Wednesday, 10 August 2016

मुना नेपाली

  बिहानको ठ्याक्कै दस बजेको थियो।कार्यलय पुग्ने बित्तिकै ल्यान्डलाइन फोनको घण्टी बज्यो र हतार हतार फोन उठाए।
"हेल्लो दिदी,यो रक्षा नेपाल हो?"
"हो हो,यो रक्षा नेपाल नै हो र म मेनुका थापा। अनि तिमी चाहिँ को हौ नि?"
"दिदी,म मुना नेपाली।मेरो घर नुवाकोट हो र अहिले म ठमेल बाट।"
"भन के कामले फोन गर्यौ?"
"दिदी! म सार्है अप्ठ्यारोमा परेकी छु।मलाई राम्रो काममा लाइदिन्छु भनेर एक जना मान्छेले मसाज सेन्टरमा फसायो।म धरापमा छु दिदी,प्लीज मलाई यहाँ बाट निकाल्नुस्।"
"ल ल तिमीले कुनै चिन्ता लिनु पर्दैन,म भोलि नै तिमीलाई लिन आउछु।बरु भन,ठमेल कुन ठाउँमा छ्यौ?"
"खास ठाउँ त मलाई थाहा छैन दिदी,तर म काम गर्ने ठाउँलाई 'पर्फेक्ट मसाज सेन्टर' भन्छन्। ल ल दिदी मेरो साउ आए जस्तो छ,थाहा पाए मार्छन्।"
यति जानाकारी पाएको भोलिपल्टै ४ जना पुलिस सहित भ्यान लिएर ठमेलको पर्फेक्ट मसाज सेन्टरमा पुगेर त्यहाँका सबै दिदी बहिनीहरुलाई उद्दार गरियो। मसाज सेन्टरको साउलाई जेल चलान गर्ने भनेर पुलिसले लिएर गए।जम्मा दस जना महिला दिदीबहिनी हरुलाई लिएर कार्यलयमा पुगे पछि सुख-दु:ख बाड्न थाल्यौं।प्रायः जसो महिला हरु बाध्यताले मसाज सेन्टरमा काम गरेको बताए।तर एउटी १२ बर्षकी  बालिका लाई ठमेलको मसाज सेण्टरमा काम गरेको देखेर मेरो मुटु छिया छिया भएको थियो र उनलाई उद्दार गर्न पाएकोमा मेरो खुशीको सीमा रहेन।तर खुशी भएर मौन रहन सकिन।मेरो दिमागमा अनेक प्रकारका बिम्बहरु बन्न थाले।हिंसा र अपराधका आकृतिहरु फनफनी नाच्न थाले मस्तिष्कको रंगमन्चमा।कौतुहलताको ज्वारभाटाले मन लाई उथुलपुथुल पारिरहे।बाहिर बाट हेर्दा खेरी झिलिमिली देखिने ठमेल भित्रको अन्धकारलाई नजिक बाट छामेर चिन्ने ईच्छा जाग्यो र प्रश्नको तीखो बाणले कलिलो मुना नेपालीको छातीमा प्रहार गरे।
"नानी! तिमी यतिको कलिलो उमेरमै कसरी त्यहाँ पुग्यौ? ल दिदी लाई सरसर्ती भन त नानी।"
"मेनुका दिदी,यसको धेरै लामो कहानी छ।"
मुनाले यति भन्न साथ उनको दुई आँखा बाट आँसुको बर्खे भेल उर्लिन थाल्यो र खुरुरु दौडेर मेरो अगालोमा गर्ल्याम्म कसी।
"भन न नानी भन,अब त म छु नि तिम्रो लागि,डराउनु पर्दैन।तिम्रो जीवनमा जे जे भए,सबै भन।"
डाको छोडेर रुन छोडेर बिस्तारै सुक्क सुक्क गर्दै आफूले आफूलाई नियन्त्रण गर्न थाली र बोल्न शुरु गरि।
"म ३ बर्षको हुँदै बाबा बित्नु भएको रे।६ बर्षको हुँदा आमाले पनि सधैंको लागि छोडेर स्वर्गमा जानु भयो।दाइ पनि म भन्दा ६ बर्षले जेठो अर्थात १२बर्षको हुनुहुन्थ्यो।
