भाग-२०
निर्जन र निस्पट्ट औंसीको रात।उज्यालोको नामोनिसाना छैन।सूर्यको छायाँ समेत नपर्ने अनकन्टार ठाउँ।त्यही माथि गगनलाई घनाघोर कालो मेघले पूर्णरूपमा छोपेको।जून कता र तारा कता!दुबै आँखा फुटेर देखिएको दृश्य जस्तो।जिन्दगीको सानो तर लामो गोरेटो पहिल्याउनु छ।तर असम्भव।पृथ्वी पनि पृथ्वी जस्तो छैन।त्यहाँ कुनै मानव तथा जीवजन्तुको अस्तित्व नै नभए जस्तो।प्राणीको लागि चाहिने अक्सिजन पनि नभए जस्तो उकुसमुकुस।सिंगो ग्रह नै कारागार जस्तो।तर एक्लो मानव।सिर्फ एक्लो।माथि उल्लेखित परिबेशसंग मेरो जिन्दगी मेल खाइरहेको थियो।मातृशोक तथा प्रियाको शोकबाट बिक्षिप्त म धेरै दिनसम्म घायल भएर बेडमा लडिरहें।मेरा हातपाउ पक्षघात जस्ता भएर उठ्नै सकिन।उठाउने कोही भएनन्।उर्जा दिने र हिम्मत जगाउने कोही भएनन्।म बिल्कुल एक्लो र टुहुरो भएँ।सजिलैसँग उनीहरुलाई मनबाट निकाल्न सकिन।एकपटक मनमा बसिसकेको मान्छे लाई चाहेर पनि हटाउन नसकिंदोरहेछ।बिछोडले मान्छेलाई यति कायल बनाउँछ भनेर मैले कल्पनासम्म गरेको थिइन।फोन पनि अफ गरेकोले बाबाबाट पनि बेखबर थिएँ।उहाँलाई त्यही त चाहिएको थियो-एकान्त।कालगर्ल संग मोजमस्ती गर्नलाई मेरो अनुपस्थिती नै ठिक थियो उहाँलाई।म हुँदा स्वतन्त्रपूर्वक आफ्नो चाहना पूरा गर्न सक्नुहुन्नथ्यो।सायद अब निर्धक्क हुनुभयो होला।मेरो याद त किन आउँथ्यो र?किन मेरो खोजी गर्नुहुन्थ्यो र?मर्न नलेखेको भए जति दिन भोकै-प्यासै बसेपनि मरण नआउँदोरहेछ।मलाई आफ्नो कुनै माया र मोह थिएन।बाँच्ने चाह थिएन।बाँचे बाँचोस्,मरे मरोस् भन्ने मेरो चाहना थियो।तर त्यति सजिलै मर्न सकिन।अभागीको आयु धेरै हुनेरहेछ भन्ठानें।जाने कुनै ठाउँ रहेन।कुनै गन्तव्य रहेन।लक्ष्य रहेन।कुहिरोको काग जस्तो पनि हुन सकिन।काग त बरु मज्जाले उड्न सक्छ।तर म हिंड्नसम्म सकिन।जानेहरु मलाई छोडेर गैसकेका थिए।मलाई पनि संगै लिएर गएनन्।उनीहरू पनि स्वार्थी थिए।आफूहरू गएपछि मेरो हालत के होला भनेर सम्म सोचेनन्।उनीहरुको संसारमा जान पनि सकिन।मेरो शीघ्र प्रस्थान सायद उपरवालालाई मञ्जुर थिएन।सायद त्यो संसारमा जान योग्य पो थिइन कि।मेरो लागि योग्य ठाउँ यही नर्कजस्तो पृथ्वी नै थियो होला।मलाई दैवले सजिलै मर्न दिएन किन भने जिउँदो रहनु नै मेरो लागि सबैभन्दा ठूलो सजाय थियो।सजिलै मरण दिएर मुक्त गर्न मानेनन्।
आमा बिनाको मेरो जीवन अपूर्ण भयो।अधुरो र अपूरो भयो।म मानसिक रुपमा अपांग भएँ।बाँकी जीवन लाई पृथक ढंगले जिउन मन लाग्यो।सिक्किम मेरो लागि घाँडो भयो।त्यहाँ बस्न मन लागेन।त्यसपछि लागें म नेपाल तिर।नेपालका विभिन्न जिल्लामा गएर जनचेतना जगाउन थालें।मानवतस्करहरुले कसरी फसाउन सक्छन् र कसरी भारतका कोठीहरुमा बेच्न सक्छन् भनेर सचेत गराएँ।मसंग चेलीबेटी बेचनबिखनको लामो अनुभव थियो।त्यही अनुभवको भरमा बिकट गाउँहरुमा गएर चेतना फैलाएँ।तेस्रो आँखा खोलिदिएँ।आफूले गरेका पापलाई पखाल्नु थियो।थोरै भएपनि धर्म गरेर पूण्य कमाउनु थियो।त्यो भन्दा बढी पापको प्रायश्चित गर्नु नै थियो।त्यही क्रममा मैले एउटी विवेकशील तथा सुन्दर नारीलाई भेटें।त्यो नारी अरु कोही नभएर आनी डोल्मा नै थिइन्।हो,तिमी नै हौ त्यो नारी।
किशोरको कहानी सुनेर आनी डोल्मा अवाक भईन्।अलमल्ल परिन्।उनले किशोरको कुरा पत्याउनै सकिनन्।कौतुहल हुँदै चासो व्यक्त गरिन्।
"तिमी?तिमी त मेरो नजरमा किशोर हौ नि।तिमीले भने अनुसार तिम्रो नाम त निमा हुनुपर्ने,कसरी किशोर भयौ?"
