Wednesday, 9 August 2017

मुरीका मुरी धन्यवाद

हेल्लो सरकार!
धन्यवाद सरकार
रुवाउँदा-रुवाउँदै हँसायौ
रुवाउनु पो पाप हो त
हँसाउनु त धर्म हो नि
आज फेरि गाइजात्रा देखाएर
हँसाएकोमा धन्यवाद सरकार!

आज बिहान म लखर लखर हिंड्दा
सडकको स्विमिङ पुलमा
गाडीको चक्काले स्पर्श गर्दा
रंगीन पानी उछिटिएर
मेरो कपडा र अनुहार रंगिंदा
दर्शकहरु हर्षले खुब हाँसे
पेट मिची-मिची हाँसे
हँसाएकोमा धन्यवाद सरकार!

ए साँच्चै अस्तिको कुरा
एक्कासी भल आउँदा सडकमा
नालीमा डुबेकी थिइन् नि एउटी नानी
कम त रमिते बनेकी थिइन् उनी?
शुद्ध जलमा पौडिंदै-पौडिंदै निस्केको दृश्य
बहुत रोचक थियो
बल्ल बल्ल ज्यान जोगाएर
कम त हाँसेकी थिइन् उनी?
हँसाएकोमा धन्यवाद सरकार!

कहिले चुट्किला सुनाएर
कहिले उखान-टुक्काले प्रहार गरेर
कहिले नबुझिने भाषा बोलेर
कहिले सिंगापुरको सपना देखाएर
कहिले स्वीट्जरल्यान्डको नमूना तेर्स्याएर
हँसाएकोमा धन्यवाद सरकार!

काम शून्य,गफै मीठो
लट्ठ भएका छौं हामी
बर्षौंदेखि मस्त छौं रमाइलो गफ सुनेर
समयले कोल्टे फेरेको पत्तै भएन
केवल हँसायौ,हँसायौ र हँसायौ
हँसाएकोमा धन्यवाद सरकार!

तर आज त अचम्मै भयो नि सरकार
तिम्रो असली रुप छर्लङ्ग भयो नि
हँसाउन त खुब हँसायौ तिमीले
तर जनतालाई हँसाउने दौडमा
आफ्नो कट्टु फुस्केको थाहै पाएनौ!
हेर त नाङ्गै!
हा हा हा हा हा हा हा हा हा हा......
हँसाएकोमा धन्यवाद सरकार!
मुरीका मुरी धन्यवाद!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...