जसरी पवनले वयली खेल्छ
जसरी मेघले नृत्य गर्छ
जसरी पंक्षीले कावा खान्छ
त्यसै गरी निर्बाधरुपमा
सल्बलाउन चाहन्छु मनको गगनमा
तर मेरा भर्जिन रहरहरु
बन्दी भएका छन् बाध्यताको कारागारमा।
परिवारलाई चटक्क छोडेर
मुग्लान भासिएको निरीह पात्रलाई
समयले धेरैपटक पछारेको छ
इच्छा र चाहनाको हत्या गरेको आरोपमा
बिधाताको नियम उल्लंघन गरेको अभियोगमा
भाग्यले सुनाएको छ क्रूर फैसला।
श्रीमान्!
हाँस्यास्पद कठघरामा किन उभ्याइयो मलाई?
किन बनाइएको छ मेरो मजाक?
के स्वदेशमै रोजगारको चाह राख्नु मेरो अपराध हो?
साहुको ऋणले बिदेश खेदिनु अर्को अपराध हो?
यदि हो भने
अझै कडा भन्दा कडा सजाय दिनुस्
हाँसी-हाँसी भोग्न तयार छु।
श्रीमान्!
दुई बर्षको करार तोक्नु भन्दा
बरु फाँसीको सजाय सुनाउनुस्
दिन-दिनै मर्नु भन्दा
एकैपटक मर्नु बेश।
भाग्य महोदय!
क्षण-क्षणमा कोर्रा हान्नुस्
रुवाउनुस्,तड्पाउनुस्,
तर कल्पनाको जहाज चढ्न छोड्दिन
परिवार भेटेको स्वप्न देख्न छोड्दिन
हो,म अपराध गरिरहन्छु
तपाईं सजाय दिइरहनुस्!
तर मलाई उम्किन मात्र दिनुस् न
यो कहालिलाग्दो पिंजडाबाट
तपाईं जस्तो भाग्य निर्मातालाई
मैले पनि जानेको छु तिलाञ्जली दिन।
५५°को प्रचण्ड जेलबाट
दु:ख र पसिनाको माखेसाङ्लो तोडेर
याद र स्मृतिको झ्याल-ढोकाहरु फोडेर
व्यग्रताको शक्तिशाली ग्रील बंग्याएर
फरार भएर देखाइदिनेछु
काल्पनिक हैन वास्तविक जहाज चढेर
पुगेर देखाइदिनेछु स्वदेश
हे भाग्य महोदय!
सक्नुहुन्छ भने रोकेर देखाउनुस्!
No comments:
Post a Comment