Saturday, 5 November 2016

आरोह अवरोह-३२

"डाक्टरसाब!प्लीज मलाई बचाउनुस्।कम्मर मुनिको पूरै भाग चिसिएको छ।नशा-नशा खुम्चिए झैं लाग्न थालेको छ।खुट्टातिर चिमोट्दा पनि केही चाल पाउँदिन।मेरो शरीर कामिरहेको छ।बरु मेरो पेटको शल्यक्रिया गरेर भएपनि मलाई बचाउनुस्।म मर्न चाहन्न।मलाई एकदमै गाह्रो भएको छ।"-म अतालिँदै चिच्याएँ।
"ठिकै छ।अबको दस मिनेटमा पनि केही प्रगति देखिएन भने उहाँलाई अप्रेसन थिएटरमा लिएर आउनुस्।हाम्रो अन्तिम उपाय अप्रेसन मात्र हुनेछ।"-थापाथलीको एक नामी डाक्टरले भन्यो।
सबै सिस्टर र डाक्टरहरु वरिपरि जम्मा भएर मेरै हेरचाहमा तल्लीन थिए।सबैजना उत्तिकै आँतिएका देखिन्थे।मैले सिंगो संसारै अन्धकार देख्न थालें।आशाको दियो निभिसकेको थियो।मलाई आफ्नो भन्दा पनि घर-परिवारको हालत के होला भन्ने चिन्ताले पिरोल्न थाल्यो।सामान्यरुपमा बच्चा जन्मिने मौका एकदमै न्यून थियो।मसँग जम्मा १० मिनेटको छोटो अवधि बाँकी थियो।यो छोटो अवधिमा के नै प्रगति होला र भन्ने सोचले तनावग्रस्त भएँ।प्रसवको पीडा मैले पहिले पनि नभोगेकी हैन,तर यसपटकको पीडा सायद संसारकै सबैभन्दा भयानक पीडा होला झैं लाग्यो।डाक्टरले दिएको समयसीमा सायद सकिन लागेकोले होला मलाई अर्को कोठातिर लैजान थाले।अर्को कोठामा पुगेपछि डाक्टरले एकछिन घोरिएर हेर्यो र भन्यो-
"बाहिनी अब दुई मिनेट बल गर्नुस्,अनि अप्रेसनको लागि तयार हुनुस्।"
"बहिनी,आँतिनुपर्दैन।हामी सबै मिलेर तिमीलाई बचाउँछौं।कदापि मर्न दिने छैनौं।"
२/३ जना सिस्टर र डाक्टरले एकै स्वरमा भने।हुन पनि अस्पतालमा सबभन्दा बढी संवेदनशील केस भएकोले होला,अरु बिरामीहरूलाई ध्यान दिन छोडेर सबैजना मतिरै झुम्मिएका थिए,मतिरै केन्द्रीत थिए।प्रयत्न गर्दागर्दै ईन्तु न चिन्तु भएँ।लखतरान भएर अचेत होला झैं भएँ।तैपनि आफ्नो सामर्थ्य र औकातले भ्याएसम्म न्वारानदेखिको संचित बल लगाएर तलतिर पेलिरहें र निचोरिरहें।मेरो आँखाको दृष्टि मधुरो हुन थाल्यो।एकमुठी सास कतिखेर जान्छ,कुनै ग्यारेन्टी थिएन।दुईथोपा रगत कतिखेर सुक्छ,त्यो पनि यकिन थिएन।२५० ग्रामको मुटुले कतिखेर रक्तसंचार गर्न छोड्छ,टुंगो थिएन।अनि आफ्नो शरीरबाट कतिखेर प्राण-पखेरु उडेर क्षितिजमा बिलाउँछ,बिल्कुल अनबिज्ञ थिएँ।जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेकी थिएँ।लडिरहेकी थिएँ।संघर्षरत थिएँ।जीवन-मृत्युको महासंग्राम चलिरहेको थियो।