Wednesday, 31 August 2016

मिस यु

एउटा सरकारी कार्यलयमा
उ अधिकृत अर्थात हाकिम
आमा जमानामै स्वर्ग पुगिन्
सोचे जस्तो हेरचाह
गर्न नसकिने सोचेर
एउटा भएको बाबालाई
बृद्धाश्रममा पुर्याइदियो
नितान्त ढुक्क थियो
बाबाको स्याहार पुगेकोमा
प्रत्येक महिना जान्थ्यो भेट्न
एक घन्टा जति संगै बिताएर
आफ्नो महलमा फर्किन्थ्यो
अति ब्यस्त थियो हाकिम सा'ब
अरु ब्यबसायमा संलग्न भयो
पैसाको पछि रफ्तारमा दौड्यो
पैसाको कालो पर्दाले
उसका आँखा टालिए
उता बृद्धाश्रममा बाबा भने
उचित हेरचाह नपुग्दा
कमजोर हुँदै गयो दिनप्रतिदिन
एकैपटक धेरै रोगहरुको
सिकार हुन पुग्यो
अकालमै स्वार्गारोहण गर्यो
बाबाको प्यारो छोरा
क्षणिक रुपमा शोकमग्न भयो
तत्कालै उ सामान्य भयो
मोजमस्तीमै थियो हिजो सम्म
आज कुसे-औंसीको दिन
अर्थात बाबाको मुख हेर्ने दिन
फेसबुकको भित्तामा
एउटा पुरानो फोटो पोस्ट गरेर
लेखेको रहेछ ज्ञानी छोराले
"मिस यु बाबा।"

ओझेलमा

साथी संग एउटा कुरा गर्न चाहन्छु
ड्युटी बाट कोठा तिर सर्न चाहन्छु
के गर्नु साथी भाइ हो यस्तै हाल छ
आज लाई ओझेलमा पर्न चाहन्छु।

झोला बोकेर

आफू भन्दा ग्रहुगो झोला बोकेर
गणितको अप्ठ्यारो सुत्र घोकेर
के गर्न खोजेका हुन् ती बिद्यार्थीले
कलिलो दिमागमा किला ठोकेर।

तारा खसाउछन्

बिहे गर्नु भन्दा अघि तारा खसाउछन्
प्रियसीले मागे जति,सारा खसाउछन्
के देख्नु पर्यो हजुर यो कलिको युगमा
बिहे गरिसके पछि बङ्गारा खसाउछन्।

