Thursday, 11 August 2016

पोखरा

पोखरा एक चर्चित र महत्वपूर्ण पर्यटकीय स्थल हो भनेर पढेको र धेरैको मुखबाट पनि धेरै पल्ट सुनेको थिए।तर जति मनले चाहे पनि प्रत्यक्षरुपमा भने पोखरा लाई नजिक बाट नियाल्ने मौका मिलेको थिएन।पोहोरको छुट्टीमा मनकामना र पोखराको दर्शन गर्ने योजना बनाए पनि मनकामना मात्र दर्शन गरेर बाकी योजना त्यतिकै बिफल भएको थियो, विविध कारणहरुले गर्दा।त्यसैले यसपालीको छुट्टी पोखराको लागि मात्र छुट्याएको थिए।त्यही योजना मुताविक २०७३/0१/२५ गतेको दिन बिहान ६ बजे तिर बौद्ध गेट देखि माइक्रोबस चढेर हामी बाबा,आमा,सासू आमा ,दिदी,भान्जा,म,मेरी श्रीमती,छोरी र छोरा गोगबु चोक पुग्यौं।बौद्ध देखि माइक्रोबस चढ्दा खेरी सानो छोरा डराएर भित्र पस्न नमान्दा निकै कस्ट भयो र ३/४ जना मिलेर भित्र बसाउनु परेको थियो।गोगबु चोक देखि हामी माइक्रोबस चढेर बाकी यात्रा लाई जोड्यौ।काठमाडौको धुवाँ र धुलो पार गर्न लाई ४५ मिनेट जति लाग्यो।थानकोट कटेपछि बल्ल श्वासप्रश्वास प्रक्रियामा प्रगति आउन थालेको भान भयो।उपत्यका भित्रको सडक भन्दा त बाहिरको नै सही लाग्यो।नौबिसेमा खाना खान लाई धेरै जसो झरे र हाम्रो परिवारको पनि बाबा र दिदी बाहेक सबै झर्यौ।पहिले पैसा तिरेर टोकन किनेर काउन्टरमा बुझाए पछि बल्ल टोकनकै संख्यामा थाल उपलब्ध गराउने र आफैले चाहे जति झिकेर खानु पर्ने चलन रहेछ।हेर्दा खेरी खुबै मीठो जस्तो ठानेर मैले थाल झुसी हुने गरेर खाना निकाले किन भने फेरी नपथिदिने होला भन्ने सोचेको थिए।तर यथार्थ मैले सोचे भन्दा बिल्कुलै फरक थियो।खाना खान सके जति त थपेर दिने रहेछन् तर शुरुमा हालेको भात पनि खान नसकेर आधा त्यतिकै छोडे।झन सासू आमाले त हेरेर मात्र बस्नु भयो,खानाको गन्धले नै उहाँ अघाउनु भएछ।गाडीमा पसे पछि खानाको बारेमा टिका-टिप्पणी भयो हाम्रो परिवारमा र अर्को चोटि आउदा त्यो होटेलमा झुक्किएर पनि नपस्ने सल्लाह गर्यौ।गाडी आफ्नो गन्तव्य तिर हुइकिन थाल्यो-हाम्रो ईच्छा र चाहना लाई लिएर।जति जति काठमाडौ देखि टाढा हुँदै गयो उतिकै रमाइलो र आनन्दको अनुभुती हुन थाल्यो मेरो मनमा।स्वच्छ हावापानी,हरियाली,खोला-नाला र नदी हरुले छातीलाई शितलता प्रदान गर्थे।परिवार संग यात्रा गर्ने त्यो भन्दा उत्तम समय, ऋतु र बाटो अरु हुनै सक्तैन भन्ने लाग्यो।दिदीको बान्ताले कहिलेकाहीँ वातावरण लाई अलि दुर्गन्धित बनाउथ्यो, नत्र भने यात्रा अत्यन्तै फलदायी हुँदै थियो।खेतका गराहरु,बनजङ्गल र फराकिला समथर फाटहरु देख्दा खेरी ड्राइभर लाई गाडी रोक्न लगाएर केही दिनको लागि त्यतै बाँस बस्न मन लाग्थ्यो।अनि कहिलेकाही यस्तो सोचाइ पनि मन भित्र उब्जिन्थ्यो कि सानो जमिनको टुक्रा किनेर एउटा झुपडी बनाएर सधैंको लागि त्यतै जिन्दगी बिताऔं।"खैरिनीमा गेट" भन्ने लोकगीत पहिले पहिले एक बखत एकदमै चर्चित भएकोले खैरेनीटार पुगेपछि त्यहाँको गेट लाई निकै बेरसम्म पर पर बाट पनि गाडी भित्रबाटै मुन्टो लाई यु-टर्न मारेर हेरिरहे।भर्खर भर्खर विकसित हुँदै गरेको खैरिनीको बस्ती लाई मज्जाले अवलोकन गरे।जहाँ पुग्यो त्यतै बसु झैं लाग्ने खालका ठाउँहरुले मलाई मोहित बनाइरहेका थिए।१८/१९ बर्षको युवा युवतीहरुको मस्तिष्क झैं जुन ठाउँ देख्यो त्यही राम्रो लाग्थ्यो मलाई।वर्षायाम भए पनि मौसम सफा र वर्षा नभएकोले गर्दा टाढा-टाढा सम्माका दृश्य हरु छर्लङ्ग र प्रस्टै देखिन्थे।बाटोमा मुख मिठ्याउनका लागि भनेर ४/५ पोका बदाम,दालमोठ,चिप्स र कुरकुरेका पोकाहरु बोकेका थियौं।