मैले आफूसँग भएका तागत,हिम्मत,साहस,आँट,रोदन,घृणा,माया,शारीरिक र मानसिक सम्पूर्ण अस्त्रहरु प्रगोग गरेर उक्त महासंग्रामा भाग लिएँ।चिसिएको मेरो सिंगो शरीर तातिन थाल्यो।खुम्चिएका नशाहरु तन्किन थाले।धमिलिएका आँखाको दृष्टि उज्यालो भयो।शरीरमा उर्जा उत्पन्न भएर सामान्य अवस्थामा आउन थाल्यो।शक्तिलाई एकछिन संचित गरेर फेरि पनि एकचोटि न्वारानदेखिको बल लगाएर झट्का दिएँ।सायद १० मिनेटको समयसीमा सकिन दुईचार सेकेन्ड मात्र बाँकी थिए।शरीरको तल्लो भागबाट सगरमाथा नै खसे झैं लाग्यो।मेरो शरीर हल्का भयो।नवजात शिशुले संसारमा जन्म लियो।एकैछिन पश्चात् शिशु सुरिलो भाकामा रुन थाल्यो।सिस्टरहरुले लिएर गई खै के गरे र कता राखे,केही थाहा भएन।उनीहरूले च्यात्तिएको मुख सिलाउन थाले र एक घण्टा पश्चात् मुखलाई जस्ताको तस्तै बनाइदिए।जीवन र मृत्युको महासंग्राममा जीवनले शानदार बिजय हासिल गर्यो।छोरा-छोरीको लिंगभेदन दुबईमै भएपनि प्रत्यक्षरुपमा नदेखेसम्म केही भन्न सकिन्नथ्यो तर त्यो बिषयमा मलाई खासै चासो भएन।जे भएपनि आफ्नै रगत भएकोले मलाई फरक पर्दैनथ्यो।तर डाक्टरले पनि अरु सँग मिलेर छोरा-छोरी साटासाट गर्छन् भन्ने कुरा कताकता सुनेकी भएर शंका-उपशंकाले मनमा डेरा जमायो।


"बहिनी,तपाईंलाई थाहा छ छोरा-छोरी के भनेर?"-एउटी सिस्टरले प्रश्न गरी।
"हजुर,दुबईमा जँचाउदा त छोरा भनेको थियो डाक्टरले।"-मैले यकिनका साथ जवाफ दिएँ।
"बधाई छ तपाईंलाई।तपाईंको छोरा नै भएको छ।"-उनले मुस्कुराउँदै भनी।
"ई दिदी तपाईंको बच्चा यहाँ राखेकी छु।तुरुन्तै दूध ख्वाउनुहोला।"
सिस्टरले यति भन्दै बच्चा मेरो छेउमा राखेर गई।एउटी आमाको मन न हो,कपडा हटाएर बच्चाको गुप्तांग एकपटक नियालेर हेरें।दुबईको डाक्टरले गरेको भविष्यवाणी सही देखेर चित्त बुझाएँ।बेकारमा डाक्टरहरुलाई शंका-उपशंकाको नजरले हेरेकोमा लज्जावोध भयो।तत्कालै नवजात शिशुलाई काखी च्यापेर स्तनपान गराउन थालें।आमाको नाताले ममता-मिश्रित स्तनपान गराउन पाउँदा बडो आनन्द र गर्वानुभूत गर्न पाएँ।फेरि पनि आफूलाई एउटी पूर्ण नारीको रुपमा उभ्याउन पाउँदा म पुलकित भएँ।सुत्केरी हुनुपूर्वको त्यो दर्द र पीडाले मलाई आफू लगायत नारी जातिलाई नै घृणा जगाएको थियो।तर अब मैले नारीलाई एक होनहार र महान जातिको रुपमा परिभाषित गर्न थालें।आफूलाई नारी भएर जन्मेकोमा भाग्यमानी ठान्न थालेँ।त्यतिन्जेलसम्ममा अमोद भाइ,सासु र छोरी पनि तात्तातो खाना लिएर उपस्थित भैसकेका थिए।सबैजना नवजात शिशु नियाल्नमै ब्यस्त थिए।बच्चाको जन्म हुनेबित्तिकै ९ महिनादेखिको भोक एकचोटि लागेर आयो। झ्याम कि झ्याम खाना हसुर्न थालें।धेरै दिनको अन्तराल पश्चात् त्यो दिन अघाएँ म।सायद त्यस्तो खाले भोक त्यो भन्दा पहिले जिन्दगीमा कहिल्यै लागेको थिएन। त्यति धेरै मासुभात पनि खाएकी थिईन।खाना खाइसकेकी भएपनि औंला चाट्न छाडेकी थिईन।


