कथाकार:-चोमु शेर्पा "खुशी"
म पहाडबाट विवाह गरेर तराई झरेको लगभग पाँचौ वर्षमा प्रवेश भएको थियो ।मेरो छोरो पनि तीन बर्ष पार गरेर चार बर्षमा लागिसकेको थियो।सत्र बर्षमा भएको मेरो विहे सार्थक नै त कसरी भन्नु,चलिरहेकै थियो।जीवनभरीका लागि भनेर एकपटक रोझेको श्रीमान अनि त्यसपछि थपिएको अर्को खुशी छोरा।जीवन चल्दै थियो । तर त्यो अवधि भरीमा विभिन्न उतारचढावहरुको आगमन भने नभएका हैनन्।परिवारमा सासू,ससुरा,जेठानी,देउरानी,नन्द,आमा सबैको मन राखेर आफ्नो श्रीमानलाई खुशी बनाउनु कम चानचुने कुरा थिएन। म जसले जे भनेपनि आफू रोएर सहने भएकोले कोहीसँग लडाइँ या झगडा खासै हुँदैनथ्यो। एकदिन करायो,अर्को दिन राम्रोसँग नै बोल्नुहुन्थ्यो।सबैको कुरा सुन्ने,आफ्नो कुरा नसुन्ने श्रीमान् अनि सबैको पीडा देख्ने,श्रीमतीको दु:ख नदेख्ने,यावत कुराहरू पार गर्दापनि उनैलाई आफ्नो प्यारो सम्झेर उनैसँग जीवन गुजारा गरिरहेकी थिएँ।अरुको हेरेर आफूलाई तुलना गर्थें।तर ग्लानी कति पनि लाग्दैनथ्यो।मैले जति उनीहरुले गर्न र सहन पनि त सक्दैनथे।उनीहरुको क्षमता र मेरो क्षमतामा फरक छुट्याउँदै वास्तविकता स्वीकार गर्थें।सबै कुराहरु बीच मेरो खुशी,मेरो मुटुको टुक्रा स्कुल पठाउने बेला भएको थियो।आर्थिक कारोबारमा सधैं अरुको खटन र अरुले जोखेको,नापेको आधारमा लाउने,खाने र हिंड्ने दिन अलि साँघुरो लाग्न थाल्यो।आवश्यकताको महसुस दिनानुदिन बढ्न लाग्यो किनकी त्योबेला आफू भन्दा पनि छोरोको चिन्ता बढी थियोे मलाई।
श्रीमानले कमाएको एक-एक हिसाब राख्ने सासू अलि बेठीक लाग्न थाल्यो।खुलेर सरसल्लाह नगर्ने, मलाई मात्र ओछ्यान र दास सम्झने मेरो प्यारो श्रीमानलाई आफ्नो आमा,दिदीबहिनी भन्दा ठूलो म र छोरो कहिल्यै लागेन।
मैले छोराको बारेमा कुरा नचलाएको होइन।"जे गर्छेस् गर"भन्ने जवाफ आउँथ्यो।बद्लिदो समय।फोन,ईन्टरनेटको जमाना।उ प्राय: मोबाइल हेरिरहन्थ्यो।एउटै ओछ्यानमा सुतेको हुँदा उनको इच्छा मात्र चल्थ्यो।आफ्नो चाहना कहिल्यै व्यक्त गरिन।सधैं बारदलीमा बसेर घण्टौं-घण्टा फोनमा कुरा गर्थ्यो।मन खिन्न भएको उनलाई थाहा दिन्नथें।कोसँग कति, किन कुरा गर्थ्यो, कहिल्यै चियो-चर्चो गरिन।केही भन्न खोजे ज्युँदै निल्न खोज्थ्यो।त्यसैले बरु आफैंले एउटा योजना बनाएँ- कमाएर बाबु पढाउने।
