Wednesday, 9 August 2017

आनी-१७

                      भाग-१७
       दिन दुईगुणा रात चौगुणा बाबाको संगत काला-व्यापारी,गुन्डाका नाइके,माफिया र तस्कर जस्ता खराब ब्यक्तिहरुसंग बढ्दै गयो।लागू-औषध र मानवीय बेचबिखनमा संलग्न हुन थाल्नुभयो।औंसीपूर्णेमा घर आउँदा पैसाको बिटा फालेर जानुहुन्थ्यो।त्यसपछि आर्थिक अभाव त टर्यो तर हाम्रो जीवन पासोमा पर्दै थियो।म ११/१२ बर्षको हुँदै बाबाले मलाई पनि लागूऔषध ओसारपसारमा लगाउनु भयो।छोटो बाटोबाट कसरी पैसा कमाउने भनेर तरीकाहरु सिकाउनु भयो।म मान्छे हैन राक्षस बन्दै थिएँ।बाबाको आदेश पालन नगरे मेरो खैरियत थिएन।उहाँकै आदेशमा विभिन्न आपराधिक कृयाकलापमा संलग्न हुँदै गएँ।म सानै भएकोले ड्रग्स ओसारपसार गर्दा ममाथि पुलिसको खासै मतलव र निगरानी हुन्नथ्यो।मेरो बालापनबाट काला-व्यापारीहरुले भरपूर फाइदा उठाए।सत्य र सही बाटो छोडेर असत्य र गलत बाटोमा हिंड्न थालें।मैले पनि करोडौंको पैसा चलखेल गर्न पाएँ।त्यो देखेर झन मेरो पूरै दिमाग पैसा कमाउने तर्फ मात्र उन्मुख भयो।हेर्दाहेर्दै म खुंखार गुन्डा समेत भैसकेको थिएँ।बलात्कार,गुन्डागर्दी,लुटपाट,अपहरण र हत्याहिंसा मेरो लागि सामान्य भैसकेको थियो।नारीहरुको जवानी र इज्जतसंग खेल्दा आनन्दित र सन्तुष्ट हुन्थें।मेरो मस्तिष्कमा सानैदेखि बाबाले बिष भरिदिनुभयो।हामी छिट्टै अमीर भयौं।तर पैसाको लालच र प्यास झन-झन बढ्दै गयो।यद्यपि मेरी आमा ती सबबाट खुशी हुनुहुन्नथ्यो।कहिलेकाही सम्झाउने गर्नुहुन्थ्यो।
"बाबु!तेरो बाबाले अन्ततः तँलाई पनि बिगारेरै छाड्यो।तँ मान्छे बन्न सकिनस् छोरा,मलाई यही कुरामा चिन्ता लाग्छ।सकिन्छ भने गलत बाटो छोडेर सामान्य जीवनयापन गर।नत्र तैंले ठूलो मूल्य चुकाउनेछस्।"
मति बिग्रेको बेला अर्ती-उपदेशले पनि काम गर्दोरहेनछ।त्यतिखेर मलाई आमा भन्दा बाबा नै सही जस्तो लाग्यो।आमाको दिव्योपदेशलाई मनन गर्न सकिन।एकदिन मेरो जीवनमा भयावह भुकम्प आयो र सबै चकनाचुर पारेर गयो।मेरी आमा अचानक गायब हुनुभयो।आकाश-पातल कहाँ खोजिन?तर भेट्टाउन सकिन।किन,कहाँ र कसरी हराउनु भयो केही थाहा पाइन।महिनौं दिनसम्म उहाँकै खोजीमा दिनरात भौतारिएँ।मेरो जिन्दगी हराएको थियो।ममताकी खानी रित्तो भयो।घर रित्तो भयो।सबै बर्बाद भए।उहाँकै यादमा रोएँ,चिच्याएँ,तड्पिएँ र बेहाल भएँ।तर मेरो आर्तनाद न भगवानले सुने न आमाले।मैले साक्षात देवीको दर्शन नपाएको एक बर्ष भैसकेको थियो।मैले आमालाई माया मारें।मेरो केही जोड चलेन।बिछोडको करौंतीले रिटिएर मुटु छियाछिया भयो।लाखौं टुक्राहरुमा बिभाजित भए।फेरि ती टुक्राहरु जोडिने संभावना रहेन।आमाको माया-ममता सहिद भैसकेको थियो।त्यो ममतालाई श्राद्ध-सुमन अर्पण गर्नु सिवाय दोश्रो बिकल्प थिएन।ममताको दाहसंस्कार गर्न वाध्य थिएँ।पटकपटक आफैंलाई स्वर्ग बसाइँको मार्गमा डोर्याउने चेष्टा पनि नगरेको होइन।तर त्यतिनै बेला आमाको महावाणीले सतर्क गराउँथ्यो।
"धत बाबु!आत्महत्या पनि गर्छन् कसैले?आत्महत्या त कायरले मात्र गर्छन्।"
