उफ!साउदी अरबको ५० डिग्रीको प्रचण्ड गर्मीले भत्भती पोलेर शरीरबाट खलखली पसिना बगिरहेको अबस्था।नामले साउदी अरब भएपनि झिलमिल शहरबाट २० किलोमिटर टाढा जहाँ पक्की सडक र बिजुली बत्तीको अभावमा पिल्सिएर बस्न बाध्य।यो ठाउँ बिदेश नभई नेपालको कुनै बिकट गाउँ झैं लाग्छ।मेरो दोलखाको जिरी जत्तिको रमाइलो र विकसित त हुनै सक्दैन।यहाँका स्थानीय अरबीहरुको लागि बिश्रामस्थल अथवा छुट्टी मनाउने थलोको रुपमा लिईने बगैंचालाई मजरा भनिंदोरहेछ।उनीहरूलाई आवश्यक परेको बेला जेनेरेटर चलाएर केही बेर झिलिमिली पार्छन् र मनोरञ्जन गरिसकेपछि एक दुई हप्तासम्म मुख नदेखिने गरी गायब हुन्छन्।बगैँचा भनिएपनि खजुरका ठूल्ठूला र अग्ला बोटबिरुवाहरु छन्।ती बिरुवाहरुको रेखदेख गर्नु मेरो दैनिकी बनेको छ।साथीको नाममा यहाँ कोही पनि छैनन् र आपत-बिपत परेपनि मद्धत गर्ने कोही छैनन्।यस्तो निर्जन मरुभूमिमा एक सालदेखि एक्लै मौन भएर जीवन गुजारिरहेको छु।शुरुमा त धेरै रोएँ तर रोएर समस्याको समाधान नभएपछि रुन छोडें।यो बिदेशको मरुभूमिमा नपाउने दु:ख पाएको छु तर यहाँको दु:ख भन्दा मलाई स्वदेशको अतीतले बढी रुवाउँछ।यहाँको गर्मीले बाहिरी शरीरमा जति पोल्छ,त्यो भन्दा सय गुणाले मेरो मन पोल्छ,जब मेरो अतीत आँखा अगाडि आएर नाच्न थाल्छ।
२०५६ सालको एस एल सी पश्चात् जिरी उच्च मा.बि.मा कक्षा ११ मा भर्ना भएँ।शुरुमा शिक्षा संकायमा भर्ना भएपनि अरु साथीहरुको सल्लाह र सुझाव लाई मनन गरी बिज्ञान बिषय लिएँ।क्लास संचालन भएको निकै दिन भैसकेको रहेछ।मेरो लागि बिज्ञानको पहिलो क्लास थियो।म सहित जम्मा १५ जना मात्र रहेछौं बिज्ञान संकायमा।क्लास छिर्ने बित्तिक्कै परिचय शुरु भयो।१५ जना मध्ये पनि दुई जना केटीहरु थिए।सबैसँग पालैपालो हात मिलाउँदै परिचय दिन र लिन थालें।
"मेरो नाम सन्जय गुरुङ।"-मैले आफ्नो परिचय दिएँ।
"मेरो नाम संगीता गुरुङ।"
"मेरो नाम बबिता खनाल।"
परिचयको पहिलो दिन मलाई दुईजना केटीहरुको नाम मज्जाले याद भयो।अरु भन्दा पनि आफ्नै जातको संगीता र उनको कमलो हात बिर्सने कुरै भएन।सरकारी स्कुलमा नेपाली माध्यममा पढेको मान्छे एघारमा एकैचोटि अंग्रेजी माध्यममा अध्ययन गर्नुपर्दा शुरुमा निकै कठिनाइ झेल्नुपर्यो।बुझेर पढ्नुभन्दा पनि घोकेर सुत्र र परिभाषाहरु कण्ठस्थ बनाउन थाले।क्लास टेस्टमा सबैभन्दा धेरै मार्क्स मेरो आयो।मलाई साथीहरुले टपरे भनेर जिस्क्याउन थाले।१४ जना साथीहरुको माझमा म चर्चित र चितपरिचित हुन थालें।मेरा नोटहरु साथीहरुले मागेर लान्थे र सारी सकेर फिर्ता दिन्थे।कहिलेकाही संगीताले पनि नोट मागेर लान्थी।फिर्ता दिने बेला एक मुरी धन्यवाद पाउँथें।एक दिन निकै रमाइलो घट्ना घट्यो।सबै क्लास सकेर त्यो दिन फिजिक्सको प्राक्टिकल गर्न लागेका थियौं।पिसाबले च्यापेर हैरान भएको थिएँ।म।हतारमा गएर ट्वाइलेटको ढोका घर्याक्क खोलें।चुकुल लाउन बिर्सेकी रहिछे संगीताले।लामो ट्वाइलेट गर्न लागेकी संगीता जुरुक्क उठेर "सरी"भन्दै चुकुल लगाई।लाज-शरमले म पानी-पानी भएर फर्कें।भित्रभित्रै हाँस पनि उठिरहेको थियो तर अरुको सामू जबर्जस्ती कन्ट्रोल गरें।एकैछिनमा काली र निली भएर उनी बाहिर निस्की।मलाई हेर्ने हिम्मत जुटाउन सकेकी थिईनन्।उनी प्राक्टिकलमा ब्यस्त भएपछिमात्र म ट्वाइलेट गएँ।प्राक्टिकलको क्लाए सकिएपछि म संगीता र बबिताको पछिपछि गएँ।निकैबेरसम्म उनीहरूले चालै पाएनन्।
"अहं,अहं,अहं"-मैले जबर्जस्ती खोकें।
दुवैजनाले फरक्क फर्केर हेरे तर संगीताको मुहार प्रचण्ड रविले ओइलिएको फूल जस्तै बनाई।
"कहाँ जाने हो र सन्जय आज त यता पो आयौ त?"-बबिताले सोधी।
"संगीतासंग एउटा कुरा गर्नुछ।"
मेरो जवाफले झन संगीताको शरमको सीमा नाघिसकेको थियो।