आफूलाई निरीह कहिल्यै सम्झिन।सोचें- जिन्दगी राम्रै बनाउँछु।आफूले पूरा गर्न नसकेको पढाइ पनि छोरालाई पढाएर पूरा गर्नेछु।एक दिन जब सफल हुनेछु।मेरो मुटुको एक धड्कन श्रीमान बाबु र मलाई स्वीकार गर्न आउनेछन्। यही सोचेर म काठमाण्डौ जाने निधो गरें।काठमाण्डौमा मेरो आफ्नै दाजु मजदुरी काम गर्नुहुन्थ्यो। लाग्यो-दाजुले मलाई काम लगाइदिनुहुनेछ र म पनि केही काम गरेर मेरो छोरा पढाउनेछु।सबै तयारी गरेर सामान प्याक गरें अनि माइत जान्छु भनेर अनुमति मागें। "जेसुकै गर"को आदेश आयो।सासू-आमालाई भनें।
"जा न त कहिल्यै जान नपाको तेरो माइत।"
जे-जे भने पनि चुपचाप बसें।ठानें-अनुमति मागिसकें।मेरो कर्तब्य पूरा भएको महसुस गरें।त्यो रात पनि अरु रात झैं एउटै कोठा,एउटै खाटमा सुतियो।उता फर्केर सुतेको मान्छे "किन जान्छेस्" भनेर एक शब्द सोधेन।एक शब्द सोधेको भए हुन्थ्यो,"कहिले फर्किन्छेस्"।तर त्यो आश पनि आश मात्र भयो।म बाटो लाग्दा सम्म पनि एक नजर फर्केर हेरेनन्।मैले खाना पकाउने भान्साघर,लिप्ने भुइँ ,बढार्ने आँगन,धन्धा गर्ने चुठुवा सबै एकपटक हेरें अनि मनमनै बिदा मागें।आँखामा आँसु झार्न सकिन तर मन खुब रोयो।जे जस्तो भए पनि आखिर माया नै त लाग्ने रहेछ सबै चीजको।म निस्कें।तीनहजार रुपियाँ थियो साथमा।एक घण्टा हिंडेपछि बस टिकट बुक गर्ने ठाउमा पुगें र टिकट लिएँ। सायद मेरो भाग्यमा थियो क्यारे तत्काल आएको बसमा अगाडिको एउटा सिट मिल्यो।बाबुलाई काखमा च्यापेर बस चढें।रातभरीको यात्रापछि बिहानको ८ बजे अन्जान शहर काठमाण्डौं पुगें।पोल्टोमा भएको कागजको टुक्रामा लिएर आएको नम्बर निकालेर फोन गर्छु सोचें तर फोन थिएन।के गर्ने,कसो गर्ने थाहा भएन।एकजना दाइ नजिकै उभिएको थियो।फोनमा कुरा गरिसकेर मोबाइल गोजीमा हाल्न लाग्नुभएको थियो।
" दाइ !"-मैले बोलाएँ।
"किन बहिनी?"-राम्रैसंग बोल्यो।
"मलाई पनि दाजुलाई फोन गर्नु छ।"
"नम्बर भन त बहिनी।"
मैले कागज हातमा थमाई दिएँ।नम्बर मिलाएपछि दाजुले फोन उठाउनुभयो। "दाजु!म काठमाण्डु आएँ, तपाईं कहाँ हुनुहुन्छ,लिन आउनु न।"
यति भन्दा-भन्दै आँसु कतिखेर खसेछ थाहै भएन।
"कहाँ छेस्? किन खबर नगरी आइस्?"
म निशब्द भएँ।
"बसपार्कमा छु"-यति भनें।
"म काममा छु,एक घण्टा पर्ख।"
दाजुसंगको फोनवार्ता सकिए लगत्तै त्यही मान्छेसंग कुराकानी हुनथाल्यो।
"बहिनी कहाँबाट? अनि कता जाने हो?"
"पहिलोपटक काठमान्डु आएकी।"
"को लिन आउँछ त?
