Monday, 5 December 2016

घोचिरहने फूल-३

"म नेपालका सबै नेताहरुलाई सखाप पारेर राजा हुन्छु।"
"अम्बिका!म तिमीलाई कति माया गर्छु।तिमी भने मलाई टेढो आँखाले पनि हेर्दिनौ।"
"म अम्बिका हैन,म मेरो सरोजकी रानी हुँ।एकदिन मलाई लिन मेरो सरोज आउँछ-आउँछ।"
"म डाक्टर हुँ।तिमीहरुको उपचार गर्न म यहाँ आएको।"
"म सबै आतंककारीहरुलाई सिध्याउँछु।जंगल-जंगल घुमेर हिंड्ने भतुवाहरु लाई सत्ता चाहियो रे।हा हा हा•••••••••।"
"हेर त यो पागल त मलाई पो पागल भन्दैछ त।हीहीहीही!"
चारैतिर कोलाहल थियो।सबै जनाले सेतो पोशाक लगाएका थिए।कोही हाँस्दै त कोही रुँदै थिए।उनीहरु सबैको स्वभाव असाधारण थियो।मैले पनि उस्तै सेतो पोशाक लगाएको रहेछु।अघि भर्खरै बाइकमा राजको कोठातिर जाँदै गरेको मान्छे कसरी त्यहाँ पुगें भनेर म छक्क परें।नजिकैको भित्तामा राखिएको ऐनामा हेरें।हे भगवान्!म त अन्दाजी ४५/४६ बर्षको बूढो पो भैसकेको रहेछु।केश र दाह्री लामा-लामा र फुलेर सफेद भैसकेका थिए।म रामनारायण नै हैन जस्तो आभास भयो शुरुमा त।फेरि यताउता चारैतिर नजर लाएँ-सबैजना उछृंखल व्यवहार मात्र गरिरहेका थिए।म कहाँ छु भनेर एकछिन अल्मलिएँ।जेलमा भएको भए पुलिस हुन्थे।
"म कहाँ छु?हामी कहाँ छौं?"-मैले एकजनालाई सोधें।
"हामी दरबारमा छौं।म यो दरबारको राजा र तिमी सेनापति हौ।"
उसको कुरा मलाई बिश्वास लागेन।
अर्को एकजनालाई सोधें।
"हामी बिश्वविद्यालयमा छौं।म यहाँको प्रोफेसर हुँ,तिमी बिद्यार्थी हौ।"
उसको कुरा झन पत्याउने कुरै भएन।सबका सब पागल झैं लागे।कसैको दिमाग सही ठाउँमा थिएन।उत्तिनैबेला एकजना डाक्टरको भेषमा त्यहाँ उपस्थित भयो।
"डाक्टर!यो कहाँ हो?म कहाँ छु?"-मैले सोधिहालें।
"यो मानसिक अस्पताल हो।"
"म यहाँ कहिलेदेखि छु डाक्टर?"
"तपाईं यहाँ नौं बर्षदेखि हुनुहुन्छ।अस्पतालको रिपोर्ट अनुसार तपाईं ६ महिनासम्म कोमामा हुनुहुन्थ्यो।कोमा बाट बाहिर त आउनुभयो तर दिमागी हालत खराब भएकोले अहिलेसम्म यहीँ हुनुहुन्छ।के तपाईंलाई सबै याद आउन थाल्यो?"
