Tuesday, 21 November 2017

बिचरा महाकवि

       साँच्चिकै भन्नुपर्दा म एकदमै भाग्यमानी थिएँ।साहित्य मेरो नशा-नशामा बग्थ्यो।मेरो अभिन्न अंग थियो साहित्य।सायद मुटु जत्तिकै।मैले जे लेखे पनि साहित्य हुन्थ्यो।एकै मिनेटमा कोरेको कविताले दर्शक/श्रोताको वाह-वाही र ताली पाउँथ्यो।म आफैं पनि छक्क पर्थें,कविता कहाँबाट फुर्थ्यो-फुर्थ्यो।साहित्यप्रेमीहरुको मन-मुटुमा बस्न सफल भैसकेको थिएँ।जुनसुकै साहित्यिक प्रतियोगितामा सहभागी जनाए पनि प्रथम,द्धितीय या तृतीय त भैहाल्थें।मेरो सबैभन्दा प्यारो र चलेको कृति मुना-मदन हो।महाकवि लक्ष्मीप्रसाद देवकोटा भनेर सम्मान पाइसकेको थिएँ।

      जुनसुकै साहित्यिक कार्यक्रमका आयोजकले मलाई सम्झन्थे।कहिले निर्णायक त कहिले अतिथिको भूमिका निभाउनुपर्थ्यो।मेरो उपस्थितिले मात्र पनि कार्यक्रमको शोभा बढ्थ्यो।सहकर्मीहरु गौरवाम्वित हुन्थे।फूल र खादाले प्रायः मेरो गला सजिएको हुन्थ्यो।

        स्वभावैले म आम मानिस भन्दा बिल्कुल बेग्लै थिएँ।अरुभन्दा जसरी पनि भिन्न हुने मेरो बानी र चाहना थियो।लेख,रचना पनि अरुको भन्दा पृथक हुन्थे नै।त्यही मेरो स्वभाव र आचरणका कारण मलाई कतिपयले पागल सम्म भन्न भ्याए।मेरो प्रगति देख्न नचाहनेहरुले मलाई गिराउने प्रपञ्च थियो त्यो।

       एकपटक एकदमै ऐतिहासिक कविता महोत्सव आयोजना गरिंदै थियो।त्यहाँ मलाई प्रमुख अतिथिको लागि आमन्त्रण गरिएको थियो।त्यो दिन पनि मलाई एउटा उट्पट्याङ काम गर्न मन लाग्यो।मैले आफ्नो परिचय लुकाएर जाने निधो गरें।त्यही योजना मुताविक मैले आफ्नो हुलिया परिवर्तन गरें।कपाल छोटो काटेर शीरमा नेपाली टोपी,अनुहारमा नक्काली दाह्री-जुँगा,आँखामा कालो चश्मा,पाउमा पुरानो चप्पल र शरीरमा दौरासुरुवाल लगाएँ।

           कार्यक्रम स्थलमा पुगेर मैले सबैलाई प्रणाम गर्दै आफ्नो नाम तेजनारायण बताएँ।कसै-कसैले नमस्कार फर्काउन भ्याएनन्।कसैले त नदेखे,नसुनेझैं गरे।अरुबेला कम मिहिनेतले पनि उम्दा कविता बन्थ्यो।त्यो दिन निकै कडा मिहिनेत गरेर अब्बल कविता लेखेंको थिएँ।मैले आयोजकलाई कविता बुझाउन खोज्दा लिनै मानेनन्।
"तपाईंको नाम त अहिलेसम्म सुनेकै छैन मैले।यसपालि अग्रजहरुको कविता सुनेर मात्र जानुस्।अर्कोपटक मौका दिउँला।"
आयोजक मित्रको कुरा सुनेर मलाई भित्रैबाट हाँसो उठ्यो तर मैले आफूलाई नियन्त्रण गरें।लाख अनुनय-विनय गरेपछि मेरो कविता प्रतियोगितामा सामेल गराइयो।
"महाकवि अहिलेसम्म आइपुग्नु भएन।कहाँ जानुभयो होला?"
धेरैको मुखमा यही सवाल थियो।निकैबेर प्रतिक्षा गर्दा पनि लक्ष्मीप्रसाद देवकोटा अनुपस्थित भएपछि कार्यक्रम सुचारु भयो।कार्यक्रम भव्य हुँदै थियो।तालीका तालीले मञ्च गुन्जियो।म आफ्नो पालोको व्यग्र प्रतिक्षामा थिएँ।तर मुश्किलले अन्तिममा मात्र नाम आयो।गएर जोशिलो भएर कविता सुनाएँ।धेरैजना त वेवास्ता गरेर गफमा ब्यस्त भए।एकादुई मात्र मेरो कविता सुनिरहेका थिए।मेरो कविता सकेको पनि थाहा भएन कसैलाई।ताली त परै जाओस्,मेरो कुनै सम्मान भएन त्यो दिन।कविताको त कुरै छोडौं।निर्णाकले नतिजा सुनाए।मैले सान्त्वना पुरस्कर सम्म पाइन।कठै मेरो परिचय!बिचरा!महाकवि!कार्यक्रमको समापन पश्चात् म त्यही हुलियामा घर फर्कें-एउटा तीतो अनुभव बोकी दयाको पात्र भएर घर फर्कें।घरमा पुगेर आफ्नै कवितालाई एकपल्ट हेरेर फिस्स हाँसें।
    
        त्यसपछि केही महिना म कतै पनि सरिक भईन।त्यो पीडा भुल्न पनि समय लाग्थ्यो नै।करीब एकसाल पछि मेरो नजिकको मित्रको आग्रहमा अर्को कार्यक्रममा जानैपर्ने भयो।मन लागि-नलागी गएँ-आफ्नै असली हुलियामा।कार्यक्रमकै शिलशिलामा एउटा रचना जसरी पनि सुनाउन आग्रह गरे।तर मलाई सुनाउनु थिएन।धेरै जनाले बिन्ती बिसाएपछि नसुनाइकन धर पाईन।डायरीमा यसो नजर लाएँ।मेरो मनले त्यही कविता सुनाउ भन्यो जुन एकवर्ष अगाडि कविता महोत्सवमा सुनाएको थिएँ।त्यही कविता सुनाएँ।तालीको गडगडाहटले एक मिनेटसम्म मञ्च गुञ्जायमान भयो।वाह-वाही पाएँ।तालीको वर्षा सकिएपछि एकादुई कविहरु खासखुस गर्दै थिए।
"सर!यो कविता त पहिले कतै सुनेझैं लाग्छ।"
"हो-हो,पोहोरको महोत्सवमा।"
"महाकविले किन अर्काको कविता सुनाउनु परेको होला?"
"यिनी महाकवि हैनन्,कविता चोर हुन्।यसको पर्दाफास गर्नुपर्छ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...