बाबा आमा नभएको र हामी पनि साना भएकाले हामीलाई हातमुख जोर्न पनि धौधौ हुन थाल्यो।माओबादी र पुलिस-सेना बीचको द्वन्दले गर्दा देश जर्जर अबस्थामा पुगिसकेको थियोे।माओबादी हरुले आफूलाई जनमुक्ति सेना भनेर भन्थे।आएर हाम्रो घरमा भएको खानेकुरा खान्थे र जनयुद्ध लाई  सहयोग गर्नुपर्छ भन्थे।बिस्तारै जनयुद्धको लागि भनेर गाउँ बाट धेरै जना युवाहरु लिएर जान थाले।हामीलाई पनि लैजाने हुन् कि भनेर हामी डराएका थियौं।कसरी हुन्छ हामी भागेर गाउँ छोड्ने निर्णयमा पुगेर काठमाडौ सम्म पुर्याइदिने कोही भरपर्दो ब्यक्तिको खोजीमा लाग्यौं।गाउँको एक जना काकाले काठमाडौमा लगेर काममा लगाइदिन्छु भनेर आशा देखाउनु भयो।उहाँ संगै भागेर दाइ र म काठमाडौ पुग्यौं तर त्यहाँ पुगेपछि उहाँले त्यतिकै बिचल्लीमा पारेर छोडेर जानु भयो।म सानै भएकोले काम पाउने र गर्न सक्ने स्थितिमा थिईन।दाइले भारी बोक्ने काम गर्न थाल्नु भयो।हामीले मुस्किलले एउटा कोठा भाडामा लिएर बस्न थाल्यौं।२/३ बर्ष त त्यस्तै राम्रै तरीकाले गुजारा चल्यो तर त्यसपछि दाइले भाउजू बिहे गरेर कोठामा ल्याउनु भयो। शुरुमा त भाउजू संग मेरो राम्रै सम्बध थियो तर दिन हरु बित्दै जादा उहाँले बिना कारण गाली-गलौज र दुर्व्यवहार गर्न थाल्नु भयो।
"मेरो श्रीमतीको कमाइमा रजाइँ गर्ने तैले? रजाइँ गर्ने नै भए आफैंले काम गरेर कमाउनुपर्छ" भनेर थर्काउन र पछि पिट्न पनि थाल्नु भयो।दाइले पनि भाउजूकै कुरा सुनेर मलाई साथ नदिएपछि र भाउजूको अन्याय-अत्याचार सहन नसकेर मैले दाइ भाउजू लाई छोडेर भाग्ने निधो गरे।कोठाबाट त भागेर गए तर खान,बस्न र सुत्नलाई मेरो लागि कुनै घर भएन।फोहोरको डङ्गुरमा अरुले फालेको जुठो भात खाएर ज्यान बचाए र सडकको पेटीमा सुतेर रातहरु काट्न थाले।अरु केही गर्न नसके पनि भाडा त माझ्न सक्छु भन्ने आट लिएर कामको खोजीमा भौतारिए।धेरै ठाउँमा काम खोजे तर कसैले पनि काम दिएनन्।"नाम के हो" भनेर सोध्दा मैले मुना नेपाली भन्दा पानी नचल्ने जात रहेछ,हुन्न,काम छैन भनेर काम दिन मानेनन्। नामको पछाडि "नेपाली" भन्दा काम नपाउने रहेछ भन्ने कुरा बुझेर थर नै परिवर्तन गरेर थापा राखे।मुना थापा भनेर काम खोजे पछि बल्लतल्ल १९ जना सदस्य भएको परिवारको घरमा भाडा माझ्ने काम पाए।शुरुमा सबैले माया गरे,सायद उहाँहरुको घरको नोकर धेरै समय टिक्न नसकेर भागेकाले होला।तर समय बित्दै गए पछि थर्काउन,कराउन र पिट्न थाल्नु भयो।म ९बर्षको बालिकाले धेरै ठुल्ठुला भाडाहरु माझ्नु पर्थ्यो। सिङ्गै घर टालाले पुछ्नु पर्थ्यो।८१ बर्षकी बज्यै लाई सधैं तेल लाइदिनु पर्थ्यो।यति धेरै काम गर्नु पर्थ्यो कि जम्मा मैले २/३ घन्टा मात्र सुत्न पाउथे।कहिलेकाही त राती १ बजे सुतेर फेरी ३ बजे उठेर काम गर्नु पर्थ्यो।हात-गोडा हरु पट्पटी फुटेर रगत आउथ्यो र पनि काम गर्नै पर्ने।कति पल्ट त ज्वरो आएर लखतरान भएकी हुन्थे तर काम नगरी सुखै पाईन्नथ्यो।म माथिको अन्याय र अत्याचारले सीमा नाघिसकेको थियो।उहाँहरुको घरमा बेला बेलामा धेरै जना पाहुनाहरु आउनु हुन्थ्यो।सबैले खाएको भाडा माझ्न दिनभरी जस्तो नै लाग्थ्यो तर कसैले सहयोग गर्नुहुन्न्थ्यो।कसैले मलाई दया र मायाको नजरले हेर्नु भएन।त्यति खेर बाबा आमाको याद असाध्यै आउथ्यो तर म टुहुरीले याद गरेर मरिसकेको बाबा आमा पाउने कुरै थिएन।अरु कसैले बाबा आमा जस्तै व्यबहार गरे हुन्थ्यो जस्तो लाग्थ्यो तर त्यो सपना सपना मात्र थियो।दया गरेर एकछिन आराम गर भन्ने र माया गरेर मीठो दुई शब्द बोलिदिने मेरो जिन्दगीमा कोही भएन।प्रायः जसो घरमा पाहुनाको रुपमा आइरहने एक जना दाइले घरमा साहु साउनी नभएको मौका पारेर सम्झाउथ्यो-"तिमी कति दिन सम्म अर्काको घरमा भाडा माझेर दु:खमा जीवन बिताउछ्यौ? म तिमीलाई यो भन्दा राम्रो,पैसा पनि धेरै कमिने र सुखको काम दिलाइदिन्छु।"
सुरुमा त मैले त्यो दाइको कुरा लाई नाइनास्ती गरे।तर अन्याय,अत्याचार र नर्क जस्तो घरबाट उम्किने त्यो भन्दा राम्रो अर्को बिकल्प देखिन।डेढ बर्ष त्यहाँ काम गरे पछि १० बर्षको उमेर हुँदा राम्रो कामको खोजीमा त्यो दाइ संग भागेर हिंडे।उसले मलाइ गाडीमा चढाएर यता र उता धेरै बेर घुमायो,खानेकुरा खुवायो,कपडा किनिदियो र अन्तमा ठमेलको एक जना साहु लाई जिम्मा लगाइदियो।उसले मलाई ढुक्क भएर बस्ने सल्लाह पनि दियो।शुरुमा कुचो लाउने र टालाले भुइ पुछ्ने काम दियो। दया,माया देखाएर मीठो खान र राम्रो लाउन पनि दियो।त्यहाँ अरु पनि ९/१० जना दिदी हरु हुनुहुन्थ्यो तर उहाँहरुले के काम गर्नुहुन्थ्यो ,त्यो मैले चासो राखिन।सबै जना सज्जिएर,लिपिस्टिक-पाइडर लाएर हिडेको मात्र देखे,रमाइलो मात्र देखे।मनमनै सोचिरहेकी थिए-मेरा पनि सुखका दिनहरु आए।मेरो जिन्दगीमा पनि बसन्तको बहार आयो भनेर म एकदमै दङ्ग थिए।एकदिन साहुले मलाई बोलाएर एउटा सामान थमाउदै भन्यो-
"मुना! यो सामान माथिल्लो कोठामा भएको एकजना सर लाई लगेर देउ त।"
त्यो सामान लिएर साउले भनेको कोठामा प्रबेश गरे।एकजना कालो,अग्लो र मोटो मान्छे बसिरहेको थियो।म त्यहाँ पुग्ने बित्तिकै ढोका थुनेर बाघले सिकार माथि झम्टे झैं त्यो मान्छे म माथि झम्ट्यो।म चिच्याउदै,रुदै त्यो मान्छे बाट फुत्कने कोसिस गर्न थाले।सायद कोठामा हल्ला खल्ला सुनेर होला साहु माथि आइपुग्यो।म त्यो मान्छेबाट फुत्किएर खुरुरु दौडेर "साउजी,साउजी,मलाई यो मान्छेले समात्यो" भन्दै साहुलाई अगालो हाले।