"बाइक दुर्घटनामा पर्नु र त्यो भन्दा पहिलेको मात्र याद छ।पछिको केही याद छैन।"
"सायद तपाईंको उपचार सफल भएको छ।एकदुई दिन हेरेर तपाईंलाई डिस्चार्ज गरिनेछ।"
"सकेसम्म म छिटो जान चाहन्छु डाक्टर।मलाई यहाँ एकछिन पनि बस्न मन छैन।"
"इन्चार्जको हस्ताक्षर चाहिन्छ,उहाँ भोलि मात्र आउनुहुन्छ।भोलिसम्म त पर्खिनैपर्छ।"
त्यो दिन डिस्चार्ज नपाएपछि त्यहाँको रमिता हेरेर बस्न थालें।मैले एकछिन राजलाई सम्झें।
"सायद राज यतिखेर डाक्टर भएर बिरामीको उपचार गर्न ब्यस्त होला।अब त बिहे गरेर बुहारी पनि भित्र्याए होला र नातिनातिना पनि जन्मेर ठूल्ठूला भैसके होलान्।मेरा छोराछोरीले पनि बिहे गरेर नातिनातिना पाइसके होलान्।सायद उनीहरूलाई देखेर पनि चिन्दिन हुँला।म कस्तो अभागी बाउ रहेछु।सरिता पनि अर्कैसँग घरजम गरिसकेकी होली।ए साँच्चै सरिता कस्ती भई होली अचेल।मलाई त पूर्णरूपमा दिलबाट निष्कासन गरिसकेकी होली।"
यस्तै-यस्तै कुराहरु सम्झेर मेरो गह अश्रुले भरिसकेछ।अश्रु पुछ्दै आफूलाई सम्हालें।
"ए आतंककारी हो,तिमीहरूलाई छोड्दिन।सखाप पार्छु।देशको सेवा गर्नु मेरो कर्तव्य हो।"
एकजना करीब मेरै उमेरको मान्छे चिच्याउन थाल्यो।उसको कुरा ध्यानपूर्वक सुन्दै थिएँ।मेरो जस्तै लामो कपाल र दार्ही फुलेर सफेद भएका थिए।उसको अनुहारमा निकै बेर नजर लाएपछि उसलाई चिने झैं,कतै देखे झैं लाग्यो।तर यकिनका साथ ठम्याउन चाहिँ गाह्रो भयो।धेरैबेर सोचें तर परिचित जस्तो मात्र लाग्यो,ब्यक्ति चिन्न भने सकिन।म उसको नजिकै गएर सोधें।
"सुन्नुस् त,तपाईं मलाई चिन्नुहुन्छ?मैले तपाईंलाई चिने झैं र कतै देखे झैं लाग्छ।"
"यी यही देखे होला नि।हा हा हा हा।"
"नाम के हो तपाईंको?"
"श्री ५ ज्ञानेद्र वीर बिक्रम शाह।"
वरिपरिका सबै जना गलललल हाँसे।
"साँच्चिकै,तपाईंको नाम के हो?"
"बिनोद चौधरी।चौधरी ग्रुपको मालिक।"
उसको जवाफले मलाई निराश बनायो।मैले डाक्टरलाई सोधें।उसको नाम पुष्कर।त्यही पुष्कर जसले दुई दशक अघि मात्र सबिनालाई बिहे गरेर मेरो जीवन अन्धकार बनाएको थियो।मेरी प्रेमिका सबिनालाई म बाट खोसेर लगेको थियो।उसलाई धेरैबेरसम्म नियालें।सबिनाको भाग्यलाई सम्झें।अनि आफ्नो।सबैको जिन्दगी भद्रगोल भएको पाएँ।
"सबिना भेट्न आउँछे तपाईंलाई?"-मैले फेरि अर्को प्रश्न सोधें पुष्करलाई।
"को सबिना?"-उसले फेरि मेरो कौतुहलताको हत्या गर्यो।
पुष्करलाई त्यहाँ मानसिक असन्तुलित अवस्थामा पाएर मेरो होसहवासै उडेको थियो।कहाँ,किन र कसरी उसको हालत खराब भयो होला भनेर मेरो मनमा उत्सुकताको ज्वारभाटा आयो।तर उक्त ज्वारभाटालाई छेक्ने कुनै बिकल्प थिएन।उत्सुकतालाई मनभित्रै दबाएर त्यो रात ब्यतित गरें।भोलिपल्ट मलाई लिनलाई
एकजना जवान केटा र केटी आएका रहेछन्।डाक्टरले उनीहरुलाई एउटा पेपरमा हस्ताक्षर गर्न लाए।
