भाग-१३
डोल्मा निबासको किचेन तथा डाइनिङ हल।खानेकुराको मगमग सुवास आउँदै।डाइनिङ टेबलमाथि खानेकुरा यसरी सजिएका थिए,मानौं त्यो डाइनिङ हल नभएर पाँचतारे होटलको बफे हल थियो।थरीथरीका परिकारहरु मान्छेहरुको मुखमा पस्नलाई आतुर।मुखरुपी भीरबाट पेटरुपी भोटेकोशीमा हाम्फाल्न उद्धत।कति रहर लाग्दा चौरासी ब्यञ्जन।त्यसमध्ये सबैभन्दा स्पेशल त खसीकै मासु थियो।तीन थरीका जुसका बोतलहरु खुल्ला थिए,बिना बिर्को।तर..तर खाने मुखहरु धेरै थिएनन्।केवल दुईवटा मुखहरु मात्र।किशोर र आनी डोल्माका प्यासी तथा भोका मुखहरु।तर दुईवटा मुखले कति नै निल्न सक्लान् र?खानेकुराहरु कसले खाइदेलान् भने पीर मानिरहे झैं।
"आनी डोल्मा!तिम्रो कहानीले त तहल्कै मच्चायो त बाइ!म त हैरान भएँ सुनेर।कता-कता मनभित्र जलन पनि भयो।त्यो लाहुरेले मोज गरेजस्तो छ नि!तर कथामा अहिलेसम्म त त्यस्तो नचाहिंदो काम त भएको छैन नि है?तर अब खाना खाने।अनि मात्र सुन्ने।तर सुन्न चाहिँ कुनैपनि हालतमा सुन्ने।"
किशोरले छिनछिनमा आफ्नो अनुहारको रंग परिवर्तन गर्यो।कहिले खुशी देखियो र कहिले दु:खी।यसपल्ट उ जबर्जस्ती हाँस्यो।
"हो किशोर!आज जसरी पनि पुरै कहानी सुन्नु-सुनाउनुपर्छ।तिमीले मेरो अतीत जान्नु अति जरुरी छ।ठिकै छ,खाना खाएर बाँकी कहानी सुनाउनेछु।अनि यतिका खानेकुरा कसले खान्छन् त?"
किशोरले खाना प्लेटमा पस्क्यो।काँटा र चम्चाहरु निकालेर डोल्मालाई दियो।दुईवटा गिलासमा जुस खन्यायो।पहिले जुसको चुस्की लिए।त्यसपछि खानेकुरा तर्फ लागे।खानेबेला खासै वार्तालाप भएन।खानमै ब्यस्त भए।आनी डोल्माले धेरै खाने सुर गरेकी थिइन् तर असफल भइन्।मन अघाएको थिएन तर पेट टमक्कै भैसकेको थियो।किशोरको हालत पनि उस्तै थियो।बाँकी रहेका खानेकुरा फ्रीजमा राखेर उनीहरू माथिल्लो तलामा उक्ले,जहाँ बेडरुम उनीहरुकै प्रतिक्षामा थियो।उनीहरू गएर छुट्टाछुट्टै बेडमा बसे।दुबैका मुखहरु तृप्त थिए।भोक-प्यास मेटिएका थिए।सुस्तरी-सुस्तरी रातको जवानी फक्रँदै थियो।सारा बस्तीका आँखाहरु लोलाउने तयारी गर्दै थिए।धेरैका रात रंगीन हुँदै थियो।कतिपय थकित शरीरलाई विश्राम दिने दाउमा थिए।सबै आ-आफ्नै धुनमा।यता आनी डोल्मा र किशोर पनि रातलाई फलदायी र अनुकुल बनाउने होडमा थिए।सायद आजको रात उनीहरुको लागि खास हुँदैथियो।जसरी नव-दम्पतीको लागि खास हुन्छ।तर त्यति हतारमा पनि थिएनन् उनीहरू।कामबासना भन्दा पनि अहिले उनीहरू अर्कै कुरामा ब्यस्त हुन चाहन्थे।आनी डोल्माको अतीतको सत्य कथामा।
"अब शुरु गर्ने होइन डोल्मा?"
