Wednesday, 29 November 2017

कठै हामी

कठै हामी मूर्ख जनता
दिन मात्र जान्यौं
लिन कहिल्यै जानेनौं
चाहेर पनि पाएनौं
कति अभागी हामी।

रुख रोप्यौं
मलजल गर्यौं
रेखदेख गर्यौं
हुर्कायौं,बढायौं
बदलामा के पायौं
आश्वासन मात्र पायौं
शितलता कहिल्यै पाएनौं
अभावको आँधी-तुफान आउँदा
सुरक्षा पाएनौं
दुर्भाग्यको असिनाले
चुटिनसम्म चुटियौं
फल कहिल्यै पाएनौं।

सूर्यलाई छाप दियौं
सूर्यले घात दियो
केवल फुस्रा नारा दियो
अनगिन्ती सपना दिए
तर सपना देखि..रह्यौं
कहिल्यै पूर्ण भएनन्
बादलभित्र लुकेर हिंडे
न्यानोपनको आभास भएन
नाङ्गा आङहरु नाङ्गै रहे।

हँसिया बनायौं
हतौडा बनायौं
तिनै हतौडाहरु
नेपाल आमाको शीरमा बज्रीए
तिनै हँसियाद्धारा शान्तिको गला रेटिए
आशाको सिउँदो पुछियो
बिकास टुहुरो भयो
समृद्धीको खुट्टा भाँच्चिए
हामीले केही पाएनौं
सर्वस्व गुमायौं।

गाई पाल्यौं
हात दियौं,साथ दियौं
तर गाई थारा रहिरह्यो
कहिल्यै ब्याएन
कहिल्यै दूध दिएन
केवल लात दिइरह्यो
हामीले सहिरह्यौं।

हामी भर्याङ भएर
चढाइरह्यौं-चढाइरह्यौं
लाजनीति गर्नेहरु
चढिरहे-चढिरहे
माथि उक्लेर
खजानाहरु लुटिरहे
उनीहरुलाई कहिल्यै लाज भएन
हामी हेर्नेलाई लाज भैसक्यो।

कठै हामी मूर्ख जनता
दिन मात्र जान्यौं
लिन कहिल्यै जानेनौं
चाहेर पनि पाएनौं
कति अभागी हामी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...