"म सत्य भन्दैछु डोल्मा।नेपाल आउँदा मैले आफ्नो सबै परिचय भारतमै छोडेर आएँ।म आफूलाई निमा भनेर चिनाउन चाहन्नथें।किनभने निमा र अपराधी थियो।खुंखार डन थियो।चेलीबेटी बेच्ने दलाल थियो।त्यो परिचय लिएर बाँच्ने मेरो हिम्मत थिएन।त्यसैले निमा लाई मारेर म किशोर भएँ।"
"अहँ,म पत्याउँदिन तिम्रो कुरा।तिमी न निमा हौ,न किशोर नै।तिम्रो परिचय अर्कै छ।मैले राम्ररी चिनिसकें।त्यही भएर मैले चक्कु तिम्रो घाँटीमा तेर्स्याएकी हुँ।साँचो कुरा भन के हो?"
"मैले कुनै कुरा लुकाएको छैन आनी डोल्मा।सबै कुरा त बताइसकें।अब के बाँकी छ र?किन तिमी एकोहोरो जिद्दी गर्छ्यौ?"
"किन भने तिम्रो परिचय यो हैन जुन तिमीले बतायौ।"
"को हुँ त म उसो भए?तिमी आफैं भन को हुँ म?"
"भन्छु,बिस्तारै भन्छु।त्यो भन्दा पहिले मैले जे-जे भन्छु,त्यही गर।नत्र भने घाँटी रेटिदिन्छु।चलाखी अपनाउने हैन।आफ्नो ज्यानको माया छ भने मेरो आदेशको पालन गर।"
"हुन्छ,मैले के गर्नुपर्यो?"
"एउटा लामो डोरी खोज।घरमा छैन भने किन्न जाउ।तर सकेसम्म यही निकाल।"
"हुन्छ म निकाल्छु।"
किशोरले आफ्नो घरमा भएको डोरी निकालेर डोल्मालाई दियो।
"अब यो बेडमा पल्टिने।"
डोल्माको आज्ञा मानेर उ बेडमा पल्ट्यो।डोल्माले डोरी लिएर उसको हातखुट्टा बाँधिन्।डोरीको अर्को फन्को पलाङको खुट्टातिर बेरियो।किशोर चलमल गर्नै नसक्ने भयो।उनले किशोरको मोबाइल निकालेर १०० डायल गरिन्।किशोर भने निरीह भएर डोल्माको अनुहारमा हेरिरह्यो।
"हेल्लो पुलिस स्टेसन!बौद्धको डोल्मा निबासमा तुरुन्तै आउनुपर्यो।खुंखार अपराधी यही लुकेर बसेको छ।"
एकैछिनमा प्रहरी आएर किशोर लाई हत्कडी लाएर लग्यो।डोल्मा पनि संगै चौकीमा गईन्।