बाटामा नजिकिदै गरेका मनोरम दृश्यहरु संगै ती पोका हरु खोलेर मुख मिठ्याउदै गयौं।तर प्राकृतिक मनमोहक दृश्यहरुको अगाडि ती बदाम,दालमोठ,चिप्स र कुरकुरे हरु बेस्वादिलो र खल्लो नै लाग्थे।प्रकृतिको स्वाद भन्दा अर्को मीठो स्वाद मैले केही पाईन।यात्राको क्रममा पोखरा के-कस्तो होला भनेर बेला बेलामा मन कौतुहल भैरहन्थ्यो।पोखरालाई नजिकबाट नियाल्ने मेरो प्रतिक्षाको बाध टुट्न,फुट्न लाग्थ्यो।पोखराको दृश्य हेरेर अघाउन खोज्ने भोको थिए म।त्यहाँको हावापानी पिएर तिर्खा मेट्न खोज्ने प्यासी थिए म।सुन्दर प्रकृतिको स्वाद लिदै लिदै पोखरालाई एकछिनको लागि थन्को लगाउदै यात्रालाई निरन्तरता दियौं।थाहै नपाइकन हामी पोखराको द्वारमा पुगिसकेका थियौं।त्यसपछि त झन प्राकृतिक सुन्दरताको वर्णन गरेर साध्य नै लागेन।दिउँसोको करीब १ बजे तिर हामी पोखराको पृथ्वी चोकमा उत्र्यौ।त्यहाँ उत्रेर यता उता हेर्दा चित्त नबुझेर मैले एकजना लाई प्रश्न गरे-"यस्तै हो पोखरा? अनि पोखराको बजार?खासै केही छैन त।बेकारमा आइएछ पोखरा।"
मेरो कुरा सुनेर माइक्रोबस बाट झर्दै एकजना केटी मुसुमुसु मात्र हासी।
मेरी श्रीमतिले पनि मेरो कुरामा साथ दिदै भनी-"ए सोचेको भन्दा त खत्तम नै रहेछ नी पोखरा।"
हामीले एउटा चोकमा उभिएर पोखराको नजरअन्दाज गर्नु सायद त्यो हाम्रो गलत सोचाइको उपज हुन सक्थ्यो।त्यसैले आइसके पछि पोखराको मुख्य मुख्य ठाउहरु घुम्नु नै थियो।पोखरा पुगेर कहाँ बस्ने,कसरी घुमफिर गर्ने र कसले घुमाउने जस्ता कुराहरुको चिन्ता थियो यात्राको शुरूवात देखि नै। तर त्यहाँ चोकमा ओर्लने बित्तिकै सबै समस्याहरुको हल एकैचोटि हुने संकेत देखियो।एकजना ट्याक्सी ड्राइभर आएर सोधिहाल्यो-"सर कहाँ जाने हो,ट्याक्सी चाहिए भन्नुस् है।"
अर्को एकजना आएर सोध्यो-"हजुर हरु लाई होटेल चाहिएकै होला।मेरै आफन्तको होटेल लेकसाइटमै छ,त्यही नै सबभन्दा उपयुक्त हुन्छ हजुरहरुलाई।त्यही बाट जहाँ पनि जान सकिन्छ।फेवाताल पनि ५ मिनेटको दूरीमा छ,हिडेरै फेवातालको दृश्य अवलोकन गर्न जान सक्नुहुन्छ।"
"होटेल र ट्याक्सी दुइटै चाहिएको हो तर मिलाएर ठिक्क दाममा भए मात्र।"-एउटै वाक्यमा मैले दुबै जना लाई जवाफ दिए।केही बेरको सरसल्लाह र बार्गेनिङ पछि सबै कुरा मिल्यो र ठिकैको दाममा होटेल र ट्याक्सीको प्रबन्ध गरियो।सबै जना एउटै ट्याक्सीमा नअटाउने र दुइटा पनि बढी हुने देखेर बाबू सहित ७ जना मुस्किलले एउटा ट्याक्सीमा,नानी र म चाहिँ होटेल देखाउने मान्छेको मोटरसाइकलमा चढेर होटेल तर्फ लाग्यौं।मोटरसाइकल द्रुतगतिमा अगाडि बढ्यो र ट्याक्सी कता हो कता पछि परेर अदृश्य बन्यो।नौलो ठाउँमा पहिलोपटक आएकोले मोटरसाइकल वाला लाई शङ्का र उपशङ्काको नजरले हेर्न थाले।
"कतै एकान्तमा लगेर गुन्डाहरु बोलाएर लुटपाट त गर्ने हैन यसले?साथमा बोकेको एक लाख रुपियाँ पनि लुटियो भने त बिचल्लीमा परिन्छ। फेरी म संग १२ बर्षकि बालिका अर्थात मेरी छोरी पनि साथमा छे,कतै केही घटना त हुँदैन? सके सम्म चलाख हुनुपर्छ नौलो ठाउँमा। कसैको कुनै बिश्वास गर्नुहुन्न।"