"भन न के कुरा हो।"-रातिपिरी भएर संगीताले भनी।
"आइ एम सरी है संगीता।मलाई थाहा थिएन तिमी छ्यौ भनेर।"
"इट्स ओके सन्जय।कहिलेकाही यस्तो भैहाल्छ नि।फेरि त्यसमा तिम्रो गल्ती पनि थिएन।चुकुल लाउन बिर्सनु मेरै मिस्टेक हो।छोडिदेउ अब त्यो कुरा।"
संगीताको कुराले मलाई ठूलो राहत मिलेको आभास भयो।मेरो हिम्मत बढेर पूर्वावस्थामा आइसकेको थिएँ र संगीता पनि।
"बरु चिया खान जाउँ न।मलाई त भोक पनि लागेको छ।अरु पनि केही खाउँ।"-मैले उनीहरूलाई प्रस्ताव राखें।
"सन्जय तिमी खाउ।हामी त अब खाना पकाउनुपर्छ।"-संगीताले अप्रत्यक्षरुपमा मेरो प्रस्ताव नकार्दै भनी।
"जाउँ न जाउँ सन्जयले भनेपछि।सन्जयसँग कहिल्यै चिया पनि त खाएको छैन नि।"-बबिताले मेरो अनुहारमा हेरेर आँखा झिम्क्याउँदै भनी।
मलाई एउटी केटीले पहिलोपटक आँखा झिम्क्याएकोले केही असहज भयो।
"त्यही त बबिता,झन पहिलोपटक चिया खाउँ भन्दा पनि सीधै नकार्ने।हामीले देको खान हुन्न र?"-मैले रिसाउँदै भनें।
"ल ल जाउँ न त जाउँ,उसो भए।"-संगीताले मेरो चिया प्रस्ताव बल्लतल्ल स्वीकार गरी।
चिया पसलमा गएर चिया र सेल मगाएर खान थाल्यौं।संगीता-बबिता एकतिर र म ठिक अगाडि एक्लै।मैले संगीताको मुहार अध्ययन गरें।उनी मुसुक्क हाँसी।उनी हाँस्दा बिहानीको किरणले हिमाल हाँसे झैं लाग्यो।कोपिला बाट फक्रेको फूल झैं लाग्यो।स्वर्गकी परी भन्दा सुन्दरी।अप्सरा जस्तै रुपसी।म उनको रुपमा हराउन पुगें।आफूले आफैंलाई बिर्सें सायद सास फेर्न पनि बिर्सें।चिया र सेल खान छोडेर उनले मतिर नजर लगाई।झट्टै मैले आफ्नो नजर अन्तै फर्काएँ।धेरैबेरसम्म हेर्नु पनि घातक होला भन्ठानें।तत्पश्चात मैले बबिताको अनुहार पढें।उनले मलाई नै हेरिरहेकी थिई,जसरी मैले संगीतालाई हेरेको थिएँ।बबिताले पुन: आफ्नो दायाँ आँखा सन्काई।ओठ चुच्चो पारेर मलाई टाढैबाट चुम्बन गरी।मेरो शीर भुईंतिर निहुरियो।
"लौ जाने हैन अब"?
संगीताको प्रश्नले म झस्किएँ।आफ्नो चियाको गिलासमा नजर लाएँ।चिया र सेल त्यत्तिकै सेलाइसकेको रहेछ।एकै घुट्कोमा चिसिएको चिया सकाएँ र सेलको टुक्रा लिएर खाँदै बाहिर निस्कें।भोलि भेट्ने भन्दै हामी आ-आफ्नो गन्तव्यतिर लम्क्यौं।उनीहरूको कोठा त नजिकै थियोे तर मेरो घर अलि टाढा भएकोले घर पुग्दा दिउँसोको एक बजिसकेको थियो।मेरो लागि खान छुट्याइराखेर सबै सदस्यहरु कामतिर लागिसकेका थिए।त्यो दिन मलाई खाना खान मनै लागेन।संगीताको मुस्कानले टन्नै अघाएको थिएँ।ओछ्यानमा पल्टेर संगीताको मुस्कान र बबिताको चुम्बनको अर्थ केलाउन थालें।सायद संगीताको मन्द मुस्कानको मतलब ट्वाइलेटमा घटेको घटनाको स्मरण हुनसक्थ्यो।तर बबिताको चुम्बनको अर्थ केलाउन हम्मेहम्मे भयो।कि त प्रेम कि आकर्षणको प्रतीक थियो होला उनको चुम्बन।चुम्बन भन्दा मलाई मुस्कानले सताउन थाल्यो।प्रेमकै प्रतीक भएको भए पनि बबितातिर मेरो खासै ध्यान गएन।तर सगीताको मुस्कान सम्झेर म पनि एकपटक मुसुक्क हाँसें।
नौमति बाजाहरु बजिरहेका।जन्ती र माइतीपक्षका मानिसहरुको भीडभाड।पण्डितले मन्त्रहरु जप्दै गरेको।भीडभाडको बीचमा एक परी रातो सारीमा सजिएकी।उनले मलाई फूलको माला परिराइदिई।मैले पनि उनलाई माला लाइदिएँ।एकछिनमा मैले उनको खाली सिउँदोमा सिन्दूरले सजाइदिएँ।हाम्रो विवाह भयो।दलबलका साथमा मैले उनलाई घरमा भित्र्याएँ।हाम्रो सुहागरात।म सरासर गएर उनको घुम्टो हटाएँ।चिउँडो लाई हातको साहाराले सुस्तरी माथि उठाएँ।लज्जित भएर उनले मृगनयनहरु किस्ताबन्दीमा उघार्दै मलाई हेरिन्।मैले उनको निधारसम्म आएको कपाल बिस्तारै माथितिर सारें।उनको शीरलाई दाहिने हातले खिचेर आफ्नो ओठ उनको ओठतिर बढाएँ।
"सन्जय!किन खाना खाइनस् बाबु?"
दिउँसै खुल्ला आँखाले मीठो सपना पो देखेछु।संगीतालाई विवाह गरेर सुहागरातमा संलग्न भएको कल्पनामा चुर्लुम्मै डुबेको रहेछु।
"हैट" भनेर आफूले आफैंलाई गाली गरें।
दिनहरु बित्दै गए तर मैले आफ्नो मनको कुरा संगीतालाई भन्न सकिन।धेरै पल्ट आँखा जुधाएँ तर मुसुक्क हाँसेर मात्र उनले मेरो हर्कतको जवाफ दिने गर्थी।एकदिन मेरो फिजिक्सको नोट बबिताले मागेर लगी।अर्को दिन तुरुन्तै फिर्ता दिईहाली।लेख्दै जानेक्रममा कपीको मध्यपेजमा पुगें।त्यहाँ पुगेर म एक्कासी झस्किएँ।
"आई लाइक यु सन्जय।"
"आई फल इन लब विद यु।"
"आई लभ यु भेरी मच।"
"डु यु लब मी?"
"योर्स बबिता।"
बबिताले आफ्नो मनको कुरा कपीको मध्यभागमा लेखेको देखेर म दोधारमा परें।बबिताको प्रस्तावलाई स्वीकार्ने कि लत्याउने।एकदिन मैले मौका पारेर उनलाई प्रष्ट भनें।
"हेर बबिता!म तिम्रो भावनाको कदर गर्छु।तिमीलाई हर्ट गर्ने मेरो उदेश्य हैन।तिमीलाई मैले एउटी असल साथीको रुपमा हेरेको छु।प्रेमको लागि अहिल्यै म तयार छैन।मलाई केही महिनाको समय देउ।"
"हतार छैन सन्जय।तिमीले भन्यौ भने म अर्को जूनीसम्म पर्खन पनि तयार छु।"
यति वार्तालाप पश्चात हाम्रो बीचमा त्यति राम्रो कुराकानी पनि भएन।चाहिने मात्रमा बोल्थ्यौं।
एकदिन बायोलोजीको प्राक्टिकलमा चिरफारको लागि भ्यागुतो चाहिने भयो।सबैले एक-एकवटा भ्यागुता लानैपर्थ्यो।क्लास सकिएपछि संगीता र म संगै बाटोमा भयौं।
"सन्जय!भोलि भ्यागुता लानुपर्ने,मैले कहाँ खोज्ने यार?कहाँ पाईन्छ केही आइडिया पनि छैन।के गर्ने होला?"
"चिन्ता नगर संगीता म मद्धत गर्छु तिमीलाई।मसँग हिंड न बरु।एयरपोर्टमा पाईन्छ।"
"त्यसो भए आजको खाना मेरोमा खाएर यहीँबाट सिधै एयरपोर्ट जाऔं हुन्न?"
मैले उनको कुरामा सहमति जनाएँ।उनको रुममा खाना खाएर एयरपोर्टको टारमा निस्क्यौं।धेरै बर्ष पहिले एयरपोर्ट सन्चालनमा भएपनि पछि रद्ध गरिएको थियो।त्यो टारमा भएको एउटा पोखरीको नजिकै बसेर हामी गफ गर्न थाल्यौं।प्रायःजसो हाम्रो गफको बिषय पढाइमै सिमित थियो।मसिना ढुंगाहरु टिपेर मैले पोखरीमा फाल्दै तरंग उत्पन्न गराएँ।
"पौडी खेलौं न संगीता।"
मेरो मुखबाट अनायासै यस्तो वाक्य फुत्क्यो।
"छ्या!लाज लाग्दैन कि क्या हो अर्कालाई?"-कर्के नजरले हान्दै भनी।
"केको लाज संगीता,हामी साथी-साथीमा?"
"साथी भनेर जे पायो त्यही गर्न मिल्छ र?"
"हामीले नचाहिने के नै गरेका छौं र?"
"भन्दा पनि बिपरित लिंगीहरुबीच यो नसुहाउने कुरा हो।"
"सुहाउँछ किन सुहाउन्न र?सबै सोचाइमा भर पर्ने कुरा हो।"
"संगीता नरिसाउने भए एउटा कुरा भनुँ?"
"के कुरा भन न।"
"धेरै दिनदेखि तिमीलाई एउटा कुरा भन्न मन लागेको थियो तर भन्नै सकिरहेको छैन।कसरी भनुँ?"
"अरु कुरा जे पनि हुन्छ तर मलाई मन पराउने र आफ्नो बनाउने कुरा चाहिँ नगर है।हा हा हा हा हा।"
भन्नुपर्ने कुरा उनैले भनिसकेपछि मैले के भन्ने।म एकछिन असामन्जसमा परें।भनुँ कि नभनुँको दोसाँधमा उभिरहें।
"भन न सन्जय के कुरा हो?"
"तिमीले भने झैं म तिमीलाई असाध्यै मन पराउँछु संगीता।आई लब यु संगीता।डु यु लब मी?"