"सर!यो मान्छे खुंखार अपराधी हो।यसले नेपालका सयौं चेलीबेटी लाई भारतमा लगेर बेचिसकेको छ।यसलाई कुनै पनि हालतमा मुक्त गर्नुहुन्न।यसलाई छोडियो भने अझै कैयौं चेलीबेटीहरु नारकीय जीवन जिउन बाध्य हुनेछन्।मैले यसलाई मायाजालमा फसाएर यहाँसम्म ल्याउन सफल भएँ।यसलाई सकेसम्म उमेरकैद सजाय दिनुपर्छ।"
"यो के भन्दैछ्यौ डोल्मा तिमी?के तिमीले बिर्स्यौ मैले तिमीलाई जीवनदान दिएको?म नहुँदो हो त तिमी अझै मानसिक अस्पतालमै नाटक मञ्चन गरिरहेकी हुन्थ्यौ।संयोगबश मानसिक सन्तुलन ठिक भएपनि जेलमै सडिरहेकी हुन्थ्यौ।आज आएर तिमी नै मेरो दुश्मन भयौ।याद राख डोल्मा!फेरि मेरो आवश्यकता नपर्ला भन्न सकिन्न।"
"हो,तिमीले मेरो लागि धेरै गर्यौ।त्यसको लागि म ब्यक्तिगत रुपमा धन्यवाद दिन चाहन्छु तिमीलाई।तर तिमी अपराधी रहेछौ।तिमीले सजाय पाउनैपर्छ।"
डोल्माको बयानपछि प्रहरीले किशोरलाई जेलमा कैद गरे।डोल्मा फेरि बोल्न थालिन्।
"थाहा छ मैले किन तिमीलाई जेलमा सडाएकी?किनभने यसको धेरै लामो कहानी छ।तिमीले सुनेको कहानीमा एउटा दृश्य थप्नै बाँकी छ।त्यो के हो थाहा छ?तिमीलाई कहाँ बाट थाहा होस र।सुन-जब लाहुरे र म गोंगबुको पुजा होटलमा गयौं।त्यहाँ मैले मेरो सर्वस्व उसैलाई सुम्पें।तिम्रो छातीमा भएको ड्र्यागनको टाटु जस्तै दुरुस्तै उसको छातीमा पनि थियो।उहीँ आकार,उहीँ स्थान र उस्तै रंग।तिम्रो ट्याटु देखेपछि मलाई झट्टै उसको सम्झना आयो।मैले सोचें-तिमीहरुको ठूलै गिरोह रहेछ।तिमी र लाहुरे सायद एउटै ग्याङको मान्छे हुनुपर्छ।अरु चेलीबेटी बेच्यौ भनेर यहाँ सडाएकी हैन।तिमी र लाहुरे उही ड्याङको मुला भएर मैले यो कदम चालेकी हुँ।अब सडेर बस यतै।गुडबाइ!"
आफ्नो उदेश्य पूरा भएकोले आनी डोल्मा त्यहाँबाट फटाफट हिंड्न थालिन्।
"पर्ख आनी डोल्मा!"-जेलबाट उसले बोल्यो।
"किन?अब के भन्नु छ र?छिटो भन,मलाई तिमीसंग कुरा गर्ने फुर्सद छैन।"
"एउटा झट्का दिने कुरा छ तिम्रो लागि।सुन्दिनौ?"
"भनिहाल छिटो।"
"मै हुँ लाहुरे!"
"असम्भव!"
