लगातार परिरहेको अविरल बर्षाको कारण नेपालको तराई भूभाग डुबानमा परेको खबरले आम देशबासीलाई स्तब्ध बनाएको छ।सैयौं घरहरु पूर्णरूपमा डुबानमा परेका छन्।धेरै धनजनको क्षति भैसकेको छ।पीडितहरु त्राही-त्राही भएका छन्।जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्।यतिखेर तराई डुबानमा परेको मात्र छैन।मानसिक रुपमा हामी आम नेपालीहरु डुबेका छौं।सिंगो देश शोकमा डुबेको छ।मर्माहत भएका छौं।एउटा नेपाली नागरिक भएको हैसियतले म रोएको छु।हामी रोएका छौं।तर राष्ट्रवादी भनौंदा नेताहरुलाई यस घटनाले कति पनि छोएको देखिंदैन।भीषण बर्षा अझै रोकिने छाँटकाँट छैन।अझै कति जनधनको क्षति हुने हो यकिन छैन।यस्तो संगीन घडीमा समेत सरकारले उद्धार र राहत कार्यमा तदारुकता देखाएको छैन।चुनाबको मौसममा ठूल्ठूला आश्वासन दिएर भोट माग्ने राजनैतिक नेता र पार्टीहरु खै कुन दुलोमा लुकेका छन्?एक मधेस,एक प्रदेश र स्वायत्त मधेसको वकालत गरेर नथाक्ने मधेसी नेताहरु मुकदर्शक भएर रमिता हेरिरहेका छन्।चुनावमा हेलिकप्टर चार्टर गरेर हिंड्ने राष्ट्रवादी नेताहरु!यदि तिमीहरुको अलिअलि इज्जत बचेको भए निकाल हेलिकप्टर र जाउ उद्धार गर्न!हैन भने उल्टो दिनगन्ती शुरु गरे हुन्छ,तिमीहरुको पतनको दिन आइसकेको छ।जनताको पार्टी भनेर जबर्जस्ती चिनाउन खोजिएका नयाँ शक्ति,साझा पार्टी र विवेकशील पार्टी तथा पार्टीका नेताहरु कोही मौन छन् र कोही तीजका गीतमा रमाइरहेका छन्।झुमिरहेका छन्।बरु देशको अवस्थाप्रति जनता चिन्तित छन्।खेद प्रकट गरिरहेका छन्।देशको माया नेतालाई भन्दा जनतालाई भएको प्रष्ट देखिन्छ।पीडितका लागि राहत संकलन गरिरहेका छन्।बिपत्तिको बेला यहाँ कुनै धर्म छैन,जात छैन र हिमाली-पहाडी छैन।यतिबेला यहाँ एउटै मात्र जात हुन्छ-नेपाली।एक-अर्कालाई पर्दा सहयोग गर्नु नै हाम्रो महानता हो।हाम्रो दायित्व हो।२०७२ सालको शक्तिशाली महाभुकम्पको बेलादेखि नै यो प्रमाणित हुँदै आएको कुरा हो।
यतातिर कोशीको ब्यारेजमा पानीको बहाव अत्याधिक भैसकेको छ।भारतलाई ३३ वटै ढोका खोल्न आग्रह गरिए पनि उताबाट कुनै सकारात्मक प्रतिकृया आएको छैन।छिमेकी देश भारत नेपालको महाबिपत्तिमा समेत मौन बसेर खराब छिमेकीको स्वरुप प्रदर्शन गरिरहेको छ।उ रमिता हेरेर बसिरहेको छ।नेपाल सरकारबाट पनि चुस्त कुटनैतिक पहल हुन सकिरहेको छैन।कोशी ब्यारेजको ताला नेपालमा भएपनि चाबी भारतसँग हुनाले नेपालमा बिपत आइपरेको बेला भारतसामू घुँडा टेक्नुपरेको हो।बिगतमा भारतसँग सन्धि गर्नेबेला नेपालका नालायक नेताहरुमा दूरदर्शिताको कमी भएको र भारतप्रति उदारता देखाएको हुँदा आज यो समस्या आएको हो।के कालान्तरमा पनि हामीले यही समस्या भोगिरहने?नेपालको नदीनालामाथि कहिलेसम्म भारतले प्रभुत्व जमाइरहने?अझै नेताहरु देशमा भारतीय लगानीलाई बढावा दिने तरखरमा छन्।यदि त्यसो गरियो भने नेपाल सकिनेछ।नेपालको भविष्य बर्षौंसम्म अन्धकारमा फस्ने निश्चित छ।नेपालका नेताहरु सत्ता र कुर्सीको मोहमा जबसम्म आफूलाई नोकर र भारतीय शक्तिकेन्द्र लाई मालिक ठानिरहन्छन्,तबसम्म समस्या ज्युँकात्युँ रहनेछ।अझ समस्या बिकराल बन्दै जानेछ।एकदिन नेपाली भूभाग लाई भारतले आफ्नो मुट्ठीमा नपार्लान् भन्न सकिन्न।