मेरो मन यस्तै यस्तै कुराहरुले उथुलपुथुल भैरहेको थियो र यता उता चारैतिर नियाले।तर एकै छिन पछि मेरो शङ्का असत्यमा परिणत भयो।फ्यामिली ह्याभन होटेलको अगाडि लगेर मोटरसाइक रोक्यो र एकै छिनमा ट्याक्सी पनि आइपुग्यो।पुर्व सहमति अनुरुप नै उहीँ मुल्यमा २ वटा कोठा लिएर आराम गर्न लाग्यौं।कोठामा बस्न लागेको केही समय पछि नै निकै ठुलो वर्षा हुन थाल्यो।हामीले आफैं लाई भाग्यमानी सम्झ्यौ किन भने बाटोमा पानी परेको भए बालबच्चा र बुढाबुढीले सास्ती खेप्नुपर्थ्यो।पोखराको वर्षा संगै लिएर आएका दालमोठ र चिउरा मिसाएर खायौं।खानु,पिउनु र लाउनु जस्ता आधारभूत कुराहरु भन्दा पनि मेरो ध्यान पोखरा र पोखरामा भएका र हुने गरेका कुराहरु तिर केन्द्रित हुन थाल्यो।अरु सबै जना स्वाद मानी मानी खानेकुराहरु खाइरहेका थिए र मलाई पनि खानलाई जोड दिदै थिए। तर म भने खान छोडेर होटेलको बारदलीमा निस्केर बाहिरको प्राकृतिक फेरबदल तिर नजर लाउन थाले।खै किन हो किन मलाई नेपालको अरु ठाउहरुको भन्दा त्यहाँको आकाश,हावा,बादल र वर्षा पनि बिल्कुलै नयाँ,नौलो र अनौठो लाग्यो।बेला बेलामा हावाको झोक्काले गर्दा परेको छड्के वर्षाले मेरो शरीरतिर पनि केही छिटाहरु फालिदिन्थे।त्यति बेलाको त्यो वर्षाको हर्कतले जबर्जस्ती मेरो मनको बेगलाई समेत हार ख्वाइदिन्थ्यो।मेरो अन्यत्रतिर जान लागेको मनलाई रोकिएर त्यही वर्षामा केन्द्रित बनाउन बाध्य थिए म।बैशाखको गर्मीले मेरो शरीरमा निकालेको पसिना चिसिएर शित्तल कणहरु भैसकेका थिए जसले गर्दा घाउमा मलम लगाए जस्तो आनन्दको अनुभूति संचार भयो।वर्षा हुन लगभग रोकिएकोले झ्यालबाट मेरी नानीले आवाज दिन थाली-
"बाबा!हामी सबै जना फेवाताल घुम्न जान लागेका।घुम्न जाने भए आउनुस् है तपाईं पनि।"
दिउसोको ४ बजिसकेको थियो।हामी सबै जना फेवाताल हेर्न जाने भनेर होटेलबाट बाहिर निस्क्यौ।होटेलमा आउने बेलामा त्यहाँ वरिपरिको वातावरण लाई राम्रोसँग अवलोकन र अध्ययन गर्न पाएको थिईन।त्यसैले त्यहाँका हरेक कुरा हरुलाई नियाल्न थाले म। तर अरु भने के कुरामा ब्यस्त थिए चासो राखिन।
अहा!कति सुन्दर घरहरु,चटक्क-चटक्क परेका।बाहिरी आवरण पनि विभिन्न प्रकारका बुट्टाहरुले सजिएका र मिश्रित रंगहरुले रंगिएका।घरका चारैतिर उस्तै मिहिनेत र तरीकाले निर्माण गरिएका।धुवाँ,धुलो, दुर्गन्ध र फोहोर-कसिङ्गर रहित पर्यावरण।त्यहाँका घरहरु देखेर मलाई पोखराको एकजना मित्रले भनेको कुरा याद आयो।
"के हो,तिमीहरुको काठमाडौका घरहरु त बनाउदा बनाउदै पैसा नपुगेर त्यतिकै छोडे जस्तो।अगाडि पट्टि मात्र रंगिएको र सजिएको हुने र बाकी ३ तिरका भित्ताहरु त्यतिकै सादा,न त प्लास्टर नै गरेको न पेन्टिङ नै।प्रायः जसो सबै घरहरु अधुरा नै देखिने।हाम्रो पोखरा तिरको घर हेर्न आउ न, अनि थाहा पाउनेछौ घर कस्तो हुन्छ र हुनुपर्छ भनेर।फेरी धुवाँ,धुलो, फोहोर-कसिङ्गर र त्यही माथि भत्किएका अलपत्र सडकहरू।उफ! म त काठमाडौमा एकछिन पनि टिक्न सक्तिन।काठमाडौ त राजधानी भन्नू मात्र, हेर्दै डम्पिङ साइड जस्तो देखिने।"
त्यतिखेर म काठमाडौ लाई यस्तो उस्तो भनेर गुणगान गाएर आफ्नो तर्क प्रस्तुत गर्थें। तर पोखराको प्रत्यक्ष दर्शन गरे पछि मेरी ती सबै तर्कहरु कुतर्क,अर्थहीन र खल्लो लाग्यो।त्यति खेर मेरो मित्रसित अनेक तर्कहरु प्रस्तुत गरेर बिवादमा मैले जीत हासिल गरेको थिए।तर पोखरा पुगेर मैले हार स्वीकार गरे।अनि मनमनै भने-"मलाई माफ गर मित्र,म नै गलत रहेछु।"
फेवाताल जाने क्रममा बाटोमा धेरै रेस्टुरेन्ट हरु देखिए।सबैभन्दा पहिले मेरा आँखा बोडमा लेखिएको मेनु तर्फ जान्थे।उफ! कति महँगो,म अचम्मित भए।जादा जाँदै हाम्रो परिवारमा नास्ता खाने कुरा आयो र उचित र सुहाउँदो रेस्टुरेन्टको खोजी गर्यौ।आफूलाई मान्य हुने रेस्टुरेन्ट देखे पछि बल्ल त्यहाँ छिरेर कोहीले म:म: र कोहीले चाउमिन मगाएर खायौं।
"कुइरे धेरै आउने भएर हो कि किन हो यति धेरै महँगो?"