"किन असम्भव छ र?१००% सही भन्दैछु।"
"तिम्रो अनुहार म चिन्दिन र?एकपटक देखेको मान्छे म कहिल्यै बिर्सिन्न।"
"यसको पनि लामो कहानी छ डोल्मा।केटीहरु फकाएर विभिन्न बहानामा भारत ओसार्ने क्रममा सातौं नम्बरमा तिम्रै पालो थियो।म नै लाहुरे बनेर तिम्रो गाउँमा गएको थिएँ।तिमीलाई देख्नेबित्तिकै माया पनि लाग्यो र यकिन पनि भयो कि तिमी मेरो सिकार हुनलायककी थियौ।पीठोको भारी बोकेर घर जाँदै गर्दा जानीजानी ठोक्किएको थिएँ।नत्र कुरा गर्ने अर्को बहाना नै के थियो र!दिनदिनै तिम्रो घरमा आएर पर्खेको भनेर मैले झूट बोलेको थिएं।संयोगबश त्यही दिन म घुमघाममा निस्केको थिएँ।दोस्रोपटक तिमीसंग भेट भयो।कसम डोल्मा!म नै बनेको थिएँ लाहुरे।क्यानम तिमीलाई फकाउन।क्यानम तिमी गोठमा जाँदा संगै पछ्याएर माथिसम्म पुगेको थिएँ।त्यो बर्षात,त्यो चट्याङको बज्रपात अनि हाम्रो सामिप्यता।त्यो स्पर्श र पागलपन।कहाँ भुल्न सक्छु र? त्यो गोंगबुको पुजा होटलमा भएको सबै मलाई याद छ।मैले कपडा खोल्ने क्रममा तिमीले मेरो ट्याटु देखेकी थियौ होला।त्यहाँबाट तिमीलाई दिल्लीमा लगेर बेच्ने मै हुँ।एक लाखमा बेचेको थिएँ।त्यतिबेला म पैसाको भोको थिएँ।अन्धो बनाएको थियो पैसाको मोहले।"
उसको कुरा सुनेर डोल्मा आक्रोशित भईन्।आँखाबाट अश्रुभेल पनि बग्न थाल्यो।उस्तै आश्चर्यचकित पनि।उसले पुनः निरन्तरता दियो।
"हो डोल्मा!म अन्धो भएको थिएँ।तर एउटा संयोगको घटना-तिमीलाई बेचेर निस्किँदा बरन्डामा कराउने एउटी आईमाई अरु कोही नभएर मेरी आमा नै थिइन्।तिमीलाई पनि बेच्नु र आमालाई पनि त्यही कोठीमा देख्नु।त्यो संयोग सायद दैवले नै मिलाएको थियो।त्यतिखेर मलाई लाग्यो कि मैले तिमीलाई हैन आफ्नै आमालाई बेचें।मेरो बुद्धिको बिर्को त्यही बेलादेखि खुल्न थाल्यो।पछि आमालाई निकाल्न जाँदा दोब्बर पैसा लिएर गएको थिएँ-तिमीलाई पनि निकाल्ने भनेर।तर तिमी पहिल्यै गैसकेकी थियौ।तिम्रो खोजी गरें तर भेट्टाउन सकिन।"
"तर तिम्रो अनुहार त यस्तो थिएन नि?"
चकित हुँदै सोधिन्।
"मैले आफ्नो परिचय फेर्ने क्रममा अनुहार पनि फेरेको हुँ।मलाई यति आत्माग्लानी भयो कि आफ्नै अनुहार दुनियाँमा देखाउन अप्ठ्यारो लाग्यो।भएभरको पैसा खर्च गरेर प्लास्टिक सर्जरी गरेको हुँ।अनुहार फेरेर तिम्रो अर्थात हाम्रो गाउँ गएको थिएँ।तिम्रो बारेमा सोध्दा तिमी गुम्बामा आनी भैसकेकी रहिछयौ।मैले शुरुमा निर्जला बनेर तिमीलाई फेसबुकमा साथीको लागि अनुरोध पठाएको थिएँ।केटीको फोटो देखेर स्वीकार पनि गर्यौ।पछि फेरि आफ्नो परिचय फेरेर किशोर भएँ।त्यतिबेला तिमीसंग माफी पनि मागेको थिएँ।तिमीले माफी दियौ।अन्ततः मैले तिमीलाई असल साथी बनाउन सफल भएँ।"
निर्जला नै किशोर र किशोर नै लाहुरे भनेर ऐना झैं छर्लङ्ग भयो।लाहुरेको कुरा सुनेर डोल्मा धुरुधुरु रुन थालिन्।
"तिमीले मलाई धोका दियौ लाहुरे!के लाहुरे भन्नु तिमीलाई?नाम मात्रको लाहुरे।अब फेरि नाम परिवर्तन गरेर झूटे राख्दा ठिक होला।नाम फर्दै दुनियाँ लाई चङ्गुलमा फसाउने तिम्रो जागिर नै रहेछ।म तिमीलाई कहिल्यै माफी दिनेछैन।"
"हो आनी डोल्मा!साँच्चिकै म माफीको लायक छैन।बरु मलाई चक्कुले प्रहार गरेर मारेको भए आनन्द हुन्थ्यो।"
"तिमी आफैंले भन्थ्यौ नि जिउँदै रहनु नै तिम्रो लागि ठूलो सजाय हो।मारेर किन म कलंकित हुन्थें र?हस त यही नै हाम्रो अन्तिम भेट हो।म लागें आफ्नो गन्तव्यतिर।"
आनी डोल्मा जानलाई पाइला बढाउन थालिन्।एक पाइला मात्र के बढेको थियो,लाहुरेको आवाज आयो।
"डोल्मा!अर्को एउटा रहस्य पनि थाहा पाएर जाउ।"
"के रहस्य?"
"गुम्बाबाट बुद्धको अमूल्य मूर्ति चोर्ने चोर मै हुँ।मैले आफूलाई पूर्णरूपमा परिवर्तन गर्न खोजेको थिएँ।तर जब तिमीसंग गुम्बामा गएँ,त्यो मूर्ति देखेर मेरो मनमा पाप पसिहाल्यो।कालो धन्दाबाट कमाएको पैसा प्लास्टिक सर्जरी गरेर अनुहार परिवर्तन गर्दा सकिसकेको थियो।सोचें-यो मूर्ति लगेर कमाएको पैसाले तिमीसंग घरजम गरेर बसुँ।तिमीलाई सुखमा राख्ने अर्को उपाय मसंग अरु केही थिएन।मूर्ति चोरेर बेच्न पनि सफल भएँ।त्यही पैसाले त बौद्धमा त्यत्रो शानदार घर किनें।नत्र पैसा कहाँबाट आउँथ्यो र?मैले आफूलाई सुमार्गमा डोर्याउनै सकिन।म कुकुरको पूच्छर हुँ।जतिबर्ष ढुंग्रोमा हालेपनि बाङ्गो नै हुन्छु।मेरो लागि यही जेल नै घर समान हो।यही हो मेरो यथार्थ।मेरो हैसियत।मेरो औकात।मेरो असली अनुहार।"
"अनि बाबाको इन्स्योरेन्सको पैसाले किनेको भन्या हैन घर त?"
"केको हुन्थ्यो?बाबा त अझै जिउँदै हुनुहुन्छ,केको इन्स्योरेन्स?"
"अनि तिमीसंग भएका प्रमाणपत्रहरु?"
"ती सब नक्कली हुन्।मैले आफू बच्नको लागि बनाएको थिएँ।पैसाको कमाल त हो।पैसा खर्च गरेपछि सबै नक्कली माल किन्न पाइन्छ।हुन त मैले बाबालाई सिध्याउने योजना बनाएको थिएँ।आमाको हत्यारालाई छोड्न मनै थिएन।तर अपराध गरी-गरी थाकिसकेको थिएँ।मेरो यो संसारमा पापी,अपराधी बाबा बाहेक अरु को नै थियो र?डाका,गुन्डा,हरामी,अपराधी या ज्यानमारा जे भएपनि आफ्नै बाबा थियो।ज्यान मार्ने धम्की दिएको छु।मान्छे हो सुध्रिने मौका दिनुपर्छ।"
"तिम्रो बाबा पनि कुन ड्याङको मुला हो र?तिम्रो त बाबा!"
"त्यसैले त आज यो सजाय भोग्दैछु त।उहाँलाई पनि पक्कै एकदिन समयले सजाय दिनेनैछ।"
"अनि एउटा कुरा।तिमीले मलाई दया गरेको भन्ठानेकी थिएँ तर हैन रहेछ।तिम्रै कारणले म पागल भएकी थिएँ।मूर्ति चोर शतप्रतिशत तिमी नै थियो भनेर मैले अनुमान गरेकी थिएँ।आफूले माया गरेको मान्छे चोर निस्किंदा कुन प्रेमिकाको मनमा पहिरो जान्न होला?मलाई मानसिक रोगी बनाउने तिमी नै थियौ र तिमीले नै ठिक गरिदियौ।हिसाब बराबर।मलाई हदैको गुण लाएको नसम्झे हुन्छ।"
"डोल्मा!म त तिमीलाई सदा-सदाको लागि आफ्नो बनाएर आफ्नो पापको प्रायश्चित गर्न चाहन्थें।गल्ती सुधार्न चाहन्थें।नत्र तिम्रीप्रति किन यति पागल हुन्थें र?अरुलाई बिहे गरेर मस्ती गर्न पनि सक्थें।यदि म तिमीलाई खोज्दै नआएको भए के तिमीले बदला लिन सक्थ्यौ र?कुनै पनि हालतमा सक्ने थिएनौ।तिम्रै भलाइको लागि म आएको थिएँ।ता तिमीले त उल्टै जेलमा जाकिदियौ।भलाइको जमाना रहेन अब।"
"म त्यति स्वार्थी छैन लाहुरे।मलाई मात्र फसाएको भए म माफी दिन्थें तर तिमीले त म जस्तै सयौंलाई फसाएर जिन्दगी बर्बाद बनायौ।उनीहरुको जिन्दगी चाहिँ कसरी सुधार्छौ?म मेरो लागि नभई आम नेपाली दिदीबहिनीको लागि सोच्न चाहन्छु।क्षण-क्षणमा परिवर्तन भैरहने तिम्रो मानसिकतालाई श्रद्धाञ्जली!"
"तर मेरो बिरुद्धमा तिमीसंग के प्रमाण छ?जेलमा त हाल्यौ तर बिना प्रमाण कसरी लामो अवधिको लागि मलाई सडाउँछ्यौ?तिमीले मलाई राम्ररी चिनेकै छ्यौ नि।साम,दाम,दण्ड र भेद सबै प्रयोग गरेर म केही दिनमा जेलमुक्त भैहाल्छु।मैले त तिमीलाई मौखिक रुपमा मात्र सुनाएको थिएँ।तिमी बाहेक अरुले कसरी पत्याउने?अदालतमा भनाइ हैन सप्रमाण चाहिन्छ म्याडम।"
"त्यो पनि जुटाउँला।चिन्ता नगर।आरामले जेलमा बस्ने तयारी गरे हुन्छ।"
"खै के प्रमाण छ तिमीसंग?"
"हा हा हा..तिम्रो हतियार तिम्रै बिरुद्धमा प्रयोग गर्न सफल भएँ म।"
"कसरी?"
"ई. यसरी।तिम्रै मोबाइलमा तिमीले बोलेका सबै कुराहरु रेकर्ड गरिसकें मैले।ल सुन..।"
डोल्माले लाहुरेसंग गरिएका सबै वार्तालाप उसैको मोबाईल बाट सुनाइदिइन्।लाहुरे अकमक्क परेर हेरिरह्यो।
"सुन लाहुरे,म यो प्रमाण प्रहरीलाई दिएर जाँदैछु।"
"नाइँ डोल्मा,त्यसो नगर।मलाई बचाउ डोल्मा।प्लीज!मलाई माफ गर।गल्ती भयो।आइन्दा म तिम्रो गुलाम बनेर बस्नेछु।"
"एउटा उपाय छ।मैले भनेको मान्यौ भने म मुद्दा फिर्ता लिनेछु।"
"के गर्नुपर्यो मैले?तिमी जे भन्छ्यौ,त्यही गर्न तयार छु म।"
"तिमीले बौद्धको घर र गाडी गुम्बाको नाममा गर्दिनुपर्छ।राजी छौ?"
"हुन्छ तर मेरो पनि एउटा शर्त छ।"
"के शर्त?"
"तिमी सधैंको लागि मेरी हुनुपर्छ।मसंग बिहे गरेर मेरी जीवनसाथी भैदिनुपर्छ।"
"राजी छु।एकछिन पर्ख म वकिल लिएर आउँछु।"
आनी डोल्मा गएर वकिल लिएर आइन्।कागजमा केही कुराहरु लेख्न लगाइन्।
"ल लाहुरे!यसमा हस्ताक्षर गर।"
उसले सोच्दै नसोची,हेर्दै नहेरी फटाफट कागजमा हस्ताक्षर गर्यो।
"स्याबास लाहुरे!तिम्रो सबै सम्पत्ति हाम्रो गुम्बाको नाममा भयो।त्यहाँ गरिब बालबालिका लाई खानेबस्ने र पढाइको व्यवस्था गरिनेछ।अन्ततः गुम्बाको हराएको सम्पत्ति फिर्ता आएको छ।यो तिमीले दान दिएको हैन।चोरिएको सम्पत्ति फिर्ता लिइएको हो।ठूलो सपना नदेखे हुन्छ।म तिम्रो जीवनसाथी हुनै सक्दिन।तिमीले त्यो हैसियत गुमाइसक्यौ।तिमीसंग अब अतीतका तीतामीठा सम्झना बाहेक केही छैन।तिमीले हार्यौ लाहुरे।कहिलेकाही खेलको नतिजा ठिक उल्टो भैदिन्छ।आज त्यही भयो।अब हामीले छुट्टिनुपर्छ।फेरि भेट होला नहोला।यदि भेट भैहालियो भने त्यो बेला म यो रुपमा हुनेछैन।कुन रुपमा हुनेछु-त्यो तिम्रो सोच भन्दा बाहिरको कुरा हो।"
"तिमी यस्तो गर्न सक्तिनौ डोल्मा।मलाई धोका दिन सक्तिनौ।तिमीले मलाई मेरी हुन्छ्यौ भनेर वचन दिइसक्यौ।वचन फिर्ता लिन पाउँदिनौ।म तिमीलाई बिहे गरेर बाँकी जीवन बिना तनाब बिताउन चाहन्छु डोल्मा!"