उनले हुन्छ र हुन्न केही नभनीकन मौन भई।मैले पनि थप केही भन्नै सकिन।करीब २० मिनेटपछि उनले मेरो अनुहारमा हेरेर मुसुक्क हाँसी।उनी हाँस्दा मेरो मुटुमा दर्द भयो।मैले सोचें-उनले मेरो प्रस्तावलाई मजाकमा उडाई।मलाई रुन मन लाग्यो।चिच्याउन मन लाग्यो।मेरो आँखाबाट अश्रु खस्न पुग्यो।
"के भयो संजय किन रोएको?रोइहाल्नुपर्छ त?यस्तो बच्चाले पनि मलाई माया गर्ने रे।"
यति भन्दै उनले मेरो आँखाको अश्रु पुछिदिई।
"एस।"-उनले एक शब्द मात्र बोली।
"भनाइको मतलब?"-मैले प्रश्न गरें।
"भनाइको मतलब-ओके।ओके को मतलब-आइ लब यु टु।"
"आइ लब यु संगीता!आइ लब यु भेरी मच।"
जोडले चिच्याउँदै मैले उनलाई अंगालोमा बेरें।चुम्न थालें उनको ओठ,गाला,निधार र गलामा।उनले पनि मलाई चुम्न थाली।एकैछिनमा दोधारलाई पन्छाएर यकिनका साथ संगै जिउने र संगै मर्ने बाचा गर्यौं।भ्यागुता खोज्न गएका हामी आफैं हरायौं।एक-अर्काको मायामा हरायौं।
"वास्तवमा संजय म तिमीलाई त्यो ट्वाइलेटको घटना देखि नै मन पराउन थालेकी थिएँ तर चाहना अब्यक्त भएर मनभित्रै दबिएर बसिरह्यो।आज तिमीले प्रोपोज गर्दा नकार्नै सकिन।आज म एकदम खुशी छु।सायद संसारमा सबभन्दा बढी।"
"मैले पनि ठ्याक्कै त्यही दिनदेखि तिमीलाई दिलमा सजाउन थालेको थिएँ संगीता।"
"माया मात्र गर्ने कि भ्यागुता पनि खोज्ने?पढाइलाई पनि महत्त्व दिनुपर्छ संजय।"
"यतिबेला कहाँबाट आयो फेरि पढाईको कुरा?पढाइ सढाइ गोली मार।"
"पौडी खेल्ने हैन संजय?"
"अघि त खेल्नुहुन्न भन्दैथ्यौ त।"
"धेरै बहस नगर।खेलिहालौं।"
मैले सबै कपडा फुकालेर भित्री कट्टु मात्र बाँकी राखें।
"छ्या किन सबै खोलेको संजय?म त कुर्तामै खेल्छु।"
"कुर्तासंगै खेलेर बजारबाट कसरी हिड्छ्यौ भरे?फुकाल।"
"नाइँ के,छ्या!लाज नभएर।"
"केही हुन्न यार,तिमी र म बाहेक अरु को छ र यहाँ?कोही आए पनि टाढाबाटै देखिन्छ क्यारे।"
अप्ठ्यारो मानी-मानी उनले कुर्ता र सुरुवाल फुकाली।ब्रा र कट्टु मात्र लाएर पानीतिर प्रबेश गरी।सानो ब्रा र कट्टुले उनका गोप्य अंगहरुलाई पूर्णरूपमा छेक्न सकेका थिएनन्।म बेचैन हुन थालें।
"कहाँ हेरेको?खुरुखुरु पौडी नखेलेर।"
उनले हपारेपछि हामी पोखरीमा पौडिन थाल्यौं।५ मिनेट जति पौडिसकेर हामी पोखरीको वारिपारी उभियौं।केशबाट पानीका रेशाहरु उनका गोप्य अंगतिर तँछाडमछाड गर्दै सलल बग्दै थिए।
"हे भगवान!एकछिनको लागि मलाई पानी बनाईदेउ।"
मैले मनमनै बिन्ती गरें तर भगवानले तत्कालको लागि सुनिदिएन।उनको फक्रेको बैशले मलाई झनझन लोभ्याउँदै थियोे।मैले आफूलाई नियन्त्रण गर्न सकिरहेको थिईन।शुरुमा हामी बीचको दूरी निकै थियो तर बिस्तारै मैले घटाउँदै गएँ।म उनको समिपमा पुगिसकेको थिएँ।अब हामी पौडिन छोडेर एक-अर्कालाई पानी छ्याप्न तल्लीन भयौं।हाँसोले पोखरी मात्र नभई पूरै एयरपोर्ट गुन्जियो।मैले उनलाई च्याप्पै समाएर गालातिर टोक्न थालें।उनले पनि त्यस्तै गरी।मेरा पापी हातहरु उनको शरीरको सबै भागमा स्पर्श गर्न उद्धत थिए।हाम्रो अनुहारको स्वरुप नै फेरिए।हाम्रा छातीहरु एक आपसमा टाँसिए।एकैछिनमा उनले आफ्नो दुबै हात मेरो छातीमा राखेर घचेटिदिई।म पोखरीको पानीमा उतानो परें।उनी हाँस्दै पोखरीबाट बाहिरिई।उतानो पर्दाको त्यो खुल्ला गगनले मलाई जिस्क्याएको आभास भयो।एकैछिनमा उनले चिसो कपडा माथिनै कुर्तासुरुवाल लगाई।म मानसिक रुपमा घाइते भएँ।सगरमाथाको शिखरमा पुग्नै लाग्दा उनले एक्कासी गर्ल्याम्मै झारेकी थिई।तत्पश्चात हामी जिरी खोलाको किनारै किनार भ्यागुता खोज्न थाल्यौं।दुईवटा भ्यागुता पाइसक्दा सुर्य क्षितिजमा पुगिसकेको थियो।भ्यागुतालाई प्लास्टिकमा हालेर हामी आ-आफ्नो गन्तव्यतिर लाग्यौं।त्यो रात मैले दिनकै कृयाकलाप सम्झेर बिताएँ।भोलिपल्ट बायोलोजीको प्राक्टिकलमा भ्यागुता चिर्नुभन्दा बढी ध्यान हिजोको पोखरीतिर गयो।त्यो पल सम्झेर रमाएँ।क्लास सकिएपछि मैले उनलाई गेस्टहाउसमा जाने प्रस्ताव गरें तर उनले ठाडै अस्वीकार गरिन्।