अरु कसैले नसुन्ने गरेर सुटुक्क मेरो छेउमा आएर मेरी श्रीमतिले प्रश्न सोधी मलाई।मैले टाउको मात्र हल्लाएर उनको कुरामा सहमति जनाए।त्यसपछि पैदलै पैदल हामी फेवातालको समिपमा पुग्यौं।डाडा माथि बाट डुब्न लागेको घामले साझलाई गोधुलीमय बनाउदै गरेको बेलाको फेवातालको दृश्यले साच्चिकै मन्त्रमुग्ध बनायो।त्यही दृश्यको भरपूर फाइदा लिदै हामीले पारिवारिक समुहको तस्वीर र केही सेल्फी हरु लियौ।त्यसपछि हामी बाराही मन्दिर नजिक पर्ने स्थानबाट एउटा अलि ठुलै खालको डुंगा रिजर्भ गरेर टापूको बीचमा भएको बाराही मन्दिरको दर्शन गर्यौ र त्यहाँ बाट देखिने विभिन्न थरीका माछा हरुको चहलपहल हेरेर निकै बेर टोलायौ।फेवातालको पारी पट्टि खेतीपातीको काम भ्याएर डुंगा आफैंले चलाएर फर्किदै गरेका आमा र छोरीलाई देखेर बेग्लै प्रकारको आभास उत्पन्न भयो मनमा।त्यो दृश्य मलाई एकदमै मन परेर परिवारको अरु सदस्यहरू लाई पनि देखाउदै मोबाइलको क्यामेरा खोलेर दुई पल्ट क्लीक गरे।ती आमा छोरीको तस्वीर मोबाइल बाट डिलिट भएर गए पनि मेरो दिल र दिमाग को ग्यालरी बाट सायद कहिल्यै डिलिट हुने छैन।समय सीमा सकिसकेकोले गर्दा हामी फेरि डुंगामा चढेर वारि फर्क्यौ तर मेरो टाउको फनक्क फनक्क घुम्दै बेला बेलामा नजर बाराही मन्दिरतिरै जान्थ्यो।फेवाताल लाई फर्की फर्की हेर्दै हामी हिडेर आएको बाटो फर्कियौ।जति हेरे पनि आँखाको प्यास नमेटिने फेवातालको पानीमा माछा जस्तै डुबुल्की मार्ने ईच्छा पनि नजागेको हैन तर पौडिने अनुमति नभएर होला कोही पनि पैडिएको नदेखे पछि त्यो ईच्छा लाई थाती राखेर होटेल तिर फर्क्यौ।
भोलिपल्टको लागि गाडीको ब्यबस्था मिलाएर खानपिनको कार्यक्रम पश्चात् दुई कोठातिर बाडिएर सुत्यौ।होटेलको रिसेप्सनिस्टको भनाइ अनुसार बिहानै ५ बजे मिर्मिरेमै गएर साराङकोटको सुर्योदयको अवलोकन गर्नु थियो।सोही योजना अनुसार बिहानको साढे ५ तिर गाडीले साराङकोटमा उतार्यो र सुर्योदय अवलोकन गर्ने थुम्को पनि ड्राइभरले देखाइदियो।सबैजना त्यही थुम्को माथि चढेर चारैतिर नजर लायौ।जमिन मुनिबाट घाम निस्केको देखिन्छ भनेर पहिले पनि अरुको मुखबाट सुनेको थिए।तर हामी पहाडमा जन्मेर हुर्केको मान्छेको लागि त्यहाँको सुर्योदय पनि हाम्रै गाउघर तिरको जस्तै लाग्यो, केही नौलो र खास लागेन।तर बिदेशीहरुले भने खुब चाख मानेर सुर्योदयको रमाइलो दृश्य अवलोकन गर्दै तस्वीर खिचिरहेका थिए।तर सुर्योदय बाहेक माछापुच्छ्रे,अन्नपूर्ण र धौलागिरी हिमालहरुको दृश्य भने अकल्पनीय,रोमाञ्चक र मनमोहक थियो।बिहानीको लाली किरणले सेताम्य हिमालका टाकुराहरुलाई गरेको चुम्बन हेर्दा स्वर्ग त्यहीँ नै छ जस्तो भान हुन्थ्यो।त्यहाँ बाट देखिने हरियाली वनजंगल,तल देखिने पोखरा उपत्यका बजार,त्यहाँका रङ्गीचङ्गी घरहरु,फेवाताल,सिर्सिरे हावा, अनि हावाले मानिसहरुको गालामा गरेको स्पर्श,हिमालको नजिक नजिक उडिरहेका हवाइजहाज र प्यारासुटहरु,हिमाल र पहाड लाई घुम्टो ओढाउने भनेर सल्बलाइरहेका कपास जस्ता बादलका अनेक रुपहरुको बारेमा जतिसुकै र जस्तोसुकै सुन्दर र मीठा शब्दहरुले बयान गरे पनि कम नै हुन्छ।दमको रोगले थलिनुभएको मेरो बाबाको श्वासप्रश्वास प्रक्रियामा केही प्रगति भएको अनुमान गरे मैले त्यहाँ यात्रा गरे पछि।