उहाँको उपदेश स्मृतिमा झट्ट आएपछि पुनः आफूलाई सजीव राख्थें।नत्र भने उहिल्यै मेरो देह माटोमा बिलिन भैसक्थ्यो।आमाले मलाई पटकपटक जीवन दिनुभयो।शुरुमा जन्म दिएर र पछि दिव्योपदेश दिएर।त्यतिकै आमाको महिमा चुलिएको हैन रहेछ।आमा संसारमै सबैभन्दा महान हुनेरहेछ।आमाले जीवनदान त दिनुभयो तर जीवनदाता आफैं जीवित हुनुहुन्थ्यो या संसारबाट अलविदा भैसक्नुभएको थियो,म अनबिज्ञ नै थिएँ।जीवित भए सुखमा हुनुहुन्थ्यो कि दु:खमा,अवस्थाबारे अन्जान थिएँ।मृत्यु भैसकेको भए आत्माले शान्ति पायो कि कतै भड्किरहेको थियो-त्यो पनि थाहा थिएन।तर आफ्नो बारेमा स्पष्ट जान्दथें कि मेरो हालत नाजुक थियो।उहाँलाई नखोजेको दिन थिएन।नखोजेको ठाउँ थिएन।सिंगो भारत चहारिसकेको थिएँ।अब एउटै मात्र ठाउँ बाँकी थियो-मन।आमालाई आफ्नै मनमा खोज्न थालें।हो,मैले उहाँलाई मेरै मनमा भेट्टाएँ।किनभने उहाँलाई मैले मनमा बसाएको थिएँ।सजाएको थिएँ।मैले उहाँलाई भुल्न थालें।किनभने मनभित्र भएको मान्छेलाई सम्झिरहनुपर्ने आवश्यकता भएन।मैले उहाँलाई मस्तिष्कबाट सदा-सदाको लागि विदा गर्ने कठोर निर्णय गरें।परन्तु मेरो दुस्प्रयास निरर्थक भयो।आमासँग बिताएका मीठा पलहरु तीता बनेर स्मृतिमा नृत्य गरिरहे।काँडा बनेर घोचिरहे।मेरो मनको संघारमा पाइला टेकिरहे।यादहरुको नदी अविरल-अविरल मेरो छातीभित्र बगिरह्यो।त्यो नदी कहिल्यै सुकेन।कहिल्यै घटेन।बरु झन-झन बढ्दै गयो।बग्दै-बग्दै मेरा नयनबाट छचल्किएर बाहिर निस्क्यो।रुझाइरह्यो मेरो गह।भरिरह्यो मनको दह।दहमा छालहरु आइरहे।तरंगहरु उत्पन्न भैरहे।आमाकै यादहरुको नदीमा डुबुल्की मार्दै पौडिरहने बानी पर्यो।त्यो नदीलाई मैले घटाउने प्रयास गरें सुकाउने प्रयास गरें।तर नदीलाई सुकाउन खोज्नु धृष्टता मात्र रहेछ।मुर्खता मात्र रहेछ।सूर्यलाई हत्केलाले छेक्न खोजे जस्तो मात्र रहेछ।यादहरुको नदी बग्नु प्राकृतिक प्रकृया नै रहेछ।प्रकृतिको बिरुद्धमा जानु ब्यर्थ रहेछ।असम्भव रहेछ।
          तर म यो कुरामा चौकाइरहेको थिएँ कि बाबाले आमाको बारेमा खासै चासो लिइएको देखिन।शुरु-शुरुमा त आमा बिना मरुँला झैं गर्नुहुन्थ्यो तर उहाँको त्याग र तपस्या केही दिनको लागि मात्र थियो।मुहार कालो बादल जस्तो मात्र बनाएको देखें।अश्रु झारेको कहिल्यै देखिन।वास्तवमा उहाँ मान्छे नै बादल जस्तो हुनुहुँदोरहेछ।क्षणिक समयको लागि गगनमा छाएजस्तो मात्र गर्नुभएको रहेछ।पलभरमै शित्तल पवनको साथमा रोमाञ्चक जीवन जिउन थालेको थियो।उहाँको नियत देखेर एकदिन यस्तो वार्तालाप भएको थियो।
"बाबा!आमा कहाँ जानुभएको होला?कुन हालतमा हुनुहुन्छ होला?अब के गर्ने बाबा?"
प्रत्युत्तरमा उहाँले भन्नुभएको थियो-
"मलाई थाहा भएको भए खुरुक्क लिएर आउँथें नि।जानेलाई जान दिनुपर्छ छोरा।सायद तिम्रो आमा पोइला गएकी होलिन्।"
"देखेर भन्नुभएको कि हचुवामा?देवी जस्ती मेरी आमालाई जे पायो त्यही नभन्नुस् है बाबा,राम्रो हुनेछैन।"
"हा हा हा हा..देवी?क-कसको ओछ्यान तताइरहेकी होलिन् तेरी आमा!अझ देवी?"
