Monday, 15 August 2016

जोया

कुरा ४ बर्ष पहिलेको हो।मेरो ड्युटी त्यतिबेला दुबईको "ड्राइपोर्ट कस्टम"मा थियो।त्यस्तै चितवनको एक जना ४०/४५ बर्षको बलबहादुर थापा मगर पनि म संगै काम गर्थ्यो।पुर्ख्यौली घर अन्यत्रै भए पनि भारतमा काम गरेर कमाएको पैसाले जमिन लिएर चितवनमै घर बनाएर बसिरहेको,अनि त्यति खेर उसको जेठो छोरा पनि दुबईकै "के एफ सी" कम्पनीमा कार्यरत भएको कुरा पनि सुनाएको थियो।त्यसको केही महिना पछि उसको छोराले त्यही कम्पनीमा कार्यरत एक जना फिलिपिनी केटी लाई बिहे गरेर नेपालमै लग्यो भनेर भन्यो।त्यतिखेर मैले त्यो बिवाह लाई एउटा अनौठो र नमूनाको रुपमा लिएको थिए।धेरै जना मित्र हरु लाई मैले उक्त बिहेको उदाहरण दिएर भन्ने गर्थें -"प्रेमको कुनै जातिय,भौगोलिक र भाषिक सिमाना हुदैन।यदि मन मिल्यो भने पराइ पनि आफन्त हुन्छ।कुनै युवकको लागि आफ्न्नो माता,पिता र मातृभूमी त्यागेर परदेश लाई घरदेश मान्न पक्कै पनि सजिलो छैन र त्यस्तो हिम्मत भएकी केटी चानचुने हैन।त्यसैले साथीहरू !यहाँ हामी नेपाल बाट साहुबाट ऋण लिएर परिवारको सुखद भविस्यको लागि काम गर्न आएका हौं।घरमा श्रीमती र छोराछोरी हुँदा हुँदै पनि बिदेशी तथा स्वदेशी केटीहरु सित लागेर बर्बाद हुनु हुँदैन।बिहे नगरेका युवाहरुले पनि सके सम्म केटीहरु लाई टाइमपासको रुपमा लिनु हुँदैन।यदि माया गर्ने भए चोखो माया गर्नुपर्छ त्यो नेपाली केटा र फिलिपिनी केटी जस्तो।बिहे नै गरेर लाने भए त ठिकै हो तर अर्काको जिन्दगी संग खेलवाड गर्नु उचित हैन।"
त्यतिखेर कतिपय साथीहरुले मेरो कुरालाई समर्थन जनाउथे तर कोही कोहीले त्यतिकै हासेर मजाकमा उडाउथे।
"सम्झाउने मेरो कर्तव्य हो र मेरो कुरालाई सकारात्मक वा नकारात्मक कुन रुपमा लिने हो,त्यो जिम्मा तिमीहरुलाई नै छोड्छु" भनेर कुराको बिट मार्थे मैले।
बेला बेलामा मैले मित्र बलबहादुर लाई सोधिरहन्थे-"अहिले कस्तो छ तपाइँको छोरा-बुहारीलाई?"
प्रत्युत्तरमा उसले एकदम राम्रो भएको कुरा सुनाउथ्यो।
तर केही समय पश्चात बलबहादुर हाम्रो कम्पनी छोडेर स्वदेश गयो र हामी बीचमा कुनै सम्बाद भएन।त्यसपछि उसको छोरा बुहारीको बारेमा मैले चासो लिने कुरा पनि भएन र म पनि आफ्नो ड्युटीको शिलशिलामा कहिले कहाँ,कहिले कहाँ गर्दा गर्दै ४ बर्ष बितेको पनि पत्तै पाईन।एक दिन मैले फेसबुकमा समाचार देखे-"४ बर्ष देखि अलपत्र एक फिलिपिनीको उद्दार गरिदै।"
कोही एकजना फिलिपिनी होला भनेर मैले खासै राम्रो संग ध्यान दिईन त्यो समाचार प्रति।त्यसको केही दिन पछि "के एफ सी" कम्पनीमा काम गर्ने एक जना साथीले भन्यो-"पहिले हाम्रो कम्पनीमा काम गरेको एकजना जोया नामकी फिलिपिनी केटी लाई जीवन नामको केटाले बिहे गरेर नेपाल लगेको थियो रे।अहिले त्यो केटाले त्यो केटी लाई कुटेर खेदेकोले अलपत्र  बेहाल अबस्थामा २ बच्चा सहित आफ्नो माइती देश फिलिपिन्स जादैछन् रे।"
त्यतिबेला मलाई मेरो पुरानो मित्र बलबहादुर र उसको कुराहरुको याद आयो।सोचे-"कतै त्यो केटी बलबहादुरकै बुहारी त हैन?"त्यसपछि मैले फेसबुक खोलेर पहिले शीर्षक मात्र पढेको समाचारको लिङ्क खोलेर बिस्तृत समाचार पढ्न थाले।
