Sunday, 6 November 2016

पृष्ठभूमि

सामान्य परिवारमा जन्मेको भएपनि बाबा-आमाले राम्रै खर्च गरेर पढाउनुभयो।जिरीको एपार्ड बोर्डिङ हाइस्कुलबाट प्रथम श्रेणीमा उतीर्ण भएपछि म,कैलाश,विश्व र सन्जु काठमाडौंमा भासियौं पढाईकै खातिर।अरु साथीहरु भने जिरी क्याम्पसमै अध्ययन गर्न थाले।बाबा-आमाको चाहना मलाई डाक्टर बनाउने थियो तर मैले बिज्ञान पढ्न छोडेर पत्रकारिता रोजें।सन्जु भने एघार पढ्दापढ्दै बेलायतको सेनामा भर्ना भयो।बाह्र कक्षा उतीर्ण गरेपछि कैलाश र विश्व भने विद्यार्थी भिसामा अष्ट्रेलिया छिरे।कैलाशको पारिवारिक पृष्ठभूमि बलियो भएकोले सजिलैसँग गयो तर विश्वको बाबाले भने जिरी बजारमा भएको तीनतले घर समेत बेच्नुपरेको थियो।बाबा-आमालाई धेरै दिन अन्धकारमा राख्न नहुने सोचेर पढाइबारे यथार्थ कुरा बताइदिएँ।केही दिन रिसाउनु भयो तर पछि बिस्तारै बाबा-आमाले त्यो कुरा बिर्सनुभयो।यथार्थ कुरा त बताएँ तर उहाँहरुले मेरो ईच्छा नै नभएको बिषयमा जोड दिन थाल्नुभयो।
"ल छोरा,तैले एस एल सी पछि त हामीलाई धोका दियौ र पहिलोपटकको गल्ती भनेर हामीले माफ गरिदियौं।अब तैंले हाम्रो कुरा सुन्नुपर्छ।तेरो साथीहरू कैलाश र विश्व अष्ट्रेलिया छिरिसके।मेरो साथीको छोरा उमेश पनि बिद्यार्थी भिसामा अमेरिका गैसक्यो।अब तँ पनि कि अष्ट्रेलिया कि अमेरिका जानुपर्छ।"-बाबाले एकैचोटि आफ्नो निर्णय सुनाउनुभयो।
"नाइँ बाबा,मलाई बिदेश जाने रहर छैन।सानोतिनो कामै भएपनि म स्वदेशमै गर्छु।थोरै कमाउँला,तर म त्यसैमा संतुष्ट हुनेछु "-मैले आफ्नो बिचार सुनाएँ।
"के गर्छस् त दीपक नेपालमा?केवल राजनैतिक खिचातानी,चक्काजाम र बेरोजगारी जस्ता कुराहरुको सिकार भएकी छे नेपाल आमा।गरिखाने कुनै वातावरण नै छैन।"-बाबाले भन्नुभयो।
"आफ्नो घरमा आगो लाग्यो भनेर भाग्नुभन्दा आगो निभाउने चेष्टा गर्नुपर्छ बाबा।नेपालमा भैरहेको बिकृति,बिसंगति र कुरीतिहरुको पर्दाफास र उजागर गर्दै म पत्रकारिता र लेखनलाई जोड दिन चाहन्छु।म नेपालीहरुको समस्या,दु:ख र पीडाहरुको समाचार र कथा लेख्ने प्रयत्न गर्छु"-मेरो उत्तर थियो।
"जाबो लेखेर कसले प्रगति गरेको छ र?त्यही नाम कमाउने मात्र हैन?धन कमाउने त त्यस्तै हो।नामले सबथोक दिन्न छोरा।मीठो खान,राम्रो लाउन र आलिसान महलमा रमाउन त पैसा चाहिन्छ,जुन तिमीले कमाएको नामले दिन्न।फेरि जो कसैले नाम कमाउन सक्छ भन्ने पनि छैन।लेखेर पेटसम्म पाल्न पनि धौधौ छ नेपालमा।बरु व्यापार-व्यबसाय गर,नत्र भने बिद्यार्थी भिसामा बिदेश जानैपर्छ तैंले।हामी तेरै भविश्यप्रति चिन्तित छौं,तँ भने वाहियात कार्यमा समय खेर फाल्दैछस्।तेरो कुरामा म कदापि सहमत हुन सक्दिन।मेरो साथीको कन्सल्टेन्सी छ,त्यहीँबाट अष्ट्रेलिया जानुपर्छ।मैले सबै कागजपत्र पेश गरिसकेको छु।तैंले अन्तर्वार्तामा राम्रो गर्नुपर्छ।त्यसपछि त तेरो जिन्दगी उज्ज्वल बन्नेछ।"-बाबाले फेरि सम्झाउनुभयो।