उहाँले कुटिल हाँसो हाँस्दै खिल्ली उडाउनुभयो।मेरी आमाको चरित्रमाथि शंका मात्र गर्नुभएन,तथानाम गाली गर्नुभयो।उहाँको घटिया सोचको घोर निन्दा गरें।
"उहाँ तपाईंकी श्रीमती हुनुहुन्थ्यो तर यो नभुल्नुस् कि उहाँ मेरी आमा हुनुहुन्थ्यो।मेरी आमाको बारेमा यस्तो तल्लोस्तरको कुरा गर्नेलाई म छोड्न सक्दिन।तपाईं यहाँबाट गइहाल्नुस्।नत्र राम्रो हुनेछैन।"
"ए!अब ठूलो भईस्?मैले तेरो लागि केही गरेको छैन?त्यतिकै यत्रो भईस्?के गर्छस्?लु आइजा।"
यति भनेर उहाँले मेरो गालामा चड्कन लाउनुभयो।मैले सहन सकिन।उहाँको प्रहारलाई छेकें।
"ए अब त ममाथि हात उठाउने पनि भईस्?महान भईस् तँ।"
मेरो रिसको पारो अझ माथि-माथि चढ्दै थियो तर संयमित भएर आफूलाई नियन्त्रण गरें।यदि प्रहार नै गर्ने भए एकै बाक्सिङले खुत्रुक्कै बनाइदिन्थें।तर मेरो मनमा जीवित रहेको बाबा प्रतिको सम्मान,इज्जत र मायाले मलाई रोक्यो।पाप गर्न दिएन।उस्तै छोरा भएको भए ठाउँका ठाउँ ऐया भन्न नपाउने गरी दनक दिनेथिएँ।हुन त म कुन चाहिँ असल छोरो थिएँ र?म त खराब भैसकेको थिएँ।असल संस्कारको अभावमा म खराब छोरो बनेको थिएँ।खराब मान्छे बनेको थिएँ।
         "पेम्बा!ए पेम्बा!मसंग को आयो हेर त!"
बाहिरबाट बाबाको उत्साहित आवाज आयो।मैले सोचेको थिएँ-सायद बाबाले मेरी आमालाई खोजेर ल्याउनुभयो।म उज्यालो मुहार लिएर उत्साहित हुँदै खुरुरु दौडेर घरको संघारमा पुगें।तर बाहिरको दृश्यले एकाएक मलाई हतोत्साहित बनायो।निरास बनायो।उहाँले हातमा समाएर एकजना २०/२२ बर्षकी नारीलाई ल्याउनुभएको रहेछ।माहोल देखेर मलाई ठम्याउन रत्तिभर पनि गाह्रो भएन कि उनी अरु कोही नभएर मेरी सानी आमा थिइन्।मेरी सौतेनी आमा थिइन्।मेरी आमा भन्दा पनि उहाँकी कान्छी श्रीमती थिइन्।म एक्कासी बुर्ज खलिफाको टावरबाट फेदीमा खसें।मेरो ममताको संसारमा अचानक ग्रहण लाग्यो।तैपनि मैले थाहा नपाएझैं गरी सोधें-
"बाबा!उहाँ को हुनुहुन्छ?"
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ आयो-
"बाबु!यी तेरी आमा हुन्।आजदेखि हामीसंगै बस्छे।"
"ढोग गरें आमा!भित्रै आउनुस् न।"
मैले छोराको धर्म निभाएँ।मनमा त आक्रोशको ज्वाला दन्केको थियो तर ओकल्न सकिन।बरु घिउ भएर उहाँहरुको सामू पेश भएँ।मेरी असली आमा कुन दुनियाँमा हुनुहुन्थ्यो होला।कुन हालतमा हुनुहुन्थ्यो होला।तर बाबाले आमाको बारेमा सोच्नुभएन।आमा अनुपस्थित हुनुभएको एकै बर्षमा सौता हालेर उहाँले मेरो मातृत्वमाथि घोर अन्याय गर्नुभयो।श्रीमती भन्ने शब्दको खिल्ली उडाउनुभयो।हुन त उहाँले कहिले चाहिँ मेरी आमालाई माया गर्नुभएको थियो र?उहाँले त केवल शारीरिक आवश्यकता पूरा गर्नुभएको थियो।बिना प्रेमको यौन के यौन?श्रीमती लाई माया नगर्ने श्रीमान के श्रीमान।
            तर यता मेरो आचरण चाहिँ शुद्ध पक्कै थिएन।नचाहँदा नचाहँदै पनि पापको आहालमा निस्कनै नसकिने गरी चुर्लुम्मै डुबिसकको थिएँ।आर्थिक लाभको लालचमा दर्जनौं चेलीबेटीहरुलाई कोठी जस्तो नर्कमा बेचिसकेको थिएँ।कसैलाई राम्रो काम त कसैलाई विहेको प्रलोभनमा उनीहरुको जिन्दगीसंग खेलवाड गरेको थिएँ।लाखौं युवाहरुलाई लागुऔषध बाँडेर दुर्व्यसनीको सिकार बनाएँ।कतिको खुशी उजाडिए।कतिको सिउँदो पुछिए।कतिलाई टुहुरा र कतिलाई बेसाहारा बनाएँ।बुढेसकालको लट्ठी भाँचिदिएँ।मेरो देहावसान पश्चात् यमराजले मेरो छाला तारेर घाममा सुकाउँछ होला।मेरो आँखा निकालेर गिद्धालाई ख्वाउँछ होला।मेरो हड्डीको सुप बनाएर पिउँछ होला।मेरो मांसपेशी कुकुरले समेत नखाने सिनो झैं डङडङ्ती गन्हाएर अलपत्र पर्छ होला।जतिसुकै कडा सजाय दिएपनि कमै हुन्छ होला।