कविता:मिसाइल
कवि:चोमु शेर्पा खुसी
कुनै एक समय थियो
त्यसबेला म तिम्रो लागि
यो संसारकै अमूल्य थिएँ,
यो कुरा मैले मात्र मानेकी हाेइन
मेरो प्राप्तीको निम्ति तिम्रा
आँखाहरूबाट अनवरत बर्षेका
ती निर्दोष बर्षातहरुले
प्रमाणित गरेका थिए।
कुनै एक जमाना थियो
जुनबेलामा तिमीलाई
मैले चासो नै नदिंदा पनि
रातदिन चौबीसै घण्टा
घण्टाघरको घडीले टिङ-टिङ बज्दै
समयको जानकारी गराए झैँ
तिमी मेरी हौ भन्ने जानकारी
दिने गर्थ्यौ जुन
मैले सजिलैसँग विश्वास
गरेकी होइन
तिम्रो प्रत्येक मिनेटको फोनको घण्टीले प्रमाणित गरेका थिए।
म प्रतिको झुकाव
मेरो दिल भित्र डेरा जमाउने
तिम्रो एउटै लक्ष्य
त्यस् सित जोडिएका अनेकौं जिन्दगीका खुड्किलाहरु
र त्यहीँ खुड्किलाहरु कटाउन बनाईएको
योजनाहरुको अग्लो चुचुरो
जुन चुचुरोको उचाई
सगरमाथाको भन्दा अग्लो थियो
र यो कुरा मैले आफैं देखेकी होइन
दृश्यावलोकन तिमीले नै गराएका थियौ।
हजारौं भँमराहरुको भीड थियो
त्यहीँ भीडको एउटा पृथक भमरा
जुन मेरो मनको फूलले
रोजेको थियो
हुन त कुनै पनि कम थिएनन्
सबैले आफुलाई नम्बर एक भन्थे
अब्बल सावित गर्न
कुनै कसुर बाँकी छाड्दैन थिए
ती सबै-सबैलाई पछि पारेर
मेरो मनको म्याराथन
तिमीलेनै जितेका थियौ।
जब भए दुई मुटु एक साथ
सिमसिम पानी पर्दै गरेको आकाशमा
घामका किरणहरु मिसिएर
खुशीको इन्द्रेणी देखापर्यो
सुन्दर इन्द्रेणीका रङ्गहरु देखेर
मानिसहरु जसरी चकित हुन्छन्
त्यस्तै गरी चकित बनेका थिए
हाम्रो मिलनको रङ्ग देखेर।
तर थाहा थिएन त्यति चाँडै
तुवाँलो आएर ढाकिदिन्छ भनेर
आखिर देख्ने आँखा
टेक्ने धर्ती सबै-सबै ढाकिदियो
जिन्दगीको रंगीन दुनियाँ फिक्का भयो
हुन छोडे सिमसिम बर्षाहरु
बज्न छोडे घण्टीहरु
देखिन छोडे जीवन चढ्ने खुट्किलाहरु
स्थगित भए सबै दौडधुपहरु
चल्न थाल्यो जिन्दगीमा
डरलाग्दो अाँधी-बेहरी
शाेषणको बाढी आउन थाल्यो
शोषकीय रुपमा
एकलौटी शासन चल्यो
पीडा,कुण्ठा अनि अचेतनाका
मेघ गर्जिए र
एकै पल्ट चट्याङ बनेर
वास्तविकताको धरातलमा बजारिएँ
टुक्रा-टुक्रामा विभाजित भएँ।
बर्षौं सम्म पुरिएनन् खाल्डा बनेका
मुटुका भू-भागहरु
पलाएनन् कुनै आशाका
हरिया झारहरु
किनकि यो मनले छाेड्न सकेको थिएन तिम्रा यातनाका अवशेषहरू
भयानक चित्रण र स्वरुपहरू
बुझ्दैछु-सबै कुराहरू त आखिर
समय र परिस्थितिले नै
निर्धारण गर्दोरहेछ।
दिनले दिन छोडेर
अर्को दिनमा प्रवेश गरे झैं
महिनाले महिना
बर्षले बर्ष
शताब्दीले शताब्दी
युगले युग
सबै-सबैले बिगत छोड्दै बर्तमान अंगाल्दै नयाँ रुप धारण गरे झैं
मैले पनि आजबाट तिमीलाई त्यागेर
अर्कै मिसाईल खडा गर्दैछु
जुन कुरा सुनेर
तिम्रो मनमा पक्कै भुकम्प आउने छ।
No comments:
Post a Comment