म बाबासँग बोल्न छोडेर मौन बसें।बाबाले फेरि मेरो पुरानो घाउ बल्झाइदिनुभयो।म मर्माहत भएँ।
      मेरी पूर्व-प्रेमिका तारासँग जुन कुराले मनमुटाव भएको थियो,आज त्यही बिषयमा बाबाले मलाई दबाब दिनुभयो।तारा र बाबाको ईच्छा र चाहना मिल्दाजुल्दा थिए।एस एल सी पढ्दादेखिको मेरी प्यारी साथी थिई तारा।हाम्रो बीचमा केही लुक्दैनथ्यो र विवाहपूर्व जे जे नहुनुपर्ने थियोे,सबै भैसकेको थियो।सायद पति-पत्नी बीचको शारीरिक सम्बन्ध भन्दा बढ्ता नै थियो हामीबीच।मेरो रगतमा उनको र उनको रगतमा मेरो रगत मिसिएको थियो।सँगै बाँच्ने र सँगै मर्ने बाचा गरेका थियौं। एस एल सी सकेर प्लस टु पनि एउटै कलेजमा अध्ययन गर्यौं।तर हाम्रो अध्ययनको बिषयदेखि नै हाम्रो मनमुटाव शुरु भएको थियो।उनको बिषय बिज्ञान थियो भने मेरो पत्रकारिता।उनले आफूले रुचाएको बिषय पढिदिएन भने मन दुखाउन थालेकी थिई।जे काम गरेपनि धनसम्पति कमाउनुपर्छ भन्ने मान्यता थियो उनको।मेरो मान्यता भन्दा ठिक बिपरित।दुई शरीरको मिलन भएपनि हाम्रो दुई मन-मुटु एक हुन सकेनन्।फलस्वरूप हाम्रो बीचमा ब्रेक अप भयो।पोर्तुगलको पी आर वालासित उनको विवाह भयो।म माथि बिश्वासघात भयो।मेरो सपनाको जहाज हिन्दमहासागरमा डुब्यो।त्यसैबेला देखि मैले लेख्न थालें-कविता,गजल,कथा र उपन्यास।कसले पढे-पढेनन्,कति नाम र दाम कमाएँ,अनबिज्ञ छु।तर मैले जे जति लेखें आत्मासन्तुष्टिको लागि लेखें।आम नेपालीहरुको सुख-दु:खको कथा लेखें।अन्नपूर्ण,साप्ताहिक,कान्तिपूर र द काठमाण्डु पोस्ट जस्ता चर्चित पत्रिकाहरुको लागि समाचार लेखें।नेपाल टेलिभिजन,कान्तिपुर,ए बी सी र एभीन्युज टेलिभिजनहरुको लागि पनि सम्बादाताको रुपमा सक्रिय भएँ।कसले चिने र कसले चिनेनन् भन्दा पनि मैले सत्यताको पक्षमा र झूट तथा असत्यताको बिरुद्धमा लेखें,वकालत गरें।
अष्ट्रेलियाको लागि अन्तर्वाता दिँदा मैले एक शब्द पनि अंग्रेजी बोलिन।मेरो प्रमाणपत्र देखेर अन्तर्वाता लिने मान्छेले मलाई कदर त गरे तर अंग्रेजी नबोल्दा पागलको संज्ञा नै दियो र मेरो प्रमाणपत्रलाई डुब्लिकेट सम्म भन्न भ्याए।मैले नेपालीमै भनें-"हो म पागल हुँ,तेरो देशमा नआउँदा मलाई पागल भन्छौ भने म पागलै सही।अंग्रेजी नबोलेर नेपाली बोल्दैमा मलाई पागल देख्छौ भने म पागलै हुँ।"
