मायाको चिनो सम्हाली ल्याए खल्तीमा राखेर
बोल्छ कि भनी तस्वीर हेर्छु मुखमा ताकेर।
छुट्टिने बेला भएको कुरा यादमा आउँछ
मायालु मेरी,खाडीमा हुँदा,मुटुमा छाउँछ।
तड्पेर बस्छु दिन र रात पराई भूमिमा
रहन सक्छु नहुँदा तिमी कसरी खुशीमा।
बाबुले पनि बिस्तारै खुट्टा टेकेको छ होला
भनेर बाबा,यता र उता खोजेको छ होला।
धाएकी हौली बोकेर बाबु मेला र पातमा
पाएर दु:ख जीवन साथी नहुँदा साथमा।
दिनानु-दिन आकाश छुदा साहुको ऋणले
आउछु फर्की दिएमा साथ भोलिको दिनले।
दुखाई चित्त,तनाब लिई नरुनु पियारी
बढेर अगि देखाई देउ हिम्मत नहारी।
गधाले जस्तै खटिनु पर्ने बाध्यता देखेर
बिदेश भन्दा स्वदेशै राम्रो आउँछ लागेर।
पचास डिग्री घाममा काम, पसिना तनमा
धारिलो काडा बिझेझैं लाग्छ यो मेरो मनमा।
सम्झिदा नदी,बगर-खोला, देशको पवन
कहिले लाग्छ रोकिए जस्तो मुटुको धड्कन।
चिरेर बाझो, उमारे अन्न, बसेर नेपाल
बिदेश जस्तो पर्दैन दु:ख, हुँदैन बेहाल।
बहिनी-भाइ,छिमेकी लाई सन्देश सुनाउ
नेपाल छोडी पराई भूमी कहिल्यै नआउ।
मुग्लान पसे सम्पुर्ण युवा, भएन मलामी
देशमै बसी गरौंला केही तपाईं र हामी।
No comments:
Post a Comment