सुत्र

बीज गणितका समीकरणहरु
जति हल गर्दै गए
जिन्दगीका समस्याहरु
उति उति बढ्न थाले
बाबू र छोराको उमेर
सजिलै पता लगाइयो
तर मनुष्यको भविस्य अनि
वास्तविक आयु भने
पत्ता लाउन जानिएन
ए प्लस बी होल स्क्वायर
इज इक्वायल टु
ए स्क्वायर प्लस टु ए बी
प्लस बी स्क्वायर
सुत्र जति रटे पनि
व्यवहारमा कतै काम लागेन
दु:ख भगाउने सुत्र
बनाउन कहिल्यै सकिएन
सुत्रको रस निकालेर
प्यास मेट्न पनि सकिएन।
अंक गणितका हिसाबमा
धेरै नाफा र नोक्सान निकालियो
ठुल्ठुला धनराशिको
ब्याज निकालियो
तर आफ्नै जिन्दगीको
हिसाब निकाल्न सकिएन।
ऐच्छिक गणितमा
विभिन्न थिओरम र साध्यहरु
रट्दा रट्दा हैरान भइयो
पाइथागोरस साध्य प्रयोग गरेर
जमिनमै बसी बसी
मान्छे,रुख र चराको
उचाइसम्म निकाल्न भ्याए
समुद्रको गहिराइ
सजिलै निकाल्न सिके
तर आफ्नो ब्यक्तित्वको उचाइ
न त बनाउन सके
न त पत्ता लगाउनै सके
मान्छेको भावना अनि
संबेदनाको गहिराई
कहिल्यै नाप्न सकिएन।
ज्यामितिमा दुईवटा
समानान्तर रेखाहरु
एक-आपसमा कहिल्यै
भेटिदैनन् भनेर पढियो
वास्तविक जिन्दगीमा
म र सुख समानन्तर रेखा भए
कहिल्यै भेटिएनन् आपसमा।
मेरो भाग्य म बाट
१८० डिग्रीमा टाढियो
ईच्छा र चाहनाहरु
९० डिग्री हुँदै चुलिए
तर बशमा पार्न सकिएन
खुशी र सुखको परिधिलाई
कम्पास द्धारा खिचिएको
गोलाकार बृत भित्र
कैद गरेर राख्न सकिएन
न त स्केल द्धारा बनाइएको
त्रिभुज र चतुर्भुजका परिमिती भित्र नै।
विभिन्न थरीका रेखाहरु
कोरियो खाली पानामा
तर आफ्नो भाग्यरेखा हेर्न
धामीझाँक्री कहाँ धाउनुपर्यो।
ईतिहासका धेरै पाना पल्टायौ
अर्थात भूतहरु पढ्यौ
वर्तमान पल्टाउन भुल्यौ
र भबिस्य ओझेलमा पर्यो
रास्ट्र निर्माता पृथ्वीनारायणको
गुणगान गाउनमा ब्यस्त भयौं
रास्ट्रको बिकास गर्न बढेनौ
सिर्फ बिनास तर्फ बढ्यौं
विभिन्न राजा,महाराजाहरुको
जन्म-मृत्यु मिति याद नहुँदा
परिक्षामा अनुत्तीर्ण भईन्छ।
पृथ्वी गोलाकार छ र
सुर्यको वरिपरि परिक्रमा गर्छ भनेर
अध्ययन गरिन्छ भूगोलमा
त्यसो भए घुम्दै फिर्दै अमेरिका
मेरो सामू किन आएन?
बर्सौ पहिले बिछोडिएको
केटी-साथी किन अझै भेटिएन?
भुमध्यरेखाले पृथ्वी लाई
दुई भागमा बिभाजन गर्यो
तर यहाँ सयौं यस्ता
कृत्रिम रेखा हरु छन्
जसले पृथ्वी लाई
टुक्राटुक्रा बनाएका छन्
एक टुक्राबाट अर्कोमा जान
राहदानी नामक हतियार
अनि भिसा नामको
प्रबेश-पत्र चाहिन्छ
वास्तवमा सिंगो पृथ्वी नै
समस्त मानव जातिको घर हैन र?
ईटा,पत्थर र माटो बाट निर्मित
स-साना तलाहरु सिरानी मात्र हुन्।
नेपालीमा धेरै कथाहरु पढियो
तर नेपालीहरुको वास्तविक
जीवनकथा लेखिदिने कोही भएन
पढिदिने कोही भएन।
बिज्ञानमा विभिन्न अणुहरुको
पारमाणविक भार निकालियो
तर जिन्दगीको सार निकाल्न
कुनै पनि बिज्ञान सफल भएन
चार्ल्स डार्बिनको सिद्धान्तले
बाच्नको लागि संघर्ष गर्छ
भनेर मात्र सिकायो
संघर्ष गर्ने तरीका सिकाएन
न्युटनको नियमले हामीलाई
स्याउ किन खस्छ भनेर
कारण मात्र सिकायो
स्याउको बोट कसरी रोप्ने
कसरी स्वस्थ स्याउ फलाउने
कसरी सुरक्षित टिप्ने
कसरी भन्डारण गर्ने
केही पनि सिकाएन।
बिज्ञानको प्रयोगशालामा
विभिन्न ग्यासहरु बनाइयो
परिक्षणहरु पनि गरियो
हजारौं भ्यागुताहरु लगेर
धेरै शल्यक्रिया गरियो
तर गरिबी,अभाव र तनाबले
न त डाक्टर न ईन्जिनियर।
भैसकेको डाक्टरले पनि
बिरामीको उपचार गर्ला
शारीरिक रोग निको पार्ला
तर मनको रोग निको पार्दैन
नक्सा बनाउला ईन्जिनियरले
तर आफ्नै जीवनको नक्सा
कोर्नलाई असमर्थ छ उ।
तथ्यांकशास्त्र बाट बिश्वको
जनसंख्याको लेखाजोखा गर्ला
तर मानव जातिको
दु:ख र पीडाको तथ्यांक
कुनै हालतमा निकाल्न सक्दैन।
अर्थशास्त्रले पैसा कसरी
आर्जन गर्ने भनेर सिकाउला
तर कसरी खुशी हुने भनेर
सिकाउन सकेको छैन
त्यसैले मानव जातिले
आफ्नै पैसाले दु:ख कमाएक छन्
शत्रु कमाएका छन्।
समुद्रमा जहाज चले जस्तै
जादैछ र पाईला मेट्दैछ
भूतमा ग्रहन गरेका ज्ञान
बर्तमान सम्म आउँदा
कुनै पनि प्रष्ट याद हुन्न
नत्र ए बी सी पढी हेरौं न
क,ख,ग,घ,,,पढी हेरौं त
बच्चामा जस्तो खरर आउँछ?
हो,हामी नेपाली हरु
पढ्दा-पढ्दै बिर्सेका
पढ्दा-पढ्दै बिग्रेका।
हाम्रो शिक्षा प्रणालीले
आश मात्र देखायो
सपना मात्र देखायो
तर पूरा गर्न दिएन सपना
केही बन्न खोजेको बिद्यार्थी
अर्कै भएर निस्कन्छ
जे भएर निस्के पनि
हाम्रो शैक्षिक प्रणाली लाई
हार्दिक धन्यवाद दिन चाहन्छु
किन भने आज मलाई
कवि बनाएको छ।