हुन त भारत बिश्वमै शक्तिशाली राष्ट्रहरुको सूचीमा चौथो बरियतामा पर्छ।तर भारतबाट सहयोगको अपेक्षा गर्नु मुर्खता मात्र हो।भुकम्पले थिलथिलो भएको नेपालमा मधेसी पार्टीहरुसँग मिलेर महिनौं दिनसम्म नाकाबन्दी गरेर नेपाललाई अझै कमजोर बनाउने धृष्टता गरियो।नेपालीहरुले कति दुख-कष्ट सहेर नाकाबन्दीको सामना गरे।१६औं शताब्दीमा अंग्रेजसंग नझुकेको नेपाली नाकाबन्दीदेखि नझुकेको देखेर आफैं लखतरान भएर नाका खुल्ला गरेका थिए।
२०७२ को महाभुकम्पमा पनि भारतले पीडितहरुलाई उद्दारको ढोङ फुकेर हेलिकप्टर चढेर नेपाली आकाशबाट रमिता हेरेका थिए।फोटो खिचेर उनीहरुको संचारमाध्यममा बढाईँचढाइ गरेर पीडित नेपालीको आलो घाउमा नुनचुक थप्ने काम गरेका थिए।नेपालीलाई उद्धार गरेको गलत प्रचार गरी संसारमै महान बन्न खोजेका थिए।एक अरब रुपैयाँ सहयोगको पनि उद्घोष गरेका थिए।तर नेपालले पाउने बेला एक रुपैयाँ त के एक पैसा पनि सहयोग पाएनन्।उनीहरुले नेपालीलाई कुकुर समान ठानेका छन्।केही टुक्रा हड्डी फालेर लोभलालच देखाउने काम मात्र गरेका छन्।यतिको ठूलो अपमान सहेर पनि अझै नेपाली नेताहरुको बुद्धिमा बिर्को लागेकै छ।घैटोमा घाम लागेकै छैन।कहिले चेत आउँला खै?
छिमेकीले सिमा मिचेको मिच्यै छ।लुटेको लुट्यै छ।नेपाल लुटिएको लुटिएकै छ।महत्त्वपूर्ण नदीनालालाई दक्षिणतिर सुम्पिसके।अझै सुम्पिने तयारीमा छन्।नेपालको सम्पदा भनेकै नदीनाला हुन्।मुटु भनेकै नदीनाला हुन्।आँखा भनेकै नदीनाला हुन्।तर छिमेकीले हाम्रो मुटु निकालेर हाम्रो उपचार गरेझैं गरिरहेका छन्।आँखा निकालेर कालो चश्मा थमाउँदैछन्।ती वास्तवमा हाम्रा छिमेकी त हुन् तर असल छिमेकी पक्कै हैनन्।ती त चोर छिमेकी हुन्।खराब छिमेकी हुन्।खराब छिमेकीको आश गर्नु कहाँसम्म सार्थक होला?बरु संगत नगरेकै बेश।जता असल छिमेकी छ,उतै संगत गर्नु नै बुद्धिमानी हुन्छ।
त्यसैले सुन नेता हो!अब हामी खटारा एम्बुलेन्समा बिक्ने हैन।पुराना,थोत्रा,कामै नलाग्ने गाडीको उपहारमा बिक्ने हैन।हामी त मालिक हौं- प्राकृतिक सम्पदाको।हामी गरिब छैनौं।कसैले लोभलालचमा फस्नुपर्ने आवश्यकता नै छैन।फेरि पनि बाढी पीडितको नाममा अरबौं रकम सहयोगको उद्घोष गर्न सक्छ तिनै चालू छिमेकीले।अचम्म मान्नुपर्दैन,त्यो त उसको देखाउने दाँत मात्र हो।चपाउने दाँत अर्कै छ।मागेको रोटीले कहिल्यै पेट भरिन्न।मागेको धोतीले लाज कहिलेसम्म ढाक्ने?त्यसैले ए सरकार हो!ए नेता हो!कसैको भर पर्नुपर्ने आवश्यकता छैन।ईच्छाशक्ति भए यो भन्दा जटिल समस्या सजिलैसँग सुल्झाउन सकिन्छ।हामी जनता तिमीहरुको साथमा छौं।कसैलाई पर्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं।तिमीहरुको पनि त नजर पर्यो होला त तराइ डुबानमा परेको!के तिम्रो आँखा रसाएन?तिम्रो पत्थर जस्तो मन पग्लिएन?आम नेपालीलाई दुख्दा तिमीहरूलाई दुखेन?यदि दुख्यो भने केही गर्ने ईच्छाशक्ति देखाउ।आम जनता तिमीहरुको साथमा हुनेछन्।जय नेपाल!जय नेपाली!
Sunday, 13 August 2017
अन्धो सरकार र नेताहरुको नाममा दुई शब्द
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment