पूर्वको लाली किरणसंगै उदाएर
मकै-भटमास चपाउँदै
हातगोडा पट्पटी फुट्ने गरी
सुकिलामुकिलाको पेट भर्ने जिम्मा लिएर
निधारबाट मोतीको दाना खसाउँदै
खेतबारीमा कार्यरत
किसानको कविता
म उधारोमा लेख्छु।
के साँझ,के बिहान
के दिन,के रात
अहोरात्र खटेर
आफ्नो ज्यानको पर्वाह नगरी
हजारौं बिरामीको ज्यान बचाउने
डाक्टरको कविता
म उधारोमा लेख्छु।
बादल भन्दा पनि माथि-माथि
आकांक्षाको गगनमा
लाखौंको सपना बोकेर
कैयौं जोखिम मोल्दै
वायुयान उडाएर
सुरक्षित अवतरण गर्ने
पाइलटको कविता
म उधारोमा लेख्छु।
नौ महिना गर्भमा बोकी
आफ्नो रुपलाई कुरुप बनाई
आफ्नो स्वार्थलाई कुल्चेर
आधा पेट खाएर
अतुलनीय बोझ उठाउँदै
मृत्युसंग सम्झौता गरी
प्रसवको पीडा सहेर
नवजातलाई जन्म दिने
महान आमाको कविता
म उधारोमा लेख्छु।
सुसेली हालेर गाउने पवन
विशाल छाती भएको गगन
झर्झर झर्ने झरना
छङछङ गर्ने छहरा
कलकल बग्ने निश्चल खोला
प्रेमीले प्रेमिकालाई या
प्रेमिकाले प्रेमीलाई जस्तै
सागरलाई भेट्न जाने भर्जिन नदी
समग्रमा सिंगो प्रकृतिको कविता
म उधारोमा लेख्छु।
हो,म कविता लेख्छु
यथार्थताको महासागरमा डुबेर लेख्छु
निस्वार्थ लेख्छु
आर्थिक लाभ होस या नहोस
दुईमुठी सास हुञ्जेल
दुईथोपा रक्त हुञ्जेल
अनवरत रुपमा लेख्छु
वास्तवमा म सित्तैमा कविता लेख्छु।
No comments:
Post a Comment