Friday, 17 November 2017

त्याग

         टिरिङ!टिरिङ!!टिरिङ!!!
मस्त निंद्रादेवीको काखमा लुट्पुटिरहेको बेला प्रभाती प्रहरमा बजेको फोनको घण्टीले तनाव दियो।प्रचुर रिस उठ्यो।फोनलाई भित्तामा पछार्न मन लाग्यो तर नियन्त्रण गरें।उठ्न र फोन उठाउन मन लागेन।जोसुकै होस भनेर बेवास्ता गर्दै अझ सिरानीलाई अंगालो हालेर सुतें।
टिरिङ!टिरिङ!!टिरिङ!!
दोश्रोपटक फोन बज्यो।एकाबिहानै फोन गर्ने को होला भन्ने उत्सुकता जाग्यो।घरबाट त होइन होला।हिजै त कुरा भाथ्यो।अरु त मलाई सम्झिने को नै छ र यो संसारमा?यही सोचेर फेरि पनि फोनलाई मनाह गरें।निदाउन मात्र के लागेको थिएँ,फेरि तेस्रोपटक फोन बज्यो।सायद कसैको महत्वपूर्ण फोन होला भन्ठानेर अन्ततः मन नलागी-नलागी उठेर फोनमा नजर लाएँ।फोन उठाउनै मन लागेन।किन कि त्यो फोन अरु कसैको फोन नभई काव्यको थियो जसलाई मैले बारम्बार बेवास्ता गर्दै आएको थिएँ।काव्यको नाम सुन्न र उच्चारणसम्म गर्न चाहन्नथें।कुनैबेला काव्य र म निकै मिलनसार साथी थियौं।हरेक कुराहरु सेयर गर्ने गर्थ्यौं।धेरै दिनपछि अचानक उनको फोन आउँदा मन कौतुहल हुनु स्वभाविक थियो।कुरा गरुँ या नगरुँको दोसाँधमा उभिएँ।क्याम्पस नगएको पनि तीन महिना भैसकेको थियो।पढाइलाई लात मारिसकेको थिएँ।त्रिभुवन युनिभर्सिटीमा जानै चाहन्नथें।आफ्नै घाउमा नुनचुक छर्न चाहन्नथें।अतीतमा गरिएको एउटा नमिठो भुललाई सदाको लागि मनबाट बिसर्जन गर्नु थियो।यादहरुलाई हमेसाको लागि नामेट पार्नु थियो।युनिभर्सिटी संग सम्बन्धित कोही र कुनै चीजसंग जोडिन चाहन्नथें।नजिकिन चाहन्नथें।किन भने युनिभर्सिटी संग मेरो तीतो अतीत जोडिएको थियो।ती सब पुराना प्रेमका  अवशेषहरुलाई सम्झन समेत चाहन्नथें।तर आज काव्यको फोनले सारा घटनाक्रम आँखा सामू ल्याएर पछार्यो।
  
        म टि.यु.मा बी.ए. मा भर्ना भएँ।शुरुमा त कोहीसंग चिनजान नभएकोले क्याम्पस पनि बिरानो जस्तै लाग्यो।तर बिस्तारै साथीहरु बन्न थाले।क्याम्पसी जीवन सुन्दर र रंगीन लाग्न थाल्यो।खासगरी विवेकसित मेरो दोस्ती जमेको थियो।तर उसंगको दोस्ती जतिनै जमेपनि धेरै दिन टिक्न सकेन।किनभने उ जागिरमा लागेपछि हाम्रो भेटघाट समेत राम्रो हुन सकेन।त्यसपछि म असल साथीको खोजीमा यत्रतत्र भड्किन थालें।सौभाग्यबश काव्यसंग भेटेपछि एक्लोपन दूर भयो।केही दिनमै हाम्रो मित्रताले शिखर चुमिसकेको थियो।बल्ल क्याम्पस क्याम्पस जस्तो र शहर शहर जस्तो लाग्न थाल्यो।काव्य भए मलाई केही चाहिन्नथ्यो।अरु केटाकेटीहरुले हाम्रो बारेमा नाजायज हल्ला गरिसकेका थिए कि हामी रिलेसनसीपमा थियौं भनेर।मलाई भने रमाइलो लाग्थ्यो।कसैले सोधे हो भनेर टारिदिन्थें।काव्यले भने कुन रुपमा लिएकी थिई,म अनभिज्ञ थिएँ।
       
          एकदिनको कुरा हो।क्याम्पसमा पाइला मात्र के टेकेको थिएँ,काव्यसंगै अर्की एकजना केटी क्याटवाक स्टाइलमा क्याम्पस हाताभित्र प्रवेश गरिन्।बयानै गर्नुपर्दा मेनका,अप्सरा भन्दा कम थिइनन्।इजिप्टकी महारानी क्लियोपेट्राको बारेमा सुनेको थिएँ।ठ्याक्कै त्यस्तै।पहिलो हेराइमै म उनको रुपले हायलकायल भएँ।घायल भएँ।उनको नजरमा ठोक्किएर ठेस लाग्यो।घना केशराशीमा अल्झिएँ।सुन्दरताको रापले पग्लिसकेको थिएँ।नयनको गहिरो तालमा डुबिसकेको थिएँ।उनको प्रेमसागरमा डुबुल्की मार्दै कावा खान थालिसकेको थिएँ।उनले मोहनी लगाइन्।उनको मायाजालमा नराम्रोसंग फसिसकेको थिएँ।उनको हलचलले मेरो दिल कब्जा गरे।मैले हारें।आत्मसमर्पण गरें।आफूलाई उनैको लागि समर्पित गर्ने अठोट गरें।उनीहरू मेरो समीप पुगिसकेका थिए।
      "समीर!यिनी मेरी साथी रञ्जु।रञ्जु!यो मेरो साथी समीर।रञ्जु आजैदेखि मसंगै बस्छिन्।एउटै रुममा।भाडा पनि सस्तो पर्ने।यिनी पनि हाम्रै क्लासमा पढ्छिन्।तिमीले चिनेका छैनौ होला।"-काव्यले उनको परिचय गराइन्।
"हाइ रञ्जु!"