Tuesday, 30 August 2016

सेलायो

मान्छेको चिसो मुटुले शहर सेलायो
थोरै ती तातो मुटुको असर सेलायो।

नकारात्मक विषयले पाई रह्यो चर्चा
चर्चा हुनु पर्ने ताजा खबर सेलायो।

चाहनाको जहाजले संसार घुमे पनि
यथार्थमा कमजोर हुँदा रहर सेलायो।

नौ-जवान युवाहरु सबै बिदेशिदा
स्वदेशका नदी,नाला,बगर सेलायो।

कसले घात गर्यो त भनी खोजी गर्दा
आफन्तनै घाती देख्दा नजर सेलायो।

तातिएर हिंडेको थे लक्ष्य भेटाउन
गन्तव्यमा नपुगेरै सफर सेलायो।

कमाउन बिदेशमा गएको श्रीमान
बाकसमा फर्के पछि अधर सेलायो।

Monday, 29 August 2016

डेबिट फल्स

महेश र सम्झनाले प्रेम विवाह गरेर सुखमय घरजम बसाए।उनीहरु दुवै अत्यन्तै खुशी थिए विवाह बाट।उनीहरु आफ्ना जोडीलाई राधा-कृष्ण,लैला-मज्नु,रोमियो जुलियट या मुना-मदनका जोडीहरु भन्दा कम ठान्दैनथे।समयको गति र चक्र संगै उनीहरूबाट एक छोरा र एक छोरी गरि दुई सन्तान समेत भए।दुई सन्तान-ईश्वरको बरदान भने झैं परिवार सानो र सुखी थियो।सम्झना घर-व्यवहार हेर्थी भने महेश एक कन्सल्टेन्सीमा काम गर्थ्यो।आर्थिक रुपमा निकै मजबुत थियो परिवार।समाजमा पनि उनीहरुको परिवार एउटा नमूनाको रुपमा स्थापित भैसकेको थियो।तर बिस्तारै सम्झना प्रति महेशको व्यवहार र दृस्टिकोणमा परिवर्तन हुँदै गएर १८० डिग्रीमा पुग्यो।खै कसको आँखा लाग्यो त्यो सुखी परिवारमा।घरमा पनि सदाको भन्दा ढिलो आउने र समय पनि कम दिन थाल्यो आफ्नो परिवारलाई।घिउ जस्तो पतिको व्यवहारमा आएको आधीबेहेरीको मध्यनजर राखी सम्झनाले महेशलाई अरु केटीसित लागेको शङ्का गर्न थाली।आफ्नो पति कसैले खोसिदेला भनेर सम्झना दिन प्रतिदिन चिन्चित भएर दुब्लाउन थालिन्।आफ्नो पतिलाई कसरी बशमा राखेर फुत्कन नदिने भनेर सोचमग्न हुन थालिन्।उता महेश भने एउटी शोभा नामकी केटी सित दिनभरी फेसबुकमा च्याट गर्न थाल्यो।शोभासित धेरै गाढा सम्बन्ध स्थापित भैसकेको थियो।उनीहरु एक-अर्काको प्रेमको महासागरमा चुर्लुम्म डुबिसकेका थिए।हुने-नहुने,स्लील-अश्लील सबै थरीका कुराहरु हुन थाल्यो आपसमा।तर शोभाले आफ्नो मोबाइल नम्बर भने दिएकी थिईनन्।जुन दिन महेश संग प्रत्यक्ष भेट हुन्छ,त्यही दिन सबै कुरा दिने र सर्बस्व सुम्पने बाचा गरेकी थिइन्।