"तिमीसंग बिहे?असम्भव!यो जूनीमा त म तिम्रो हुनै सक्तिन।सात जूनीसम्म पनि हाम्रो भेट नहोस्।यसैपनि अब तिमीसंग केनै बा छ र?भएभरको सम्पत्ति गुम्बाको नाममा गरिसक्यौ।मलाई बिहे गरेर कहाँ राख्छौ?कसरी पाल्छौ?के फेरि कालोधन्दामा लाग्छौ?त्यो भन्दा अरु तिमीसंग बिकल्प पनि त छैन।फेरि चेलीबेटी बेच्छौ?कि गुन्डागर्दी गर्छौ?तिम्रो जीवन समाप्त भयो लाहुरे।सब खेल खत्तम भयो।खेल तिमीले शुरु गर्यौ र मैले सकाएँ।अब जेलको खाना र हावापानी खाएर बस्नु बाहेको तिमीसंग अर्को उपाय छैन।"
"म ज्यामी काम गर्छु।दु:ख गरेर भएपनि तिमीलाई सुखले पाल्छु डोल्मा।मेरो ज्यान दाउमा राखेर तिमीलाई खुशी बनाउँछु।"
"भो लाहुरे।मेरो लागि अलिकति पनि दु:ख गर्नुपर्दैन।तिमीलाई दु:ख दिने म को हुँ र?तिमीबाट सुख भोग्ने म को हुँ र?अब हाम्रो प्रेमकथा यही टुंगिन्छ लाहुरे।हस त अलबिदा!!!"
डोल्मा त्यहाँबाट फटाफट हिँडिन्।लाहुरे भने दुबै हात शीरमा राखेर भुइँमा थचक्क बस्यो।आफ्नो भाग्यलाई धिक्कार्दै कपाल तान्न थाल्यो।निधारमा बाक्सिङले हानिरह्यो।उसको अनुहार रक्तम्य भयो।जुरुक्क उठेर दुबै हातले जेलको फलामे ढोकामा समाएर टाउको ठोकाउन थाल्यो।एकछिनमा उ बेहोस भएर ढल्यो।आनी डोल्माले उसलाई केही मतलब राखिनन्।सरासर आफ्नो बाटो लागिन्।प्रहरी अधिकृत लाई भेटेर आफूसँग भएको प्रमाण हस्तान्तरण गरिन्।
"इन्सपेक्टर साहब!यो मान्छे खतरनाक अपराधी हो।कुनै पनि हालतमा उम्किन नपाओस्।यो मेमोरीकार्डमा सबै प्रमाण रेकर्ड भएका छन्।यस्तो अपराधी लाई हामी सबै मिलेर दण्ड दिनु सबैको कर्तब्य हो।"
"धेरै-धेरै धन्यवाद डोल्मा जी।तपाईंको यो कदमलाई म हृदयदेखि नै सलाम गर्छु।तपाईं जस्तो साहसी र हिम्मतवाली नारीको जति गुणगान गाएपनि कमै हुन्छ।तपाईं एउटा महान तथा आदर्श नारी हुनुहुन्छ।तपाईंले एउटा नमूना काम गरेर देखाउनु भएको छ।तपाईंको अतुलनीय योगदानको लेखाजोखा इतिहासले राख्नेनैछ।"
यति भनेर प्रहरी अधिकारी जुरुक्क उठेर डोल्मालाई सल्युट गर्यो।तत्कालै त्यहाँ उपस्थित सबै प्रहरीहरु उठेर एकैपटकमा झ्याम्म सलाम ठोके।बुटको आवाजले प्रहरीचौकी गुञ्जियो।
"हस् त सर, अहिलेलाई म लाग्छु।सहयोगको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु।"
"हस् डोल्मा जी।केही समस्या परे सम्झिनुहोला।हामी सदैव तपाईंको सेवामा हाजिर हुनेछौं।"
"हस् सर,केही परे म फोन गर्नेछु।"