अनि रक्तचापले ग्रसित आमाको रक्तसंचार प्रणालीमा अपेक्षा नै नगरेको सुधार आएर स्वस्थ मानिसको झैं सामान्य भएको महशुस गरे।कुनै सिकिस्त बिरामी ब्यक्ति लाई सलाइनपानी दिए जस्तो,नाक-मुखमा अक्सिजन जोडे जस्तो अनि चहराइरहेको घाउमा मलम लगाएको जस्तो महसुस गरे मैले आफूले आफूलाई।राम्रोसँग हिंड्न नसक्ने मेरो सानो छोरो दौडिरहेको थियो।सधैं मुख निचोरेर बस्ने मेरी श्रीमती मुस्कुराइरहेकी थिई।प्रायः जसो थोरै बोल्ने म पनि फत्फताइरहेको थिए।मेरी छोरीले भने पत्रकारले झैं भिडियो खिच्दै त्यहाँको वातावरणको बारेमा बर्णन गरिरहेकी थिई।अरु बेला अतीत र दु:ख सम्झेर रोइरहने मेरी सासू आमा हासिरहेकी थिई।भान्जा बाबुले भने त्यहाँको एउटा सुन्दर कुकुरलाई साथी बनाइसकेको थियो।दिदी भने भिनाजुलाई फोन गरेर पोखराको बारेमा जानकारी दिदै थिई।समग्रमा हामी नौ जना कुनै न कुनै दृस्टिकोणले रोगीहरु त्यहाँ गएका थियौं र त्यहीँको वातावरणले हाम्रो सफल प्राकृतिक उपचार गरिदियो।बिहान अलि छिटो गएकाले त्यहाँको प्याराग्लाइडिङ्को भने अनुभव संगाल्न पाएनौं।दु:ख लागेको त्यहीँ एउटा कुरामा थियो।त्यहाँको दृश्य अवलोकन पश्चात् गाडी भएको ठाउँमा झर्दा भान्जा बाबुको कुकुर साथी पनि पछ्याएर जिस्किदै र झुन्डिदै गाडी सम्म आएको थियो।तर पछि हामी गाडी चढेपछि भान्जा बाबुको साथी बाट बिछोडिनु परेको थियो।त्यसपछि हामी चारैतिरको दृश्यलाई अवलोकन गर्दै गर्दै तल झर्यौ र ड्राइभरले गाडीलाई बिन्दाबासिनी मन्दिर तर्फ हुइक्याउन थाल्यो।
"पोखराको त घर नै दामी के अरु भन्दा पनि"-मेरी श्रीमतिले गफै गफको शिलसिलामा भनी।
"हो,हो,ठुला पनि हैनन् र साना पनि हैनन्,चट्ट-चट्ट परेका क्या दामी घरहरु।"-आमाले पनि बुहारीको साथ दिदै भन्नुभयो।
"पछि हामीले पनि घर बनाउनु पर्यो भने यस्तै बनाउनुपर्छ।"-मैले पनि थपे।
बजारका घरहरु जति हेरे पनि हामी अघाइरहेका थिएनौं।मन्दिरको दर्शन पश्चात् मात्र चिया नास्ता खाने पुर्व सल्लाह अनुसार नै पुजा सामाग्री खरीद गरेर हामी मन्दिर तर्फ अगि बढ्यौं।स्वयंभुनाथ जस्तै बिन्दाबासिनी मन्दिर पनि निकै उचाइमा भएकोले मोटो छोरोलाई मैले नै बोकेर मन्दिर जाने उकालोको सिढी उक्लिनु पर्यो।माथि उक्लिने बित्तिकै त्यहाँ नरिवल फुटाउने मेशिन देखा पर्यो र मैले केही सोच्दै नसोची नरिवल फुटाउने कुरा गरे।त्यतिकैमा हामी माथि नजर लाइरहेकी एकजना महिलाले भनी-"पूजा सकेपछि मात्र नरिवल फुटाउने हो नि।"
म लाजले भुत्तुक्कै हुँदै पाइला अगाडि बढाए।मलाई अचम्म लागेको कुरा त के थियो भने-हिन्दु धर्मका प्रया: सबै देवी-देवताहरुका प्रतिमूर्तिहरु राखिएका रहेछन् त्यहाँ।ती मध्य मेरा नजरमा खास काली,गणेश,शिवलिङ्ग,सीता-राम र राधा-कृष्ण परे।कृष्ण धाराबासीको उपन्यास "राधा" को अध्ययन भर्खरै गरेकोले गर्दा सो उपन्यासमा लेखकले वर्णन गरे जस्तो छ कि छैन भनेर मैले निकै बेर सम्म नियालेर हेरे।राधा कृष्णकी श्रीमति नभई प्रेमिका भए पनि त्यहाँ संगै देखेर मनमा अनौठो खालको संबेग उत्पन्न भयो र प्रेम कहिल्यै नमर्ने रहेछ भन्ने कुराको गतिलो उदाहरण पाए।त्यो भन्दा पहिले मैले सीता र रामको प्रतिमुर्ति कहिल्यै देखेको थिईन र त्यहाँ  देखेर ठुलै सफलता हात लागेको भान भयो।समग्रमा भन्नू पर्दा बिन्दाबासिनी मन्दिर सबै देवी,देवताहरुको साझा बस्ती नै होकि झैं लाग्यो।