"रामनारायण जी तपाईं अब उहाँहरुसित जान सक्नुहुन्छ।"-डाक्टरले मलाई डिस्चार्ज गरेको संकेत दियो।
ती केटा-केटी आएर मेरो चरणमा ढोग गरे।मैले पनि भाग्यमानी हुनु भनेर आशीर्वाद दिएँ।
अस्पतालको संघारबाट बाहिरिनु अघि मैले उनीहरूलाई चिन्ने प्रयत्न गरें तर चिन्न सकिन।
"नानी र बाबुहरु को हौ?मलाई कहाँ लिएर जान लागेका?के हो तिमीहरुको नाम?"-मैले उनीहरुलाई प्रश्न तेर्स्याएँ।
"आउनुस् न आउनुस्।घरमै गएर गफ गरौंला।"-केटाले भन्यो।
उनीहरूले मलाई चिल्लो कारमा चढाएर लगे।सबैकुराहरु मेरा लागि नौला थिए।कोटेश्वरका साँगुरो सडकलाई बिस्तार गरेर धेरै फराकिलो बनाइएको रहेछ।गगनचुम्बी महलहरु बनिसकेका रहेछन्।नेपाल नभएर कुनै विकसित राष्ट्रमा पुगेको भान भयो।चुपचाप बिकासका भौतिक संरचनाहरु हेरेर रमाउन थालें।
"यो नेपाल नै हो बाबू?"-मैले अनौंठो सवाल गरें।
"हजुरलाई बिश्वास लागेन?"-केटीले उल्टै प्रतिप्रश्न गरी।
"खै मलाई त बिश्वासै लागेको छैन यो नेपालको शहर काठमाडौं भनेर।"
उनीहरु एकले अर्काको मुख हेरेर मुसुमुसु हाँसिरहेका थिए।मलाई चोटिलो ब्यंग्य प्रहार गरेको ठानेर म लज्जित भएँ।एकैछिनमा उनीहरुले मलाई एउटा सुन्दर तीनतले भवनभित्र लिएर गए।
"कतै मेरो हत्याको योजना त बनाएका छैनन् यिनीहरुले?"-मैले मनमनै सोचें।
"आउनुस्,आउनुस्।अप्ठ्यारो मान्नुपर्दैन।"-केटीले मुस्कुराउँदै भनी।
जे पर्ला-पर्ला भन्ठानेर फटाफट उनीहरूकै पछि-पछि लागें।सिंढी चढ्दै-चढ्दै म फत्तक्कै गलिसकेको थिएँ।उसै त बूढो तैमाथि कमजोर मान्छे,स्वाँ-स्वाँ गर्दै बल्लतल्ल तेश्रो तल्ला उक्लें।केटीले मलाई हातमा समाएर एउटा कोठातिर लगी।हामी त्यहाँ पुग्दा कोठामा कोही थिएनन् तर ढोका भने खुल्लै थियो।
"यतै बस्नुस् न।"-यति भनेर केटीले मलाई शोफामा बस्न लगाई।
शोफामाथि निकै माथिबाटै जोडले बसेर होला शोफा दुईतीन पल्टसम्म लचक-लचक भैरह्यो।केटा-केटी दुवै खित्का छोडेर हाँस्न थाले।असहज भएर मेरो मुहारमा शरमको तरंग पैदा भयो।मेरो असहज वातावरणलाई सहज बनाउँदै केटीले भनी-
"अप्ठ्यारो मान्नुपर्दैन।जसरी बसे पनि केही फरक पर्दैन।"
केहीबेरमै एकजना ४२/४३ बर्षे आइमाई ट्रेमा चियाका गिलास लिएर उपस्थित भए।शुरुमा मैले खासै वास्ता गरिन।चिया दिइसकेर उनले फटाफट आएर मेरो पाउ छोई।बल्ल मैले उनको अनुहार राम्रोसँग हेर्ने कोसिस गरें।अनुहार बिल्कुलै परिचित थियो।उनी थिई सरिता।पारपाचुके भैसकेको श्रीमतीलाई त्यहाँ देखेर म छाँगाबाट खसे झैं भएँ।केहीबेर म स्तब्ध भएँ,मानौं त्यतिबेला मेरो मुख टालिएको थियो।कसैले केही बोलिरहेका थिएनन्।
"रमन!रीता!"-मैले पालैपालो केटा र केटीहरुको नाम लिएँ।
उनीहरु दुवै आएर मलाई अँगाले।सरिता आँखाबाट अश्रु खसाउन थाली।मैले शीर हल्लाएर सरितालाई पनि नजिक बोलाएँ।उनी पनि आएर मेरो शीरमा सुम्सुम्याउन लागी।केहीबेर हामी सबैले हर्षको अश्रु झार्यौं।