मेरो नाम खुंखार राक्षसहरुको लिस्टमा पहिलो नम्बरमा आउँछ होला।मैले चेलीहरुलाई आफ्नै दिदीबहिनी सरह ठानिन।आफ्नै आमा सरह ठानिन।मैले त यो पनि बिर्सेको थिएँ कि मेरो जन्म पनि कुनै नारीकै कोखबाट भएको थियो।धिक्कार छ मलाई।मैले कति लक्ष्मीहरुको अपमान गरें।कति देवीहरुको खिल्ली उडाएँ।कति चेलीहरुको शरीरसंग खेलें।कति आमाहरुलाई रुवाएँ।कति दिदीबहिनीहरुको खुशी लुटें।म मान्छे रहिन।मान्छेको नाममा कलंक भएँ।पैसाको लागि अन्धो भएँ।मैले संसार छोडें भने सबैको भलाइ हुन्छ।सबैको ओठमा मुस्कान भरिन्छ।हजारौं नारीहरु बेचिनेबाट जोगिनेछन्।मेरो मरन आबश्यक छ।
                   डकैतीको दुनियाँमा डाकु रत्नाकर भएँ।हत्याहिंसाको साम्राज्यमा हिटलर भएँ।वादको हिसाबले अवसरवादी भएँ।आतंकवादी थिएँ।भारतका प्रसिद्ध होटलहरुमा समेत आधिपत्य जमाउन सफल भएँ।हप्ता उठाएर व्यापारीहरुलाई आतंकित बनाएँ।मलाई भोटे डन भनेर चिन्थे।मेरो नाम मात्र सुनेर मान्छेहरु थरथर काम्थे।सिंगो भारत नै हल्लाएको थिएँ।अपराधको दुनियाँमा आफूलाई ब्रान्डको रुपमा स्थापित गरिसकेको थिएँ।मेरै नाम लिएर अरु सानातिना अपराधहरु भैरहन्थे र भैरहेका छन्।म राजा थिएँ।बादशाह थिएँ।सिंह थिएँ।धेरै मुसा र बिरालाहरु मेरा अघिपछि थिए।मेरो शक्तिको आँकलन कसैले गर्न सक्दैनथे।मेरो पहुँचलाई नजरअन्दाज गर्न सक्दैनथे।
            एकदिनको कुरा हो।म एउटी फूललाई कोठीमा बेचेर फर्किंदै थिएँ।कोठीको माथिल्लो तलाको बरन्डाबाट एक परिचित आवाज आइरहेको थियो।
"आओ!आओ!मर्दलोग!अपना काम तमाम करके जाओ।"
शुरुमा त मैले जाबो बेश्याको स्वर भनेर खासै वास्ता गरिन।तर त्यो स्वर छुट्टै खालको थियो।मीठो थियो।प्यारो थियो।सुनुँ-सुनुँ लाग्ने मायालु थियो।आफ्नै मान्छेको आवाज जस्तो।स्वरमा अपनत्व थियो।नवीनता थिएन।पहिले पनि धेरैपटक सुनिएको स्वर जस्तो।मनमा चरम उत्सुकता जागेर आयो।अरुबेला पैसाको ब्रीफकेस बोकेर सरासर हिंड्ने बानी थियो।तर त्यो दिन अनायासै पाइला रोकिए।अगाडि बढ्नै सकिन।कसैले मेरो खुट्टामा साङ्ला बाँधेर पछाडितिर खिचेझैं लाग्यो।एकचोटी फर्केर हेर्नुपर्यो भनेर मुन्टो मात्र के बटारेको थिएँ,ती मीठो स्वरकी आइमाई अरु कोही नभएर मेरै आमा थिइन्।हरे भगवान!मैले के देख्नुपरेको!म ठाउँको ठाउँ ढलें।मुर्छा परें।धर्ती भासिए झैं।आकाश खसे झैं।शक्तिशाली भुकम्प आएझैं।ममताको आधारशिला खत्तम भएझैं।दिउँसै रात परेझैं।संसारमै ध्वस्त भए जस्तो।मैले अरु केही देखिन।मैले उहाँलाई पहिलो नजरमै प्रष्ट चिनें।सायद उहाँले पनि मलाई चिन्नुभयो।उहाँको नयनी तालबाट गंगा-जमुना बग्न थाल्यो।उहाँले मेरो साक्षात्कार धेरैबेर गर्न सक्नुभएन।सायद उहाँमा त्यो हिम्मत थिएन।किनभने एउटी आमा बेश्या भएर आफ्नै छोराको अगाडि उभिरहेकी थिई।त्यो बेला आमाको मनमा कति उराठलाग्दो सुनामी आए होला?सायद मलाई देखेपछि बाँच्ने रहर पनि मरे होला।मैले पनि उहाँलाई त्यो बिरक्तिलो,दयनीय र नाजुक अवस्थामा देखेर उहाँप्रति दया-माया जागेर आएको थियो।गहिरो सहानुभूति प्रकट गरें।तर बिस्तारै घृणा पनि जागेर आयो।कारण-मेरी आमा मरिसकेकी थिई।मेरी आमा आमा नभएर एउटी कामुक बेश्या भैसकेकी थिई।परपुरुषहरुको यौनप्यास मेटाउने उहाँको धन्दा थियो।सरासर गएर मुखमा थुक्न मन लागेको थियो।
"आमा!बरु खोले खाएर सामान्य जीवनयापन गर्ने थियौं नि।किन यस्तो पेशा अंगाल्नुभएको?पैसै सबथोक हैन भन्नुहुन्थ्यो।पैसाको पछि लाग्नुहुन्न भनेर खुब उपदेश दिनुहुन्थ्यो।तर आज पैसाको लागि यति तलसम्म गिर्नुभयो हैन?किन यस्तो बाटो रोज्नुभयो आमा?आखिर किन?पैसै चाहिएको भए म कमाएर ल्याइदिन्थें।तपाईं लाई आजदेखि आमा भन्दिन।बेश्या भन्छु,बेश्या!"