हिन्दु धर्मका सबै भगवानहरुको दर्शन एकै चोटि गर्ने त्यो भन्दा उत्कृष्ट मन्दिर सायद अर्को ठाउँमा छैन होला भन्ने लाग्यो।त्यसपछिको हाम्रो बाकी यात्रा महेन्द्र गुफा तिर अगि बढ्यो।टिकट काटेर प्रबेश गरियो।ठाउँ ठाउँमा बत्तीको व्यवस्था भएकोले गर्दा गुफाको अवलोकन गर्नलाई खासै गाह्रो भएन।फर्किदा खेरी सानो प्वाल देख्यौं र सायद त्यो प्वाल "पापद्धार" होला भन्ठानेर बाबा र म त्यहाँ बाट सजिलै बाहिर निस्क्यौ।मनमनै हामी पनि निकै धर्मात्मा रहेछौं झैं लाग्यो।परिवारका अरु सदस्यहरु पहिले गएकै बाटोबाट फर्के।
महेन्द्रगुफा पछिको अर्को गन्तव्य चमेरागुफा भएकोले त्यतै तिर लग्यो ड्राइभरले।टिकट संग संगै टर्च लाइटहरु पनि भाडामा लिएर छिर्नुपर्ने रहेछ।९ जनाको लागि ३ वटा लाइट लिएर भित्र प्रबेश गर्यौ।प्रबेश द्धारको नजिकै अर्को एउटा सानो प्वाल थियो जहाँ बाट पाप र धर्मको परिक्षणको लागि मानिसहरु एकदमै मुश्किलले फाट्टफुट्ट बाहिर निस्किरहेका थिए।सिढी बनाएको कारण बाटो सहज भए पनि निकै तल झर्नुपर्ने रहेछ।यात्रीहरु स्वा-स्वा र फ्वा-फ्वा गर्दै तप्प तप्प पसिना झार्दै उकालो बाटोमा फर्किरहेका थिए।निकै गहिराईमा भएकोले अक्सिजनको कमीले स्वासप्रस्वास प्रक्रिया असहज हुने रहेछ।निस्पट्ट अँध्यारो भएकोले गर्दा ३ बर्से सानो छोरो डराएर रुन थाल्यो।त्यसैले आमा र म चाहिँ छोरो बोकेर त्यही उकालो बाटोबाट फर्केर अलि मास्तिर पर्ख्यौ।अरु सदस्यहरू "पापद्धार" बाट जाने भनेर गए तर सबैजना हतोत्साहित भएर उहीँ बाटोमा फर्के।त्यहाँ हाम्रो पाप-धर्म छुट्टिन नपाएकोमा खिन्न थियौं।त्यसपछिको हाम्रो गन्तब्य थियो-सेती नदी।दूध जस्तै सेतो नदी करीब एक मिटरको चौडाइमा भीर देखि तल निकै गहिराईमा बगिरहेको दृश्यको अवलोकन हामीले पुल माथिबाटै गर्यौ।
"धेरै साल पहिले सेती नदी जमिनकै सतहबाट बग्थ्यो रे।पछि कुनै दिन एकजना नारीले खेतमा गोरु जोतेको कारण सेती नदी रिसाएर तल भासिएको रे":-सासू आमाले आफ्नो अनुभव सुनाउनु भयो। तर मैले चाहिँ उहाँको कुरा पत्याईन।त्यतिन्जेल सम्ममा बिहान चिया-नास्ता केही नखाएकोले हामी भोकाइसकेका थियौं र त्यहाँ देखि नजिकै पर्ने होटलमा गएर थकाली खानाको स्वाद लियौ।खाना निकै स्वादिस्ट भएकोले हामीले थपी थपी खायौं।अरुबेला सबैभन्दा थोरै खाने छोरीले त्यो दिन सबै लाई जितिन्।
त्यसपछि ड्राइभरले पोखराको संग्राहलयमा पुर्यायो।मगर,गुरुङ र अन्य जात जातिका ऐतिहासिक श्यामस्वेत तस्वीर हरु भुत्तामा झुन्डिएका थिए।साथसाथै विभिन्न जात जातिहरुका गर-गहना,साङ्गितिक बाजागाजा हरु,गाउघरमा चलनचल्तीमा आएका काठ,फलाम र माटाको भाडाकुडा र हातहतियार हरु,लगाउने पोशाकहरु र विभिन्न गुफाहरु बाट उत्खनन गरेर प्राप्त भएका दुर्लभ सरसामान हरु नाम सहित सुन्दर तरीकाले प्रदर्शन गरेर राखिएका थिए।एउटा मगर दम्पतीको विवाह देखि लिएर मरन सम्मको कर्मकाण्ड हरुको प्रतिनिधित्व गर्ने प्रतिमूर्तिहरु प्रस्ट,सुन्दर र ज्ञानबर्द्धक लाग्यो।दम्पतीको छाप्रो भित्र अगेनामा आगो बलिरहेको दृश्य निकै रोमाञ्चक थियो किन भने अगेनामा दाउरा हालेर आगोको रुपमा आगो जस्तै देखिने बिजुलीको चिम प्रयोग गरिएको थियो,जुन दृश्य देख्दा साच्चिकै आगो बलेको जस्तो देखिन्थ्यो।समग्रमा भन्नू पर्दा सङ्ग्रालयको यात्रा अति उपलब्धिमुलक,रमाइलो र शिक्षाप्रद रह्यो।