"तिमीहरुसँग दुई दशकपछि भेटेर म अति नै खुशी छु।मैले त तिमीहरुसँग जिन्दगीमा कहिल्यै भेट हुन्न होला भन्ठानेको थिएँ।मलाई कसले अस्पतालमा पुर्यायो र त्यसपछि मानसिक अस्पताल कहिले लग्यो केही याद छैन।"-मैले यथार्थ जान्ने हेतुले भनें।
"शुरुमा कसले अस्पतालमा पुर्यायो,त्यो त थाहा भएन।तर हामीले थाहा पाएर हेर्न जाँदा तपाईं कोमामा हुनुहुन्थ्यो।केही महिनापछि कोमाबाट बाहिर त आउनुभयो तर तपाईंको स्मरण शक्ति र मानसिक सन्तुलन गुमाइसक्नुभएको रहेछ।मैले नै तपाईंलाई मानसिक अस्पतालमा लगेर उपचार गराएँ।"-सरिताले बेलिबिस्तार सुनाइन्।
"मेरो ज्यान बचाइदिएकोमा मुरीका मुरी धन्यवाद सरिता।हुन त म तिम्रो माफीको लायक छैन।सकिन्छ भने मलाई माफ गरिदेउ।म पापी हुँ।घरमा श्रीमती र बालबच्चा हुँदाहुँदै पनि परस्त्रीसँग नाजाय,सम्बन्ध राखेर मैले तिमीलाई घोर अन्याय गरेको छु।मेरो पापको सजाय कहिल्यै दिएर सकिन्न सरिता"-रुँदै सरितालाई अँगालोमा कसें।
"तपाईंको पापको सजाय तपाईंले पाइसक्नुभयो।उपरवालाले सजाय दिनुभयो।आफ्नो पापको प्रायश्चित गरिसक्नुभयो।गल्ती स्वीकार्नुभयो,त्यही नै काफी छ।"-सरिताले प्रफुल्ल भएर भनी।
"अब म जान्छु सरिता।रमन र रीता तिम्रो बाबालाई माफ गरिदेउ।मैले आफ्नो जिम्मेवारी र कर्तव्य बोध गर्न सकेको थिईन।"-म जुरुक्क उठेर भनें।
"कहाँ जाने कुरा गर्नुहुन्छ फेरि?हामी छोडेर नजानुस् बाबा।हामी तपाईंको माया बिना आजसम्म तड्पेर बाँचेका थियौं।"-रमन र रीताले एकै स्वरमा भने।
"हो रमनको बाबा।हामीले माफ गरिसक्यौं हजुरलाई।अब हाम्रो परिवार एक हुनुपर्छ।"-सरिताले बिलौना गर्दै भनी।
"तर••••तर हाम्रो त डिभोर्स भैसक्यो हैन र?कानुनीरुपमा हामी श्रीमान-श्रीमती रहेनौं।"-मैले निराश हुँदै भनें।
"डिभोर्स भएको छैन हाम्रो।हामी कानुनीरुपमा पनि श्रीमान-श्रीमती नै हौं।"-सरिताले मुस्कुराउँदै भनी।
"कसरी?पेपरमा हस्ताक्षर पनि गरेको हैन र?"-मैले व्यग्र हुँदै सोधें।
"त्यो पेपर त नक्कली थियो।यी नपत्याए हेर्नुस्।यसमा भएको हस्ताक्षर मेरो हैन।यो पेपर नै यत्तिकै कम्प्युटरमा टाइप गरेर बनाएको हो।यसमा कुनै वकिल र अदालतको हस्ताक्षर र छाप छैन।मैले तपाईंलाई सवक सिकाउन नक्कली डिभोर्स गरेकी थिएँ।"-उनले एउटा पेपर देखाउँदै भनी।
नभन्दै पेपर नक्कली रहेछ।हाम्रो सम्बन्ध अझै जीवितै थियो।फेरि पनि मैले सरितालाई अँगालोमा बेरें।रमन र रीता हाँस्दै पनि थिए र खुशीको अश्रु खसाल्दै पनि थिए।
"अनि यस्तो ठूलो घरमा भाडा तिरेर बस्न सकिन्छ र?अर्को सानो घरमा सर्नुपर्छ।भोलि नै म कोठा खोज्न जान्छु।"-मैले उत्तेजित हुँदै भनें।
"कतै केही खोज्नुपर्दैन रमनको बाबा।"
"किन?"
"यो हाम्रै घर त हो नि।"
अचम्म मान्दै घरको चारै भित्तातिर आँखा डुलाएँ।
"हो र?कसरी बनायौ यत्रो घर?"