यस्तै-यस्तै गाली दिन मन लागेको थियो।तर एउटी बेश्या आमासँग बोल्नुको औचित्य समाप्त भएको ठहर गरें।एक शब्द पनि नबोलेर म कुलेलाम ठोकें।मेरा निर्दयी पाइलाहरु अगाडि बढिरहे-बढिरहे।फेरि पछाडि सरेनन्।मुन्टोले बटारिने चेष्टासम्म गरेन।त्यो दृश्य काँडा बनेर मेरो आँखामा गडेको थियो।काँचको धारिलो टुक्रा बनेर मुटु रेटेको थियो।नकारात्मक सोच बनेर मस्तिष्कमा बसेको थियो।बर्षदिन देखि खोजेको आमालाई भेट्टाएर पनि खास लागेन।पहिले आमा गायब हुँदा आफ्नै ज्यान लिउँ जस्तो लागेको थियो।भेटपछि आमाकै ज्यान लिउँ जस्तो लाग्यो।मेरो आमाप्रतिको दृष्टिकोणले १८०°को फड्को मार्यो।मनले अरु केही सोचेन।गाली मात्र गर्यो।आमाले मेरो बाटो कतिबेला सम्म हेर्नुभयो,मलाई थाहा भएन।न मेरो तिरस्कार सहेर त्यही प्राण त्याग्नुभयो कि- त्यो पनि थाहा भएन।जेसुकै भएपनि मलाई के मतलब थियो र?म त एउटी बेश्या आमाबाट आफ्नो इज्जत बचाउन भागिरहेको थिएँ।उहाँको हाउभाउ र शारीरिक प्रतिकृयानुसार उहाँले मलाई छर्लङ्ग चिन्नुभएको थियो।तर मैले चिने पनि नचिनेझैं गरें।जन्म दिएर दूधधारा चुसाएर हुर्काएको आमालाई चटक्क छोडेर हिंडें।मैले हालखबर सम्म पनि सोध्ने आवश्यकता ठानिन।किन,कसरी र केको लागि कोठीमा आउनुभयो भनेर सोध्नु त दूरदराजको कुरा।मैले "आमा!" सम्म भनेर बोलाएको भए उहाँ कति खुशी हुनुहुन्थ्यो होला।तर बोलाइन।म भित्रको इगोले बोलाउन दिएन।म भित्रको घमण्डले दिएन।किन भने मलाई मेरो इज्जत प्यारो थियो।हुँदै नभएको इज्जत जाने डर थियो।सयौं पुरुषहरूको तृष्णा तृप्त पार्ने बेश्या आईमाई प्रति असिम घृणा जागेको थियो।फोहोरको डंगुर सम्झेर उहाँप्रति बितृष्णा जागेको थियो।मैले आफूलाई बिर्सें।आफ्नो औकात बिर्सें।सरासर घर आएँ।
         घर पुगिसकेपछि खाना पनि खान मन लागेन।त्यतिकै सुतें।सुतें के भनौं-पल्टें।जतिसुकै फकाए पनि निद्राको आगमन भएन।दूरदराजमा कतै थियो होला।मेरो रमिता हेरेर बसेको थियो होला।आमासँग भएको भेटले मेरो मस्तिष्कलाई उथलपुथल बनाइरह्यो।विभिन्न सोचाइहरुको ज्वारभाटा आएर मनमा तहल्का मच्चायो।थरीथरीका बिचार तथा कुबिचारहरुको प्रदुर्भाव भए।विभिन्न संभावनाहरुको बारेमा मनन गरिरहें।अनेकानेक शंका र उपशंकाहरुले मस्तिष्कमा डेरा जमाउन थाले।आतंक मच्चाउन थाले।त्यो घटनाले म नराम्ररी प्रभावित भएँ।सोचाइको गहिरो सागरमा चुर्लुम्म डुब्न थालें।
"किन आमाले त्यस्तो गम्भीर निर्णय लिनुभएको होला?"
"के पुगेको थिएन र त्यस्तो पेशा अंगाल्नुभयो?"
"पैसाकै लागि त्यस्तो घटिया पेशामा लाग्नुपर्ने के आवश्यकता थियो?भनेको भए बिटाका बिटा ल्याएर अनुहारमा फालिन्थ्यो।"
"सायद दिनप्रतिदिन बाबाको चरम यातना सहन नसकेर त्यस्तो कुमार्ग अपनाउन पुग्नुभयो होला।"
"हामी गलत बाटोमा लागेको कारण उहाँ पनि गलत बाटोमा लाग्नुभयो कि!"
"कि बाबाबाट शारीरिक तृष्णा मेटाउन पो सक्नुभएन कि।किनभने बाबा हमेसा कुलतमा फसेर आमालाई वेवास्ता गर्नुहुन्थ्यो।"
"सायद उहाँ एकल पुरुषबाट तृप्त हुन सक्नुभएन कि।"
"कि हामीले भन्दा बढी पैसा कमाएर देखाउँछु भनेर हो कि!"
"हुनसक्छ कसैको प्रलोभनमा परेर फस्नुभयो।"
"कतै कसैले अपहरण गरेर यौन धन्दामा सरिक गराएको त हैन?"