यता घरमा भने महेश र सम्झनाको बीचमा दिनहुुँ जस्तो खट्पट हुँदै-हुँदै भयावह कलह र द्वन्द शुरु हुन थाल्यो।खाना पनि संगै नखाने र सुत्न पनि अलग सुत्न थाले।त्यतिन्जेल सम्ममा सम्झनाले यकिन गरिसकी कि आफ्नो पति अन्तै सल्किसक्यो भनेर।तर उनी धैर्य भएर आफ्नो घरायसी काममा व्यस्त हुन थाली।तर एकदिन महेश र शोभाले अन्ततः बौद्धको जी क्याफेमा भेट्ने सल्लाह गरे।भेटेपछि आफूलाई सधैंको लागि आफ्नो बनाउनुपर्ने शर्त राखेकी थिई शोभाले र महेशके उक्त शर्त लाई सहर्ष स्वीकारेर उनलाई बिहे गर्ने वचन पनि दिएका थिए।जी क्याफेमा भेट्ने योजना अनुरुप महेश तोकेको समय भन्दा निकै छिटो त्यहाँ पुगेर शोभाको प्रतिक्षा गर्न थाल्यो।तोकेको समयको सिमा नाघ्न लागिसकेको थियो-महेश उत्सुक र उत्साहित हुँदै शोभाको बाटो हेर्न थाल्यो।एक,दुई,तीन घन्टा हुँदै समयले उसलाई धेरै पछाडि छोडिसक्यो तर शोभाको अनुहारसम्म देख्न पाएन उसले।शोभा कहिल्यै आईनन् त्यहाँ।महेशले आफूले शोभाबाट धोका खाएको ठहर गर्यो।फेसबुक खोलेर धेरै वटा म्यासेज पठायो उसले तर एउटा पनि उत्तर आएन।धोकारुपी पीडाले उसको मुटु भत्भती पोल्न थाल्यो।डाको छोडेर रुन थाल्यो।खहरेरुपी आँसुको भेल आँखाका डिल लाई भत्काउला झैं गरि उर्लन थाल्यो।सुन्निएका मोटा-मोटा आँखा लिएर महेश भावविह्वाल र निराश हुँदै घर फर्क्यो।घर पुग्दा सबै सुतिसकेका थिए।बिहान भोकै निस्केको मान्छे क्याफेमा पनि केही नखाएकोले भोको पेट बटारिएको थियो र मुसा दौडे जस्तो आवाज आउदै थियो।उसले एक बर्ष अघिको सम्झनाको हातको खाना सम्झ्यो र भुक्लुक्क सुत्यो।बिस्तारामा यताउता पल्ट्यो तर भोक,झोक र धोकाको मिश्रित पीडाले छट्पटिरह्यो।पूरा रातभरीमा ४0/५० पल्ट ब्युझिदै सुत्यो।उ पश्चातापको ज्वालामा दनदनी जल्न थाल्यो।आफ्नो गल्ती र सम्झनालाई गरेको तिरस्कारको हृदय देखि मनन गर्यो।बिहानै महेशले सम्झनाको हातबाट अघिल्लो रातको बासी भात र चिया जिब्रो पड्काइ-पड्काइ खायो।सम्झनाले भने उसलाई दयाको नजरले हेर्यो।महेशको दिलमा बिस्तारै सम्झना प्रतिको मायाको मुना टुसाउन थाल्यो तर उसले सम्झना संग माफ माग्ने हिम्मत भने जुटाउन सकेन।सम्झनाको मन मरिसकेकोले माफी पाउदैन भन्ने बुझिसकेको थियो उसले।तैपनि सम्झनाले आफ्नो दायित्व र कर्तव्य नभुलीकन महेशको सेवा निस्वार्थ गरिरही।महेशले फेसबुक चलाउन सम्म पनि छोडिसकेको थियो।उसको मुटुमा लागेको घाउको खाटो अहिलेसम्म राम्ररी पुरिसकेको थिएन।अफिसमा हुँदा महेशले एकदिन पुनः फेसबुक खोलेर हेर्यो।उसको नजर रातो अंकमा आएका थुप्रै नोटिफिकेसनतिर गयो।एउटा नोटिफिकेसन शोभाले आफ्नो प्रोफाइल-पिक्चर परिवर्तन गरेको पनि रहेछ।उसको मुटुको धड्कन तेज हुन थाल्यो।कौतुहल हुँदै हतार-हतार क्लीक गरेर हेर्यो-आफ्नै दुई छोराछोरीको साथमा आफ्नै श्रीमतिको फोटो प्रोफाईल-पिक्चरको रुपमा देखेर महेशको होस-हवासै उड्यो।उ एक्कासी डेबिट फल्सबाट खसे झैं भयो।