"हाम्रो बिहेमा बाबा-आमाले दिनुभएको पैसामा थपथाप गरेर जग्गा किनें।कलेज पढ्दै छोरा र छोरीले काम पनि गरेर कमाए।मैले पनि एउटा स्कुलमा पढाएँ।बच्चाहरूलाई ट्युसन पढाएँ-तर तपाईंको जस्तो ट्युसन हैन।माइतमा बाबाले सानो टुक्रा जग्गा पनि बेचेर सहयोग गर्नुभयो।सबैको मिहिनेतले बनेको घर हो यो।तपाईंले केही गर्नुपर्दैन,हामीलाई साथ दिए पुग्छ।"
सरिताको कुराले मलाई आश्चर्यचकित बनायो।परिवारको सबै सदस्य एक भए जस्तोसुकै गाह्रो काम पनि सजिलैसँग गर्न सकिंदोरहेछ भन्ने लाग्यो।त्यो दिनदेखि हाम्रो परिवार एक भयो र म लाज-शरम पचाएर सरिता,रमन र रीतासँगै बस्न थालें।
           एकदिन म सिकिस्त बिरामी भएर ललितपुरको बि एण्ड बि अस्पतालमा गएँ।म अस्पतालको।बेडमाथि पल्टिरहेको थिएँ।करीब छ फिट अग्लो र काले डाक्टर ढोकाबाट भित्र प्रबेश गर्यो।त्यो अनुहार मेरो लागि कता-कता परिचित झैं लाग्यो।
"अहो!बाबा तपाईं?दर्शन बाबा!"
उसले सरासर आएर मेरो पाउमा ढोग गर्यो।म हेरेको हेर्यै भएँ।एकछिन त मैले केही भन्नै सकिन र स्तब्ध भएँ।
"यहाँ कहाँबाट कसरी आउनुभयो बाबा?के भयो तपाईंलाई?"
"बाबु राज!"-मेरो मुखबाट उसको नाम बिस्क्यो।
"आज म अत्यन्तै खुशी छु बाबा।धेरै साल पछि हजुरको मानसिक स्थिति सन्तुलित पाएर।म अमेरिका जानको लागि तपाईंकै प्रतिक्षामा थिएँ।तपाईंको मोबाईलमा फोन गर्दा अर्को एकजाले उठाएर तपाईं दुर्घटनामा पर्नुभएको कुरा गर्यो।म हतार-हतार गएर तपाईंलाई उठाएर अस्पतालमा पुर्याएँ।तपाईंलाई होस आएन।त्यस्तो अबस्थामा तपाईंलाई छोडेर म अमेरिका जाने स्थितिमा थिईन।छ महिना पछि तपाईं कोमाबाट बाहिर आउनुभयो तर मानसिक सन्तुलन गुमाइसक्नुभएको रहेछ।तपाईंलाई मानसिक अस्पतालमा भर्ना गरेर म अमेरिका जाने तरखरमा थिएँ।अमेरिका जानु अघि आफू पढेको र तपाईंले पढाउनु भएको स्कुलमा सरहरुसँग भेटघाट गर्न गएँ।मलाई उहाँहरुले सानो कार्यक्रम राखेर बिदाइ गर्नुभयो।सो बिदाइ कार्यक्रममा मैले रामनारायण सरकै योगदानको कारण अमेरिका जस्तो देशमा डाक्टर पढ्ने मौका पाएको कुरा ब्यक्त गरें।संयोगबश सरिता म्याडमले त्यही स्कुलमा पढाउन थाल्नुभएको रहेछ।कार्यक्रम समापनपछि उहाँले तपाईंको बारेमा सोधपुछ गर्नुभयो।मैले मानसिक अस्पतालमा लगेर तपाईंसँग भेट्टाइदिएँ।केही दिनपछि म अमेरिका गएँ।५/६ बर्ष उतै बसें र स्वदेश फर्कें।स्वदेश आएपछि पनि तपाईंलाई भेट्न गएँ तर स्थिति पहिलेको जस्तै थियोे।"
राजको कुराले मलाई पनि हर्षित बनायो।दुई दिन त्यही बसेर उपचार गरेपछि मलाई सन्चो भयो।
"बाबा!आज मसँग मेरो घर जानुपर्छ।तपाईंले मेरो लागि कति गर्नुभयो तर मैले केही गर्ने मौका पाएको छुइन।एकदुई घरमा लगेर तपाईंको सेवा गर्ने मौका दिनुस् न बाबा।"
"धन्यवाद राज बाबु।तिमीले यति भन्यौ र मेरो दिल खुस भयो।अरु कुनै दिन आउँछु नि है?"
