Wednesday, 29 November 2017

अष्टमीको आत्मकथा

बाबा!
अनवरत पवनको झोक्काले
चिहान-डाँडाको ध्वजा झैं च्यात्तिएको
हजुरको दौरा बिस्थापित गर्न पलायन हुँदैछु 
आमा!
बर्षौंदेखि नफेरिएको हजुरको फाटेको चोलो फेर्न
उ....त्यो...क्षितिज छिचोल्दैछु
भाइ!बहिनी!
तिमीहरुको रहर किन्न म बेचिन तयार छु।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

भुकम्पले भत्काएको विश्वासको जग हाल्न
धुजा-धुजा भएको बिक्षिप्त मनलाई ठडाउन
समयले दिएको चोटमा मलम-पट्टी गर्न
घुस दिएर तुरुन्तै निलो राहदानी बनाएँ
किन भने भविष्य पनि त बनाउनुछ।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आज म्यानपावरमा गएँ
सुखाँगनमा टेक्ने प्रवेशपत्र छिट्टै आउँछ रे
एकजना दलालले गिद्धाले चल्ला हेरेझैं
मेरो तलदेखि माथिसम्म हेर्दै सन्केर कुरा गर्यो
"काम छिटो गर्दिन्छु,मैले भनेको मान"रे
खै आमा,मैले त कुरै बुझिन
"जति पैसा लाग्छ,तिर्छु"भनेकी छु
म अबिकाउ देखेर कर्के नजरले हेर्दै थियो।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आमा!बाबा!
आज एकदमै खुशीको खबर छ
हाम्रो भविष्यको खाका सुन्दर हुने भो
भाइले कलेज पढ्न पाउने भो
बहिनीले मेरो जस्तै नियति भोग्न नपर्ने भो
सुखको दिन आउँदैछ हाम्रो
मीठो खाने दिन आउँदैछ
राम्रो लाउने दिन आउँदैछ।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आँसु झारिहाल्नु पर्छ र आमा?
भावनाको गहिराइमा डुब्नुपर्छ र बाबा?
प्यारो भाइ,प्यारी बहिनी!
के बच्चा जस्तो रोएको?
अब त तिमीहरू ठूला भैसक्यौ नि
म नफर्किने बाटोमा जान लाग्या हैन
कोही नगएको ठाउँमा जान लाग्या छैन
चुहिने अभावको छानो टाल्नुछ
किन दु:खी हुन्छौ तिमीहरू?
म त एकदमै खुसी छु
चरा जस्तै उड्ने जहाजमा चढ्न पाउँदैछु
जेठी छोरीको कर्तव्य निभाउन पाउँदैछु
म चाँडै सपना साकार पारेर फर्किनेछु।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

म सकुशल अवतरण भएँ
हाम्रो सपनाको जहाज कतै दुर्घटना भएन
मेरो चिन्ता कत्ति पनि लिनुपर्दैन
विकसित देशमा आएकी छु
निभ्न लागेको आशा जाज्वाल्यमान भएको छ
म काममा लागिसकें
आजैदेखि कमाइ शुरु हुन्छ
ऋण तिर्ने पैसा जोहो गरेर यथाशीघ्र पठाउनेछु।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

मेरो काम त ठिकै छ
कामको दु:ख छैन
घरको यादले निकै सताएको छ
हृदय द्रवित भैरहेको छ
कहिलेकाही आँखामा साउन दर्किन्छ
सुपरभाइजर अलि किचकिचे छ
स्वार्थको प्रस्ताव पेश गरिरहन्छ
मैले स्वीकृतिको ल्याप्चे लाएकी छैन
त्यही भएर काम अलि गाह्रो दिन्छ
तर केही छैन आमा!
यहाँको काम काम जस्तै लाग्दैन।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आफ्नो मिहिनेतको फल टिपेर
साउको मुख टाल्ने टेप पठाएकी छु
साँच्चै अब काला दिनहरु कुलेलाम ठोक्नेछन्
सफेद दिनहरुले भव्य स्वागत गर्नेछन्
नवप्रभातमा हर्षका किरणहरुले चुम्नेछन्
रहरका वसन्ती बहारले अंकमाल गर्नेछ
भाइ!बहिनी!
ध्यान दिएर अध्ययन गर्नु
तिमीहरुको भाग्य/भविष्य म बनाउनेछु।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आमा!बाबा!
हजुरहरुको मुजा परेको अनुहारमा
मुश्कान छर्ने कोसिस गरेकी छु
भुकम्पले चर्काएको छाती टाल्न
रुपियाँको गम पठाएकी छु
हर मास पठाइरहनेछु।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

अहो!हाम्रो घर
राम्रो घर
आज म सबैभन्दा खुशी छु
अब म आउने दिन दूर छैन
सिर्फ चार महिना बाँकी छ
हेर्नुस् त बा!हजुरको लागि कपडा!
आमा!हजुरको लागि जुत्ता किनेकी छु
भाइ!बहिनी!
हेर त तिमीहरुको लागि के किनेकी छु?
उमंगहरुले पक्कै काँचुली फेर्नेछन्।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

आमा!बाबा!भाइ!बहिनी!
के सोचेकी थिएँ,के भैदियो
आएर खुशी साट्ने रहर अधुरै रह्यो
आज मेरो जीवनमा अचानक
आँधीबेहरी आएर उथलपुथल मच्चायो
अस्मिताको जग गर्ल्याम्मै ढाल्यो
इज्जतको छानो उडाएर लग्यो
मैले सही-गलत के गर्दैछु,थाहा छैन
तर म कायर हैन
मैले पनि जीवनलाई नजिकैबाट छामेकी छु
तर आज कसैले मूल्यहीन बनाएपछि
यो संसारमा रहनुको के औचित्य?

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

एक्लै भएको मौका छोपेर सुपरभाइजरले
चुइँगम चुसे झैं चुसेर फाल्यो
मैले प्रतिरोध नगरेको हैन
तर रावणको अगाडी सीताले हारिन्
मैले सर्वस्व गुमाएँ
जिन्दगीको अमूल्य अवयव हरण भयो
यस्तो भयंकर चोट सहने शक्ति ममा छैन
यस्तो कलंकित शरीर लिएर
म कसरी हजुरहरुको सामू आउँ?
मलाई माफ गर्नुस्।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

फेरि अर्को रामायण लड्ने मेरो ल्याकत छैन
सीतालाई साथ दिने राम पनि त छैन।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

भाइ!बहिनी!
तिमीहरुको पाइलामा ठेस नलागोस्
सफलताले शिखर चुमोस्
बाबा-आमाको हेरचाह गर्नुहोला।

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

हजुरहरुको लागि
मीठो निद्रा लिन आएकी थिएँ
तर आज सदाको लागि अष्टमी स्वयं निदाउँदैछे
अलबिदा!!!

±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±±

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...