Sunday, 28 August 2016

रिसेप्सनिस्ट

म रिसेप्सनिस्टको रुपमा एउटा सपिङ मलमा काम गर्थें।एकदिन वाथरुम गएर फर्किने क्रममा बुट्टेदार टायल माथि हजार-हजार रुपियाँका दुइटा नोटहरु यता र उता लडिरहेको देखे।ती नोटहरुको हालत देख्दा यस्तो लाग्थ्यो कि ती नोटहरु बिना मालिक अलपत्र भएर साहारा खोजिरहेका छन् ।टपक्क टपक्क टिपेर गोजीमा हाल्न मन लागेको थियो तर जडान गरिएको सिसी टीभी क्यामेरा त्यतै तेर्सिएको कारण आफू फस्न चाहन्न थे।म अलि परैबाट हेरेर मात्र टोलाइरहे।यत्तिकैमा एकजना मान्छे आएर टप्प टप्प टिपेर नोटहरू गोजीमा हाल्न लागे। मैले उसलाई परैबाट बोलाएर त्यो पैसा रिसेप्सनमा बुझाउनु भने।उ पनि अलि डराएर रिसेप्सनमा आएर बुझाइहाल्यो।मैले एउटा पानामा उसको सबै नालीबेली लेखेर हस्ताक्षर गराए।दिनभरी पैसा लिन कोही आउला कि भनेर प्रतिक्षारत बसे तर त्यो दिन पैसा खोज्न या दाबी गर्न कोही पनि आएनन्।पैसाको भोको मलाई के चाहियो र,मेरा तीन नेत्र भैसकेका थिए।पैसा बुझाउनेको बिस्तृत विवरण भएको कागज कच्याक-कुच्युक पारेर डस्टबिनमा फालेर ती दुई हातीहरु दोबारेर खल्तीमा हाले।