            दुबईबाट मायाको फोन आयो।
"माया!मेरो सुत्केरी सफलतापूर्वक सामान्यरुपमै भयो।यतिबेला सकुशल बच्चासित छु।शल्यक्रिया गर्नुपरेन।"
मैले फोन उठाउने बित्तिकै सुनाएँ।
"ए हो र?बधाई छ ओमु तिमीलाई।आमा- बच्चा दुवै कुशलै छौ नि?मैले त सोचेकी पनि थिईन,सामान्यरुपमा जन्माउछ्यौ भनेर।म एकदम खुशी छु ओमु।यदि तिमीलाई केही भैहालेको भए म त जिउँदै मरेतुल्य हुन्थें।"
सायद माया रुँदै थिई होला,सुँक्क-सुँक्क आवाज आइरहेथ्यो।
"हो माया।कसैले नसोचेको पूरा भयो।अँ,बच्चालाई पनि एकदमै ठिकठाक छ अहिले।"
"लौ त ओमु, राम्रो भएछ।तिम्रो सुत्केरी सफल भएको उपलक्ष्यमा आज हाम्रो कोठामा पार्टीको आयोजना गरिनेछ।"
मायासँगको वार्तालाप सकिएपछि मैले मनोजलाई मिसकल गरें।उसले तुरुन्तै फर्कायो।
"के  भयो ओमु,के कस्तो छ तिमीलाई?सकुशल नै त छ्यौ नि?सुत्केरी भयो हैन?"
उसले एकैपटकमा चारवटा प्रश्न सोध्यो।
"अँ मनोज,बल्लतल्ल मुश्किलले।एक मिनेटले ढिलो भएको भए शल्यक्रिया हुने थियो।१० मिनेट भित्र जन्मिएन भने शल्यक्रिया गर्ने भन्दै थिए।डाक्टरको भनाइ अनुसार ९औं मिनेटसम्म पनि भएको थिएन।अन्तिम मिनेटमा आएर सामान्यरुपमा बच्चा जन्म्यो ।हामी भाग्यमानी रहेछौं मनोज।शल्यक्रिया गर्नुपरेको भए केही भन्न सकिन्नथ्यो।"
"हैन होला ओमु।झूट बोलेकी हौली तिमीले।अघि अमोद भाइको भनाइ अनुसार त शल्यक्रिया गरेको हुनुपर्छ।अझैसम्म मलाई विश्वास लागिरहेको छैन।झट्टै भन न सत्य कुरा के हो।मलाई दोधारमा नराख न।"
"सत्य नै भन्दैछु त।अमोद भाइले के भन्यो र?"
"अब लगभग-लगभग सुत्केरी भएर सक्नु लाग्यो रे त।उसलाई मैले सामान्य छ कि छैन भनेर कसम पनि खान लाको थिएँ।उसले कसम त खायो तर मलाई विश्वास लागेकै थिएन।"
"के ढाँट्नु नि यस्तो गम्भीर र संवेदनशील बिषयमा पनि।शल्यक्रिया गर्नुपरेन।म त्यसैमा खुशी छु।"
"ल ल आफूलाई राम्रो हेरबिचार गर है।म यति टाढा छु।भनेको र चाहिने बेला तिमीलाई साथ दिन सकिन।दुबईमा डाक्टरले तोकेको भन्दा त दुई दिन अघिकै बिदा मिलाएको हो नि मैले,तर समय अर्कै भैदियो त।"
"हैन मनोज, यसमा दोष तिम्रो पक्कै पनि छैन।यदि दोष भए समयको होला।?