"भविष्य कसले देखेको छ र बाबा?पछि न हाम्रो भेट नै नहुने पो हो कि,के थाहा?आजै जानुपर्छ मेरो घर।"
राजको अनुरोधलाई टार्न नसकेर म उसको पजेरोमा बसेर गएँ।जानुभन्दा पहिले घरमा सरितालाई फोन गरेर जानकारी दिएँ।दरबार जस्तो महल रहेछ राजबाबुको।उसको प्रगति देखेर मेरो आँखाबाट हर्षको अश्रु बग्यो।उसले मेरो हात समाएर भित्रै लग्यो।
"आमा!यहाँ हेर्नुस् त हाम्रो घरमा को आउनुभएको छ।"-ढोका बाहिरबाट राजले उसको आमालाई भन्यो।
"जो भए पनि भित्रै लिएर आउ न बाबु।"-भित्रबाट एकजना आइमाईको आवाज आयो।संघार नाघेर भित्र के प्रबेश गरेको थिएँ,एक परिचित अनुहार ठिङ्ग उभिएको थियो।त्यो अनुहार थियो-सबिनाको।झन्डैले मेरो ह्रुदयघात भएको।उनको अनुहारमा पनि एकाएक परिवर्तन आयो।
"यादव सर!तपाईं?"-उनले अनौंठो मान्दै भनी।
"सबिना!तिमी?"-मैले पनि उनको नाम लिन पुगेछु।
"के तपाईंहरु एक-अर्कालाई पहिलेदेखि चिन्नुहुन्थ्यो?"-राजले आश्चर्यचकित हुँदै सोध्यो।
"हो,हाम्रो चिनजान पहिलेदेखि नै थियो।"-सबिना र मेरो एकै स्वर भयो।
"मैले जुन सरको बारेमा गुणगान गाउँथें नि,त्यो सर उहाँ नै हुनुहुन्छ।उहाँको साथ-सहयोग नपाएको भए म आज यो स्थानमा हुने थिईन।"-राजले भन्यो।
"हामीलाई यत्तिको साथ र सहयोग गर्नुभएकोमा हामी तपाईंप्रति आभारी छौं।राम सर मात्र भन्थ्यो राजले तर पूरा नाम कहिल्यै भनेको थिएन।"-सबिनाले भनी।
"बसेरै कुरा गरौं न बाबा।"-राजले भन्यो।
राजले मलाई बाबा भनेको सुनेर सबिनाले मेरो अनुहार पढ्न थाली।एकैछिनमा उनको शीर निहुरियो।तर मलाई अझैसम्म अचम्म यो कुरामा लागिरहेको थियो कि राजले उसको बाबा हुनुहुन्न भनेको थियो।मेरो मन उनीहरुको रहस्यमय कुरा थाहा पाउन व्यग्र थियो।
"अनि पुष्करजीलाई भेट्न जाँदैछौ सबिना?"-मैले फ्याट्टै सोधिहालें।
सबिनाले केही नभनीकन भुईंतिर मात्र हेरिरही-मानौं उनले कुनै ठूलो पाप गरेकी छे।राज पनि अचम्म मान्दै घरी मलाई त घरी सबिनालाई हेर्न थाल्यो।उसको आँखामा एउटा अनौंठो खालको कौतुहलता थियो।
"को पुष्कर"-राजले प्रश्न गर्यो?"
राजको प्रश्नको उत्तर न त सबिनाले दिई न मैले दिन सकें।झनझन राजले उनकी आमा अर्थात सबिनालाई शंकाको नजरले हेर्न थाल्यो।
"मम्मी!भन्नुस् न को पुष्कर?"
"तिम्रो बाबा बाबु।"
"मेरो बाबा?"
"हो बाबु तिम्रो बाबा।"
"अनि मम्मीले त बाबा पहिल्यै स्वर्गेबास हुनुभयो भन्नुभएको हैन र?फेरि यो बाबा कहाँबाट आयो?"
"मलाई माफ गर बाबु।तिम्रो दिमाग र पढाईलाई असर पर्ला भनेर मैले एउटा ठूलो झूट बोल्नुपर्यो।"
"कस्तो झूट?"
