Sunday, 12 November 2017

हिम्मत

संसारको सबैभन्दा अग्लो टावर
बुर्ज खलिफामाथि चढेर
चारैतिर नियाल्दा
मैले देखिन गगनचुम्बी महलहरु
बरु देखें मैले स्वदेशका झुपडीहरु
देखिन झिलिमिली बत्तीहरु
बरु देखें निस्पट्ट बस्तीहरु
नजर आएनन् चौडा सडकहरू
देखिए त्यहाँ भताभुङ्ग गल्लीहरु!

अग्लो टावरमा चढ्न पाउँदा
रत्तिभर पनि हर्षित थिइन म
भत्भत्ती पोलिरहेको थियो मुटु
चसक्क चस्किरहेको थियो छाती
बुर्ज खलिफा अगाडिको पानी जत्तिकै
नुनपानी छल्किरहेको थियो आँखामा
त्यो शानदार टाकुरामा
माथि चढेको भान भएन
तल झरेको भान भयो
त्यो उचाइबाट तल खस्दा जति दर्द हुन्छ
उत्तिकै दर्द भैरहेको थियो मनमा।

त्यो टावरमा चढेकोमा
आत्मग्लानी भयो
लज्जाबोध भयो
आफू मात्र उचाइमा चढेर के गर्ने?
ब्यक्ति मात्र चढेर के फाइदा
देशले चढे पो?
देश नै ओरालो झरेपछि
म उक्लेको के औचित्य?
के म एउटा जोक्कर भईन र?

मनमा अनेकौं प्रश्नहरु ओइरिए
किन खसिरहेको छ नेपाल?
किन चढ्न सकिरहेको छैन समृद्धिमा?
किन बिकास भएन?
किन बिनाश मात्र भयो?
के युवाहरु पलायन भएरै हो त?
यदि हो भने किन पलायन भए?
यसको जिम्मेवार को?
राज्य वा युवा?
के युवा फर्के नेपाल बन्छ?
भ्रष्टाचार रोकिन्छ?
बन्द र हडताल रोकिन्छ?
सबैले रोजगार पाउनेछन्?
गरिखाने वातावरण बन्नेछ?
सबै प्रश्नको जवाफ नकारात्मक आउँदा
मेरो हिम्मत टुट्न थाल्यो
हरेश खान थालें र
त्यहीँबाट खस्न मन लाग्यो
आफैंलाई सकाउने इच्छा जाग्यो
तर फेरि सोचें
म जस्ता युवा खसे भने
परिवार कसले धान्ने?
देशलाई कसले उचाल्ने?
अनि च्याप्प समातेर माथि तानें
तलतिर खसिरहेको मनलाई।

एउटा अनौठो चाह जाग्यो
स्वदेशको अनुहार हेर्ने
दूर-दूरसम्म आँखारुपी दूरविनले हेरें
मेरो देश कतै नजर आएन
तर मनको आँखाले देख्यो
एउटा सुन्दर देश
एउटा विकसित देश
सुविधासम्पन्न देश
मनमनै अठोट गरें
अब म जानुपर्छ आफ्नै देश
बनाउनुपर्छ यस्तै किसिमको देश
अरु कसले बनाउँछ?
आफैंले बनाउनुपर्छ आफ्नो देश।

तत्कालै मनले आदेश दियो
जाउ केटा ट्राभल एजेन्सीमा
दुबई टु काठमाण्डुको टिकट काट
अर्काको देशमा खर्च गरेर
के चढिबसेको बुर्ज खलिफा
बरु सक्छौ भने आफ्नै देशमा गएर
धरहरा बनाउने एउटा इँटा थप
पैसा नै खर्च गर्नुपर्छ भन्ने छैन
एक थोपा पसिना खर्च गर
रगत नै दिनुपर्छ भन्ने छैन
केही दिन नसकेपनि
केही गर्न नसकेपनि
एक शब्द "हिम्मत" देउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...