"गत ४ बर्ष देखि चितवनमा अलपत्र परेकी फिलिपिन्सकी जोया ग्रेस टेलेरमो चितवनकै आदर्श गृहले उद्दार गरेर नेपाल बाट आफ्नो माइती देश पठाइदै छ।चितवनको आदर्श गृहमा आयोजित बिदाई कार्यक्रममा उपस्थित सबैको माझमा जोयाले आँखामा आँसुको ताल बनाएर बिक्षिप्त हुँदै आफू माथि आफ्नो पतिले गरेको शोषण,अन्याय र अत्याचारको बर्णन गरिन्।साथै उनले आफ्ना छोराहरू लाई आफ्न्नो जन्मभूमिमा लगेर राम्ररी हुर्काउने र शिक्षा-दीक्षा दिने कुरा गरिन् र पैसा कमाएर फेरि एकदिन नेपाल घुम्न आउने बाचा पनि गरिन्।नेपाल लाई छोडेर जानुपर्दा आधा खुशी र नेपाल संग जोडिएको नाता तोडेर सधैंको लागि जानुपर्दा आधा दु:खी पनि देखिन्थिन् उनी। दुबईको केएफ सी कम्पनीमा काम गर्दा सोही कम्पनीको जीवन थापा संग प्रेम बिवाह गरेर जोया पनि भिजिट भिसामा नेपाल गएका थिए।जोयाको राहदानी उसको पतिले च्यातेर फालेका थिए तर बिहे दर्ता भने गराएनन्।पछि आफ्नो पतिले कुलतमा लागेर कुटेर,पिटेर हेला गर्न थाले पछि अन्याय र अत्याचार सहन नसकेर जोया आफ्ना ३बर्से र ११महिने नाबालक छोराहरु लिएर सडकमा आएका थिए र मागेर आफू र आफ्ना छोराहरुको पेट पालेका थिए।चितवनको आदर्श गृहको सम्पर्कमा आए पछि केही दिन त्यही शरणमा राखेर कानुनी प्रक्रिया पुर्याएर आफ्नो माइती देश फिलिपिन्स पठाइदैछ।नेपालमा कानुनी प्रक्रिया नपुर्याएर बिना भिसा बसेकोले लाग्ने जरिवाना नेपाली रुपिया सात लाख फिलिपिन्स सरकारले ब्यहोरेकोले उनी आफ्ना ठूलो छोरा मिगेल र सानो छोरा एरिक सहित २०७३,साउन ३१गते फिलिपिन्स जादैछन्।"
समाचार पढेपछि मेरो मेरा आँखा बाट अनायसै आँसुको भेल उर्लन थाल्यो।मुटुमा धारिलो छुराले रेटिए सरी दर्द हुन थाल्यो।खै किन हो म स्वयं लाई पनि थाहा छैन कि कुनै बिदेशी नारीको दु:ख र बेदनाको समाचारले मलाई यति धेरै आघात पुर्यायो,मर्माहत बनायो।जोया र उनका छोराहरु प्रति यति धेरै दया पलाएर आयो। तर ममा दया पलाएर के गर्नु,जुन पुरुषको मनमा दया-माया पलाउनु पर्ने हो,उसैले उनीहरु लाई घर न घाटको बनाए पछि।मैले चाहेर पनि जोयाको लागि केही गर्न सक्ने थिईन।अर्कोतिर जोयाको साहस र दुबईमा हुँदा जीवन लाई कुलत बाट जोगाएर नेपाल सम्म पुर्याउने उनको कदम देखेर केही खुशी पनि लाग्यो।तर उनको योगदानलाई बिर्सेर उल्टै धोका दिने धोकेबाज जीवनको थापाको कुनियत र व्यवहार देखेर मेरो रिसको पारो बढेर १०५ फरेनहाइट पुग्यो।जोयाको घटनाले सिंगो नेपाल र नेपालीहरुलाई गिज्याए झैं लाग्यो। अनि नेपालको कानुन निरीह भएर ङिच्च दात देखाएर कागजी पाना भित्र निस्सासिएर बसे झै लाग्यो।नेपाल आमाको गालामा गतिलो झापट हाने झै लाग्यो।मेरो मनको ढोकामा एउटै कुराले बारम्बार ढक्ढक्याउन थाल्यो-यदि कोही नेपाली चेलीले पनि जोयाको जस्तै नियत भोग्नुपर्यो भने के होला।मेरो उहीँ पुरानो मित्र बलबहादुर लाई नानाभाती गाली दिन मन लागेर आयो-"छोरा लाई सम्झाउनु पर्दैन बुडा?छोरा कुलतमा लागेर त्यति गाइजात्रा देखाउन्जेल टुलुटुलु हेरेर बस्ने?बुहारी अन्यायमा पर्दा तिमीले केही गर्न सकेनौ? कि तिमी पनि छोराकै पक्षमा लागेर बुहारीलाई सतायौ?ल माने बुहारी त पराइ नै ठान्यौ,तर आफ्नो नातिहरु लाई माया लागेन? तिम्रो बुहारी तिम्रा दुइटै नाति लिएर आफ्नो मातृभूमी जाँदैछिन्,रोक्नु पर्दैन?न्याय दिलाउनु पर्दैन?"
अनि सरकार,मानव अधिकारकर्मी र नागरिक समाजका अगुवा हरुलाई एकमुष्ट प्रश्न गर्न मन लागेको छ-:
"जोया आमा छोरा हरुलाई उद्दार गरिदै हो कि देश निकाला?"
"जोयाका छोराहरु नेपाली छोरा हुन् र फिलिपिन्समा गएर भोलि कुनै कानुनी झन्झट र अप्ठ्यारोको जिम्मेवारी कसले लिन्छ?"
"पीडित लाई त माइत पठाउदै हुनुहुन्छ,तर पीडकलाई के गर्नु हुन्छ? त्यतिकै छोड्नु हुन्छ कि कानुनी दायरामा ल्याउनु हुन्छ?"
यति प्रश्नले मात्र म सन्तुष्ट हुन सकिन।म भित्र यस्तै यस्तै धेरै अनुत्तरित प्रश्नहरुको सगरमाथा बनेर खडा भइनै रह्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...