सङ्ग्राहलय पछि हामी डेबिट फल्समा गएर त्यहाँका दृश्य अवलोकन गर्यौ।माथिबाट झर्ना तल गएर कहाँ खस्ने हो कुनै पत्तो लाग्दैनथ्यो।झर्ना देखि अलि तलतिर पानी नभएर जमीन नै थियो।धेरै बर्ष पहिले डेबिट नाम गरेको एकजना बिदेशी त्यहाँ बाट खसेर गायब भएकोले पछि झर्नाको नाम डेबिट फल्स रहन गएको हो भन्ने किंवदन्ती त सुनेको थिए तर कसरी र कहाँ बाट खसे होला भनेर चासो लिन खोजे पनि प्रायःसबैजना म जस्तै अनबिज्ञ नै थिए।फलामको बारमाथि उक्लेर बिदेशी महिला हरु झर्नाको तस्वीर निकाल्दै थिए र कोही झर्नालाई आधार बनाएर आफ्नै सेल्फीहरु खिच्न तल्लीन देखिन्थे।धेरै जसोको नजर झर्ना तिर नै थियो।त्यो झर्ना कहाँ पुगेर टुंगिन्छ होला भन्ने कौतुहलताको थुप्रो झर्ना संगै तल तल सम्म खसिरह्यो तर गन्तव्य सम्म पुग्न सकेन।त्यसैले कौतुहलतालाई त्यही थाती राखेर हामी गुप्तेश्वर महादेवको गुफा तिर प्रस्थान गर्यौ।टिकट दर पनि सबै भन्दा महँगो भएकोले अरु दुई गुफाहरुको यात्राको क्रममा सानो छोराले हैरान बनाएकोले कारण देखाएर आमा र मैले चाहिँ महादेव गुफा भित्र नजाने बिचार सुनायौ।तर सबैले "हात्ती छिर्यो,पूच्छर अड्क्यो जस्तो किन गर्ने यहाँ सम्म आए पछि" भनेको हुँदा सबै जना जान करै लाग्यो।तर यात्रा भरिमा त्यही गुफा नै सबै भन्दा उत्कृष्ट पर्याटकीय स्थल भएको सबैको धारणा थियो।भित्र ठाँउ ठाउमा बिजुलीको चिम जडान गरेको,डेबिट फल्सको पानी गुफा भित्र अलि अलि सररर खस्दै गरेको, ए सी जडान गरे जस्तो शित्तल,मन्दिर स्थापना गरिएको र डेविट फल्सको पानी गुफा भित्र बाट बगिरहेको सुन्दर दृश्यले हामी लाई नतमस्तक बनायो।गुफाको एक कुनामा गाईको प्रतिमूर्ति राखिएको थियो जहाँ एकजना पण्डित उपस्थित थियो।गुच्चा किनेर एउटा प्वाल बाट हाले पछि गाईको थुनबाट दूध निस्किन्थ्यो र सोही दूध लाई भक्तालुले आफ्नो शीरमा छर्कन्थे।गाईको कानमा मुख लगेर अरुले नसुन्ने तरीकाले बिस्तारै सासले बोलेर आफ्नो ईच्छा सुनाउनु पर्थ्यो।त्यो क्रियाकलाप देखेर मलाई यति धेरै हास उठ्यो र मज्जा पनि लाग्यो।हामी सबैले अरुले गरे झैं गर्यौ तर कसले के ईच्छा व्यक्त गरे थाहा भएन।
"नानी तिमीले गाईलाई के बरदान माग्यौ"-मैले छोरी लाई सोधेँ।
"नाइँ म अहिले भन्दिन,पछि मेरो ईच्छा पूरा भयो भने भन्छु"-छोरीको जवाफ थियो।
महादेव गुफाको दर्शन सकिएपछि सबैको साझा कुरा थियो-"झन्डै गल्ती गरिएछ,सबैभन्दा राम्रो ठाउँ नहेरेर।"हामी सबै जना अति नै खुशी भयौं।पुर्व-योजना मुताविक हामीले घुम्नुपर्ने र हेर्नुपर्ने ठाउँ सकिसकेको थियो।त्यसैले हामी सोझै होटेलमा गयौं।तर कोही पनि पोखरा घुमेर र हेरेर अघाएका थिएनौं।खाजा खाइसके पछि फेरि सबै जना घुम्न निस्के र किन्नुपर्ने सामानहरु किन्न गए तर म भने एक्लै आराम गरेर कोठामै पल्टिरहे।बेलुका सबै आइसके पछि खाना खाने बित्तिकै सबै भोलिपल्टको काठमाडौको यात्राको प्रतीक्षामा सुतिहाल्यौ।उठेको पैसा हिसाब गरेर तिरिसके पछि बिहानै २ वटा ट्याक्सी लिएर पृथ्वीचोक पुगियो र काठमाडौ जाने माइक्रोबस चढ्यौ।बस चढ्ने बितिकै मलाई छट्पटी हुन थाल्यो।पोखरा बाट काठमाडौ जान मन लागेन।एउटी प्रेमिका लाई गर्ने माया भन्दा बढी माया पोखरा लाई गर्न थालेको थिए।त्यसैले पोखराबाट टाढिदै गर्दा मन एकनासले दुखिरहेको थियो।प्रेमिका बाट बिछोडिए जस्तै पीडा बढ्न थाल्यो मुटुमा।