"दाजु आउनुहुन्छ।"
"नआत्तिनु बहिनी।उ.. त्यहाँ गएर बस्नु।त्यहाँ खोज्न आउने सबैले देख्छन्।"
त्यति भनेर उहाँले मेरो सामान उचालेर यात्रु प्रतिक्षालयमा पुर्याइदिनुभयो र केही नभनी फटाफट हिंड्नुभयो ।
"हे भगवान! लाख-लाख धन्यवाद!यो मान्छेलाई सधैं भलो मात्र होस।"
यति कामना गरेर छोरालाई बिस्कुट र पानी किनिदिएँ।आफूले पनि अलि-अलि टोक्दै बसें।बल्ल-बल्ल दाजु आएर आफ्नो कोठा लानुभयो।कोठामा पुग्नासाथ दाजुको अङ्गालोमा रोएँ।दाजु कराउनु हुँदै थियो।मैले केही सुनिन।मात्र धेरै वर्षको पीडा एकैपटक पोखें।एकैछिनमा सबै कुरा बताएपछि दाजुले सम्झाउनु भयो। अब म अलि ढुक्क भएकी थिएँ।
दाजुले मेरो लागि सहज र अलि भरपर्दो काम खोजिदिनु भयो।काम पाए पनि अलि ढिलो मात्र काममा लगाउने भएकाले लगभग पन्ध्र दिन जति बिना काम बस्नुपर्ने भयो।दाजुलाई खाना बनाउने अनि बाबुलाइ सामान्य ए बी सी डी पढाउनमा ब्यस्त भएँ।तैपनि मन अडिएन।छट्पटी भयो।ठिक्क फुपूको घरबाट दाजुलाई फोन आएछ।कुरा गर्नुभयो।त्यही दिन भन्न सकिन।
"दाजु म पनि फुपुको घर जान्छु नि हेर्न"-दोश्रो दिन भनें।
" हुन्छ मेरो छुट्टीको दिन"-दाजुले भन्नुभयो।
छुट्टीको दिन पुर्याइदिनु भयो।सात बर्ष भएको थियो फुपूहरु पनि गाउको दु:खी जीवन छोडेर शहरमा सुखी जीवन बिताउन भनेर जानुभएको।सुखी र खुशी हुनुहुन्छ होला भन्ने सोचेकी थिएँ तर दुई दिन बस्दा बुझें धेरै कुरा।वास्तवमा एउटा महलभित्र हजारौं पीडाका कथा लुकेको रहेछ।म काठमाण्डु आएको पनि एक महिना भयो।कहिले आउने,कता बसेकी छेस्, के गर्दैछेस् भनेर घरबाट न एक कल फोन आयो न त कहिले खोजखबर भयो।मैले पनि गरिन ।चराहरुको परिवारमा त आफ्नो परिवार कहाँ छ,कस्तो छ, कसले आफ्नो बच्चालाई खेद्दै छ भनेर चिन्ता हुन्छ।सिकारीले गुलेली ताकिरहँदा चिरबिर-चिरबिर आवाज निकालेर भगाउँछ।तर आफ्नो भने न आफूले सम्झेको मान्छेले सम्झ्यो,न त परिवारले खोजी गर्यो।एक तमासले मन रोयो।एकोहोरो टोलाईरहें।त्यतिनै बेला बाबुको "मामु" शब्दले मन तानिन्थ्यो र छोरा हेरेर चित्त बुझाउँथें।
काममा लाग्न अझै सात दिन बाँकी थियो।बेलुका लुङ्गाको फोन आयो।
"आमा हराको दुई दिन भैसक्यो।कता जानु भो-भो।"
मेरो होस-हवासै भएन।मैले पहिलेको फूपूघर गएर देखेको दृश्य अनि त्यहाँ दुई दिन बस्दा उब्जेका हजारौं रहस्यमय प्रश्नले फेरि दिमाग घुमायो।दाजुले फोन राख्ने बित्तिकै म हिंडे भनेर हातमा केही नबोकी निस्किनु भयो ।अनि म सोचमग्न भएँ।सम्झिन थालें-फुपूको खुट्टामा देखेको निलडाम।कसैले जगल्टाएर एक डल्लो भई लट्टा परेको,कोर्न नसकिएको कपाल।कोठाको कुनामा गएर कसैले नदेख्ने गरि मलाई हेर्दै रोएको। झलझली सम्झें अनि कराएँ-"किन यस्तो भयो फूपू?के भयो?कसले यस्तो गर्यो?"
सोध्न नसकेका वाक्यहरु एकैचोटि बोलेछु।
"कोसंग बोलेकी?"