"के शुरु गर्ने किशोर?"
"त्यही के त?"
"के त्यही?"
"त्यही भनेपछि बुझ न यार।"
"नाइँ अहिले हुन्न।पहिले कथा।"
"हा हा हा..मैले पनि कथाकै कुरा त गरेको हुँ नि?तिमीले के सोचेकी?"
आनी डोल्माले उसको कुरालाई अर्कै अर्थ लाएकीले उनी शरमले निहुरिन्।मन्द-मन्द मुस्कुराइन्।
"मैले पनि कथाकै कुरा त गरेकी नि।"
उनले बिग्रेको कुरालाई मिलाएर ठिकठाक पारिन्।
"ल शुरु गरौं।"
किशोरले उनलाई जिस्क्याएको पारामा भन्यो।
अँ त किशोर!म कहाँ थिएँ?ए,हामीले ४ दिनपछि भेट्ने योजना बनाएका थियौं।जम्मा ३ दिन बाँकी थियो।एक-एक सेकेन्ड बिताउन मुस्किल थियो मलाई।उसलाई कस्तो थियो-अनबिज्ञ नै थिएँ।पलपल उसैको याद आउँथ्यो।एकदिनको समय एक महिना जत्तिकै लामो लाग्थ्यो।छन त म सधैं एक्ली नै थिएँ।तर म झन-झन एकोहोरिएर टोलाउन थालेकी थिएँ।उसैसंग बिताएका क्षणहरु सम्झेर म रम्न थालेकी थिएँ।लाहुरे मान्छे हरेक कोणले सही लाग्यो मलाई।माया गर्न मात्र जानेको थिएन।प्रेमीको प्रभावकारी भूमिका पनि निभाउन जानेको थियो।मेरो लागि लाहुरे जतिको इमान्दार र असल जीवनसाथी पाउनु अहोभाग्यकै कुरा थियो।जोकोहीको भागमा लाहुरे कहाँ लेखिएको हुन्छ र?मेरो निधारमा श्री लेखिएको थियो र त मैले उसलाई पाउँदै थिएँ।नत्र म जस्ती पाखेसंग के नै थियो र?न ढंग न रंग।हुन त त्यति नराम्री पनि कहालिएको थिइन।रुप त अलिअलि थियो नै।अहिलेको भन्दा दुईगुणा राम्री थिएँ त्यसरी बुझ न।नभन्दै पलपल तड्पिएर ३ दिनको समय गुज्र्यो।म अत्यन्तै उत्साहित र पुलकित थिएँ।फुरुङ्ग हुँदै मलको भारी बोकेर लेकबाट बेशी झर्न लागें।आँखामा लाहुरे संग हुने मिलनको मीठो सपना सजाउँदै अनि मनमा नौलो उमंग र जोश बोकेर गाउँको नजिक-नजिक पुग्दै थिएँ।हिंड्नको लागि दुई खुट्टाहरुको भरमा हिंडेकी थिएँ।तर मेरो मन गगनमा स्वतन्त्र र निर्वाध उडिरहेको पंक्षी जस्तै कावा खाँदै-खाँदै उड्दै थियो।बतासले बादललाई लिएर हिंडे जस्तै मेरो मनले चाहना लिएर जाँदै थियो।अरुदिन भन्दा म अलि राम्री भएकी थिएँ।आफ्नो मनको मान्छेलाई भेट्न आउँदा चिटिक्क पर्नुपर्छ भन्ने धारणा थियो।केश कोरेर दुई चुल्ठी बाटेर रातो रिवनले बाँधेकी थिएँ।कपडाको रुपमा कुर्ता-सुरुवाल अनि जुत्ता चाहिँ स्पोर्ट्स।क्याङ्सिर डाँडामा पुगेपछि उसको गाउँतिर चियाउँदै आएँ।उसले गर्ने स्पर्श सम्झेर जीउमा काउकुती लागिरहेको थियोे।कता-कता लाज-शरम पनि।मीठो सपना सजाएर झरिरहें।गाउँघरका समस्त चीजहरु प्यारो र रमाइलो लाग्दै थिए।अनायासै मुखमा एउटा गीत आइहाल्यो।
"कहाँ छौ कहाँ,यहाँ छु यहाँ,तिम्रो यादमा।"
पूरै गीत नआएपनि थोरै गुनगुनाएँ।गाउँको बारीमा मल खन्याएर सरासर घरमा गएँ।निकै माथिबाटै प्रष्ट देखें उसलाई।देख्नेबित्तिकै आँखाहरुले शितलता पाए।उसको यादमा तड्पिनु नपर्ने भयो।ती यादहरुको हत्या गरे।दाहसंस्कार गरें।यादलाई श्रद्धाञ्जली दिएँ।याद दनदनी जल्यो।एकैछिनमा खरानी भयो।साक्षात्कार गर्ने स्वर्णिम पल आइसकेको थियो।निर्बाध उसलाई स्पर्श गर्न सक्ने भइयो।निर्धक्क प्रेमिल संसारमा प्रेम आदानप्रदान गर्न सकिने भइयो।हर्षको परिधि फराकिलो भयो।मनले अनेकौं अनेक सोच्नुनपर्ने भयो।मुटुले शान्ति पायो।खुट्टाहरुले गन्तव्य भेट्टाइसकेका थिए।थप दु:ख-कष्ट सहनुपरेन।हामी बीचको भौगोलिक दूरी घट्दै गयो।तर उसले अझै मलाई देखिसकेको थिएन।कारण-उसले हेरेको बाटो फरक थियो।उसको हेराइ सीधा थियो।मेरो आगमनको बाटो बाङ्गो थियो।उसलाई लागेको थियो होला-म ओरालोमा झर्नेछु।तर म मल पुर्याएर अलि तेर्सो-तेर्सो बाटोबाट उसको सामू झुल्किएँ।
"लाहुरे!"
मैले जोडले बोलाउँदा उ झसङ्ग भयो।
"कताबाट बाटो बिरायौ?कस्तो तर्साइदियौ।म बेहोस भएको भए के गर्थ्यौ?"
उ जुरुक्क उठ्यो र मतिरै बढ्यो।मैले पनि गति बढाएँ।आहा!बिछोडपछिको मिलन कति मीठो!गर्ल्याम्मै अंगालोमा बाँधियौं।हाम्रो कृयाकलाप देखेर गगन शरमले खिसिक्क हाँस्यो।दृश्य देख्न नसकेर घरको छेउमा भएर ठूलो रुखमाथि आधिपत्य जमाएर बसेका जोडी ढुकुर टाप कसे।गगनमा कावा खाइरहेका कागहरु का का गर्दै भागे।हाम्रो प्रेमको नवयुगको थालनी भैसकेको थियो।नयाँ अध्याय शुरु भएको थियो।छुट्टिएर बसेको सार्थकता भेटमा हुनेरहेछ।कति मीठो स्पर्श।अनि चुम्बन!भेट्टिएका हामी पुनः हरायौं।केका लागि हरायौं,देख्नेले मात्र सहजै अनुमान गर्न सक्थ्यो।हामी त होसमै पो थिएनौं,कसरी अनुमान गर्नु,थाहा पाउनु।आकाश धुमिल भएपनि बडो प्रेमिल भयो।छातीभित्रको विशाल खेतमा छरिएका प्रेमका बीउहरु अंकुराउन थाले।कारण-सही समय र तापक्रममा मलजल हुँदै थियो।अतृप्त बीउहरु तृप्त हुँदै थिए।मैले उसको यौवनको सुमेरु पर्वत जुरुक्क उठाएँ।उसले मेरो जवानीको कैलाश पर्वत उठायो।तत्कालै हामी नियंत्रित भयौं।किनभने हामी एक्लै थिएनौं।हाम्रो सामू समाज थियो।अचानक अलग्गियौं।
"किन ढिलो गरेकी डोल्मा?३ दिनसम्म म त दिनै तिम्रै घर आएर फर्किन्थें नि।घरमा बस्नै सक्दिनथें।यहाँ आएपछि तिम्रो दर्शन पाएझैं लाग्थ्यो।एकदुई घण्टा बसेर जान्थें।तिमीलाई भने मेरो यादसम्म आएन होला है?"