"हेल्लो समीर!"
भेटघाटको औपचारिकता निभाउँदै हामीले हात मिलायौं।उनको स्पर्शले मेरो शरीरमा एक प्रकारको तरंग उत्पन्न भयो।करेन्ट लागे झैं झनन भयो।शारीरिक सौर्न्दर्य हेरेर प्रेम गरिन्न र गर्नुहुन्न भन्छन्।तर सौन्दर्य देखेरै उनलाई एकतर्फी माया गर्न थालें।मैले सही या गलत के गरें,थाहा थिएन।मनको सुन्दरता हेरेर प्रेम गरुँ त उनको मन कस्तो छ ,मलाई थाहा थिएन।कोही-कसैको मनमा पस्ने काम सहज पनि त छैन।उनको मनको बारेमा अध्ययन र अवलोकन गर्ने फुर्सद नै कहाँ थियो र मलाई।म त आतुर थिएँ-उनलाई प्रेम गर्न।सारा संसारलाई चटक्क भुलेर उनैलाई अंगाल्न चाहन्थें।प्रेमको साम्राज्यमा अलग्गै दुनियाँ बसाउन चाहन्थें उनीसँग मिलेर।इतिहास र प्रेमकहानीहरुमा वर्णन गरिएका नमूना जोडीहरुलाई उछिन्नु थियो।असम्भव थिएन,केवल उनको साथको खाँचो थियो।यथाशीघ्र उनलाई प्रेम प्रस्ताव राख्न चाहन्थें।तर चिनजान भएको दुई दिनमै त्यस्तो हर्कत गर्नु चुनौतीपूर्ण थियो।म असक्षम खेलाडी जस्तै हुनसक्ने भय थियो।कच्चा प्रेमी हुनसक्ने सम्भावना थियो।प्रेमको मुना नपलाउँदै ओइलिने पीर थियो।मायाको मुहान सुक्ने चिन्ता थियो।उनी सदाको लागि दूर हुने डर थियो।त्यसैले कुनै खास समयको प्रतिक्षामा थिएँ।फलाम तातिएर रातो हुँदा ठोक्दा मात्र निश्चित आकार दिन सजिलो हुन्छ।सेलाएपछि आकार दिन खोज्नु मुखर्ता हो।ठिक त्यस्तै सही अवसरको खोजीमा थिएँ।अवसरकै प्रतिक्षामा दुई महिना ब्यर्थै बितिसकेको थियोे।फेरि सोचें-अवसर आउँदैन,आफैंले बनाउनुपर्छ।एकदिन समाज शास्त्रको कक्षा सकेर नास्ता खान काव्य र म क्यान्टीनमा गयौं।त्यो दिन रञ्जु आएकी थिइनन्।मेरा आँखाहरुले उनैलाई खोजिरहेका थिए।मनले उनैलाई खोजिरहेको थियो।मुखै फोरेर काव्यलाई सोधें।
"काव्य!रञ्जु खै त आज?किन नआएकी?के भयो उनलाई?बिचरा क्लास छुट्यो आजको।"
"मर्गीले हल्का बिरामी छे।भोलि आउँछे।आज मैले नै आराम गर भनेर कराएकी।"
"हँ!ज्वरो पनि आएको छ?ठिक त हुन्छ नि है?"-मैले आत्तिएर सोधें।
"आत्तिनु पर्दैन यार ठिक हुन्छ।"
चाहिने भन्दा बढी चासो दिएको देखेर उनी छक्क परिन्।एकोहोरो मेरो मुखमा अनौठो पाराले हेरिन्।
"समीर!म धेरै दिनदेखि तिमीलाई एउटा कुरा भन्न खोज्दै थिएँ तर भन्नै सकिरहेकी छैन।"
"के कुरा भन न।हामी साथी-साथीमा अप्ठ्यारो मान्नुपर्दैन,भनिहाल।"
"म तिमीसित एउटा अमूल्य उपहार माग्न चाहन्छु।"
"कस्तो उपहार हो र काव्य?तिम्रो जन्मदिन त आउन बाँकी नै छ।तैपनि दिनसक्ने रहेछ भने दिन तयार छु।तर महंगो चाहिं नमाग ल,दिन नसकुँला फेरि।"
"किन दिन नसक्नु समीर।"
"भनी त हेर।"
"समीर!म तिमीलाई मनपराउँछु।माया गर्छु।के तिमी पनि मलाई माया गर्छौ?के तिम्रो अमूल्य माया मलाई उपहारस्वरूप दिन सक्छौ?प्लीज,नाइँ नभन ल?"