अन्ततः म फेल भएँ।अष्ट्रेलिया जान नपाउने भएँ।अन्तर्वाता सकेपछि मैले बाहिरिनु पूर्व दुई मिनेट लगातार अंग्रेजीमा थर्काइदिएँ।उ मौन भएर टुलुटुलु मलाई हेरिरहेका थिए।एस एल सी दिने बेला मैले पूरै अक्स्फोर्डको डिक्सनरी खाइसकेको थिएँ।मेरो अंग्रेजी पूर्णरूपमा सायद उसले पनि बुझेन होला।
घर पुगेपछि बाबा मसित बोल्नै छाड्नुभयो।उहाँको साथीले मेरो हर्कत सुनाइसक्नुभएको रहेछ।
"आज भोलि पत्रपत्रिका, टेलिभिजन र साहित्यमा सक्रिय भएर खुब नाम कमाउदैछौ त।"-एकदिन ब्यंग्यात्मक शैलीमा बाबाले मुख खोल्नुभयो।
"हजुर बाबा कोसिस गर्दैछु।"-मैले लघु उत्तर दिएँ।
"दाम कति कमाइस् त?बस्न मेरै घरमा बस्दैछस्,खान मेरै घरको र लाउन पनि मेरै कमाइको पैसाले लाउँदैछस्।खै त तेरो के उपलब्धि छ?"-आक्रोशित हुँदै बाबाले भन्नुभयो।
"म हजुरहरुको एक्लो सन्तान हुँ।यति धेरै सम्पत्ति थुपार्नुभएको छ,सब कसका लागि?मेरै लागि त होला नि।"-मैले नम्र भएर भनें।
"हुन त तेरै लागि हो तर केही ईलम नगर्ने हो भने सम्पति सकिन कतिनै बेर लाग्छ र?तैंले पनि केही गरेर कमाएर देखा,अनि थाहा पाउछस् कमाउन कति दु:ख हुन्छ भनेर।"-फेरि पनि बचनबाणले प्रहार गर्नुभयो।
"मैले पनि धेर-थोर त कमाउदैछु त बाबा।घरमा दिन मात्र नभ्याएको हो।मेरो ब्यक्तिगत कार्यमा खर्च भैरहेको छ।फेरि आजभोलिको जमानामा पुस्तक छाप्न पनि त पैसा नै खर्च गर्नुपर्छ।"-मैले बाबालाई सम्झाउने प्रयत्न गरें।
"त्यसलाई तँ कमाएको भन्छस्?कमाई कस्तो हुन्छ म बुझाउछु तँलाई।मैले सबै खर्च कटाएर महिनाको डेढ लाख बैंक ब्यालेन्स गर्छु।मैले घर बनाएको छु,गाडी किनेको छु र तेरो लागि २० लाख पर्ने बाइक किन्देको छु।कमाइ यस्तो हुनुपर्छ।"
"आखिर केका लागि?कसका लागि?यदि यी सब मेरा लागि हैनन् भने मलाई हजुरको एकपैसा पनि चाहिंदैन आजदेखि।म कोठा भाडामा लिएर बस्छु।म आजदेखि नयाँ जीवनको शुरूवात गर्दैछु बाबा।यो घर,गाडी र बाइक सबै हजुरलाई छोडेर जाँदैछु।कुनै दिन आवश्यकता परे फर्केर आउनेछु।"-यति भनेर म घरबाट बाहिरिएँ।
"छोरा,बाबू!तँ यो के गर्दैछस्?हाम्रो तँ बाहेक अरु को नै छ र?किन हामीलाई तड्पाउदै छस् बाबू!"
आमा ब्याकुल भएर रुँदै हुनुहुन्थ्यो।गेटबाट मुन्टो एकचोटि फर्काएर दुई थोपा अश्रु झारें र फटाफट आफ्नो बाटो तताएँ।सिनामंगलस्थित एउटा सानो कोठा भाडामा लिएर जीवन गुजार्न थालें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...