श्वेत सुन्दर पुष्पहरु फुले झैं
असीमित र अनगिन्ती हिउँहरु फुल्छन्
धरालाई स्वर्गतुल्य बनाइदिन्छन्
सायद कमैले देख्ने सौभाग्य जुराउँछन्
यस्तो अलौकिक स्थान
जहाँ "साङ्गे चोम्देन"ले बास गरेझैं लाग्छ
तर मलाई जन्मजातै जुरेको छ
किन कि म श्यार्वा हुँ।
कलिला "आङा"हरु
तन्नेरी "आजी" र "आच्यु" हरु
स्याउ झैं लाल गाला लिएर
झ्याम्म भुत्ला भएका
"जोम" र "ज्वाप्के"हरु धपाउँछन्
त्यति मात्र कहाँ हो र
"खाङ्ग्री"बाट प्रस्फुटित
ठण्डी पवनलाई पनि तताउँछन्
"स्योक्पा","रिल्दोक" र "गुथुक" खाएर
"नादिङ" र "सेलो" गाउँछन्
"सेब्रु" नाच्दै पिरती साट्छन्।
घना केशराशी भएका
मममतामयी "मम्मा" हरु
लामा र बाक्ला "छुवी" पहिरिएर
प्रभात र सन्ध्यामा
"जोम"का दूध दुहुन्छन्
"मारा" र "छुर्पी" बनाउँछन्
कि त डेरीमा पुर्याउँछन्।
"पालु" र "आच्यु"हरुको छुट्टै पेशा छ
"मिक-कर्वु"को सेवा गर्ने
अर्थात् ट्रेकिङ जाने
ट्रेकिङकै शिलशिलामा
"मिन" र "टंगा"को खातिर
आफ्नो ज्यान धरापमा राखेर
"खाङ्ग्री" आरोहण गर्दछन्
कोही बिजय हासिल गरेर फर्कन्छन्
कोही भने त्यतै जीवन अर्पण गर्छन्
कसैलाई "खाङ्ग्री"ले खाइदिन्छ
कसैको मुश्किलले शव मात्र फर्कन्छन्
"मम्मा"हरुको मेरुदण्ड भाँचिन्छ
जीवनभरीको "दल्जा" गुमाउँछन्।
"आराक"को "पोङ" लिएर
आफ्नो हात थाम्न आउने
दावाहरुको प्रतिक्षामा बस्दा
दर्जनौं याङ्जीहरु नयन बिछ्याएर
बाटो हेरिरहँदा
केश फुलिसक्छ।
एकाध "आजी"हरु पनि
कोही रहरले
कोही कहरले
"खाङ्ग्री" माथि धावा बोल्छन्
कतिपय पेम्बाडोमा हरु
शिखर चुमेर फर्कन्छन्
कतिपय पासाङल्हमु हरु
देशको माया छातीभरी सजाएर
"चोमुलोङ्मा"चढ्ने बेला
त्यही छातीमा हिमपहिरो खसेर
त्यतै जम्छन्।
अनि कतिपय "श्यार्वा"युवाहरु
विद्यालय जान छोडेर
चार हात-पाउ टेकेर
यार्सागुम्बा खोज्न जान्छन्
कोही सफल भएर आउँछन्
कोही भने सदाको लागि हराउँछन्।
कोही हराएको पल
कोही बिलाएको पल
त्यो स्वर्गतुल्य स्थान पनि
नर्कतुल्य भैदिन्छ
श्वेत सुन्दर हिउँ पनि
श्याम कुरुप चीज भैदिन्छ
सारा "खाङ्ग्री"हरु पग्लन थाल्छन्
"चोमुलोङ्मा"अश्रु झार्न थाल्छ
"यम्बु"को लागि गतिलो समाचार बन्छ
संचार माध्यमहरुले फुक्नेछन्
"सगरमाथा आरोहणको क्रममा
फलानो-फलानो शेर्पाहरुको मृत्यु!!!"
**********इतिश्री*****************
नोट:-शब्दार्थहरु
साङ्गे चोम्देन=गौतम बुद्ध
श्यार्वा=शेर्पा
आङा=नानी
आजी=दिदी
आच्यु=दाइ
जोम=चौंरी
ज्वाप्के=चौरीबाट ब्याएको गोरु
खाङ्ग्री=हिमाल
चोमुलोङ्मा=सगरमाथा
स्योक्पा=आलु/मैदा बाट निर्मित रसदार खाना
रिल्दोक=आलु कुटेर बनाएको ढिंडो
गुथुक=नौ थरीको गेडागुडीबाट निर्मित खाना
नादिङ=शेर्पाहरुको मौलिक गीत
सेब्रु=शेर्पा नृत्य
पालु=बाबा
मम्मा=आमा
छुवी=बख्खु
मिक कर्वु=बिदेशी गोरा
मिन=नाम
टंगा=दाम
दल्जा=साथी
आराक=रक्सी
पोङ=काठको भाँडामा भरिएको रक्सी
चोमुलोङ्मा=सगरमाथा
यम्बु=काठमाडौ
No comments:
Post a Comment