Tuesday, 28 November 2017

पदपूर्ति

शीर्षक:-पदपूर्ति
कवि:-चोमु शेर्पा खुशी
--------=====----------
        

तिमी मेरो  र म तिम्रो हुनुमा
कति गर्व थियो
हाम्रो सम्बन्ध
नदी किनारमा लगाएको
पक्की बाँध भन्दा बलियो लाग्थ्यो
जसलाई न त बाढीले बगाउन सक्छ
न अाँधीले भत्काउन
तर म गलत रहेछु
न बर्षाको बाढी चाहियो
न त चैत-बैशाखको हुरी-बतास नै
अकस्मात तिमीनै
मेघ झैँ गर्जियाै र
बर्षियौ चट्याङ बनेर
जसले गर्दा भत्किन बाध्य भयौं।

सबैले भन्थे-वर-पिपल जस्तै जोडी
सायद डाहा नगर्ने कोही थिएनन्
तिम्रो मस्तिष्कमा कसले के भरी दियो
त्यसपछि जिन्दगीमा
अचानक आँधी-तुफान आयो र
जबर्जस्ती उडाइदियो
सम्बन्धको छानो।

बिश्वासले बाँधिएको भए
त्यो हुरीले सक्ने थिएन उडाउन
सगरमाथा जस्तो हाम्रो शिर
ढल्ने थिएन
बाटो झैं लम्पसार हुन्थेन।

मक्किएको ढोड भयौ तिमी
त्यसैबाट चुँडिन लागेकाे
पात जस्तो भएँ म
थाेरै अडिएको
अनि तह-तहमा बिभाजित
सारा तत्व नष्ट भए
जसले हाम्रो सम्बन्ध जीवित रहन्थ्यो।

सायद किस्मतको खेल थियो
या हाम्रो बिचारको उल्टो तालमेल
पत्तै भएन
आ-आफ्नो घमण्डमा अडिक थियौं
ठूल्ठूला बिद्रोहको आगो सल्क्यो।

घर रणभूमी बन्यो
भित्र-भित्रै युद्ध भयो
आक्रमण जसले गरेपनि
क्षति दुवैको भयो
मैले जित्न चाहिनँ
तिमीले हार्न चाहिनौ
मेरो दिल क्षत-बिक्षत बनेर
उजाड मरुभूमी झैँ भयो।

तिमीले जित्यौ,मैले हारें
तिमीले मलाई छोड्यौ
मैले संसार छोड्न खोजें
तर छोड्न सकिन
सायद तड्पिएरै बाँच्नु
समयको माग थियो।

लामो समयसम्म
म भित्रका बिचारहरुको
घमासान अन्तरसंघर्ष चलिरह्यो
संघर्ष उत्कर्षमा पुग्यो
म बिस्फोट भएँ
धमाका ठूलो थियो तर आवाज थिएन
आफ्नै बिचारको द्वन्दबाट
अन्ततः एउटा निचोडको जन्म भयो
मनले आदेश दिँदै भन्यो
"विगत छोड,वर्तमान अंगाल"
परिणामस्वरुप
हिजो तिमीले छोडेको रिक्त-स्थानमा
आज पदपूर्ति हुँदैछ ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...