म छाँगाबाट खसें।सोच्दै नसोचेको प्रस्तावले मलाई ठूलो खाडलमा हाल्यो।कसरी उम्किने,कुनै बाटो थिएन।उनको मायालाई अस्वीकार गरुँ भने उनको मन दुख्ने डर।स्वीकार गरुँ भने म रञ्जुलाई चाहन्थें।म प्रेमको परिक्षा दिन बाध्य भएँ।कतै न कतैबाट त्यो परिक्षामा असफल हुने नै थिएँ।मलाई भगवानले पनि कस्तो गाह्रो मोडमा ल्याएर उभ्याइदियो।रञ्जुसित भेट नभएको भए त काव्यको बारेमा सोच्न सकिन्थ्यो।तर काव्यदेखि प्रेमको हिसाबले धेरै टाढा पुगिसकेको थिएँ।रञ्जुको नजिक भैसकेको थिएँ।एकमनले सोचें-"काव्यको प्रेमलाई मूर्त रुप दिउँ।तर अर्को मनले भन्थ्यो-म रञ्जुकै हुँ।अनि फेरि सोच्थें-म त रञ्जुलाई प्रेम गर्छु तर रञ्जुले?रञ्जुले प्रेम गरिनन् भने?जेसुकै होस म रञ्जुलाई आफ्नो बनाउन चाहन्छु।"
अन्ततः मैले काव्यलाई आफ्नो मान्न नसक्ने भएँ।उनलाई कसरी सम्झाउँ भो।
"काव्य!मैले तिम्रो प्रेमको अवमूल्यन गरेको हैन।तिमीले अलि ढिला गर्यौ काव्य।संघार कटेपछि भित्र बोलायौ।मैले यात्राको तय गरिसकें।अब फर्कन सक्दिन।तिमी मेरी असल साथी हौ,रहिरहनेछौ।यदि अन्यथा सोच्दिनौ भने तिम्रो प्रेमलाई स्वीकार्न असमर्थ छु।मलाई कारण नसोध ल काव्य!सायद तिम्रो माया मेरो भाग्यमा थिएन।त्यसैले यो अक्कर मोडमा छु।"-मैले सक्दो सम्झाएँ।
"सोध्दिन म।तिम्रो अर्की होलिन्।भो डिस्टर्व गर्दिन।ठिकै छ,म तिम्रो लायककी रहिनछु।म यो पनि सोध्दिन कि तिम्रो जिन्दगीमा कुन चाहिँ किच्कन्नी आईन्!"
काव्य निकै जोडले रिसाइन्।सम्झाउनु भन्दा अगाडि चिया पनि नपिई बाहिरिन्।कुनै खेलाडी भैदिएको भए उनको मायालाई सहर्ष स्वीकारेर मौकाको फाइदा लुट्थ्यो होला तर मैले त्यस्तो गर्न सकिन।म भमरा झैं धेरै फूलहरुको रस चुस्दै हिंड्ने खालको केटा परिन।मैले पनि आधा चिया कपमै छोडेर काव्यलाई सम्झाउन निस्कें तर उनी गायब भैसकेकी थिइन्।उनको मनमा ठेस पुर्याएकोमा केही पछुतो पनि लाग्यो।त्यो दिन त्यस्तै भयो।फोन गरेर सम्झाउन पनि चाहिन।अर्को शुभदिनको प्रतिक्षामा रात गुज्र्यो।
   
          क्याम्पस जान मन त थिएन तर काव्यलाई अझ सम्झाउनु थियो।ब्याग नलिई रित्तै गएँ।काव्य र रञ्जु दुवैलाई भेट्नु थियो तर आज पनि रञ्जु अनुपस्थित थिइन्।अझै ठिक भएन झैं लाग्यो।तर उनको बारेमा सोधपुछ गरिन।काव्य निकै निराश भएको देखें।भेट्ने बित्तिकै उनलाई क्यान्टीनमा लगें।
"काव्य!आज मलाई पढ्ने मुड छैन।तिमी जाने भए जाउ।"-चिया पिउँदै मैले भनें।
"तिमी एक्लै के गरी बस्छौ त यहाँ।आजको लागि म पनि जान्न।"
"काव्य!तिमी हिजो रिसायौ है?मलाई माफ गर ल!"
"हैन समीर,म रिसाएकी थिइन र छैन।माफी त मैले माग्नुपर्छ तिमीसित।मैले आफ्नो इच्छा तिमीमा लाद्न खोजें।आफूले चाहेको कुरा तिमीबाट प्राप्त गर्न खोजें।म स्वार्थी हुँ समीर।प्रेममा दुबै जना राजी हुनु नितान्त आवश्यक छ।एक मन तयार भएर मात्र हुन्न।जबर्जस्तीले हुने चीज पनि त हैन यो।तर समीर,मनपराउनु र माया गर्नु मेरो गल्ती त हैन नि।मैले माया गरें भन्दैमा तिमीले पनि गर्नैपर्छ भन्ने छैन।खैर,यो कुरालाई यही अन्त गरौं।म तिमीलाई बाध्य पार्न पनि त सक्दिन।म को हुँ र तिम्रो।बश हामी त असल साथी थियौं,हौं र रहिरहनेछौं।मैले आफ्नो हैसियत भुलेकी रहेछु।"
"काव्य!माया सधैं निस्वार्थ हुन्छ।चोखो हुन्छ।म तिम्रो मायाको कदर गर्छु।यसलाई अपमान नसम्झ ल?"
"भैगो नि समीर।यो बिषयलाई यही टुंग्याऔं।"
त्यसपछि धेरै बेरसम्म हामी मौन भयौं।उमार्न खोजिएको उनको प्रेमको बीउ त्यही सुक्यो।केही बेरपछि उनीबाट बिदा भएर कोठामा गएँ।उनी पढ्नलाई क्लासतिर गइन्।
         अर्को दिनदेखि काव्य र रञ्जु मेरो सामू परेनन्।चिया खान जाऔं भनेर अनुरोध गरे पनि कुनै न कुनै बहानामा टारिदिन्थे।हाम्रो मित्रता बिस्तारै-बिस्तारै फिक्का हुनथाल्यो।कुनै बेला जम्काभेट हुँदा हाइ-हेल्लो मात्र हुनथाल्यो।काव्यलाई बिर्से पनि रञ्जुलाई मनमै सजाएकोले बिर्सन सक्ने कुरै भएन।उचित अवसर पारेर प्रेम प्रस्ताव राख्ने दाउमा थिएँ।मेरो समय पढाइ भन्दा पनि क्यान्टीनमा चिया पिएरै बित्यो।चिया नपिउँदा एकान्तमा गएर टोलाउन थालें।मलाई चिन्नेहरुले मलाई अनेक आरोप लाउँथे रे।मानसिक रोगीसम्म भन्न भ्याएको कुरा मेरो मिल्ने साथी विवेकबाट थाहा पाएँ।
"भन्नेलाई भन्न देउ यार विवेक।मुख थुन्न सकिन्न क्यारे।आफू भलो त जगत भलो।जेसुकै भनुन्।"
विवेकलाई उल्टै सम्झाउँथें।हुन पनि म गलत बाटोमा हिंडेको थिइन।लागूपद्धार्थ त मेरा दुष्मनै थिए।त्यसैले दुष्मनलाई साथी बनाउने कुरै थिएन।गलत मान्छेहरुको अनुमान पनि गलतै हुनेरहेछ।कुलतमा लागेका एकादुईले मलाई पनि आफू जस्तै सोचेका रहेछन्।खासगरी म काव्य र रञ्जुसितको सम्बन्ध प्रगाढ हुन नसकेकोमा चिन्चित थिएँ।कुनैबेला हाम्रो मित्रताको गुणगान गाउँथे धेरैले।ती दिनहरु सम्झेर रुने गर्थें कहिलेकाही।समय सधैं एकनाशको नहुँदोरहेछ।कतिपय सम्बन्धहरु स्थापित हुन्छन् र कतिपय बिस्थापित पनि।यात्रारुपी जिन्दगीका मोडहरुमा धेरै जना भेटिन्छन् र छुटिन्छन् पनि।कोहीसंगको भेट यादगार र अविस्मरणीय हुन्छ।कुनै भेटले त्यति छाप छोड्दैनन् र सहजै दिमागको ग्यालरीबाट स्वत: डिलिट भएर जान्छन्।तर कुनै भने जति डिलिट गर्न खोजे पनि चीरकालसम्म अमीट छाप भएर रहन्छन्।त्यस्तै छाप भएर बसेका थिए काव्य-रञ्जु।
     
          एकदिन चिया खानेक्रममा क्यान्टीनमै थिएँ।चियाको चुस्कीसंगै "मनसुन" उपन्यास पढ्दै थिएँ।एक्कासी कसैले बोलाएको आवाज आयो।रञ्जु मतिरै आउँदै थिइन्।मलाई अचम्म लाग्यो।जसलाई म महिनौं देखि खोजिरहेको थिएँ,उहीँ मान्छे आज मलाई खोज्दै आइरहेकी थिइन्।एउटै क्याम्पस र कक्षामा भएपनि हाम्रो भेट भैरहेको थिएन।कक्षामा पढ्न गए त भेटिन्थ्यो होला पनि।तर क्याम्पस गएर पनि क्यान्टीन सम्म गएर फर्किने मेरो कारणले कुराकानी त के भेटसम्म पनि हुँदैनथ्यो।
"हेल्लो रञ्जु!आज कताबाट बाटो बिराएकी?"-नजिकै पुगेपछि मैले सोधें।
"बाटो त तिमीले बिराएका छौ समीर।क्याम्पस आएर पनि कक्षामा नपस्ने संसारमै पहिलो ब्यक्ति देखें मैले-समीर।"
"अहिलेसम्म त बिराएको छैन रञ्जु।जबसम्म म यहाँ छु,सकुशलै छु सम्झ।आउ बस,चिया खाऔं।"
"तिमीसंग कुरा गर्न कसले सक्नु समीर।"
"चियासंग के खान्छौ?साहुजी!चना पनि एक प्लेट है।"
उनी चुपचाप बसिन्।मैले नै मौनता भंग गर्ने कोसिस गरें।
"भन रञ्जु।पढाइ कस्तो चल्दैछ?अचेल त तर्केर हिंड्छौ क्यारे तिमीहरु।"
"तर्केको हैन है समीर।त्यसो नभन।अनि समीर!तिमीसित एउटा कुरा गर्नुछ।धेरै दिनदेखि भन्न सकिरहेकी छैन।"
म एकछिन सोचमग्न भएँ।के भन्न खोजेकी होलिन् रञ्जुले?जान्न व्यग्र भएँ।सोचें-सायद रञ्जुले पनि मलाई मनपराउँछे।यही भन्न खोजेकी होलिन्।म भित्रभित्रै खुशीले गदगद भएँ।
"भन न रञ्जु के कुरा हो?सुन्न आतुर छु।"
"खै कसरी भनुँ समीर?तिमी रिसाउने पो हो कि!"
"रिसाउँदिन,किन रिसाउनु?"
"के थाहा,रिसाइहाल्यौ भने?"
"अब तिमी केही नभन रञ्जु!मलाई भन्न देउ।"
मेरो कुरा सुनेर उनले अनौठो भाव प्रकट गरिन्।सायद उनले सोचिन्-मैले ओभरटेक गर्दैछु।शीर हल्लाएर "हुन्छ"भनिन्।
"रञ्जु!धेरै दिनदेखि म पनि तिमीलाई केही भन्न खोजिरहेको थिएँ।तर भन्ने आँटै आएन।त्यसैले त आज चिया नै मेरो साथी भएको छ।तिमी र मैले भन्न खोजेको कुरा एउटै हो जस्तो लाग्यो।त्यसैले तिमी भन्दा पहिले म भन्छु आज।सुन्नैपर्छ आज तिमीले।"
फेरि पनि शीर मात्र हल्लाएर हुन्छ भनिन्।
"रञ्जु!साँच्चिकै भन्नुपर्दा तिमीलाई जुन दिन देखें नि,त्यही दिनदेखि म तिम्रो प्रेममा पागल भैसकेको थिएँ।फिदा भैसकेको थिएँ।थाहै नपाइ कसरी तिमीलाई प्रेम गर्न थालेछु।कसम रञ्जु!म तिमीलाई बेहद माया गर्छु।यति कुरा भन्न नसकेर म पलपल तड्पेर बाँच्न विवश छु।के तिमी पनि मलाई माया गर्छौ?मलाई विश्वास छ,तिमी पनि मलाई उत्तिकै माया गर्छौ।मेरो विश्वासलाई टुक्र्याउने छैनौ भन्ने आशामा छु।नाइँ नभन ल रञ्जु।नाइँ भन्यौ भने म त जिउँदै मर्छु नि।प्लीज रञ्जु,हुन्छ भन न।माया गर्छु भन न।"
उनको बोली फुटिरहेको थिएन।एकोहोरो मेरो अनुहारमा ट्वाल्ल हेरिरहिन्।उनी गहिरो चिन्तनमा डुबे झैं देखिन्थिन्।मैले उनको काँधमा दुबै हातले झक्झकाउँदै भनें-
"बोल न रञ्जु!केही त बोल।के तिमी मलाई माया गर्छौ?"
लामो अन्तरालपछि बेहोसीबाट होसमा आएझैं गरिन् र शीर हल्लाइन्।फेरि मैले प्रतिप्रश्न गरें-
"साँच्चै?रञ्जु!साँच्चै तिमी पनि मलाई चाहन्छौ?"
"हो समीर।म तिमीलाई माया गर्छु।यही कुरा भन्न म यहाँ आएकी थिएँ।तर तिमीले त मलाई ओभरटेक नै गर्यौ।मेरो मनको कुरा तिमीले भनेको सुन्दा एकछिन त विश्वासै लागेन।आखिर शुरुमा जसले भनेपनि भन्न खोजेको एउटै रहेछ।म आज यति खुशी छु,जसको कुनै सिमाना छैन।आइ लभ यु समीर।"
"आइ लभ यु टु रञ्जु।"
यति भनिसक्दा हामी एक-अर्काको अंगालोमा बेरिसकेका थियौं।चुम्बनको वर्षा हुन थालेको थियो।
"राम-राम-राम! कलियुगमा के देख्नुपर्यो?"
क्यान्टीनको साहु बर्बराउँदै थियो।हामीले वास्तै गरेनौं।

           हाम्रो प्रेम उत्कर्षमा पुग्यो।रञ्जुको प्रेमले मलाई नयाँ जीवन दियो।मेरो जीवनमा नयाँ मोड ल्याइदियो।आफूले चाहेको मान्छेको माया पाउनु भन्दा ठूलो कुरा अरु केनै हुन्छ र?उनको मायाले मलाई क्याम्पसको कक्षाकोठा सम्म पुर्यायो।निरन्तर क्याम्पस जान थालें।पढाइमा प्रगति गर्न थालें।बेला-बेलामा रञ्जु र मेरा आँखा जुधिरहन्थे।कहिलेकाही काव्यले पनि हेरेझैं गर्थिन्।तर काव्यलाई खासै ध्यान दिन्नथें।रञ्जुको मायामा परेको पनि ३ महिना बितिसकेको थियो।एकदिन रञ्जुले मलाई उनीहरूको कोठामा बोलाइन्।क्याम्पस छुट्टी भएकोले शनिबारको दिन गएँ।त्यही दिन फेरि काव्यसंग कुराकानी भयो।नत्र कुरा नभएको धेरै भैसकेको थियो।हाम्रो।मित्रताले पुनर्जन्म पायो।सबै जना खुशीले रमायौं।खाना खाइसकेर निकैबेर गफ गर्यौं।खाजा खाएर मात्र जानु भनेर जिद्दी गरे।काव्य दूध लिनलाई पसल गईन्।रञ्जु मेरो नजिक-नजिक आएर गफ गर्न थालिन्।मैले उनको हात समाएर चुमें।बिस्तारै ओठहरु पनि एकत्रित भए।एक-अर्काको प्रेममा लिप्त थियौं।काव्य आएको पनि थाहा भएन।
"रञ्जु!"
काव्यको शब्दले भुकम्प ल्यायो।शरमले पानी-पानी भयौं।
"सरी ल काव्य!माफ गरिदेउ।"
"केही छैन समीर।माया गर्यौ।कुनै पाप त गरेका छैनौ नि।"
एकछिन वातावरण शान्त बन्यो।चिया-नास्ता पछि म आफ्नो कोठातर्फ प्रस्थान गरें।
       भोलिपल्ट बिहानै क्याम्पस जाने तरखरमा थिएँ।रञ्जुको फोन आयो।
"समीर,आज हामी क्याम्पस जान्नौं।तिमी गए जाउ है।"
"किन के भयो र?"
"काव्यलाई अलि सञ्चो छैन।"
"किन के भयो काव्यलाई?"
"आत्तिनु पर्दैन समीर,एक्कासी बि.पी.लो भएछ।ल ल टेक केयर ल!"
"म पनि क्याम्पस नजाने भएँ।आफ्नो मुटुको टुक्रा नै नगएपछि आफू चाहिँ किन जाने।त्यही माथि काव्यलाई पनि सञ्चो छैन।बरु काव्यलाइ हेर्न आउँछु म।"
यति भन्न नपाउँदै फोन काटिसकेको थियो।काव्य र रञ्जुलाई उनीहरुकै कोठामा भेट्न जाउँ त लाग्यो तर आत्तिनु पर्दैन भन्ने कुराले जानबाट रोक्यो।दिनभरी आलस्य भएर कोठामै बसें।साँझतिर रञ्जुलाई फोन गरें तर लागेन।८/१० पल्ट कोसिस गरें तर कल सफल हुन सकेन।काव्यलाई फोन लगाएँ।
"काव्य!अहिले कस्तो छ तिमीलाई?बिरामी छौ रे त,के भाथ्यो?अनि रञ्जुको फोन किन लागेन?"
"समीर,म ठिक छु।तर रञ्जुको फोनै लाग्दैन।उनी यहाँ पनि छैन।"
"ए,कतै केही कामले बाहिर गएकी होलिन्।आएपछि फोन गर्न लाउनु।ओके बाइ।"

         राती १० बजेसम्म पनि कसैको फोन आएन।फेरि रञ्जुलाई फोन लगाएँ।तर फोन स्वीच अफ थियो।काव्यलाई फोन गरेर सोधें।तर उनी अझै कोठामा आएकी रहिनछिन्।त्यो रात बिना सम्पर्क बित्यो।अर्कोदिन सबेरै शुरुमा रञ्जुलाई फोन गरें तर लागेन।काव्यलाई गरें।
"समीर!रञ्जु गायब छिन्।बिना जानकारी यसरी कहिल्यै हराएकी थिइनन्।कहाँ गइन्,किन गइन्,कुनै जानकारी छैन।लौन समीर,के गर्ने होला?"
"आजको दिन पर्खुँ अनि आइनन् भने सोचौंला।आत्तिनु पर्दैन काव्य।"
काव्यलाई त आत्तिनु पर्दैन भनेर सम्झाएँ तर म आफैं आत्तिएको थिएँ।मलाई कसले सम्झाउने?हजारौं प्रश्नहरू आएर मेरा सामू तेर्सिए तर अनुत्तरित रहे।दिनमा ३/४ पल्ट फोनमा कुरा हुन्थ्यो।तर दुई दिन हुँदा एकपल्ट पनि कुरा नहुँदा म बेचैन थिएँ।
"कतै कसैले अपहरण त गरेनन्?"
"तर के उदेश्यले कसले गर्ने?"
प्रश्नको बदला प्रश्न जन्मिन्थ्यो तर चित्तबुझ्दो उत्तर कतैबाट आउँदैनथ्यो।दिनभरीमा सयौं पटक उनलाई फोन गर्ने कोसिस गरें तर लागेन।रातभरी सुतिन।रञ्जुलाई फोन लाग्ने र काव्यबाट रञ्जुको बारेमा जानकारी दिन फोन आउने आशामै हप्तादिन बित्यो।रञ्जुको कतै अत्तोपत्तो लागेन।प्रहरीमा उजुरी दिइयो।तर प्रहरीले कुनै प्रगतिको विवरण पेश गर्न सकेनन्।अब त रञ्जुप्रति रिस उठ्न थालिसकेको थियो।पक्कै पनि उनी अर्कैसंग पोइला गएर मलाई धोका दिएकी हुनुपर्छ भन्ने अनुमान लगाएँ।नत्र भने जहाँ जे हालमा भएपनि एक कल फोन त गर्न सक्थिन्।किन अचानक यसरी निष्ठुरी बनिन्।किन माया मारिन्।केही भेउ पाउनै सकिन।उनीप्रति माया भन्दा घृणा पैदा हुनथाल्यो।हुँदाहुँदै हप्ता र महिनाहरु बिते।अब भने एकिन भयो कि उनले पक्का धोका दिइन्।उनलाई पूर्णरूपमा मनबाटै बहिष्कार गरें।क्याम्पस पनि जान छोडें।काव्यलाई फोन गर्न पनि छोडें।फोन के आशाले गर्नु थियो र?अर्कै केटासँग घरबाट जमाएको खबर सुन्नु थिएन मलाई।एकचोटी रञ्जुले दिएको धोका सहेको थिएँ।खाटो बसेको घाउलाई कोट्याउनु थिएन।जसलाई आफू भन्दा बढ्ता माया गरेको थिएँ,उसैले पानीबाट निकालेर बगरमा फालिएको माछा जस्तो बनाएपछि त्यस्ती पापिनीलाई सम्झनुको कुनै औचित्य पनि त थिएन।हो,बिर्सें मैले उनलाई।यो मेरो महानता थियो।

          धेरै महिनापछि आएको काव्यको फोनले अतीतका सारा घटनाक्रम याद दिलाएरै छाड्यो।तेश्रोपल्ट पनि काव्यको फोन नउठाएपछि एउटा म्यासेज आयो।
"समीर!अति जरुरी काम छ तिमीसंग।जसरी हुन्छ,तुरुन्त मेरो रुममा आउ।"
म्यासेज देखेर अलमल्ल परें।किन होला?बिहान-बिहानै यस्तो जरुरी के काम पर्यो होला।बाँकी कुरा बुझ्नलाई फोन गरें।
"समीर!कुरा बुझ्यौ हैन?जसरी हुन्छ,अहिल्यै आउ त।"
"किन,के भयो र?के काम पर्यो?"
"फोनमा भनेर साध्य छैन समीर।प्लीज,अन्तिमपल्ट आउ न मेरो रुममा।"
"हुन्छ म आइहालें।"
हतास हुँदै ट्याक्सी पक्डेर गएँ।बौद्ध देखि चावहिलसम्म ट्याक्सीमा जान पनि घण्टौं झैं लाग्यो।म काव्यको रुममा पुग्दा उनी एक्लै सुँक्क-सुँक्क रुँदै थिइन्।
"के भयो काव्य?"
उनी मौन बसिन्।फेरि उहीँ प्रश्न दोहोर्याएँ।उनले दुई पेज लामो पत्र जस्तो देखाइन्।हतार-हतार गएर हेरें।पत्र नै रहेछ।
"कसको पत्र हो काव्य?कहाँ पायौ?"
"रञ्जुको पत्र रहेछ।मेरो बुकको मध्यपृष्ठमा रहेछ।"
उनको हातबाट थुतेर पत्र पढ्न थालें।

        प्यारो मित्र समीर।प्यारी साथी काव्य!हृदयभरीको असीम माया।हमेसा हाम्रो मित्रता अजर-अमर रहोस्।
          साथी हो!म अति भाग्यमानी रहेछु।तिमीहरु जस्तो साथीहरुसंग केही समय जिन्दगी व्यतीत गर्न पाएँ।साँच्चै हगि!थाहै नपाइ हामी कति चाँडै असल साथी भैसकेको रहेछौं।तर खेदको कुरा मैले तिमीहरुलाई सताएँ।दु:ख दिएँ।काव्य!तिमीले मलाई कति चाँडै विश्वास गरेर आफ्नो रुम-पार्टनर बनायौ।तिमी जस्तो साथी पाउन मुश्किल छ यो दुनियाँमा।अनि समीर!सुन त!हाम्रो सुन्दर जीवनमा आँधीबेहरी आएर कतिबेला उथलपुथल ल्याइदिन्छ,केही पत्तो नहुँदोरहेछ।कतिखेर भुकम्प आएर हाम्रो भाग्यलाई चिरा-चिरा पारेर जान्छ,थाहै नहुँदोरहेछ।तर तिमीहरुलाई मैले नकारात्मक दृष्टिकोणले हेरेकी छैन है।समीर!मेरो प्यारो मान्छे!आज मैले केही गोप्य कुराहरु भन्नैपर्ने हुन्छ,जुन तिमीलाई थाहा छैन।हामी साथी भएको केही महिनासम्म त मैले तिमीलाई एउटा सामान्य साथीको रुपमा लिएकी थिएँ।मेरी साथी काव्यको साथीको नाताले तिमी मेरो पनि साथी थियौ।मैले तिमीलाई प्रेम गर्ने कुरा त धेरै टाढाको थियो।तिमीलाई एउटा कुरा त थाहै हुनुपर्छ कि तिमीलाई काव्यले मनपराउँथिन्।एकपटक उनले प्रेम प्रस्ताव पनि राखेकी थिइन्।तर तिमीले स्वीकार गरेका थिएनौ।कारण तिमी अरु कसैलाई मनपराउँथ्यौ।तिमी अरु कसैलाई चाहन्छौ भन्ने कुरा काव्यलाई थाहै थिएन।न त तिमीले नै भन्यौ।काव्यले त तिमीलाई एकोहोरो माया गरिरहिन्।यी सबै कुरा काव्यले मलाई भनेकी थिइन्।समीर!के माया गर्नु पाप हो?होइन नि।हो साथी,काव्यले तिमीलाई निस्वार्थ माया गरिरहिन्।उनको जतिको निस्वार्थ माया त कसैले गर्न सक्दैनन्।म पनि सक्दिन।अनि एउटा कुरा,उनको प्रस्ताव तिमीले नस्वीकारे पछि उनले अन्तिम अस्त्रको रुपमा मलाई प्रयोग गरेकी हुन्।म उनको सहयोगी या दूत भएर तिमीलाई क्यान्टीनमा एक्लै भेट्न आएकी थिएँ।उनको तिमीप्रति कति माया थियो,सुनाउन आएकी थिएँ।सम्झाउन आएकी थिएँ।तिमीलाई एउटा कुरा भन्नु छ भनेकी थिएँ नि शुरुमै,त्यो कुरा काव्यकै प्रेम थियो।काव्यले तिमीलाई धेरै माया गर्छे भन्ने कुरा सुनाउन आएकी थिएँ।तर तिमीले त पासो नै पल्टाइदियौ समीर।मैले यथार्थ कुरा भन्न नपाउँदै तिमीले मलाई प्रस्ताव राख्यौ।त्यतिखेर म एकछिन धर्मसंकटमा परें।जसरी पनि म नकारात्मक पात्र हुन्थें।तिम्रो प्रस्ताव स्वीकार गरुँ त काव्यलाई धोका हुने।नगरुँ त तिम्रो मन दुख्ने।मैले केही सोच्नै सकिन यार काव्य!यार समीर।तिमीहरू नै भन मैले के गर्नुपर्थ्यो?जसरी पनि म स्वार्थी नै हुन्थें।त्यतिखेर मेरो मनमा काव्य आएन।मैले आफूलाई एउटी स्त्रीको रुपमा हेरें।एउटी स्त्रीको धर्म पालन गर्ने कोसिस गरें।