"यदि तिम्रो यही चाहना हो भने कि त मलाई बिहे गर कि त सधैंको लागि सम्बन्ध तोडिदेउ।"
उनको कुराले मनमा गम्भीर चोट पुर्यायो।मैले उनीसँग बातचीत गर्नै छोडिदिएँ।एकदिन उनले मलाई एकान्तमा बोलाई।किन होला भनेर कारण बुझ्न व्यग्र थिएँ।
"संजय मलाई माग्न लाहुरे आएको थियो।बाबा-आमाले दिन खोज्नुभएको थियो तर मैले इन्कार गरें।"
"बिहे गरे भैगो नि किन इन्कार गरेकी त?सुखमा राख्छ त लाहुरेले।"
"फेरि अन्तबाट पनि मेरो हात माग्न आउने कुरा छ संजय।म के गरुँ?तिमी पनि केवल युज गर्ने कुरा मात्र गर्छौ।तिमीबाट मैले यस्तो आशा राखेकी थिईन।"
"गेस्टहाउसमा जाँदैमा युज नै गरिन्छ भनेर कसरी सोच्न सक्यौ?तिम्रो दिलमा खोट रहेछ संगीता।मैले त्यस्तो सोचेकै छैन।"
"त्यसो भए आज जाऔं न त गेस्टहाउस।तर अनुशासित भएर बस्नुपर्छ नि।"
"मैले भनिहालें नि संगीता,त्यस्तो सोचेको छैन भनेर।हामी गफ मात्र गरिरहने दिनभरी।"
संगीताको रुममा खाना खाएर हामी जिरी बजारको "चेर्दुङ होटल एण्ड लज"मा गयौं।शुरुमा निकैबेर गफ गर्यौं।शुरुमा पढाइ सम्बन्धि सामान्य गफगाफहरु भए तर क्रमिकरुपमा मैले उनलाई यौन सम्बन्धि कुराहरु राखें।
"संगीता तिमीले कहिल्यै चाखेकीछ्यौ?"
"के कुरा?"
"के कुरा भन्नु।संसारमा सबैभन्दा मीठो चीज।"
"मलाई थाहा छैन संजय यस्तो कुरा।तिमी कुन चीजको कुरा गर्दैछौ?"
"तिमी बच्ची हौ र बुझाउनलाई?आँ गर्दा अलांकार बुझ न।"
"सिधै भन न म बांगोटिंगो बुझ्दिन।"
मैले उनलाई अप्रत्यक्षरुपमा सेक्सको प्रस्ताव राखें।उनले ठाडै अस्वीकार गरिन्।मैले बारम्बार उस्तै प्रस्ताव राखिरहें र उनले इन्कार गरिरही।
"सधैं तिमीले सच्चा माया गरेको देख्न चाहन्छु।म हाम्रो मायामा गिरावट आएको हेर्न चाहन्न।विहेपछिको अनमोल उपहार लाई अहिल्यै छ्ताछुल्ल तिम्रो सामू पोखाउन मन छैन मलाई।"-संगीताले अडान लिंदै भनी।
"बिहे अघि र पछि तिमी मेरै हौ नि संगीता।यदि हाम्रो माया चोखो छ भने के फरक पर्छ र?"
उनको नाइँनास्ती र मेरो प्रस्तावको बीचमा लामो समयसम्म दोहोरी चलिरह्यो।हामी बीचमा निकै बहस र विवाद भए।मैले आफ्नो बलबुत्तो लगाएर उनलाई मनाउने हरप्रयास गरें तर उनी आफ्नो जवानी सुम्पिन राजी भईनन्।रात परिसकेको थियो तर वार्ताको निचोडमा पुग्न सकेनौं।रातको खाना होटलमै खायौं।उनलाई त जता बसेपनि कसैले सोधखोज गर्ने डर थिएन तर मेरो घर जिरीमै भएकोले बाबा-आमाले पीर लिनसक्नुहुन्थ्यो।राती पनि होटलमै बस्ने सल्लाह भयो।मेरो आग्रहलाई सजिलै मान्नेवालमा थिईनन्।सुत्ने तरखर गर्न थाल्यौं।मेरा बैमान हातहरु उनको शरीरमा चलायमान भए।एक-अर्कामा चुम्बनका बर्षात भयो।हामी दुवैजना उत्तेजनाको चरमचुलीमा पुग्यौं।तर उनी अझै दुविधामै थिई।
"संजय!तिम्रो मनलागी गर तर सीमा ननाघ।बिहेपछिको लागि पनि केही बाँकी राख।"
उनको कुरा सुन्ने वालामा थिईन म।रातको १२ बजिसक्दा पनि उनले आफ्नो अडान यथावतै राखी।मलाई असह्य भैसकेको थियो।उनको यौवनको नशाले मलाई कडा अल्कोहलले भन्दा बढ्ता लागिसकेको थियो।जबर्जस्ती मैले आफ्नो पुरुषार्थ देखाएँ।उनी चिच्याउन लागिन्।तर केही क्षणमा हामी एक-अर्कामा एकाकार भयौं।हामीले आ-आफ्नो जवानी एक-अर्कालाई हस्तान्तरण गरिसकेका थियौं।अमूल्य उपहार आदानप्रदान गर्यौं।उनले बाँकी राख्न चाहेको चीज रहेन।