"भित्रै हिंड,अनि बिस्तृतमा कुरा गरौंला।के तिमीलाई मात्र याद आयो होला?मेरो चाहिँ मन हैन?मुटु हैन?यस्तो कुरा कसरी गर्न सकेको?नाइँ म तिमीसित बोल्दिन के।"
"मैले त मन पो हेरेको त डोल्मा।मप्रतिको अगाध प्रेम मैले तिम्रो आँखामा देखिसकें,पढिसकें।तिमीले बयान गर्नै पर्दैन।बुझ्नेलाई इशारै काफी।"
"तिम्रो लागि मैले के सम्म गरिन भन न?त्यो त सब यो धर्ती र आकाशलाई मात्र थाहा छ।टिलपिल गरी चम्किले रातका ताराहरुलाई थाहा छ।जूनलाई थाहा छ।प्रकृति साँक्षी छ,म जति टोलाएँ तिम्रो यादमा।"
"हो मैले बुझे डोल्मा।त्यसैले त तिमी बाचा पूरा गर्न आज यहाँ आएकीछ्यौ।तिमी आउनु नै मेरो ठूलो प्राप्ती हो।मेरो जीत हो।बरु एउटा कुरामा मलाई चित्त बुझेको छैन डोल्मा।"
"के कुरा हो लाहुरे?"
"हाम्रो प्रेमको चर्चा यो बस्ती-बस्तीमा फैलिएछ।जता गएपनि हाम्रै बारेमा कुरा गरेको देख्छु,सुन्छु।यहाँको माहोल हाम्रै चर्चाले गर्मिएको छ।तिमी त जंगलमा बस्छ्यौ।यहाँ के के भैसक्यो तिमीलाई के थाहा?लाहुरेले सोझी डोल्मालाई बितायो रे।बर्बाद पार्यो रे।हाम्रो बीचमा केही बाँकी रहेन रे।सबथोक भैसक्यो रे।क-कसको मुख थुन्ने?समाजले हाम्रै बारेमा नानाथरी कुरा काटेको मैले कसरी सहेको होला?"
"ए!हो र लाहुरे?लौ बर्बादै भएछ नि।अब के गर्ने भन त?तिमी पुरुष भएर त समाजको कुरा पचाउन सकेका रहेनछौ।म त झन एउटी अबला नारी!केही उपाय निकाल न लाहुरे।नत्र समाजमा बस्न लायकको रहन्न।"
"हो नि डोल्मा केही उपाय त सोच्नैपर्छ।मलाई पनि यहाँ जिउन बहुत गाह्रो भएको छ।क्यानम एउटा गतिलो आइडिया छ मसंग।"
"के हो भनिहाल न।"
"हामी भागौं।"
"भाग्ने?कहाँ भाग्ने?किन भाग्ने?हामीले के बिराएका छौं र भाग्ने?भागेर कहाँ जाने?"
"हो डोल्मा,हामी भागेर जाऔं।समाजबाट अपहेलित र तिरस्कृत भएर बाँच्नुभन्दा त यो समाजदेखि धेरै टाढा जाऔं।हाम्रो छुट्टै संसार बसाऔं,जहाँ सिर्फ तिमी र म मात्र होउन्।"
"नाइँ लाहुरे।हामी भाग्दैनौं।म यो समाज छोडेर टाढा जान सक्दिन।आखिर किन र केका लागि भाग्ने?समाजबाट भागेर टाढा कहाँ जान सकिन्छ र?हामी र समाज एक-अर्काका परिपूरक हौं।हामीलाई समाजको नितान्त आवश्यकता पर्छ र समाजलाई हाम्रो।भागेर कुनै देश,शहर या गाउँ गएपनि समाजमै बस्नुपर्ने हो।त्यसो भए हामी भाग्नुको के औचित्य?भन त के अर्थ?"