पल्लो कोठामा बस्ने दिदीले झस्सङ्ग बनाउनुभयो।
उता के हुँदैछ,कस्तो खबर छ,कसैबाट जानकारी आएन।फुपा र कान्छी श्रीमती यानिकी मेरी फुपूकी सौता घुम्न गएका छन् रे भन्ने छिमेककै एक जना दिदीले फोन मार्फत जानकारी दिईन्।म काम छोडेर बाबु च्यापेर निस्किएँ।पुलिसलाई जानकारी दिने बिचार आयो तर कसैले मानेनन्।
"कसले पाल्छ?को गोठाला बस्न सक्छ?जसले आफ्नो सम्झिनुपर्ने,उसैले नसम्झेपछि हामी जान्ने भएर केस गर्दा भोलि जिम्मेवार को हुन्छ?लफडामा पर्नु हुन्न।"-राय यस्तो थियो।
म चुपचाप बनें।सबैको कुरा सुनें र चुपचाप निस्किएँ।मलाई किन यस्तो भयो भन्ने सामान्य अड्कल भए पनि पूरै रहस्य थाहा थिएन।वास्तवमा के थियो त ? प्रश्न मनमा उब्जिरहेको थियो।उता आफ्नो जेठी श्रीमतीको मानसिक अवस्था गुम्ने स्थिती सम्म बनाएर रमाउन हिंडेका गतिछाडा फुपा र कान्छीको पनि त्यस्तै हालत भए के हुन्थ्यो ?कमसेकम जे नहुनुपर्थ्यो,त्यो भयो।अर्काको खुशी खोसेर आएपछि सम्मान दिनु पर्छ भनेर सोच्न त के,कहिले कहाँ लगेर फालौं भन्ने भएका फुपाकी कान्छी श्रीमती मोजमस्तीमा भएको देख्दा रिस उठ्नसम्म उठेको थियो।तर म उही ड्याङको मुला, आफूसंग न बस्ने घर न त सम्पत्ति।अलिकति सामर्थ्य भएपनि मसँगै राखेर पाल्ने थिएँ।मन पिरोलिएको थियो।एक्लै गुन्गुनाउँदै हिंड्दै थिएँ। कहाँ जाँदैछु,थाहा थिएन।झलक्क दुई जोडी देखें।स्वयम्भु जाने गफ गरेर बसिरहेका रहेछन्।उनीहरुको गफ सुन्दै अगि बढें। मलाई चसक्क भयो।
कतै फूपू स्वयम्भु तिर त हुनुहुन्न?म एकपटक गएर आउछु भन्ने लाग्यो र
स्वयम्भुको माइक्रो समाएर हुइँकिएँ।
स्वयम्भुमा सबैतिर नजर लगाउँदै हिडें, देखिएन । अरु त कति मागेर थाल बजाएर नानी च्यापेर हात थाप्नेहरु भेटें।मेरी फूपू हुन् कि भनेर झसङ्ग हुँदै नजिक जान्थें,फेरि अर्कै अनुहार हुन्थ्यो।एक फन्को लगाएँ।कतै मेरै पछाडि त हिड्दै छैनन्?अघि हेरेको ठाउँ तिर फर्केर गएँ।जाँदा-जाँदै एउटा रुखको फेदमा एउटी मलिन अनुहार,थोत्रो कपडा लाएकी,जिङृङ्ग कपाल भएको महिला ढुङ्गाहरु थुपारेर एउटा घरको नमूना बनाएर बर्बराउदै थिईन्।नजिक जान मन लाग्यो,सकिन।त्यतिबेला मेरा आँखा रसाएर बाग्मती बगिरहेको थियो।जुन दृश्य जिन्दगीमा देख्न नपरोस् भन्ने कामना थियो,त्यहीँ अगाडि थियो।आँसुले पूरै आँखा दृष्टिबिहीन बनाएको थियो।एक घुट्को आँसु निलें अनि नाकभरी जमेको सिंगान फ्याकेर आँसु पुछें।उनी नै थिईन् मेरी फूपू।सानोमा मलाई आमाले भन्दा धेरै बोकेकी थिईन्।बाबाको साटो माया दिएकी थिईन्।स्कुल जाँदा चिटिक्क कपाल बाटिदिनुहुने मेरी फूपू।डाँको छोडेर रुन मन भयो तर यताउताको भीड देखेर आफू भित्रै दबाएँ।
"सानू!कहिले आयौ?पहाडको रक्सी ल्याकी छ्यौ?"
प्रश्न आउँछ कि भनेर सोचें तर हेर्न पनि हेर्नुभएन।
कुदेर अंकमाल गर्ने मन थियो,सकिन।मनमा अनेक डर थियो ।
नचिनेर कतै भाग्ने पो हुन् कि!हात पक्डेर घर लैजान खोज्दा नमान्ने पो हुन् कि! एकैपल्ट झम्टिने पो हुन् कि? बाबुलाई एउटा पसलको आन्टीकोमा छोडेर एक्लै गएँ।नजिक पुगें।
"फूपू! फूपू!"