त्यसपछिका हाम्रा सुनौला दिनहरु रोमान्समै बिते।पढाइ भन्दा हामी एक-अर्कालाई खुशी बनाउनमै बिते।हाम्रो बीचमा भएको शारीरिक सम्पर्कलाई गन्ती गरेर साध्य थिएन।आखिर गन्ती गरोस् पनि कसले।क्लासमा सबभन्दा जेहेन्दार बिद्यार्थी खत्तम भैसकेको थिएँ।धेरैपटक संगीताको हात माग्न बृटिश र इन्डियन लाहुरेहरु आउन थाले तर उनले पढाइको निहु पारेर टारिरहेकी थिई।एकदिन सहबासपछि उनले उदास हुँदै भनी-
"संजय,मैले कति दिन मेरो हात माग्न आउनेलाई इन्कार गरुँ भन त?अहिलेसम्म दश जना आइसके अब म रोक्न सक्दिन।म थाकिसकें।घरबाट पनि प्रेसर दिँदैछन्।कतिन्जेल म तनावग्रस्त भएर बाँच्ने?संजय,बरु तिमी पनि भर्ती हुन जाउ।सके बृटिश नसके पनि इन्डियन लाहुरे सम्म।तिम्रो ज्यान पनि खाइलाग्दो छ,अवश्य हुन्छौ तिमी।"
मैले हाम्रो प्रेमको लागि पनि उनको आग्रहलाई नाइँनास्ती गर्नै सकिन।उनको ईच्छा र चाहनालाई पूर्ति गर्नाको खातिर म दिनरात शारीरिक अभ्यास गर्न थालें।बृटिश आर्मी हुनलाई म पोखरा गएँ तर अन्तमा म सेलेक्ट भईन।निराश भएर फर्कें।शुरुमा त असफल अनुहार उनलाई देखाउने हिम्मत नै भएन तर उनको मायाले डोर्याएर लगिहाल्यो।उनले मलाई हरेश नखाने सल्लाह दिई।त्यसपछि मैले बृटिश आर्मी हुने चाहनाको हत्या गरेर इन्डियन आर्मी हुने सोच बनाएँ।इन्डिया जानुभन्दा अघिल्लो रात फेरि हामी चेर्दुङ होटल एन्ड लजमै गयौं।फेरि एकपल्ट उनले आफ्नो सर्वस्व सुम्पेर मलाई बिदाइ गरी।उनीबाट टाढा हुन मनले मानिरहेको थिएन।तर हाम्रो प्रेमलाई सदैब जिउँदो राख्नलाई भएपनि मैले जानैपर्ने भयो।छुट्ने बेला सदाको लागि उनीबाट टाढा जाँदैछु जस्तो लाग्यो।आफूलाई सम्हाल्नै सकिन।बिछोडको अश्रुधारा छुट्टिसकेको रहेछ।
"छ्या तिमी त केटी जस्तो।केटा भएर पनि त्यसरी रुन्छन्?"
मुखले मलाई सम्झाए पनि उनको आँखा पनि रुझिसकेका थिए।इन्डिया जानको लागि जिरीको फस्ट बसमा पसें।बिस्तारै बस गुड्न थाल्यो।हामीले एक-अर्कालाई बिदाइका हात हल्लायौं।हाम्रो बिछोडमा बसले पनि साथ दिँदै थियो।बसको खिर्कीको शिशा एकै प्रहारमा झर्ल्यामझुर्लुम पार्न मन लागेको थियो।तर आक्रोशित भएर केही फाइदा थिएन बरु घाटा थियो।खाना खाने ठाउँमा झर्नै मन लागेन।एउटै सिटमा बस्ने मान्छेसँग पनि राम्ररी बोलिन।मनमनै बिरहको गीत गाउँदै काठमाडौं पुग्दा आँखाबाट अश्रु रित्तिएर आउन छोडेको थियो।दुई दिन काठमाडौंमा आफन्तहरूसँग भेटघाट गरेर दार्जिलिङ गएँ।मामा दार्जिलिङमा सरकारी जागिरे हुनुहुँदोरहेछ।मामाले आश्वासन दिनुभएकोले म त्यहाँ गएको थिएँ।निकै कठिन शारीरिक अभ्यास गर्न थालें।भर्ती खुल्ने दिनको प्रतिक्षामा व्यग्र थिएँ।आफूसँग भएको केही रकम सकिसकेको थियो तर भर्ती खुलेन।मामाले माया गरेपनि माइज्युले घृणाको नजरले हेर्नुहुन्थ्यो।सिगरेट पिउने बानी,गोजीमा सुक्को पैसा थिएन।मामालाई कति दिन माग्नु।माइज्युलाई माग्ने आँट आएन।सात महिना ब्यर्थै बित्यो तर भर्ती खुलेन।उता नेपालमा संगीताबाट सम्पर्क टुटिसकेको थियो।एक त फोन गर्ने पैसा थिएन,अर्को भर्ती नभईकन फोन गर्न मन लागेन।दु:खको कुरा-मेरो पढाइ छुटिसकेको थियो।बिज्ञान जस्तो बिषय पक्कै पनि चानचुने थिएन।पास हुनलाई टुप्पी कसेर नपढी नहुने।मेरो जीवन बेहाल भएर दार्जिलिङमा अलपत्र परिरह्यो।