"मैले सधैंको लागि भागेर समाजबाट अलग हुने भनेको हैन।यो समाजले यतिखेर हाम्रो बारेमा नकारात्मक हल्ला फिंजाइरहेकोछ।माहोल नसेलाएसम्म हामी यहाँबाट टाढा जाऔं मात्र भन्न खोजेको।तनाबमा बाँच्नुभन्दा बरु निर्धक्क भएर बाँचौं भन्ने हो।यदि मेरो कुरा बेठीक लागे नजाऔं न के भो र?"
"कहाँ जाने बिचार गरेको तिमीले?"
"क्यानम म लाहुरे मान्छे।केही दिन ईन्डिया जाऔं न है?मेरो छुट्टी पनि सकिन लाग्यो।फेरि बेलामा हाजिर नभए जागिरबाट निकाल्छन्।त्यसको लागि भएपनि म जानैपर्छ।क्यानम तिमीले पनि यो गाउँ बाहेक अरु देश बिदेश देखेकै छैनौ।देश पनि हेरिने,मुख पनि फेरिने।समाजको मुख पनि टालिने।भन के छ तिम्रो बिचार?तिमी नजाने भएपनि मैले त जानैपर्छ।के गर्नु डोल्मा,जागिरै यस्तै खाइएको छ।"
"तर मेरो बाबा-आमा?उहाँहरुबाट कसरी दूर हुन सकुँला?गाउँ बाहेक उहाँहरुको नजरबाट दूर गएकी छैन।"
"केही दिनको लागि त हो नि डोल्मा।म तिमीलाई आफ्नो बनाउँछु अनि ज्वाइँ भएर जाउँला बाबा-आमालाई भेट्न।क्यानम चट्ट लाएर लाहुरेको ड्रेसमा उहाँहरुलाई ढोगभेट गर्दाको क्षण जस्तो होला सोच त।म तिम्रो बाबा-आमालाई खुशी भएको हेर्न चाहन्छु।तिम्रो परिवार नै मेरो परिवार।तिमीहरुको खुशी नै मेरो खुशी।के सोचेको?अझै केही बितेको छैन।सोच्ने समय दिन्छु एक दुई घण्टा।"
"साँच्चिकै लाहुरे!मलाई त जान मनै छैन।किन-किन यो मनले नजाउ भन्दैछ।फेरि छोरी अचानक गायब हुँदा बाबा-आमाको हालत कस्तो होला?कसको अविभावकलाई आफ्नो सन्तानको माया हुँदैन?उहाँहरु आँतिएर मर्नुहुन्छ।छोराछोरी नै बाबा-आमाका अमूल्य ऐश्वर्य हुन्।हीरा-मोती र सुनचाँदी भनेकै उनीहरू हुन्।उहाँहरुलाई रुवाएर,चोट दिएर म कसरी खुशी हुन सकुँला?"