"मलाई सधैं दिव्योपदेश दिने आमा आफैं कसरी कोठीमा पुग्नुभयो?"
"के उहाँ आफ्नै स्वेच्छाले त्यहाँ जानुभएको थियो?"
"उम्म...कारण के चाहिँ हुनसक्छ त?"
"के उहाँलाई हाम्रो इज्जतको बारेमा अलिकति पनि ख्याल भएन?"
"एकपटक भोलि नै गएर सबकुरा उहाँकै मुखारबिन्दुबाट सुन्नेछु।"
"जान त जाने तर कुन उदेश्य लिएर जाने?के भनेर छिर्ने?"
"कोठीमा जाने सबैलाई सबैले एउटै दृष्टिकोणले हेर्छन्।मोजमस्ती गर्न आएको भन्ने सोच्छन्।कुन मुख लिएर जाने?"
"के एउटी बेश्या आईमाई जसले हजारौं पुरुषहरूको यौन तृष्णा लाई तृप्त पार्छे,उनैकोमा जाने?"
"अहँ,म आफ्नो इज्जतलाई तिलाञ्जली दिएर त्यहाँ जान्न।"
"फोहोरको डंगुर जस्ती आइमाइ कहाँ गएर म आफ्नो समय,स्तर र सम्मानमा धब्बा लाग्न दिन्न।"
"ह्या..जे पर्ला-पर्ला।आमाको बारेमा बाबालाई भन्छु।उहाँको पत्नी हो क्यारे।उहाँले जे गर्नुहुन्छ-हुन्छ।मलाई के टाउको दुखाई बेकारमा!"
"बाबा?बाबालाई भनेर के फाइदा?उहाँ त सौतेनी आमाको मायामा चुर्लुम्म डुबेर बस्नुभएको छ।उहाँलाई किन भन्ने?भन्दिन,लुजा।"
"मेरी आमा बेश्या हुनुमा बाबाको ठूलो हात छ।उहाँले माया,सम्मान र इज्जत दिनुभएको भए सायद उहाँ आज यही घरमा हुनुहुन्थ्यो होला।साला बाउ!च्युतिया बाउ!खाते बाउ।"
"हैट!म के भन्दैछु आफ्नै बाबालाई?जे भएपनि उहाँ तेरै बाबा हुनुहुन्छ।"
सोच्नलाई त प्रशस्त सोचें तर निष्कर्ष निकाल्न सकिन।आमालाई भेट्न जाउँ या नजाउँको दोसाँधमै त्यो रात बित्यो।अरु धेरै दिनहरु बिते।अन्ततः मैले भेट्नुपर्ने औचित्य देखिन।निर्धक्क बसें।यदि आमा आफैं त्यो दुनियाँमा खुशी हुनुहुन्छ भने म गएर केनै हुन्थ्यो र?जे नहुनुपर्ने थियो,भैसकेको थियो।बर्बाद भैसकेको थियो।सुधारेर के फाइदा?म गईन।दिन,महिना र बर्ष बित्यो।मैले आमालाई मनबाटै स्थायीरुपमा निकालिसकेको थिएँ।
             आमालाई जुन ठाउँमा जुन रुपमा देखें,त्यो घटनाले मलाई मर्माहत बनायो।हुन त त्यहाँ म कुनै सज्जन मान्छे भएर गएको थिइन।म त्यहाँ एउटी नारीलाई बेच्न नै गएको थिएँ।त्यहाँबाट फर्केपछि मेरो नकारात्मक सोचाइ सकारात्मकतिर उन्मुख हुँदै गयो।मैले आफ्नै आमालाई कोठीमा देखेपछि बल्ल तत्वबोध भयो।बल्ल मेरो बुद्धिको बिर्को खुल्यो।समयले भनौं या उपरवालाले,मलाई मज्जाले बदला लिइसकेको थियो।सबै नारीलाई आफ्नै आमा समान या दिदीबहिनी समान ठान्न बाध्य भएँ।मैले अर्काको दिदीबहिनी बेचेको थिएँ।समयले मेरी आमालाई बेचिदियो।हिसाब बराबर भयो।जसरी मैले आफ्नो आमालाई कोठीमा देख्दा मेरो मन रोयो,त्यसरी नै ती बेचिएका चेलीबेटीका बाबा-आमा रोए होलान् भन्ने चेत पलायो।मैले निर्णय गरें-आइन्दा म कुनै चेलीबेटी बेचबिखनमा संलग्न हुनेछैन।अनि यो पनि निर्णय गरें-
"मैले बेचेका सबै चेलीबेटीलाई कोठीबाट बाहिर निकाल्नेछु,आजाद गर्नेछु।त्यसको लागि म जस्तोसुकै कदम उठाउन पनि पछि पर्नेछैन।जति रकम खर्चिन पनि तयार छु।"
याद भएका नारीहरुलाई मुक्त गर्न म कोठी-कोठी चहार्न थालें।तर मेरो पहिलो कदममै ठेस लाग्यो।सबैभन्दा शुरुमा बेचेको चेलीको उद्धार गर्न गएको थिएँ।उल्टै अपमान सहनुपर्यो।
"साउजी!म चमेली लाई लिन आएको।कति तिर्नुपर्ने म तिर्छु।"
"हुन्छ,५० हजार देउ।"
पैसा बुझाएर चमेलीलाई लिन गएको थिएँ।तर शुरुमा त उनले नचिनेझैं गरिन्।
"चमेली मलाई माफ गर।मैले गल्ती गरें।"
"मलाई कतै जानुछैन।म जहाँ छु,खुशी छु।"
"किन चमेली?तिमीलाई यहाँबाट निस्किनु छैन?"