दार्जिलिङको प्राकृतिक सुन्दरताको बारेमा मैले धेरै गुणगान सुनेको थिएँ तर संगीता बिनाको त्यो ठाउँ मलाई उराठलाग्दो र कहालीलाग्दो लाग्यो।अझ भन्ने नै हो भने त्यो ठाउँ मरुभूमि भन्दा कम दर्दनाक लागेन।सायद उनको अनुपस्थितिमा त्यस्तो लागेको होला।मेरो विश्लेषण गलत थियो होला।कि त रुँदा-रुँदा मेरो आँखा कमजोर भएको थियो होला।रातदिन संगीताकै यादको महासागरमा डुबुल्की मार्दा-मार्दा म लखतरान भएको थिएँ।दुब्लाएर शिशिरमा पात झरेको रुख जस्तै भएको थिएँ।कुनै बेला संगीता साथमा हुँदा संसार स्वर्गतुल्य लाग्थ्यो तर अब ठ्याक्कै नर्क झैं लाग्न थाल्यो।उनको माया र आर्थिक अभावमा पिल्सिएर मेरो हालत दयनीय भैसकेको थियो।क्षयरोगको बिरामी झैं भएको थिएँ म।दार्जिलिङ आएको पनि एकसाल कटिसकेको थियो।बल्लतल्ल इन्डियन आर्मीमा भर्ती खुल्यो।सबै कुरामा फिट थिएँ तर खै पहुँच या पैसाको कमीले अन्तमा मेरो नाम निस्केन।भान्सेमा भए गर भन्दै थिए तर खाना पकाउन भनेपछि संसारकै सबैभन्दा गाह्रो काम मान्ने म जस्तो मान्छेको त्यहाँ काम थिएन।लाहुरे हुन गएको मान्छे भान्सेमा काम गर्न मन लागेन।जिन्दगीमा पहिलोपटक असफलता हात लाग्यो।एस एल सी सम्ममा कहिल्यै दोश्रो नभएको मान्छे एकैचोटि फेल हुँदा हजार भोल्टको करेन्ट भन्दा बढ्ता झट्का लाग्यो।जिन्दगी देखि नै हार मानें।आर्मीमा भर्ती भएपछि मात्र संगीतालाई फोन गरेर खुशी साट्ने मेरो सपनाको निर्मम हत्या भयो।मामाले पुनः दोश्रोपटक कोसिस गर भन्नुभयो तर मलाई त्यहाँ बस्न मनै लागेन।एक त आर्थिक अभावसँगै माइज्युको कचकच सहने क्षमता ममा रहेन र अर्कोतिर संगीतासँग कहिले भेट होला जस्तो लाग्यो।एक किसिमको छट्पटी शुरु भयो।म आफैंभित्र निस्सासिन थालें।संगीताको मायाले जिरीतिरै तानिरह्यो।तर कुन मुख लिएर संगीतासँग भेट्ने भन्ने चिन्ता ब्याप्त छँदै थियो।म लाहुरे भएको देख्नु म स्वयंको भन्दा संगीताको चाहना थियो।उनको चाहनाको हत्यारा भएर उनलाई भेट्ने हिम्मत पनि जुटाउन सकिन।तिरस्कार सहेर भएपनि अर्कोपटक भर्ती हुने आशामा बस्न थालें।छ महिनापछि अर्को भर्ती खुल्यो तर मामाको चिनजानको मान्छेले तीनलाख आइ सी माग्यो।पैसा दिन नसक्दा दोस्रोपटक म फेल भएँ।अब केही बाँकी रहेन झैं लाग्यो।जिउँदो लास भएर म नेपाल फर्कें।लाहुरे हुन नसकेको आफैंलाई घृणा लाग्न थाल्यो।जिरी जाउँ कि नजाउँ-दुबिधामा दुई दिन काठमाडौंमा बिताएँ।
"मैले स्वार्थी भएर उनीबाट दूर रहनु भन्दा उनको राय पनि एकपल्ट बुझ्छु" भन्ने सोचेर जिरीको बस चढें।जिरीको भन्दा पनि आफ्नो घर जाने बस भन्दा बेश होला।असफल भएपनि संगीतालाई भेट्ने चाहनाले मलाई उत्साहित बनायो।मनभित्र अनेक काल्पनिक घटनाक्रमहरुको ज्वारभाटा आए।संगीतासँग भेटेर यसो गर्छु र उसो गर्छु भन्दै धेरै थरीका सपना पनि देख्न भ्याएँ।जिरी पुग्दा रात परिसकेकोले कतै नगई घरमै गएँ।बाबा-आमा खुशी पनि भए र पढाइ बिगारिस् भनेर आक्रोशित पनि भए।तर बाबा-आमाको मन नै त हो,एकैछिनमा अपार माया दिन थाले।रातभर सुत्नै सकिन।अनेक थरीका उत्साहले सुत्नै दिएन।बिहानै उठेर जिरी उच्च मा.बि.गएँ।मेरो ब्याचको साथीहरू १२ पास गरेर गैसकेका थिए।उच्च मा.बि.का शिक्षक-शिक्षिकाहरुले पढाइ बिगारेको भनेर झपारे।एकजना चिनेको साथीलाई संगीताको बारेमा सोधें।
"को-को कहाँ-कहाँ पुगिसके तिमी भने लापत्त भयौ।तिमीले ठूलो गल्ती गर्यौ संजय।न त लाहुरे हुन सकेनौ न पढाइलाई निरन्तरता दिन सक्यौ।अब के गर्छौ त संजय?"
"मलाई अरु बिषयमा कुरा गर्नु छैन यार।बरु भन संगीता कहाँ छे?काठमाडौं कि यतै कतै?"
"संगीता त जिरी बजारमै पसल राखेर बसेकी छे आजभोलि।"
"कुन घरमा?"
"राजुको घर।"
"ल ल धन्यवाद यार।म गैहाल्छु,हतारमा छु।"
साथीबाट बिदा भएर म खरायोको गतिमा बजार पुगें।सरासर संगीताले पसल राखेको राजुको घरमा गएँ।रोडको नजिकै भएकोले त्यहाँ पुग्न धेरै समय लागेन।घर नजिकै के पुगेको थिएँ,संगीतालाई देखिहालें।उनलाई देखेर मेरो होसहवासै उड्यो।रातो सारी,सिन्दूर र पोतेमा सजिएर उनी पसलमा थिई।उनले पनि मलाई देखेर एक्कासी अनुहारको रंग परिवर्तन गरी।दुई मिनेट जति एकले अर्कालाई हेरिमात्र रह्यौं।
"ए संजय के छ?कहिले आयौ?"