"साउजी,साउजी मात्र भनेर तेरो तलब पाक्छ? तेरो काम आएको ग्राहकलाई खुशी बनाउने हो।खुरुक्क उहाँ सरले भनेको मान,नत्र भने राम्रो हुने छैन"- साउले गाली दियो।त्यति भनिसकेर साउजीले मलाई त्यो मान्छे तिर धकेल्यो।त्यो कालेले मलाई तानेर पलाङ माथि थेचारेर राख्यो।साउजीले मेरा दुई खुट्टा च्याप्प अठ्यायो र त्यो मान्छे माथिबाट आयो। त्यसपछि के भयो मलाई केही थाहा भएन किन भने मेरो होस हराएको थियो।जब मेरो होस आयो,त्यहाँ कोही पनि थिएन। मेरो शरीर आलो रगतले लत्पतिएको थियो।पलाङ माथिको तन्ना रक्तिम भएको थियो।म संग बाकी भएको कुमारित्व पनि लुटिएर म बर्बाद भैसकेकी थिए।त्यही दिनदेखि मेरो नारकीय जीवन शुरु भयो।
"भोलिदेखि पनि ग्राहकले भनेको मानिनौ भने यस्तै हालत हुनेछ" भनेर साहुले धम्की दियो र त्यसपछि दिन प्रतिदिन म लुटिदै गए।एकै दिनमा यति धेरै जना पुरुषहरूको यौन प्यास मेटाइदिनु पर्थ्यो, गन्ती गरेर साध्य थिएन।कम्तीमा पनि दिनमा ३० जना पुरुषहरू लाई खुशी बनाउनु पर्थ्यो।
"तिमी यति सानी छ्यौ,किन यस्तो काम गर्छ्यौ? तिम्रो यो उमेर भनेको यस्तो काम गर्ने हैन,पढ्ने उमेर हो।त्यसैले तिमीले यो काम छोडेर पढ्न तिर लाग या यो भन्दा राम्रो कामको खोजी गर।"
यस्तै यस्तै चिल्ला कुराहरु गरेर म प्रति सहानुभूति,दया र माया देखाए झैं गर्थे कतिपय त्यहाँ आउने ग्राहकहरुले।तर आफ्नो स्वार्थ पूरा गरेर गएपछि त्यस्ता ग्राहकहरु गायब हुन्थे। जसले जतिसुकै मीठा कुरा गरे पनि त्यो नर्कबाट मुक्त बनाउने सज्जन कोही पनि आएन।त्यसैले त्यहाँ आउने कोही कसै माथि मेरो आशा र भरोसा थिएन।त्यसरी नै लगातार मसाज सेन्टरको अन्धकार कोठामा दिनहरु बित्दै गए।म माथि निगरानी राखिएकोले गर्दा भागेर जाने कुनै मौका पनि पाईन।त्यही नर्कमा २ बर्ष बिताइसकेकी थिए अर्थात म १२ बर्षकी भएकी थिए।एकदिन साहु नभएको बेला रेडियो सुन्दै थिए,रक्षा नेपालको बारेमा कुरा हुँदै थियो।यौन हिंसामा परेका दिदीबहिनी हरुलाई रक्षा नेपालले उद्दार गर्छ भनेको सुनेर कान ठाडो बनाए।दोहोर्याएर फोन नम्बर भनेकोले गर्दा रक्षा नेपालको फोन नम्बर टिप्न भ्याए र त्यसको केही दिन पश्चात साहु नभएको मौका पारेर तपाईंलाई फोन गरेकी हु।भोलि आउछु भन्दा त मलाई खासै बिश्व्वास लागेको थिएन दिदी,तर तपाईं आएर मलाई नर्क बाट निकालेर स्वर्गमा पुर्याउनु भएको छ। तपाईंको यो गुन म कसरी तिरु दिदी?"
यति भनेर मुना मेरो अगालोमा बाधिन् र मलाई आफ्नै आमा झैं सम्झेर सुम्सुम्याउन थालिन्।मुना लाई उद्दार गर्न पाएकोमा म हर्षबिभोर भएकी छु र गौरवाम्बित छु आफ्नै कदम र कर्म प्रति।तर म पुर्ण रुपमा खुशी भने हुन सकेकी छैन किन भने मलाई सधै एउटै कुराले पिरोलिरहन्छ-"अझै पनि यस्ता कति मुनाहरु नारकीय जीवन बिताउन बाध्य होलान्-ठमेल जस्ता मसाज सेन्टर हरुमा,दिल्ली-मुम्बाईका अन्धकार कोठीहरुमा, अनि स्वदेश तथा बिदेशका गगनचुम्बी महलहरुमा!"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...