Saturday, 27 August 2016

रहर किन्दैछु

तिम्रो लागि अलिकति रहर किन्दैछु
मरुभूमिमा खुशीको लहर किन्दैछु।

सच्चा प्रेमी-प्रेमिकाको बस्ती बसाउन
घृणा देखि धेरै टाढा शहर किन्दैछु।

बिरानो परदेशमा अश्रु भेल बग्यो
अश्रु लाई बगाउने नहर किन्दैछु।

सगरमाथा बनी सक्यो तिम्रो यादको
याद लाई मेटाउने जहर किन्दैछु।

हर क्षण दु:खमा नै बित्यो यो जिन्दगी
दु:ख गरेर सुखको प्रहर किन्दैछु।

म्यासेन्जर

   सरिताको मोबाइल भुकम्प आए झै गरी कम्पन हुँदा झसङ्ग हुँदै मोबाइल खोलेर हेर्छे।दुबई बाट प्रमोदको म्यासेज आएको थियो फेसबुक-म्यासेन्जरमा।
प्रमोद:हाई डियर,के छ?
सरिता:हेल्लो बेबी,म एकदम ठिक छु।आजभोलि तिमीलाई मेरो याद नआएर फोन नगरेको हो?म्यासेन्जरमा पनि कहिलेकाही मात्र आउछौ।
प्रमोद:हैन डियर।याद र सम्झना त आइरहन्छ नि।हदैको माया लागेर आउँछ नि तिम्रो,तर के गर्नु परदेशीको जिन्दगी,भनेको बेला अनलाइनमा आउनै भ्याउदिन-कामको ब्यस्तताले।
सरिता:ठिकै छ नि बेबी,बेला बेलामा सम्झिन्छौ,म त्यसैमा खुशी छु।बरु भन तिमी कहिले आउछौ नेपाल?
प्रमोद:सायद अवको दुई महिना पछि आउछु होला।छुट्टी हालेको छु,छुट्टी पास भयो भने अवश्य आउनेछु।बरु यसो गर न-एउटा किस देउ न।
सरिता:मुआ,,,,,,,,,,,,,,,
प्रमोद:मुआ,,,,,,,,,,,,,,,,,
सरिता:आजभोली कलेज पनि छुट्टी छ,फुर्सद भएकोले तिम्रै याद आइरहन्छ।
        यत्तिकैमा कोठा तुवाँलोले छाए जस्तो  हुन्छ र केही डढेको जस्तो गन्ध आउँछ।सरिता हतार हतार गएर खरानी भएको तरकारीको कराइ दुइटा टालाले पक्डेर ग्यास चुलोबाट बाहिर निकालेर जोड्ले पानीको धारा भएको वासिङ बेसिनमा फाल्छे।

बलात्कार

ए किरा-फट्याङ्ग्रा हो!
खुब साहसी छौ हैन तिमीहरू ?
तिमीहरूको घमण्ड र साहसलाई
हो,म मान्दछु
तर आफ्नो औकातलाई देखाउन
मेरो शीरमाथि नै टेक्नुपर्छ?
आफ्नो शक्ति प्रदर्शन गर्ने ठाउँ
मेरै छाती र शीर भेट्टायौ?
यदि तिमीहरू साच्चिकै
साहसी र बुद्धिमान छौ भने
बाझो जमिनमा अन्न उमार
पत्थर फोडेर हीरा निकाल
तर तिमीहरू त
म माथि चढ्न उद्दत छौ
म माथि चढेर आफूलाई
बहादुरीको संज्ञा दिन्छौ
कति जना चढेर फर्क्यौ
कति जना चढ्ने क्रममै
आफ्नो ज्यानै समर्पित गर्यौ
कहिल्यै फर्केर गएनौ
कति त घाइते भएर फर्क्यौ
तर सबै दोस म माथि थुपार्यौ
म आफैंमा एउटा प्रकृति हु
हो,तिमीहरूको नजरमा
म सुन्दर छु,शित्तल छु
बरफ जमेको छ मेरो तनमा
तर मेरो कारणले
कसैको ज्यान जान्छ भने
त्यो गल्ती मेरो हो र?
तिमीहरूलाई आफ्नो
नाम,दाम,सान चाहिएको छ
कहिलेकाही चल्मलाउछु
खल्बलिन्छ बाहिरी चर्म
हावा र हुरी आएर
हलचल ल्याइदिन्छ
यो विषयमा तिमीहरू
अनबिज्ञ अबश्य छैनौ
तर पनि दुस्साहस गर्छौ
माथि माथि उक्लन
ज्यानको प्रवाह नगरी
घसृरहन्छौ,झुन्डिरहन्छौ
सहानुभूति प्रकट गर्नु सिवाय
केही मद्दत गर्न सक्तिन
मेरो पनि आफ्नै सान छ
आफ्नै इज्जत,मान छ
आफ्नै प्राकृतिक नियम छ
यी नियमहरुको उल्लंघन
म कदापि गर्न सक्तिन
तर म निस्वार्थ
अटल भएर खडा हुन्छु।
कतै डोरी तन्काएर
कतै किला गाडेर
कतै खनेर,कतै भत्काएर
आफ्नो अनुकूलको
मार्ग बनाएका छौ
तैपनि चुपचाप बसेकै छु
हरेक हर्कतहरु सहेकै छु।
म माथि चढेर मज्जा लिउ
मेरो ईज्जत लुट
स्वार्थ पुर्ण गरेर जाउ
तर म निशब्द हुन्छु
म केवल स्तब्ध हुन्छु
किन भने म बोल्न सक्तिन
तिमीहरु सुन्न सक्दैनौ
यदि सुन्ने नै हो भने
कान खोलेर सुन
अनुशासन र धैर्यताको
परिधिमा रहेर पाइला टेक
आफ्नो रहर र ईच्छा
पूर्ति गरेर फर्क
त्यस्तो कदम प्रति मेरो
कुनै गुनासो हुने छैन
तर आफ्नो स्वार्थको निमित्त
मेरो दुरुपयोग नगर
मेरो शरीर छेउछाउ
प्रदुसित र दुर्गन्धित नबनाउ
मलाई पगालेर जल
निर्माण गर्ने धृष्टता नगर
मेरो छातीमा बस्ती नबसाउ
पाउमा शहरीकरण नगर
प्राकृतिक बादलै काफी छ
धूम्रपान गरेर मेरो नजिक
मेरो फोक्सो खराब नबनाउ
यदि मेरो माया लाग्छ भने
मेरो इज्जत गर्छौ भने
मेरो वायुमण्डल स्वच्छ राख
कतै मलाई क्षयरोग लागे
मेरो फोक्सोको उपचार
बिश्वको कुनै अस्पतालमा
कुनै पनि नामी चिकित्सक बाट
सम्भव हुने छैन
र अर्को कुरा
मेरो नाम लाई
बदनाम नगर
हो,म बुझ्छु तिमीहरूको
ईच्छा र चाहनाहरुलाई
त्यसैले त मौका दिन्छु सबैलाई
मेरो शरीर चुम्न
किनकि तिमीहरूलाई
आफ्नो सन्तति ठान्छु
तर कोही यस्ता छन्,
जो बारम्बार आइरहन्छन्
म माथि चढेर
मज्जा लिईरहन्छन्
मलाई बलात्कार गरिरहन्छन्
अनि आफूलाई साहसी ठान्छन्
बहादुरी भई टोपाल्छन्
यसरी नै मेरो इज्जत लुट्यौ
अनि लुटी नै रह्यौ भने
म नाम मात्रको रहनेछु
सगरमाथा!!!