"हिजो।"
"मलाई माफ गर संजय-मैले तिमीलाई धोका दिएँ।तिमी बेखबर भयौ।मलाई लाग्यो कि तिमीले मलाई बिर्सिसक्यौ।फेरि यता राजुले पनि पिछा गरेर हैरान पार्यो।"
"किन यस्तो गर्यौ संगीता?के तिमीलाई लाहुरे नै चाहिएको थियो?म त लाहुरे हुन सकिन संगीता।गल्ती मेरै थियो-एक कल फोन समेत नगर्ने।"
"गल्ती तिम्रो मात्र छैन संजय,तिमीलाई पर्खन नसक्नु मेरै हो गल्ती।"
हामी निकैबेर आफैंले आफैंलाई दोषी ठानेर रोयौं।पसल जस्तो ठाउँमा संगै मिलेर रुनु उचित नभएकोले संयमित भयौं।
"राजु कहाँ छ त अहिले?"-मैले सोधेँ।
"उ अहिले यु के मा छ।बृटिश आर्मीमा भर्ती भएको छ।"
"जे होस तिम्रो ईच्छा पूर्ण भएछ।जीत तिम्रो भयो-मैले हारें।"
यति भनेर म फटाफट घरतिर प्रस्थान गरें।
"संजय!संजय!कुरा सुन न संजय।"
संगीताको कुरा नसुने झैं गरेर उतातिर फर्केर समेत हेरिन।एक हप्तासम्म म घरबाहिर निस्किन।मलाई उज्यालो भन्दा अँध्यारो प्यारो भयो।रुनलाई अश्रु पनि बाँकी रहेन।कलेज पढ्दा शुरुका घटनाक्रम सम्झन थालें।बबितालाई वास्ता नगरेको क्षण पनि सम्झें।संगीतालाई माया गरेर धोका पाइसकेकोले उनलाई सम्झन ब्यर्थ लाग्न थाल्यो।बबिताको प्रेम प्रस्ताव स्वीकार नगर्दा उनको मनमा कति चोट लागेहोला भनेर बल्ल मैले अनुभव गरें।मनमनै बबितालाई भेट्न जाने अठोट गरें।एकपटक उनले आफ्नो घर नाम्दुको स्कुल नजिकै भएको कुरा गरेकी थिई।फस्ट बसलाई मैले 'अनलक्की'को संज्ञा दिएर सेकेन्ड बसमा चढें।नाम्दुमा झरेर उनको घर सोधें।कसैले उनको घर देखाइदियो।घर वरिपरि सजिएको थियो।आँगनमा जग्गे बाँकी नै थियो।त्यो दृश्य नियाल्दा हिजो वा अस्तिमै कुनै स्त्रीको बिहे भएको अनुमान लगाएँ।अथवा कसैको बिहे हुँदैछ भन्ने लाग्यो।
"नमस्ते आमा!बबिताको घर यही हो?"
"नमस्कार बाबु! हो किन?"
"म संजय आमा।बबिताको साथी।"
"ए हो र?बबिताको हिजै बिहे भयो त बाबु।बाबुलाई निम्तो दिएकी थिईनन् र बबिताले?"
"ए मैले त आज पो रहेछ भनेको।अनि जग्गे किन अहिलेसम्म राख्नुभएको त आमा?"
"भत्काउन मनै लागेन बाबु।केही दिन यत्तिकै होस।संजयको बारेमा बाबिताले धेरै कुरा गर्थिन्।एकदिन संजयले हात माग्न आउँछ भन्थी।हाम्रै जबर्जस्तीले उनलाई बिहे गरेर पठायौं।उमेर पुगेकी छोरीलाई धेरै राख्नु उचित नलागेर बाबु।अनि केही काम थियो कि बाबुको बबितासित?"
"छैन आमा,म लाग्छु पनि।"
म एकछिन पनि त्यहाँ बस्न सकिन।बबितालाई बेवास्ता गरेकोमा पश्चातापको आगोमा जल्दै चरिकोट गएँ।आर्मी भएर लाहुरे हुन नसकेको झोकमा पासपोर्ट बनाएँ।काठमाडौंको एउटा म्यानपावरमा गएर अन्तर्वार्ता दिएँ।सेल्सम्यानको लागि सेलेक्ट भएँ।एक महिनापछि साउदी अरबको मरुभूमिमा आइपुगें।सेल्सम्यानमा आएको मान्छेलाई दलालले मजरामा फसायो।आजको दिनले ठ्याक्कै १० बर्ष लागेछ साउदी आएको पनि।छुट्टीमा एकपटक पनि गएको छैन।जान मन पनि लागेको छैन।बाबा-आमा बुढाबुढी भैसके।गुनासो गरिरहेका छन्-'तँ किन आउँदैनस्,हामी मरेपछि मात्र आउँलस्' भनेर।म आइहाल्छु भनेर आश्वासन मात्र दिएको कति भयो-भयो।आफूले आफैंलाई भन्न मन लाग्छ-
"तँ हारेको मान्छे।आर्मी हुन नसकेको मान्छे।प्रेममा असफल मान्छे।लाहुरे हुने चक्करमा भएको डोरी लाहुरे।एक तोरी लाहुरे।"
अतीतलाई कोट्याउँदा कोट्याउँदै दिन बितिसकेछ।उज्यालोलाई परास्त पारेर अन्धकारले जीतको उत्सव मनाउन थालिसकेछ।भोलिको दिन र भविष्य उज्ज्वल हुने आशा गर्दै बत्तीमुनिको अँध्यारोतिर प्रस्थान गर्दै।
**************इतिश्री*************
No comments:
Post a Comment