Wednesday, 31 August 2016

सुत्र

बीज गणितका समीकरणहरु
जति हल गर्दै गए
जिन्दगीका समस्याहरु
उति उति बढ्न थाले
बाबू र छोराको उमेर
सजिलै पता लगाइयो
तर मनुष्यको भविस्य अनि
वास्तविक आयु भने
पत्ता लाउन जानिएन
ए प्लस बी होल स्क्वायर
इज इक्वायल टु
ए स्क्वायर प्लस टु ए बी
प्लस बी स्क्वायर
सुत्र जति रटे पनि
व्यवहारमा कतै काम लागेन
दु:ख भगाउने सुत्र
बनाउन कहिल्यै सकिएन
सुत्रको रस निकालेर
प्यास मेट्न पनि सकिएन।
अंक गणितका हिसाबमा
धेरै नाफा र नोक्सान निकालियो
ठुल्ठुला धनराशिको
ब्याज निकालियो
तर आफ्नै जिन्दगीको
हिसाब निकाल्न सकिएन।
ऐच्छिक गणितमा
विभिन्न थिओरम र साध्यहरु
रट्दा रट्दा हैरान भइयो
पाइथागोरस साध्य प्रयोग गरेर
जमिनमै बसी बसी
मान्छे,रुख र चराको
उचाइसम्म निकाल्न भ्याए
समुद्रको गहिराइ
सजिलै निकाल्न सिके
तर आफ्नो ब्यक्तित्वको उचाइ
न त बनाउन सके
न त पत्ता लगाउनै सके
मान्छेको भावना अनि
संबेदनाको गहिराई
कहिल्यै नाप्न सकिएन।
ज्यामितिमा दुईवटा
समानान्तर रेखाहरु
एक-आपसमा कहिल्यै
भेटिदैनन् भनेर पढियो
वास्तविक जिन्दगीमा
म र सुख समानन्तर रेखा भए
कहिल्यै भेटिएनन् आपसमा।
मेरो भाग्य म बाट
१८० डिग्रीमा टाढियो
ईच्छा र चाहनाहरु
९० डिग्री हुँदै चुलिए
तर बशमा पार्न सकिएन
खुशी र सुखको परिधिलाई
कम्पास द्धारा खिचिएको
गोलाकार बृत भित्र
कैद गरेर राख्न सकिएन
न त स्केल द्धारा बनाइएको
त्रिभुज र चतुर्भुजका परिमिती भित्र नै।
विभिन्न थरीका रेखाहरु
कोरियो खाली पानामा
तर आफ्नो भाग्यरेखा हेर्न
धामीझाँक्री कहाँ धाउनुपर्यो।
ईतिहासका धेरै पाना पल्टायौ
अर्थात भूतहरु पढ्यौ
वर्तमान पल्टाउन भुल्यौ
र भबिस्य ओझेलमा पर्यो
रास्ट्र निर्माता पृथ्वीनारायणको
गुणगान गाउनमा ब्यस्त भयौं
रास्ट्रको बिकास गर्न बढेनौ
सिर्फ बिनास तर्फ बढ्यौं
विभिन्न राजा,महाराजाहरुको
जन्म-मृत्यु मिति याद नहुँदा
परिक्षामा अनुत्तीर्ण भईन्छ।
पृथ्वी गोलाकार छ र
सुर्यको वरिपरि परिक्रमा गर्छ भनेर
अध्ययन गरिन्छ भूगोलमा
त्यसो भए घुम्दै फिर्दै अमेरिका
मेरो सामू किन आएन?
बर्सौ पहिले बिछोडिएको
केटी-साथी किन अझै भेटिएन?
भुमध्यरेखाले पृथ्वी लाई
दुई भागमा बिभाजन गर्यो
तर यहाँ सयौं यस्ता
कृत्रिम रेखा हरु छन्
जसले पृथ्वी लाई
टुक्राटुक्रा बनाएका छन्
एक टुक्राबाट अर्कोमा जान
राहदानी नामक हतियार
अनि भिसा नामको
प्रबेश-पत्र चाहिन्छ
वास्तवमा सिंगो पृथ्वी नै
समस्त मानव जातिको घर हैन र?
ईटा,पत्थर र माटो बाट निर्मित
स-साना तलाहरु सिरानी मात्र हुन्।
नेपालीमा धेरै कथाहरु पढियो
तर नेपालीहरुको वास्तविक
जीवनकथा लेखिदिने कोही भएन
पढिदिने कोही भएन।
बिज्ञानमा विभिन्न अणुहरुको
पारमाणविक भार निकालियो
तर जिन्दगीको सार निकाल्न
कुनै पनि बिज्ञान सफल भएन
चार्ल्स डार्बिनको सिद्धान्तले
बाच्नको लागि संघर्ष गर्छ
भनेर मात्र सिकायो
संघर्ष गर्ने तरीका सिकाएन
न्युटनको नियमले हामीलाई
स्याउ किन खस्छ भनेर
कारण मात्र सिकायो
स्याउको बोट कसरी रोप्ने
कसरी स्वस्थ स्याउ फलाउने
कसरी सुरक्षित टिप्ने
कसरी भन्डारण गर्ने
केही पनि सिकाएन।
बिज्ञानको प्रयोगशालामा
विभिन्न ग्यासहरु बनाइयो
परिक्षणहरु पनि गरियो
हजारौं भ्यागुताहरु लगेर
धेरै शल्यक्रिया गरियो
तर गरिबी,अभाव र तनाबले
न त डाक्टर न ईन्जिनियर।
भैसकेको डाक्टरले पनि
बिरामीको उपचार गर्ला
शारीरिक रोग निको पार्ला
तर मनको रोग निको पार्दैन
नक्सा बनाउला ईन्जिनियरले
तर आफ्नै जीवनको नक्सा
कोर्नलाई असमर्थ छ उ।
तथ्यांकशास्त्र बाट बिश्वको
जनसंख्याको लेखाजोखा गर्ला
तर मानव जातिको
दु:ख र पीडाको तथ्यांक
कुनै हालतमा निकाल्न सक्दैन।
अर्थशास्त्रले पैसा कसरी
आर्जन गर्ने भनेर सिकाउला
तर कसरी खुशी हुने भनेर
सिकाउन सकेको छैन
त्यसैले मानव जातिले
आफ्नै पैसाले दु:ख कमाएक छन्
शत्रु कमाएका छन्।
समुद्रमा जहाज चले जस्तै
जादैछ र पाईला मेट्दैछ
भूतमा ग्रहन गरेका ज्ञान
बर्तमान सम्म आउँदा
कुनै पनि प्रष्ट याद हुन्न
नत्र ए बी सी पढी हेरौं न
क,ख,ग,घ,,,पढी हेरौं त
बच्चामा जस्तो खरर आउँछ?
हो,हामी नेपाली हरु
पढ्दा-पढ्दै बिर्सेका
पढ्दा-पढ्दै बिग्रेका।
हाम्रो शिक्षा प्रणालीले
आश मात्र देखायो
सपना मात्र देखायो
तर पूरा गर्न दिएन सपना
केही बन्न खोजेको बिद्यार्थी
अर्कै भएर निस्कन्छ
जे भएर निस्के पनि
हाम्रो शैक्षिक प्रणाली लाई
हार्दिक धन्यवाद दिन चाहन्छु
किन भने आज मलाई
कवि बनाएको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...