यतिमै फोन काटियो।अझै धेरै भन्दा धेरै खुशीहरु साट्नु थियो तर त्यतिमै सिमित रह्यो।

"बहिनी,बच्चा गर्भमै हुँदा धेरै पानी खेर गएकोले आमा र बच्चा दुवैलाई इन्फेक्सन भएको छ।दुवैले दिनमा १६/१६ वटा सुई लगाउनुपर्छ।त्यसैले दुई हप्तासम्म अस्पतालमै बस्नुपर्ने हुन्छ।"
डाक्टर आएर एकैचोटि झट्का दियो।दुई दिन ब्यतित गर्न त दुई महिना जतिको लामो लाग्छ अस्पतालमा।दुई हप्ता कसरी ब्यतित गर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो।त्यसपछिका दिनरात अस्पतालमै ब्यतित हुन थाल्यो।त्यहीमाथि धेरैको संख्यामा दिनरात उपस्थित रक्तपिपासु लामखुट्टेहरुको टोकाइले थप रोगबाट पनि ग्रस्त भइने भयले सतायो।लाम्खुट्टेहरुलाई मैले राक्षसको संज्ञा दिएँ।त्यतिनैखेर मैले राक्षसको परिभाषा पनि अर्कै किसिमले दिन भ्याएँ।
"राक्षस खोज्नलाई अर्कै संसारमा जानु पर्दैन।यही पृथ्वी लोकमा दिउँसै र राती नै राक्षसहरु देख्न पाईन्छ।बाहिरी रुप मानव,पशुपंक्षी र अन्य जीवजन्तुको भएपनि भित्रीरुप राक्षसको हुन सक्छ,जस्तै:-लाम्खुट्टे।"

            बिहान-बेलुकीको खाना अमोद भाइले घरबाटै लिएर त आउँथ्यो तर हटकेशमै भएपनि अस्पतालमा नपुग्दै खाना सेलाइसकेको हुन्थ्यो।दिनमै १६/१६ वटा सुईहरु मैले त जेनतेन सहन सक्थें तर त्यो नाबालकले कसरी सहन सक्थ्यो  होला।बच्चालाई सुई रोप्दा मेरै मुटुमा रोपे झैँ लाग्थ्यो।त्यो बालकलाई कति दर्द र पीडा हुन्थ्यो,त्यो त म जान्दिनथें तर प्रत्यक्षरुपमा दर्द मलाई हुन्थ्यो,मेरो मनमा हुन्थ्यो।

            अस्पतालको बसाइँले पनि १२औं दिनमा प्रबेश गरिसकेको थियो।एकोहोरो अस्पतालमा बस्दा-बस्दा पाकिसकेकी थिएँ।वाक्क-दिक्क र हायलकायल भैसकेकी थिएँ।
"डाक्टरसाब,अब म यो अस्पतालमा एक मिनेट पनि रोक्न सक्दिन।यो भन्दा बढ्ता बसें भने सायद मेरो दिमाग नियन्त्रण भन्दा बाहिर जान सक्छ।प्लीज,हामीलाई कुनै पनि हालतमा डिस्चार्ज चाहिन्छ।अब एकदिन मात्र बढी बसें भने सायद मेरो भर्ना मानसिक अस्पतालमा होला।बाँकी लाउनुपर्ने सुई हामी बौद्धको अस्पतालमै लाउछौं"
मैले डाक्टरलाई बिन्ती बिसाएँ।
"ठिकै छ,यतिका दिन बस्नुभयो।बाँकी सुई उतै लाउँदा फरक पर्दैन।तपाईंहरु जान सक्नुहुन्छ।"
डाक्टरको भनाइबाट औधी पुलकित भएँ।शरीरमा नयाँ स्फुर्ती,उमंग र रक्तसंचार हुन थाल्यो।त्यही दिनै डिस्चार्ज भएर समय नपुग्दै जन्मेको अढाई किलोको बच्चा बोकेर आफ्नै घरमा फर्क्यौं।घर के भन्नु,भाडाको एउटा सानो कोठामा फर्क्यौं।तैपनि राजदरबारमा बसेको भन्दा बढ्ता खुशी थियौं त्यो दिन।गगनचुम्बी महलको बसाइँ भन्दा बढी आनन्द थियो त्यहाँ।आखिर मानवजातिको सुख र खुशी भन्ने कुरा मन र सन्तुष्टिले नै निर्धारण गर्ने रहेछ।जति महलमा बसेर खुशी भईन्छ,त्यो भन्दा दोब्बर खुशी झुपडीमा बसेर लिन सकिन्छ भन्ने कुराको महसुस मैले त्यही दिन गरें।त्यही मेरो भ्रम पनि तोडियो र महलको सपना देख्न पनि छोडिदिएँ।यदि समय,परिस्थिति र भाग्यले दिलाए अर्कै कुरा,तर महत्वाकांक्षी बन्न भने छोडिदिएँ।