Friday, 26 August 2016

महासागर

फूल जस्तै सजाएर तिमीलाई यो दिलमा
पुग्न चाहन्छु म हाम्रो पिरतिको मन्जिलमा।

तर त्यो फूल कहिल्यै पनि ओइलिने छैन
तिम्रो माया पाए मन अन्त बहकिने छैन।

फेवाताल जस्तो तिम्रो नयनमा पस्न देउ
यताउता पौडिएर त्यही बास बस्न देउ।

पूर्णिमाको जून तिमी मेरो औंसीमा झरेर
झलमल बलिदेउ, मुस्कान तिम्रो छरेर।

शत्रुबाट बच्न तिम्रो नाकको गुफामा लुक्छु
ठूला पहाडी अधर उघारेर भित्र पुग्छु।

समथर फाट जस्तो फराकिलो निधारमा
माया रोपी फलाउछु बिना कुनै असारमा।

चारकोशे झाडी केश, नागबेली लर्किएको
होला जस्तो डाफे,मृग,कस्तुरीले भरिएको।

धौलागिरी,अन्नपूर्ण झैं विशाल बक्षस्थल
आरोहण गर्ने बेला पसिना नै खल-खल।

सानो डुंगा खियाउदा तिम्रो महासागरमा
कति आनन्द आउँछ पुगेको जस्तो स्वर्गमा।

टोपी

तिमी मेरो सान हौ
मेरो अभिमान हौ
दृढ र अटल छौ
जसरी सगरमाथा छ
तिमी खस्दा देश खस्छ
दुश्मनले हेपिदिन्छ।
जसरी एउटी नारीले
सिउदोको सिन्दूरले
आफ्नो श्रीमानको इज्जत
थामिरहेको हुन्छ
त्यसरी नै सारा नेपालीको
इज्जत बनी उभिरहन्छौ।
सुनसान रातमा सबै
शीतनिद्रमा पर्दा
तिमी पनि आराम गर्छौ
तर आफ्नो कर्तव्य भुल्दैनौ
आफ्नो दायित्व बाट भाग्दैनौ
उभिरहन्छौ निरन्तर
कुनै सुरक्षाकर्मीले
निर्धक्क छाती फुलाएर
सुरक्षार्थ खटे जस्तै।
कुनै रोगी भन्दैनौ
कुनै कमजोर भन्दैनौ
धनी-गरीब छ्ट्याउदैनौ
कसैलाई पक्षपात गर्दैनौ
पसिनाको अमिलो गन्धले
केही फरक पर्दैन तिमीलाई
जसले तिम्रो महत्व बुझ्छ
जसले तिम्रो इज्जत गर्छ
उसलाई सम्मान दिन्छौ
उसलाई इज्जत गर्छौ
कहिलेकाही कसैले
पछारेर कतै फाले पनि
कुनै गुनासो छैन तिम्रो
तुरुन्तै माफ गरिहाल्छौ
उसको इज्जत धान्छौ।
भोक र प्यास नभनी
कुनै थकान नभनी
सेवामा हाजिर हुन्छौ
चौबिसै घन्टा खट्न पनि
कुनै आपत्ति छैन।
पानीको मुख देख्न
महिनौ कुर्नु पर्छ
त्यही हो कहिलेकाही
वर्षाको पानी पिएर
आफ्नो प्यास मेट्छौ
नत्र भने प्यास मेट्न
कुटाइ सहनु पर्छ
कस्ट सहनु पर्छ
अन्तमा शुद्ध पानीमा
पौडिएर ज्यान बचाउछौ
अनि घामको न्यानो
ताप लिएर अघाउछौ
फेरि धेरै दिन सम्म भोकै,
कम त दु:ख छ तिमीलाई!
तर पनि दु:खी हुन्नौ
निस्वार्थ सेवा गर्छौ
तर आजभोलि तिमीलाई
भुल्न थालेका छन् मान्छेले
पश्चिमी संस्कृति पछ्याएर
बुझ्न छाडेका छन् महत्व
तिमी संगै आफ्नो
परिचय दिन असक्षम छन्
बाटो बिराएका छन्
उकालो चढ्नुपर्नेमा
ओराली झरेका छन्
तर तिमीले आफ्नो
बाटो बिराएका छैनौ
बरु मार्ग-निर्देश गर्छौ
अनवरत संघर्सरत छौ
अरुको अस्तित्व जोगाउन
ज्यानको बाजी थापेर
जन्मान्तरण भएर आउछौ
उहीँ वा अलग रंगमा
कालो वा रंगीबिरंगी भएर
रास्टृयता जोगाइरहन्छौ
आकार सानो भए पनि
विशाल अस्तित्व बोकेर
महत्त्वपूर्ण अर्थ लिएर
उभिरहन्छौ तिमी शीरमा
उहीँ सगरमाथा भएर
त्यतिकै तिम्रो नाम
रहन गएको हो र
नेपाली टोपी!








फोका

सतर्क हुनु कसैले त्यो मायाको पोका दिदा
फुट्न पनि सक्छ जसरी पानीको फोका दिदा।

सगरमाथा बाट सिधै नाम्चेमा खस्न पुगेछु
माया रुपी तुफानले भयंकर झोका दिदा।

स्वीकार्य हुन्छ सबै माया पिरतीमा भन्दै
मैले सोच्दै नसोचेको अचानक धोका दिदा।

मायालु बन्दुक अनि माया गोली पो रहेछ
मर्ने-बाच्ने यकिन हुन्न छातीमा खोका दिदा।

मुटुमा बास माग्ने सबै प्रिय नहुन सक्छन्
मुटुनै ध्वस्त पारीदिन्छन् मुटुको ढोका दिदा।

Thursday, 25 August 2016

वारि जमूना/पारी जमूना

वरिष्ठ एवं चर्चित लोक गायक खेमराज गुरुङको असामयिक निधनको खबरले सम्पुर्ण गीत संगीतप्रेमी हरुलाई स्तब्ध र मर्माहत बनाएको छ।यो दु:खद घटना संगै नेपाली साङ्गितिक आकाश बाट एउटा उज्ज्वल ताराको बिलय भएको छ।देशले एक होनहार कलाकार गुमाएको छ र समस्त साङ्गितिक क्षेत्रलाई अतुलनीय क्षति पुगेको छ।"वारि जमूना,पारी जमूना,जमूनाको बीचैमा मनकामना" गीत बाट चर्चामा आएका गायक गुरुङलाई नचिन्ने प्रायः कमै होलान्।जीवन,जीवन-२,आलु तामा,धरान-पोखरा,अनमोल,ढाक्रे र घुमफिर जस्ता एल्बम बजारमा ल्याइसकेका ४२ बर्से गुरुङको जन्डिसको कारणले चाबहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा बिहिबार साझ निधन भएको हो।यस दु:खद घडीमा मृत आत्माको चीर शान्तिको  कामना तथा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारले सो दु:खद घडीको सामना गर्ने शक्ति मिलोस्।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...