"तिम्रा बाबा-आमालाई म पनि सम्मान गर्छु।पहिले म तिमीलाई सदाको लागि आफ्नो बनाउँछु अनि तिमीसंगै उहाँहरुको दर्शन गर्न जान्छु।उहाँहरु भनेका मेरा लागि भगवान सरह हुनुहुन्छ।मेरा आदर्श हुनुहुन्छ।तर अहिलेको लागि मेरो आग्रह-मसंग हिंड।मैले तिम्रो हात हमेसाको लागि थामेपछि त समाजले पनि केही भन्न सक्दैनन् नि।आफसेआफ समाजको मुख आफैं टालिन्छ।"
"तिम्रो कुरा बुझ्छु लाहुरे तर मेरा बाबा-आमालाई हृदयघात भयो भने!म त मरेतुल्य हुन्छु नि।"
"हुन्न डोल्मा हुन्न।तिमी पीर नगर।केही दिन चिन्ता लिनुहुन्छ तर त्यसपछि सब ठिक हुन्छ।इन्डिया पुग्नेबित्तिकै हामी बाबा-आमालाई खबर गरौंला।"
"मैले भनिसकें नि लाहुरे,यो मनले मानेकै छैन।"
"ठिकै छ डोल्मा।म मात्र जान्छु उसो भए।मैले त जानैपर्छ।बरु अर्को छुट्टीमा तिम्रो हात माग्न आउँछु।"
"नगई हुन्न र लाहुरे?तिमीले त भनेका थियौ-मेरो लागि यहाँको उकालो ओरालो गर्न तयार छु भनेर।बरु दु:ख गरौंला,संगै बाँचौंला।मेरो हात माग्न अहिल्यै गोठमा आउ।बाबा-आमालाई सम्झाउने जिम्मा मेरो।"
"नाइँ डोल्मा अहिले म जानैपर्छ।मसंग समय एकदमै कम छ।यहाँ दु:ख गर्ने हिम्मत ममा छैन डोल्मा,मलाई माफ गर।तिमीलाई सुखमा राख्ने एउटै मात्र उपाय लाहुरेको जागिर खानु नै हो।अर्को साल म तिमीलाई पनि उतै लैजान्छु।"
"अर्को साल?एक सालसम्म तिम्रो प्रतिक्षा कसरी गर्न सक्छु र?तीन दिन त तीन साल जस्तो लाग्यो।एक साल त एक दशक जस्तै लाग्नेछ।यस्तो पाप नगर न लाहुरे।तिमी बिना म कसरी बाँच्ने?मलाई छोडेर नजाउ न लाहुरे।बिन्ती छ।"
मैले लाहुरेको खुट्टामा ढोगेर बिन्ती बिसाएँ।उ निकैबेर स्तब्ध बस्यो।म पनि।एक-अर्कालाई अंगालेर बेस्सरी रोयौं।हाम्रो हालत देखेर त्यहाँको आकाश,हावा,बादल,चराचुरुङ्गी,खोला-नाला लगायतका प्राकृतिक पर्यावरण पनि आँशुका ढिक्का छोडेर रोए झैं लाग्यो।धेरैबेरको सन्नाटालाई चिर्दै उसले भन्यो-
"डोल्मा!मेरो कुरा मान।मसंग हिंड।तिमीलाई मेरो करङ धितो राखेर भएपनि सुखमा राख्नेछु।यो मेरो बाचा भयो।म तिमीलाई छोडेर जान सक्दिन।यहाँको माटोमा खेतीपाती गर्ने क्षमता छैन मेरो।मलाई सुखमा बाँच्ने बानी परिसकेको छ।यहाँको एकमहिने बसाइँमा मैले यही पाठ सिकें।पहिलेदेखि यही माटोमा भिजेकाहरुको लागि यो ठाउँ स्वर्ग हो।तर म जस्तो जाँगर नहुनेको लागि त नर्क नै हो।बरु पछि मेरो पेन्सन पाकेपछि सधैंको लागि यही बसौंला।"
एकछिन मैले ठण्डा दिमागले सोचें।लाहुरेले भनेको पनि गलत थिएन।म उसंगै इन्डिया जान राजी भएँ।
"कहिले जाने हामी इन्डिया?तयारी गर्छु म।"