डोल्मा फटाफट हिंडेर जान थालिन्।लाहुरेलाई भगवानले अनुहार फेर्ने बुद्धि त दियो तर छातीको ट्याटु फेर्ने सद्बुद्धि दिएन।त्यसैले लाहुरे आज आएर नराम्रोसंग फस्यो।हजार बाजी जितेको थियो।तर एउटै हारले उसको जिन्दगी समाप्त पार्यो।उ यति रफ्तारमा दौडेको थियो कि ठेस लागेर लडेपछि उठ्नै सकेन।लाहुरे बिरुद्ध मानव बेचबिखन,सार्बजनिक सम्पतिको चोरी,हत्याहिंसा,बलात्कार र लुटपाट लगायत दर्जनौं मुद्धाहरु दायर भए।एउटा मुद्धा छलकपट गरेर जितेपनि अर्को मुद्धाले उसको शीर उठ्नै दिएन।पाप धुरीबाट कराइसकेको थियो।मुद्दा लड्दालड्दै उ आफैं लड्न पुग्यो।
यता आनी डोल्मा एकपटक लडेपनि आखिर उठेर दौडिन थालिन्।यसरी दौडिन् कि लाहुरेको कल्पना समेतले उनलाई भेट्टाउन सकेन।उनी धेरै अगाडि गइन्।समय जतिसुकै शक्तिशाली र चलायमान भएपनि आनी डोल्माको अनुकुल भैदियो।अथवा भनौं आनी डोल्माले समयलाई आफू अनुकुल सदुपयोग गरिन्।जीत उसैको हुनेरहेछ,जो समयको गतिसंगै मुर्खतापूर्वक नभई बुद्धिमतापूर्वक र संयमतापूर्वक अगाडि बढ्दछ।खरायोकै गतिमा दौडिनुपर्छ भन्ने छैन रहेछ।कछुवाकै गतिमा सही,तर विवेक प्रयोग गरेको खण्डमा उसले एकदिन पक्कै सफलताको शिखर चुम्न सक्नेरहेछ।अब प्रश्न आउन सक्छ-सफल केलाई भन्ने?बिपक्षीलाई उछिन्दै सकारात्मक नतिजामा पुग्नु मात्र पनि सफल हैन।सफल त्यो पनि हो जब कोही भयंकर दुर्घटनाबाट जोगिन्छ।हो,आनी डोल्माको सफलता दोश्रो प्रकारको हो।लाहुरेको प्रपञ्च,जालझेल र चंगुलबाट मुक्त हुनुनै उनको सबैभन्दा ठूलो सफलता मान्नुपर्छ।सगरमाथा चढ्नु मात्र सफलता हैन।सगरमाथा बाट सुरक्षित तल ओर्लनु त्यो भन्दा लाखौं गुणा सफल हुनु हो।जहाज उडाउनु ठूलो कुरा होला तर सुरक्षित अवतरण गराउनु महानता हो,सफलता हो।कुनै पनि खेलाडीले प्रतिद्धन्दीसंग खेल्दा आक्रमण जति सफलताको कडी हो,आफूलाई प्रतिद्वन्दीको आक्रमणबाट बचाउनु उतिकै सफल हुनु हो।जिन्दगीमा सफल मात्र भइँदैन,असफल पनि भईन्छ।जिन्दगीको अक्कर बाटोमा कहिलेकाही लडिन्छ।तर फेरि-फेरि लड्नबाट बच्नु नै सफलता हासिल गर्नु हो।कहिलेकाही पाउनु मात्र सफल हुनु हैन।गुमाउनु पनि सफल हुनु हो।असल मित्र पाउनु सफल हुनु हो।खराब मित्र गुमाउनु पनि सफल हुनु हो।हदै भोकाएको मान्छेले खान पाउनु सफल भएको मानिन्छ।त्यस्तै भोकाएको भएपनि अस्वस्थ खानाबाट जोगिनु पनि सफल नै भएको मान्नुपर्छ।आनी डोल्माले आफ्नो सर्वस्व लाहुरेलाई सुम्पेर पहिलोपटक हार व्यहोरिन्।दिल्लीको कोठीमा बेचिएर दोश्रो हार व्यहोरिन्।तर कोठीबाट संघर्ष गरी मुक्त भएर पहिलो जीत हासिल गरिन्।किशोरको भेष धारण गरेको लाहुरेको प्रेममा फसेर अर्को हार व्यहोरिन्।अन्ततः सही समयमा लाहुरेको कर्तुतलाई चिनेर सबैभन्दा ठूलो जीत हासिल गरिन्।
Friday, 18 August 2017
आनी-२०
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment