पूजा गरेर लेखिए
शक्तिको वायोग्राफी
उसैको गीत
उसैको इतिहास
कसले देख्यो पीडितको पीडा
कसले लेख्यो साँचो इतिहास?
पुस्तकका हर पानामा
लगाइयो झूटको लेपन
सत्यलाई दबाइयो
झूटकै इतिहास अजर-अमर बन्यो।
जंगेहरु चर्चित भए
जाल-झेलले चलाखीको संज्ञा पाए
इमानदारी गौण भयो
भीमसेनहरुले आत्महत्या गरिरहे।
खोक्रो आदर्श र देशभक्तिका
लाउनु छैन बकवास नाराहरु!
गाउनु छैन वाहियात गानाहरु!
भोको पेटले कहिलेसम्म गाउन सक्छ?
धेरै लेखिए हिमालका गुणगानहरु
हावापानीका ध्वनि/चालहरु
धेरै सुनिए मायाप्रेम
प्रकाशित भए काल्पनिक उपन्यास
लेखिएनन् परिश्रमी हातहरु
कोरिएनन् बलिदानीहरु!
हजारौंले जीवन उत्सर्ग गरे
कैयौं जिउँदा लास भए
तर उनीहरू सदा गुमनाम भए
कहिल्यै शहिद कहलिएनन्
उनीहरू अशहिद भए।
जो शासकका भक्त थिए
जो शक्तिका पुजारी थिए
तिनै चम्चेहरु शहिद कहलिए।
जो प्रख्यात लेखक बने
तिनीहरुले थोरै सत्य लेखे
धेरै असत्य लेखे
भ्रामक अक्षरहरुका पट्टीले बाँधिए-पाठकका आँखा।
यदि लेख्नुनै छ भने
ती चेलीहरुको बारेमा लेखौं
जसलाई
बोक्सीको आरोपमा
मल-मूत्र मुखमा कोच्याए
दाइजो नल्याएको निहुमा
मट्टीतेल खन्याएर जिउँदै जलाए
ती बालिकाहरुको बारेमा लेखौं
जसलाई
मिठाइको प्रलोभन देखाइ
यौनपिपासुहरुले सिकार बनाए
बलात्कारपछि निर्मम हत्या गरे।
ती किसानहरुको व्यथा लेखौं
जो दिनरात अनाज उमारिरहेका छन्।
ती हिम्मतवालाहरुको कथा लेखौं
जो देशको निमित्त लड्दा-लड्दै
सदाको लागि लडे
जसलाई कसैले उठाएनन्
जसलाई कसैले चिनेनन्
जसको नाम कसैले लिएनन्।
उसको बारेमा लेखौं
जो निस्वार्थ देश/जनताको सेवामा
अहोरात्र खटेका थिए
खटिरहेका छन्
जसलाई नाम/दामको पर्वाह छैन।
उही पुरातनवादी लेखकहरुको
पदचाप पछ्याउँदै
उही चम्चेहरुलाई आदर्श मान्दै
सत्य-तथ्यलाई लुकाएर
शक्तिको जयजयकार लेख्यौं भने
हिमाल/पहाडको कविता मात्र कोर्यौं भने
हामी पनि उही ड्याङको मूला हुनेछौं
धिक्कार्नेछ भावी पिंढीले
थुक्नेछ अलिखित इतिहासले!
No comments:
Post a Comment