"कस्तो झूट?"-मैले पनि राजको प्रश्नलाई साथ दिएँ।
सबिनाले एकछिन सुईया सुस्केरा हाली र केहीबेरपछि बोल्न थाली।
"राज एक बर्षको हुँदा हामी काठमाडौं आयौं।हामीसँग भएको पैसा सकिन लागिसकेको थियो तर पुष्करले जागिर पाउन सकेको थिएन।राज त्यस्तै दुई बर्षको हुँदा पुष्कर नेपाल सेनामा भर्ती भयो।भर्ती भएर उसको तालिम चलिरहेको थियो तर अचानक पर्खालबाट लडेर उसको शीरमा गम्भीर चोट लाग्यो।चोट त अस्पतालमा उपचार गरेपछि निको भयो तर उसको मानसिक स्थिति नाजुक हुँदै गएर कसैलाई नचिन्ने भयो।कपडा फुकालेर नांगै भएर सडकमा भौतारिन थाल्यो।त्यसपछि मैले उसलाई मानसिक अस्पतालमा भर्ना गरिदिएँ।अहिलेसम्म उसको मानसिक स्थिति नाजुकै छ।उसको कारण राजलाई केही असर नपुगोस् भनेर उसलाई अहिलेसम्म ढाँट्न बिबश छु।"
यति भनेर सबिना रुन थाली।सबिना पुनः बोल्न थाली।
"पुष्करको हालत खराब भएपछि म र राज बेहाल भयौं।एस एल सी पनि पास गर्न नसकेकोले मैले यत्रो ठूलो शहरमा रोजगार पाउन सकिन।ईँटा बोक्ने र बालुवा चाल्ने काम गरेर बल्लतल्ल खाने र कोठाको भाडा तिर्ने रकमको जोहो गर्ने थिएँ।स्कुलमा राजको फीस समेत तिर्न सकिन।राजको भनाइ अनुसार एकजना राम सरले सहयोग गर्नुहुन्छ भन्थ्यो।तर राम सर नै रामनारायण सर होला भनेर मैले कल्पनासम्म पनि गरेकी थिईन।"
"त्यसो भए हामी बाबालाई भेट्न जाऔं न मम्मी।"-राजले आतुर देखाउँदै भन्यो।
राजको आग्रह अनुसार हामी मानसिक अस्पतालमा पुष्करलाई भेट्न गयौं।बिडम्बनाको कुरा-उसले न त उसकी श्रीमती र छोरालाई चिन्यो न मलाई नै।
"यो देशको रक्षाको लागि यो ज्यान आहुती दिन तयार छु।ए आतंककारी हो!ज्यान जोगाउनलाई भाग!"
"एके-४७ को बुलेट छातीमा लागेपछि चाल पाउँछौ देशद्रोही हो!"
पुष्कर जोड-जोडले चिच्याउँदै थियो।हामी अलमल्ल परेर हेरिरह्यौं।हामी उसको नजिक गएर नमस्कार गर्यौं।
"पुष्कर!हाम्रो छोरा लिएर आएकी छु।धेरै साल तपाईंबाट टाढा राखेकोले क्षमा प्रार्थी छु।"-सबिनाले अश्रु झार्दै भनी।
"दर्शन बाबा!"
यति भन्दै राजले पुष्करको पाउमा ढोग गर्यो।उ ट्वाल्ल परेर हेरिरह्यो।उसको लागि लगिएको खाना डाक्टरलाई छोडेर हामी बाहिरियौं।हामी सरासर सबिनाकै घरमा गयौं।केहीबेरमा सरिताले फोन गरेर घर आउनु भनी।सबैको सामू सबै कुरा ऐना झै छर्लङ्ग भैसकेका थिए।रहस्यमय कुराहरु सामू आइसकेका थिए।म सबिना र राजबाट बिदा भएर जान लागें।संघारमा पाइला मात्र टेकेको थिएँ,राजले आफ्नो आमालाई प्रश्न तेर्स्यायो।
"मम्मी!तपाईंहरु दुवै जना सेतो वर्णको हुनुहुन्छ अनि म चाहिँ किन कालो?"
उसको प्रश्न सधैंको लागि अनुत्तरित नै रह्यो।घरमा पुगेपछि मनमनै सोचें-"राज यस्तो फूल हो जसले हरपल मेरो मुटुमा काँडा बनेर घोचिरहनेछ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...