Thursday, 30 November 2017

कसरी हुन्छ हाम्रो मेल

म भारी जीउ लिएर
जिन्दगीको उकालोमा
उठ्न नसक्दा,हिंड्न नसक्दा
जीवन-मरणको दोसाँधमा उभिएर
एउटा कलिलो नवजातलाई
धर्तीमा पाइला टेकाउन
प्रसव-पीडाले बेहोस हुँदा
ऊ भने नव-तरुनीसंग
यौनक्रीडामा मदहोस हुन्छ
अनि कसरी हुन्छ हाम्रो मेल?

नाबालकलाई काखी च्यापेर
थोत्रा-मोत्रा कपडा लाएर
कहिले मेलापात
कहिले घाँसपात
पानी-पँधेरो गर्दा
आँखामा आँशुको भेल हुँदा
ऊ भने भट्टीकी साउनीलाई जिस्क्याउँदै
उत्सव मनाउँछ
उसको मुखमा रक्सीको भेल हुन्छ
अनि कसरी हुन्छ हाम्रो मेल?

मेरो हातमा ढिकी-जाँतो हुँदा
कुटो,कोदालो हुँदा
हँसिया र लिपपोत गर्ने माटो हुँदा
म दु:खसंग लड्दा
उसको हातमा
कहिले तीनपत्ती
कहिले नौपत्ती त
कहिले एक्काइसपत्ती हुन्छन्
कहिले छक्का-पञ्जाका कौडा हुन्छन्
ऊ साथी-भाइसंग लडिरहेको हुन्छ
अनि कसरी हुन्छ हाम्रो मेल?

चाडबाडको लागि
किनमेल गर्न गएको मान्छे
चाड सकिसक्दा पनि
घरमा उपस्थित हुन्न
म यता एक्ली हुँदा
ढिंडो र खोले-फाँडो खाँदा
उसको साथमा दर्जनौं हुन्छन्
चौरासी-व्यञ्जनमा मस्त हुन्छ
परिवारको लागि सोच्ने फुर्सद हुन्न
परिवारलाई दिने समय हुन्न
अनि कसरी हुन्छ हाम्रो मेल?

म मिलन चाहन्छु
ऊ बिछोड चाहन्छ
म माया गर्न खोज्छु
ऊ घृणा गर्न खोज्छ
म उत्तरतिर हिंड्छु
ऊ दक्षिणतिर हिंड्छ
म पूर्वबाट उदाउँछु
ऊ पश्चिमतिर अस्ताइसकेको हुन्छ
अनि कसरी हुन्छ हाम्रो मेल?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...