मनोजको बार्षिक बिदा अलि पछि मात्र मिलाइएको हुँदा ऊ आउन अझै ३ दिन बाँकी नै थियोे।नभन्दै ३ दिन बित्न खासै गाह्रो भएन।मनोजको आगमन भयो।
"ए तिमी त निकै मोटाइछ्यौ त।राम्री पनि भईछ्यौ।"
मनोज कोठाभित्र प्रबेश गर्ने बित्तिकै मतिर नजर लाउँदै भन्यो।मैले खिसिक्क हाँसेर मात्र टारिदिएँ।त्यतिखेरसम्म पनि ओछ्यानमै विश्राम गरिरहेकी थिएँ।
"कोदोको झोलले हो क्यारे मोटाएको।"-उसले ब्यंग्यात्मक शैलीमा भन्यो।
"जातले पाएपछि छोड्ने कुरा आउँछ र?यही सुत्केरीको बेला त हो नि।अरुबेला त सुँघ्न मन पनि लाग्दैन।बच्चाको लागि दूध बढ्छ भनेर मात्र हो।"-मैले भनें।
"अस्पतालमा धेरै दु:ख पायौ है?जे होस दुबै सकुशल छौ,यसैमा खुशी छु।खै त बाबु कस्तो भएछ।आम्मै!कति सानो छ त।"
"अहिले त अझ मासु लागेको भन्नु न,शुरुमा देखेको भए तिमी तर्सिने थियौ।बिचरा महिना नै राम्रोसँग नपुगी जन्मेको बच्चा,धन्न बाँच्न सफल भएको छ।"
"गल्ती तिम्रै हो के,त्यस्तो संवेदनशील अवस्थामा गाह्रो काम गर्न नहुने थियो।सौभाग्यबश सामान्य अवस्थामा सुत्केरी भयो,शल्यक्रिया गर्नुपरेको भए के हुन्थ्यो भन त?"
"मनोज,म ठूलो दुर्घटनाबाट मुश्किलले बचेर आएकी छु।आजको यो स्थितिमा हाँसखेल गरिरहेकी हुन्छु भनेर त मैले दस मनमा एक मनले पनि सोचेकी थिईन।मैले मृत्युसँग आत्मासमर्पण गरिसकेकी थिएँ।वास्तवमा म जिउँदै मरेर बाँचिरहेकी थिएँ।नारकीय जीवन गुजार्न बाध्य थिएँ।समय द्रुत गतिमा दौडिरहेको बेला म घस्रींदै थिएँ।तर आज उल्टै मृत्युको दाहसंस्कार गरेर आएकी छु।छलाङ मारेर उडिरहेकी छु झैं लाग्छ।यदि शल्यक्रिया गर्नुपरेको भए यतिखेर धेरै खतरासँग सामना गरिरहेकी हुन्थें होला।सायद यो संसार देख्ने सौभाग्य मिल्थ्यो या मिल्ददैनथ्यो।केही भन्न सकिन्नथ्यो।म या बच्चाको ज्यान दाउमा राख्नुपर्ने स्थिति पनि आउन सक्थ्यो।दुवै सकुशल भएकोमा आज हाम्रो खुशीको सिमाना चौडा भएको छ।आज आएर मैले आफ्नो खुशी परिवारका सबै सदस्यहरुसँग बाँड्ने अवसर पाएकी छु।यही नै मेरो लागि स्वर्णिम क्षण हो,रहनेछ।दुई सन्तान-ईश्वरको बरदान भन्छन्-अब यतिमै सीमित गर्नुपर्छ।"
म बोलिरहँदा मनोज,सासू,ससुरा र छोरी एक तमासले सुनिमात्र रहे।बदलामा कुनै प्रतिकृया दिएनन्।त्यो माहोल नियाल्दा यस्तो लाग्थ्यो कि म बिद्यार्थीहरुलाई लेक्चर दिंदैछु र उनीहरु ध्यानपूर्वक सुनिरहेका छन्।