आँखा अनायसै रसाउन थाल्यो र कसैले देख्लान् कि भनेर सबैको आँखा छलेर बेला बेलामा आँसु पुछ्दै गए।समय बित्न एकदमै गार्हो हुँदै थियो। एक मिनेट पनि एक घन्टा बराबरको हुन थाल्यो।सबै चुपचाप आ-आफ्नो सिटमा बसिरहेका थिए,सायद पोखरा छोड्नु पर्दा कोही पनि खुशी थिएनन्।पोखराका आकाश,बादल,घाम,पानी,बोट-बिरुवा,चराचुरुङ्गी,हिमाल र पहाड हरु सबैले बिदाइको हात हल्लाए झैं लाग्न थाल्यो।झन झन मन-मुटु तड्पिन थाल्यो पोखरा संगको बियोगमा।शरीरबाट चिट-चिट पसिना आउन थाल्यो र छाती गर्हौ भएर आयो।भक्कानिएर रुन मन लागेको थियो तर आफूले आफूलाई नियन्त्र गरे।पोखराको गेट आइसकेको थियो।माइक्रोबस द्रुतगतिमा अगाडि बढ्दै थियो तर मेरो मुटुको धड्कनको गति बिस्तारै कम हुँदै थियो।एकपटक मुण्टो बटारेर गेटलाई नजर लगाए र पोखरा लाई फेरी पनि कुनै दिन भेट्न आउने बाचाको साथ बिदाईको हात हलाए।हेर्दा हेर्दै पोखराबाट निकै टाढा पुगिसकेका थियौं तर पोखरा र त्यहाँका रमनीय ठाउँहरुको याद र सम्झना भने कुनै पनि हालतमा टाढा हुन सकेन, बरु गाढा बनेर मन-मुटुमा रहिरह्यो।सताइरहे अनि तड्पाइरहे ती याद र सम्झनाले।मुग्लिनमा झरेर दालभात र तरकारी संगै एक एक प्लेट तेलमा तारेका माछा खायौं।मेरो ध्यान खाना भन्दा पनि पोखरामै थियो।खाना पनि खासै रुचेन,सायद मेरो भोक पनि पोखरा तिरै पो छुट्यो कि।सबै भन्दै थिए-"मुग्लिनको माछा अति स्वादिलो।" तर मैले खाना र माछाको स्वाद महसुस गर्नै भुलेछु।मैले पनि टाउको हल्लाएर माछाको स्वादलाई समर्थन जनाए।गाडीले थानकोटको उकालो चढ्न लागेको थियो।तर त्यो उकालोमा खुट्टाले हिडेको जस्तै थकानको महसुस हुँदै थियो।त्यही उकालोमा बिसाएर सुस्केरा हाल्न मन थियो तर मेरो ईच्छामा कसैले साथ नदेला भन्ने डर थियो।त्यसैले चुपचाप बसेरै चढिरहे त्यो कठिन उकालो।थानकोटको डाडामा पुगेर गाडी ओरालो झर्न थाल्यो।बिस्तारै अक्सिजनबिहिन र कार्बनडाइअक्साइडयुक्त खाल्डोतिर अगाडि बढे झै निस्सासिन थाले।सबै जना छट्पटाउन थाले झैं देखिन्थे।दम बढे झैं बाबा उकुसमुकुस देखिनु हुन्थ्यो।रक्तचाप बढे झैं आमा तनावग्रस्त हुन थाल्नु भयो।मेरी श्रीमति पहिलेको झैं अनुहार निचार्न थालिछन्।छोरो थाकेर सुतेकोले कुनै भाव थाहा पाउन सकिएन।दिदी,भान्जा र छोरीको मुहारमा कुनै चमक थिएन।म सिकिस्त बिमारी झैं हुन थाले।सिंगै काठमाडौले धूम्रपान गरे झैं देखिन थाल्यो उपत्यकाको वातावरण।पानी परेकोले सडकका खाल्डा-खुल्डी हरुमा भरिएको धमिलो पानी माथि गाडीहरू गुड्दा फोहोर पानी उछिटिएर बिजुलीको खम्बामा ठोक्किएर खम्बाहरु बुट्टेदार देखिन्थे।हामी बसेको माइक्रोबस सकेसम्म खाल्डाहरु हरु बाट जोग्गिएर गुड्दै थियो तर बेला बेलामा खाल्डोमा परेर हामी लाई तल-माथि थेचार्ने र उफार्ने गर्दा कहिलेकाही टाउको गाडीको भित्तामा ठोक्किन्थ्यो।यस्तै सास्ती खेप्दै खेप्दै हामी आफ्नो कोठामा पुग्यौं।चमेरो-गुफाको नजिकै टिपेको सिस्नु र ढिडो पकाएर खाई सुत्ने तरखरमा लाग्यौं।५/६ घन्टाको यात्राले थाकेको भए पनि निद्र पट्टकै लागेन।उहीँ पोखराको यादको छालले उचालेर पछार्न थाल्यो।मोबाइलको ग्यालरी खोलेर पोखराका विभिन्न स्थानहरुमा खिचिएका फोटोहरु हेरेर निद्र लाई फकाउने कोसिस गरे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...