"मेरो जिन्दगी बर्बाद भैसक्यो।अब के बाँकी छ र?मलाई यस्तै हालतमा छोड।गैहाल यहाँबाट।तँ जस्तो राक्षसको दया चाहिएको छैन।"
चमेलीको कुराले मलाई नराम्रो आघात पुर्यायो।म चुपचाप त्यहाँबाट बाहिरिएँ।मेरो पहिलो प्रयास असफल भयो।अर्को कोठीमा बेलीलाई निकाल्न गएँ।तर अचम्म भयो।
"म बेलीलाई लिन आएको।कति पैसा चाहिन्छ लिनुस्।"
"बेली त जमानामा गैसकिन्।"
"कसले निकालेर लग्यो?"
"मैले निकालें कामबाट।"
"त्यत्रो पैसा लगानी गरेर किन्यौ?फेरि किन निकाल्यौ?"
"एड्स लागेपछि के खान राख्नु यहाँ?"
मेरो दोश्रो प्रयास पनि असफल नै भयो।तर असफलता भन्दा पनि धेरै आत्मग्लानी हात लाग्यो।मैले एउटीको मात्र नभई कति जनाको जीवन बर्बाद पारेको रहेछु।उनीबाट कति जनालाई एड्स सरे होलान्?आफ्नै कुकर्मले रुवाउनु रुवायो।अर्कीलाई निकाल्न गएँ।तेश्रो प्रयास सफल भयो।
"रुपा!हुन त म माफीको लायक छैन।तर सकिन्छ भने मलाई माफ गरिदेउ।मैले राम्रो काममा लाइदिन्छु भनेर यता फसाएँ।"
"ठिकै छ दाइ।तपाइँले पापको प्रायश्चित गर्नुभयो,त्यही ठूलो कुरा हो।"
रुपालाई नर्कबाट मुक्त गर्न पाउँदा म जतिको खुशी कोही थिएनन् होला।बेचिएका चेलीहरु कसैलाई कोठीमा फेला पारें र कसैलाई फेला पार्न सकिन।कोही भागिसकेका थिए र कोही यौनरोगले ग्रसित भएर गैसकेका थिए।कोही त्यहाँबाट निस्कनै मानेनन्।एक ठाउँमा त मान्छे पनि निकाल्न पाइन।भागिसकेको भनेर पैसा मात्र फिर्ता लिए।अब निकाल्न बाँकी थियो एउटीलाई,जसलाई मैले प्रेमजालमा फसाएर बेचेको थिएँ।तर मसंग भएभरको  सबै पैसा सकिएको थियो।आफूसँग कौडी नभएपछि मैले बाबासंग पैसा माग्न थालें।
"बाबा!मैले एउटा नयाँ बिजिनेस गर्ने सोच बनाएको छु।केही पैसा चाहिएको छ।"
"कस्तो खाले बिजिनेस हो?खाका बनाएर पेश गर।फाइदाजनक लाग्यो भने दिउँला।"
"के खाका बनाउनु बाबा।फाइदै फाइदा हुन्छ।होटल खोल्न लागेको छु।"
"उसो भए ठिकै छ तर तेरी सानीमासंग माग।उनले दिइन् भने लैजाउ।"
यसैपनि सानीमासंग खासै बोल्दिनथें।सम्बन्ध पनि खासै राम्रो थिएन।बोल्न मनै थिएन तर पैसाको लागि नबोली सुखै पाइन।
"सानीमा मलाई अलिकति पैसा चाहिएको थियो।"
"किन र कति चाहियो?"
"होटल खोल्न २० लाख जती चाहिएको हो शुरुमा।"
"तेरी आमाले कमाएर राखेको पैसा छ यहाँ २० लाख?यो पनि अलिकति रकम हो?तिम्रो।के औकात छ?के हैसियत छ यत्रो पैसा माग्ने?कति सजिलो छ पैसा माग्न!"