स्वभाविकैले पुरुष स्त्रीका लागि र स्त्री पुरुषका लागि बनेको हुन्।मैले आफू भित्रको स्त्रीत्वलाई मार्न सकिन।जब समीरले मलाई प्रस्ताव राख्यो,मेरो मनै एकाएक परिवर्तन भयो।काव्यको लागि गएको बिर्सें।आफ्नो लागि मात्र सोच्न लागें।म स्वार्थी भएँ हैन र साथी हो?हो,काव्य!मैले समीरको प्रस्तावलाई स्वीकारें।त्यो दिनदेखि हामी एक-अर्कालाई प्रेम गर्न थाल्यौं।हो समीर,खास यस्तो भएको थियो।एक्कासी तिमीलाई प्रेम गर्न थालेकी थिएँ।तर यो कुरा मैले काव्यलाई पनि भनेकी थिइन।काव्यको लागि कुरा मिलाउन भनेर म तिमीलाई भेट्न आउँथें।मैले घात गरें है?अनि जुन दिन तिमीलाई हामीले रुममा बोलाएका थियौं नि,त्यो दिन पनि हामी दुबै मिलेर तिमीलाई सम्झाउन बोलाएका थियौं।तर काव्य दूध लिन बाहिर जाँदा मैले सम्हाल्नै सकिन।मैले आफ्नो प्रेम ब्यक्त गरिहालें।प्यारी काव्य!समीर र मेरो बीचमा चुम्बन बाहेक अरु गलत कार्य भएन।यदि अरु केही भएको भए पनि प्रेमकै एक रुपनै त हुन्थ्यो होला नि हैन र?सही र गलत त मनको उपज मात्र हो।सही-गलत त हामी मानवजातिले निर्माण गरेका हौं।प्रकृतिले त इजाजत दिन्छ।जतिबेला तिमीले त्यो अप्रत्याशित दृश्य देख्यौ,तिम्रो सपना चकनाचुर भयो होला है?अनि मलाई एउटी चरित्रहीन नारीको रुपमा लियौ होला।तिमी यसलाई कुनरुपमा लिन्छौ,तिम्रै जिम्मामा।अनि समीर!काव्यले त्यही दृश्य पचाउन नसकेर के गरिन् थाहा छ?बिष पिएर आत्महत्या गर्न खोजिन्।हाम्रो प्रेमलाई सफल पार्न उनले मृत्युको बाटो रोजिन्।तर उनले आफ्नो प्रेमको बारेमा सोचिनन्।हाम्रो लागि आफ्नो बलि चढाउन खोजिन् उनले।बेलैमा मैले थाहा पाएर अस्पताल नपुर्याएको भए आज काव्य हाम्रो माझ हुने थिइनन्।मैले तिमीलाई काव्य हल्का बिरामी छे भनेर टारिदिएँ।काव्य!तिमीले ठूलो त्याग गर्यौ।त्यति त कसैले गर्न सक्दैनन्।त्यही त्यागको फलस्वरूप आज म समीरलाई तिम्रो हातमा छोडेर जाँदैछु।अनि समीर!यो नसोच्नु कि म तिमीलाई माया मारेर जाँदैछु।मेरो माया त अपार छ।तर हामी एकसाथ भएर जिउन सक्दैनौं।कोही न कोहीले त त्याग गर्नैपर्छ।पाउनु मात्र माया हैन साथी हो,गुमाउनु पनि माया नै हो।तर काव्य!मेरो त्याग तिम्रो जस्तो हुनेछैन।आजबाट म माया-प्रेमको परिभाषालाई उल्टाउन चाहन्छु।विवाह गरेर संगै जीवन गुजार्नु मात्र पनि प्रेम होइन।यसो भनेर मैले आफैंलाई महान बनाउन खोजेकी हैन।प्रेम गरेपछि रुने,तड्पिने र टाढिएर जिउने हिम्मत पनि गर्नुपर्छ।हस त साथी हो!तिमीहरुको वैवाहिक जीवन सुखद होस।मलाई कही कतै खोज्ने प्रयास नगर्नु।म मर्न गैरहेकी छैन।एउटा अनिश्चित यात्रामा निस्केकी छु।कहाँनेर टुंगिन्छ,थाहा छैन।यदि पृथ्वी गोलाकार रहेछ भने जिन्दगीको कुनै मोडमा अवश्य भेट होला।अलबिदा!!!
        उहीँ तिमीहरुकै शुभचिन्तक साथी
                      रञ्जु
रञ्जुको पत्रले हामीलाई धुरु-धुरु रुवायो।अन्तिममा लेखिएको अक्षर " रञ्जु" लाई एकपटक सुस्तरी स्पर्श गरें।काव्य भने मेरो अनुहारमा हेर्न थालिन्।रञ्जुले ठूलो त्याग गरेर काव्य र मलाई एक बनाइन्।काव्य प्रति कहिल्यै नपलाएको माया पलाएर आयो।मैले दुबै हात फैलाएर उनलाई आमन्त्रण गरें।उनी आएर मेरो अंगालोमा बेरिन्।
"आइ लभ यु रञ्जु।हैन-हैन,आइ लभ यु काव्य।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...