रा लागि लेखिएका यी शब्दहरु खै कसले पढिदिने?कसले बुझिने मेरो कथा-मेरो ब्यथा।
सीता!आज देखि म पचासौं बसन्तमा पाइला टेकें नि।यो उमेरसम्म मैले जति जे गरेपनि केही गरे जस्तै लाग्दैन।सानो घर बनाएको छु,यही पनि ठूलो हुन्छ मेरो लागि।आखिर म एक्लो मान्छे।एकमुठी सासले कहिले धोका दिन्छ,थाहा छैन।आज सबैभन्दा बढी मैले तिमीलाई सम्झें।हुन त तिमी अर्कैकी भैसक्यौ।।तिमीलाई सम्झिने अधिकार पनि नहोला।तर यो मनले मान्दैन,म के गरु?त्यसैले आज म हामी संगै पढेको स्कुलमा आएको छु।तिमी बाहेक सबैलाई भेटेर फर्किनुछ।ती पहाड,ती वनजंगल,फाँट,खेतका गराहरु,पुम्पा खोला,लिखु नदी।सबैलाई भेटें।किनकि मेरो अतीत यिनीहरुकै कारण अर्थपूर्ण थिए।हो,सबैलाई भेटेर जाँदैछु।तर सबैभन्दा महत्वपूर्ण मान्छेसँग भेट्न सकिन।भेट्ने कोसिस गरें।गर्जाङ देखि शिवालयसम्म गएँ।मलाई त यो सम्म पनि थाहा थिएन कि तिम्रो बिहे कोसंग भयो!मेरो सोध्ने हिम्मत पनि त थिएन।अब यो उमेरमा आएर तिम्रो बारेमा कसलाई सोधुँ?सोध्नुको औचित्य पनि छैन।
सीता!साँच्चिकै म जस्तो पागलप्रेमी को होला यो संसारमा?यो रामले सीतालाई शारीरिक रुपमा प्राप्त गर्न नसकेपनि केही गुनासो छैन।प्रेमको नाम प्राप्ति मात्र होइन होला।मानसिक रुपमा त मैले तिमीलाई पाइसकेको छु।तिमी यसलाई जे ठान।तिमी मेरो दिलमा सजिएकी छौ।सजिरहनेछौ।तर यो कुरा म बाहेक अरु कसलाई थाहा छ र?कसैलाई थाहा छैन।थाहा होस या नहोस,मलाई केही घाटा छैन।बरु म त अर्को एउटा उट्पट्याङ पो गर्दैछु त।यो मनको बहलाई प्रकृतिको जिम्मा लाउँदैछु।हावाले त उडाएर लैजाला तर छिट्टै धुजा-धुजा हुनसक्छ।मैले त यसो गर्ने निर्णय गरें-यो पत्रलाई लिखु नदीमा बगाइदिन्छु।प्लास्टिकमा पोको पारेर बाकसमा हालेर बगाइदिन्छु।साथमा तिम्रो लागि मेरो नामको सिन्दूर र पोते पनि संगै पठाएको छु।तिम्रो ठेगाना थाहा नभएकोले बाहिर केही लेख्न सकिन।भित्रको पत्र तिमीप्रति नै समर्पित हुनेछ।कसैले देखेर निकाले पनि ठिकै छ।नत्र यो पत्र महासागरमा पुग्नेछ।यो भन्दा खुशीको कुरा के हुनसक्ला।सीता!लौ त मैले त्यस्तै गरें।लौ त सीता!अहिलेलाई विदा चाहन्छु।
उहीँ तिम्रो अघोषित पागलप्रेमी
राम
कठै!रामको प्रेमपत्रले मलाई हायलकायल बनायो।४२० भोल्टको झट्का लाग्यो।मेरो शरीर लुगलुग काम्न थाल्यो।मलाई त्यो प्रेमपत्र नभएर रामायण पढे झैं लाग्यो।किनकि म पनि त्यही रामायण सित कुनै न कुनै हिसाबले जोडिएको थिएँ।सीतालाई बिहे नामको वायुपंखी घोडामा चढाएर हरण गर्ने रावण अरु कोही नभएर म नै थिएँ।सीताको श्रीमान मै हुँ।हाम्रो बिहे भएको तीन दशक भैसक्यो।छोराहरु लव र कुश पनि जवान भैसके।निकट भविष्यमै उनीहरुको बिहे हुँदैछ।तर मैले सीतालाई कुमारी हुँदै उनको राजीखुशीमै बिहे गरेको हुँ।न कसैको करकाप थियो,न दबाब।तर राम जस्तो निस्वार्थ प्रेम गर्ने प्रेमीको कहानी थाहा पाएर म धुरु-धुरु रोएँ।रामको अगाडी आफूलाई तुच्छ पाएँ।एउटा अचम्म लाग्ने कुरा त के भने बेला-बेलामा मेरी श्रीमती सीताले पनि भन्ने गर्थिन्-
"एकजना मान्छेलाई एकोहोरो प्रेम गरेकी थिएँ।"
त्यतिबेला मैले खासै वास्ता गर्ने थिइन।वास्ता गरेर पनि फाइदा थिएन।त्यो भाग्यमानी पुरुष को थियो,त्यो त थाहा भएन तर आज रामको पत्र पढेर एउटा गतिलो पाठ सिकें-प्रेम सदा अजर-अमर रहन्छ।मैले सीतालाई सक्दो माया दिने अठोट गरें।एकातिर सीता जस्ती श्रीमतीको श्रीमान हुन पाउँदा आफूलाई भाग्यमानी ठानें।
पत्र त पढिसकें।तर अब यसलाई के गर्ने,के नगर्ने भनेर दोधारमा फसें।सीतालाई दिउँ कि नदिउँ?सीतालाई रामको पत्र दिएर आफ्नै मायालाई ओझेलमा पार्नु थिएन मलाई।नदिने निर्णय गरें।अन्ततः मैले ती पत्र,सिन्दूर र पोतेलाई जस्ताको तस्तै प्याक गरेर बाकसमा हाली लिखुमा बगाइदिएँ।निकैबेर आफूलाई पापी र खलनायक सम्झें।फेरि आफूले आफैंलाई भनें-"म खराब रावण हैन,असल रावण हुँ।"
बाकस बग्दै-बग्दै गयो।बाकस के भनुँ-एउटा प्रेम-कहानी बगेर गयो।तल-तलसम्म हेरिरहें।एकैछिनमा बाकस ओझेलमा पर्यो।