मेरो पारो तातिएर आयो।रक्तचाप ह्वात्तै बढ्यो।तर मुखमुखै लाग्ने फुर्सद थिएन मलाई।हिजो आएर आज हैकम जमाएको मलाई कति पनि ठिक लागेन।एक त बाबा आफैं जोइटिंग्रे हुनुहुन्थ्यो।अर्कोतिर बाबाले कमाएको पैसा माग्दा सानीमाले अपमान गर्नुपर्ने।बाटोमा काँडा भएर उभिएको मन परेन।मैले एउटा कठोर निर्णय लिएँ।सानीमा लाई सिध्याउने निर्णय।मैले उनको अपमान सहन सकिन।एकदिन मैले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने गरी योजना बनाएँ।मौका पर्खेर बसेको थिएँ।एकदिन समयानुकूल भैदियो।सानीमा रातको ९ बजेतिर छतमा टहलिरहनुभएको थियो।बाबा पनि आउनुभएको थिएन।वरिपरि छरछिमेकीहरुको चहलपहल पनि कम थियो।मैले उनलाई घरको छतबाट तल खसालें।दुई मिनेटमै उहाँले दम तोड्नुभयो।मैले नै बाबालाई जानकारी दिएँ-सानीमाले आत्महत्या गर्नुभयो।बाबा आउनुभयो र मुश्किलले पत्याउनुभयो।पछिसम्म कारण खोज्दैहुनुहुन्थ्यो।मैले भनें-
"बाबा!आत्महत्या गर्न कुनै कारण चाहिन्न।मन लाग्यो-गर्यो।"
"तर आत्महत्या गरिहाल्ने खालकी चाहिँ होइनन् है पेम्बा।उनीको धनसम्पती प्रति बहुत लगाव थियो।बिना समस्या उनले कसरी यस्तो निर्णय गरिन्-यही कुरामा अचम्मित छु।"
"धनसम्पतिले पनि मान्छेलाई पागल बनाउँछ बाबा।पागल भएपछि आत्महत्या त के जे पनि गर्छन्।"
सानीमाको दाहसंस्कार भयो।मैले पनि गोहीको दुई थोपा आँसु झारें।श्रद्धाञ्जली दिएँ।खेल खत्तम भयो।च्याप्टर बन्द भयो।सानीमा पट्टि कुनै सन्तान भएको थिएन।भएभरको सम्पतिमा मेरै हक लाग्ने भैगो।सम्पत्ति खाने अरु कोही नभएपछि बाबाले पैसा दिन कन्जुस्याइँ गर्नुभएन।मैले आफ्नो अभिष्ट पूरा गरें।पैसा लिएर बाँकी भएको केटीलाई कोठीबाट निकाल्न गएँ।तर उनी पनि पहिल्यै भागेर गइसकेकी रहिछन्।कुचोले बढार्नुपर्ने कसिंगर आफैं हावाको सहायताले उडिसकेछ।टन्टै साफ भयो।तर उनलाई मैले झूटो प्रेम गरेको थिएँ।हामीले जवानी समेत साटेका थियौं।माया लागेर आयो।उनको यादले सतायो।अँ त नि एउटा कुरा भन्नै बिर्सेको।हो त्यही पूर्व प्रेमिकालाई निकाल्न जाँदा आमालाई एकपटक भेट्न मन लाग्यो।किनभने नारीप्रति मेरो दृष्टिकोण बद्लिएको थियो।तर सानीमालाई त बाध्यताले मारेको हुँ।आमासँग भेट भयो।तीतो-मीठो वार्तालाप भयो।
"आमा!तपाईं किन यहाँ?मेरो बारेमा सोच्नुभएन?"
शुरुमा त उहाँ बोल्नै सक्नुभएन।सायद रिसले बोल्न नचाहेको होला भन्ने लाग्यो।उहाँको गह अश्रुले टन्नै भरियो।बल्ल बुझें-उहाँ रहरले त्यहाँ आउनुभएको थिएन।
"भन्नुस् आमा,किन आउनुभयो यस्तो ठाउँमा?के जरुरी थियो?पैसाले पुगेन?जाउँ हिंड्नुस् घर।"
"भयो बाबु!म कसको लागि जाउँ?मेरो माया लाग्छ भने यही भेट्न आउ।तर म घर जान्न।"
"तर किन?बाबा पनि त हुनुहुन्छ घरमा।मैले तपाईंको बारेमा बाबालाई अहिलेसम्म भनेकै छैन।तपाईं घर आउनुभयो भने उहाँ कति खुशी हुनुहुन्छ होला!"
"भयो बाबु छोड यी सब।तिम्रो बाबुले माया गर्ने?हुनैसक्दैन।"
"किन यसो भन्दै हुनुहुन्छ आमा?"
"त्यो पापीको नाम पनि लिन चाहन्न म।"
"किन?आखिर के पाप गर्नुभयो र उहाँले?"
"के चाहिँ गरेन भन न?"
"के गर्नुभयो र?भने पो थाहा हुन्छ त आमा।"
"मलाई यहाँ कोठीमा बेच्ने तेरै बाबा त हो नि!"
हरे भगवान!के सुन्नुपरेको थियो मेरो कानले!पैसाको लागि मान्छे यति नीच?त्यति तलसम्म गिर्नुहुन्छ भनेर मैले सोच्नसम्म सकेको थिइन।पैसाको मोहमा आफ्नै श्रीमतीलाई कोठीमा बेच्ने?छोरालाई जिउँदै टुहुरो बनाइदिने?म तारेभीरबाट खसेझैं भएँ।मेरो मनमा आक्रोशको ज्वाला दन्कियो।उतिखेरै गएर हत्या गरुँ झैं लाग्यो।
"आमा!म बाबालाई छोड्दिन।"
"के गर्छस् र बाबु?"
"म मार्छु उहाँलाई।"
"बाबालाई मार्नुहुन्न बाबु।पाप लाग्छ।"
"यो धर्तीमा जीवित बस्ने अधिकार छैन उहाँको।"
"तिमीले चाहिँ मार्न हुन्न भनेको नि।म मार्छु तेरो बाबालाई!"
"हँ?......."
उहाँको हिम्मत देखेर म छक्कै परें।म केहीबेर ट्वाल्ल परें।
"हो आमा,उहाँको जिउने अधिकार छैन।उहाँले मर्नैपर्छ।"
"हो बाबु।तर अहिले हैन।अहिले मलाई आराम गर्न देउ।कुनै दिन मिलाएर सिध्याउनुपर्छ तेरो बाबालाई।मलाई यस्तो नर्कमा धकेल्ने मान्छेलाई कदापि छोडिन्न।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...