हेरिन् र चुपचाप बसिन्।अझ नजिक गएँ।फेरि बोलाएँ-"फूपू!किन यसरी बस्नु भएको?"
पुलुक्क हेरिन् र मौन भइन्।सोचें-कुन उपाए लगाएर घर लाने होला?
फेरि बोलाएँ-"फूपू!म सानी।चिन्नुभयो?"
"चिन्छु नि।मलाई त चिन्दैनन् कसैले।हेर न सानू,मेरो घर कति ठूलो छ।माङ्गेना ठूलो भएर पोइ पायो।पारुहाङ त मलाई कुटेर पो हाँस्छ त।अबो तेरो फुपा पनि राती आएर कुट्छ अनि म बाहिर बसेको पो ता।सानू हेर ई.. ।"
ढुङ्गाहरु मिलाउँदै देखाइन्।सबै बस्ने कोठा,खाने ठाउँ,सबै याद रहेछ।त्यो स्मृतिमा आफ्नो परिवार बाहेक केही थिएन।लाग्यो-चेतना हुँदाहुँदै किन यस्तो बिजोग देखाएको होला।रिस पनि उठ्यो तर चुप नै बसें।उनले गरेका बयानहरु सुन्दै बसें।कहिले दु:खी भइन् त कहिले खुशी भएर आफ्नो कहानी सुनाइन्।लाग्थ्यो-आफ्नो सबै पीडा मसंग पोखिरहेकी छिन्।बिचैमा रोकें।कसैले के भन्छ कि भन्ने मनमा चस्को पस्यो।यताउता हेरें र भनें-"फूपू घर जुम।"
आँतिंदै कुप्रो परेर उता सरेर बसिन्।डर लाग्यो।
"फूपू!पहाड घर जानुपर्छ ल?मसँगै लान्छु।"
यत्ति भन्ने बित्तिकै जुरुक्क उठ्न खोजिन् तर उठ्न सकिनन्।कति दिन नखाएर भोकै थिईन्।बिस्तारै उठाएर हात समाई एउटा सिंढीमा राखें।प...र पसलमा गएर दुई ओटा समोसा ल्याएर खुवाइदिएँ।नजिक गइसक्नु थिएन।पुरै शरीर गन्हाएर फोहोरको थुप्रो जस्तै भएको थियो।खाइसकेपछि अझै खाने जस्तो संकेत दिंदै थिईन्।तर यता मेरो खल्ती रित्तो थियो।बाबुलाई लिएर आएँ र माइक्रो चढ्ने निधो गरें।कति ओटा माइक्रो सोधें तर त्यस्तो अवस्थाको मान्छे भनेर लानै मानेनन्। ट्याक्सी चढ्ने पैसा थिएन। लुगा फेरिदिउँ भने केही ल्याएकी थिइनँ।कति बिपत्ति!फोन कसैले उठाएनन्।म भौतारिएको निकैबेर देखि एकजना दाइले हेरिरहनु भएको रहेछ।
"बहिनी!हिंड,म लगिदिन्छु।"
"दाइ!ट्याक्सी चढ्ने पैसा नै छैन।"-मैले भनें।
"पर्दैन,कुनै दिन भएको बेलामा दिनु।"
त्यत्ति भनेपछि कति धेरै साहस आयो।ट्याक्सी चालकहरु पनि सबै स्वार्थी मात्र नहुने रहेछ।कोही त सहयोगी पनि हुनेरहेछन्।
"भगवान भएर आइदिनु भयो,धन्यवाद!"
मेरो मुख बाट शब्द बाहिर निस्केछ।फुपूलाई लिएर फुपाजुको घर पुग्दा फलफूल काटेर खान ब्यस्त देखिएका धेरै अनुहार हरु थिए।सबैलाई देखेर फुपू फेरि फर्केर जान लागिन्।
"फुपू! लुगा फेरेर,नुहाएर सफा भएर जाने है पहाड" भनेपछि भित्र छिर्नुभयो।सरसफाइ गरिदिएँ।कपडा लगाइदिएर नजिकैबाट रक्सी ल्याएँ।"पहाडबाट मैले ल्याएकी" भन्दै दिएँ।खाना र रक्सी खाएपछि निन्द्रा लागेछ।बसेकै ठाउँमा झुल्न थाल्नुभयो।लुङाको कोठामा लगेर सुताई दिएर बाहिर निस्कें।फुपाजुको कान्छी श्रीमती मुख बङ्ग्याएर बर्बराउँदै थिईन्। फुपाजु दाँत किट्दै थियो।मुख फोर्न मन लाग्यो।प्रश्नहरुको खात थियो तर वास्तवमा कसलाई के सोध्ने, कसलाई के भन्ने,अलमल्ल परें।
"अब देखि नतर्साउनु,नकुट्नु।तपाईंहरुलाई मेरो सुझाव।"
मैले यति भनी नसक्दा जवाफ आयो-"के गर्छेस्? तँ त माइतीको शरण लिएर बस्याछेस्।गरिखाने बुत्तो छैन।सम्झाउने हुन्छे।"
बोल्न त मन थियो तर पनि अवस्थाले मलाई चुप बनायो।म त्यहाँबाट बाटो लागें।साँझ परिसकेको थियो।रुम पुग्दा दादा खाना बनाएर मेरो प्रतिक्षा गरिरहनु भएको थियो।म र बाबु दुवै भोकै थियौं।खाना पछि त्यही दिनको घटनाहरूको बारेमा छलफल भयो।दाजु सित उपाय केही थिएन।सामान्य मान्छे।संघ-संस्था र न्याय दिने ठाउँहरु त छन् भनेको सुन्थें तर कोही चिने-जानेको थिएन।जता पनि पैसा नभए केही नहुने स्थिति।फुपूको त्यसपछिका दिन कस्ता भए भनेर चाहेर पनि सोध्न सकिन।फुपाजुको घर जाने आँट पनि भएन।
बाबुलाई स्कुल लगाएँ।आफू दिन-रात मिहिनेत गरेर केही गर्छु,फुपूलाई पनि उद्दार गर्छु भन्ने सोचले मिहेनत गर्न थालें।छ महिना बित्यो।आफ्नो र बाबुको लागि खान र स्कुलको फिस तिर्न मात्र जेनतेन पुगिरहेको थियो।खानेबेला एकपटक फूपूलाई सम्झन्थें।तर के गर्ने, ठूलाबडाको अगाडि आफू जान्ने हुन औकातले दिएन।
बिहानको सात बजेको थियो।बाबुलाई स्कुल पुर्याउन र आफ्नो कामको तयारीको चटारोमा थिएँ। फोनको घण्टी बज्यो।गाउँबाट माया दिदीको फोन रहेछ।
"ओए सानू! तेरो बुडाले अर्की ल्याएछ।आइजा,दह्रो दिनुपर्छ।तेरो अधिकार खोज्न आईजा।"
दिदी एकोहोरो बोल्नुभयो। म चुपचाप बनें।आँसुको ढिक्का खस्यो।केही सोचिन।बाबुलाई सम्झें।अनि फुपूलाई पनि।फुपू र मेरो अब सबै मिल्ने भए।मात्र एउटा कुरा मिल्दैनथ्यो।फुपू १८ बर्ष एक्लैले संघर्ष गरेर छोराछोरी पढाइन्,हुर्काइन्।पछि छोराछोरी बुबासँग काठमान्डु बस्न गएपछि बाध्यताले आफ्ना सन्तानलाई पछ्याउँदै गएर निरीह बनी दबाबमा बस्नु पर्यो।छोराले आमाको पीडा बुझेन।छोरीले पनि देखेन।दिनरात बुबाले आमालाई दिएको यातनाको बिरोध गर्ने कोही भएनन्।त्यसैले आफूलाई सम्हाल्न नसकेर मानसिक सन्तुलन गुमाउन पुगिन्।मलाई पनि भाग्यले त्यहीँ मार्गमा डोर्याउँदै थियो।सबै कल्पना गरें।फेरि फोनको घण्टी बज्यो,उठाएँ।
दिदी बोल्नुभयो-"किन नबोलेकी?चिन्ता नलि'न,म छु।तेरो दु:ख मैले देखेकी छु।तेरो लागि के गर्नुपर्छ,मैले गर्छु।"
मैले भनें-"जे गर्छु,म आफैं गर्छु।तर फुपूको जस्तो अवस्था छ,त्यसको समेत म खोजी गर्छु।मेरो चिन्ता नलिनु दिदी।"
मैले फोन काटें।अनि बाबु स्कुल पठाएर मनमा एउटा संकल्प लिएर काममा गएँ।
No comments:
Post a Comment