Sunday, 19 November 2017

मनको राजधानी

अचेल मेरो मन
बेरोजगार युवा झैं
यत्रतत्र भौतारिरहन्छ
हिंडिरहन्छ तिम्रो दिलको सडकमा
तर तिम्रो दिलको लम्बाइ
पत्ता लाउन नसकेर
निराश भएर फर्कन्छ।

तिम्रो दिलको बारीमा
सम्मानको कोदालीले
खनजोत गरेर
भावनाले सिंचित गरी
प्रेमका रंगीन पुष्पहरु फुलाएर
एउटा सुन्दर बगैंचा
निर्माण गर्न चाहन्छ
यो आकांक्षी मन।

नेपालको दुर्गम भूभागमा झैं
चाहनाका गोरेटाहरुमा
कहिले उकालीहरुमा त
कहिले ओरालीहरुमा
तिम्रो मनसम्म पुग्ने उदेश्यले
यात्रारत छ मेरो मन।

हुँदा-हुँदा अब त यो मन
हतोत्साहित हुँदैछ
विचलित हुँदैछ
हरेश खाँदैछ
प्रिय तिम्रो मन!
अब त भनिदेउ
आफ्नो ठेगाना।

थकित यो मनलाई
तिम्रो मनको राजधानी सम्म पुग्ने
टिकट काट्ने तयारीमा छु
अनि एउटा कुरा
मेरो मनलाई लिन
तिम्रो मनलाई पठाउ है
बसपार्क सम्म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...