"हो,मैले तिमीलाई भनेकै थिएँ नि,चन्द्रमा दाहिने भयो भने कुनै भयले छुन सक्तैन भनेर।भगवानको कृपा,बाबा-आमाहरुको आशीर्वाद,आफन्त-ईष्टमित्रहरुको माया र मेरो साथले तिमीलाई बचाएको छ।जिउने आशा बढाइदिएको छ।"-मनोजले प्रफुल्लित  हुँदै भन्यो।
तैपनि वातावरण झनझन भावुक हुँदै गएको देखेर मैले रमाइलो बनाउने जुक्ती सोचें।
"जे होस मनोजसँग पनि छोरा रहेछ,मैले त पत्याएकै थिईन।"
मैले मजाक गर्दै मनोजको खिल्ली उडाएँ।
"हा हा हा हा हा हा हा हा हा हा ह हा।"
सबैजना निकैबेरसम्म खित्का छोडेरै हाँसे।म भने मुसुक्क मात्र हाँस्न भ्याएँ।
"के मम्मी?बाबासँग छोरा?बाबु त तपाईंसितै छ त।मैले त केही बुझिन।"-छोरीले खुब चासो लिएर सोधी।
"चुप लाग।तिमीले थाहा पाउनु पनि हुन्न यस्तो कुरा।पछि आफैं थाहा पाउनेछ्यौ।"
मैले छोरीलाई झपारेको नाटक गरें।
छोरीको उत्सुकताको डोरी त्यहीँ चुँडियो।
"भन्नु न के मम्मी।यो मम्मी कस्तो हुनुहुन्छ भने।के हुन्छ मैले थाहा पाएर?"
फेरि टेढो प्रश्न गरी छोरीले।
"किन थाहा पाउनुपर्यो र तिमीले?यो तिम्रो चासोको बिषय हैन।बच्चा भएर पनि अनावश्यक कुरामा चासो लिने हो?"
सासुले पनि बिचरी छोरीलाई थर्काउनुभयो। वातावरणमा एकछिन सन्नाटा छायो,मानौं त्यहाँ ठूलै घटना घटेर हामी शोकमग्न थियौं।सबै जना टेलिभिजन तिर नजर डुलाउन थाले।


               केही दिन पश्चात् म सुत्केरीबाट पूर्णरुपमा तङ्ग्रीसकेकी थिएँ।हामी सानो टुक्रा जग्गाको खोजीमा भौतारिन थाल्यौं।काठमाडौं जस्तो महंगीको शहरमा सस्तोमा जग्गा पाउनु आकाशको तारा पाउनु जत्तिकै गाह्रो थियो।कपन,बौद्ध,आरुबारी,जोरपाटी र थली जस्ता ठाउँहरु चहार्दा पनि हामीले सोचेको मूल्यमा जग्गा पाउन सकेनौं।अन्ततः कपन गुम्बाको नजिकै सोचेको भन्दा महंगोमा जम्मा साँढे तीन आनाको सानो टुक्रा घडेरी लियौं।दुईजना मिलेर खाडीको मरुभूमिमा रगत र पसिना बगाएर मुश्किलले जम्मा गरेको पैसा सानो टुक्रा जग्गामा जाँदा मेरो मुटु नै कटक्क खायो।सात समुद्र पार गरेर बिदेशी भूमिमा बर्षौं लगाएर कमाएको पैसा घर जग्गामा हाल्नु आम नेपालीहरुको होडबाजी,चलन र फेसन जस्तै भैसकेकोले त्यसबाट हामी पनि अछुतो रहेनौं।त्यो पैसा व्यापार र व्यबसायमा लगानी गर्ने सोच हामीमा पलाएको थिएन।त्यसैले तीन-तीन बर्ष घरपरिवारवाट टाढिएर दु:ख र मिहिनेत गरेर कमाएको अलिअलि पैसा पनि सही ठाउँमा सदुपयोग गर्न सकेनौं जस्तो लाग्यो।जग्गा लिईसकेपछि मनोजले पनि मन दुखाउन थाल्यो।
"ओमु,मलाई त चित्त नै बुझेको छैन।जाबो सानो टुक्रा जमिनलाई त्यत्रो पैसा लगायौं।अनि अब घर चाहिँ कहिले बनाउने?घर बनाउने सपना देख्नु त धेरै टाढाको कुरा हो।जग्गा पनि अलि फराकिलो भए त ठिकै हो।सर्वस्व नै गुमेको आभास हुँदैछ।हामी पनि अरुकै देखासिकी र लहैलहैमा लागेर जग्गा लिन पुग्यौं।हामीले त पुरानो बिचार,चलन र शैलीलाई परिस्कृत गरेर नयाँ र आधुनिक तरीकाले सोच्नुपर्ने हैन र?हामी पनि सही निर्णय गर्नमा चुक्यौं।त्यही पुरानो सोचाइको दलदलमा भासियौं।"
मनोजले पश्चातापको दावानलमा जल्दै भन्यो।
"ठिकै छ नि मनोज,जग्गा भन्ने कुरा खिएर-नासिएर जाने चीज पनि त हैन।जग्गा भएपछि त पछि सानो छाप्रो बनाएर पनि त बस्न सकिन्छ।दु:खसुख एक तला जति घर बनाउन सके बिदेश नगई स्वदेशमै केही गरेर खान सकिन्छ नि।फेरि जग्गा भन्ने कुरा बेच्न पनि सकिन्छ र यसमा कहिल्यै घाटा पनि हुन्न।"-मैले सबिस्तार सम्झाएँ।
"त्यो त हो,तर हामी कहिलेसम्म बिदेशमा भासिएर रगत-पसिना बगाइरहने?बरु भएको पैसाले यहीँ सानोतिनो व्यापार-व्यबसाय गर्न सके बिदेशिनु त पर्दैन कमसेकम।परिवारसँगै हाँसी-खुशी जीवन यापन गर्न सकिन्छ।तैपनि अब तिमीले बालबच्चा स्याहारेर बस्नुपर्छ।म एउटाको कमाइले घरखर्च धान्न ठिक्क हुन्छ।पुनः केही बचत गर्नलाई धेरै समय लाग्छ मलाई।"
मनोज उदास भएर कुरा गर्न थाल्यो।घाम डुबिसकेपछिको धरा जस्तो देखियो मुहार।
"बच्चा छोडेर म पनि दुबई नै जान्छु नि,भिसा अझै छँदैछ क्यारे।गएर एक दुई साल काम गर्छु।केही रकमको जोहो गरी फर्किन्छु,जुन पैसाले सानोतिनो पसल गर्न सकियोस्।यहाँ बसेर यो जग्गाले खान-लाउन दिने हैन।फेरि तिमी एकजनाको कमाइ त घरखर्च चलाउदै ठिक्क हुन्छ।अतिरिक्त बचत गर्न सकिन्न।जाबो एउटा छाप्रोसम्म बनाउनलाई बर्षौं लाग्नेछ।दुवैजना दु:ख-सुख काम गरेर सँगै फर्कौंला।"
मेरो कुरा सुनेर शुरुमा उसले शीर हल्लाएर हुन्न भन्ने संकेत गर्यो र बोल्न थाल्यो।
"यस्तो नाबालक शिशुलाई कसरी छोडेर जान्छ्यौ तिमी?यस्तो कुरा मेरो छेउमा गर्दै नगर।पाप लाग्नेछ तिमीलाई,यस्तो बच्चालाई छोडेर गयौ भने।उसको आँशुको श्राप लाग्नेछ।जानुपर्ने नै बाध्यता कहाँ छ र?म गएर सकेजति कमाएर पठाउनेछु।आधा खर्च गर,आधा बचत गर।हामीलाई एउटा सानो झुप्रो बनाउनुछ,महल हैन।समस्याको समाधान मैले नै गर्न सकिहाल्छु भने किन जानु पर्यो तिमी?बच्चाप्रति थोरै पनि माया,दया,स्नेह र ममता छैन तिम्रो?यस्तो गम्भीर र कठोर कदम कसरी चाल्न सक्छ्यौ तिमी?के तिम्रो मुटु पत्थरले बनेको छ र?यस्तो नाबालक शिशुमाथि अलिकति भएपनि दया राख ओमु,दया राख।"-मनोजले मेरो मुटु नै चसक्क दुख्ने गरी धारिलो वचनबाणले प्रहार गर्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...