मेरो कुराले लाहुरे खुशीले गदगद भयो।मलाई उचालेर फनफनी घुमायो।उसलाई त्योभन्दा पहिले त्यस्तो खुशी कहिल्यै देखेकी थिइन।उसको कुराले शुरुमा दु:खी थिएँ तर पछि खुशी भएँ।सबैभन्दा ठूलो मान्छेको मनै रहेछ।मनले नचाहेको त्यही कुराले दु:खी र चाहेपछि त्यही कुराले खुशी बनाउने रहेछ।मैले सही या गलत के कस्तो निर्णय लिएँ-म आफैं अनबिज्ञ थिएँ।
"धन्यवाद डोल्मा,तिमीले मेरो मनको मर्म बुझ्यौ।तिमी जस्तो नारीलाई जीवनसाथीको रुपमा पाएर म धन्य भएको छु।म साह्रै भाग्यमानी रहेछु।तिमीलाई जन्म दिने बाबा-आमाको गुण म कसरी तिरुँ?जेहोस तिमी साह्रै समझदार रहिछयौ।साँच्चिकै बिधाताले मेरो निधारमा श्री लेखेको रहेछ।आज आएर प्रमाणित भयो।"
"त्यो त ठिकै छ लाहुरे!तिमी जस्तो लाहुरेलाई हासिल गर्न सक्नु मेरो पनि अहोभाग्य हो।तर एउटा कुरा भन्छु है।कुनै दम्पतीको माया,प्रेम या बासना जेसुकै भएपनि,जस्तोसुकै हालतमा बिपरित लिंगी प्रतिको आकर्षण भएपनि,मर्जीले वा जबर्जस्ती जसरी भएपनि,शारीरिक सम्बन्ध पछिको गर्भाधारण नै कुनै भ्रुणको जीवन प्राप्तिको शुभपल हो।उक्त नारीको महिनावारी रोकिएपछि नै उनले एउटा मीठो सपना देख्न थाल्छे।भ्रुणलाई आफ्नो जिन्दगी भन्दा प्यारो ठानेर माया,सद्भाव र सुरक्षा दिन थाल्छे।कुनै ठक्करबाट उसको जीवनलिला समाप्त हुनसक्ने भय पालेर नौ महिनासम्म आफ्नै अंग ठानेर सुम्सुम्याउँदै गर्भमै पालनपोषण गर्छिन्।आफ्नो ज्यान धितो राखेर जन्माउँछिन्।नाभी काटेर पहिलो खतरा मोल्छिन्।मौसमको प्रतिकुलता लाई अनुकुल बनाउँदै काखी च्यापी आफ्नो दशधारा स्तनपान गराएर जीवनदान गर्छिन्।त्यसपछि पनि कति चुनौतीहरुको सामना गर्दै हुर्काउँछिन्।आफू खाइ-नखाइ आफ्नो सन्तानलाई पाल्छिन्।उसलाई सानो ठेस लागेपनि सबैभन्दा पहिले आमाको मन दुख्छ।त्यस्ती ममतामयी आमाको महानतालाई आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध गर्नलाई पैतालामुनी कुल्चेर जानु कतिसम्म जायज कदम हो?तिमी आफैं मनन गर त लाहुरे।एकपटक तिमी मेरो स्थानमा उभिएर सोच त।के तिमी आमालाई लात मारेर जान सक्छौ?"
"त्यसो नभन न डोल्मा।मलाई असह्य पीडा हुन्छ।आमाको महत्व तिमीलाई जति थाहा छ,त्यति मलाई पनि थाहा छ।त्यसो भए म के गरुँ त डोल्मा?तिमीलाई छोडेर जान पनि सक्दिन र यहाँ बसेर साथ दिन पनि सक्दिन।म कस्तो अभागी मान्छे रहेछु।केही पाउनलाई केही गुमाउनैपर्ने प्रकृतिको नियम नै हो र?यस्तो हुनु अनिवार्य छ र?दैवले पनि कस्तो आधा खुशी दिएर चित्त बुझाउन सकेको।के दुबै हातमा लड्डु हुन सक्दैन?मान्छेलाई दु:ख-पीडा दिनेभए किन सृष्टि गर्यौ भगवान?किन?"
लाहुरे डाँको छोडेर ग्वाँग्वाँ रुन थाल्यो।उ रोएको देखेर मैले पनि अश्रु बगाएर साथ दिएँ।
"नरोउ लाहुरे!बाबा-आमालाई मेरो उत्तिकै माया र सम्मान छ।सधैंको लागि छोडेर जान लागेको पनि त हैन।अहिले लाई म तिमीलाई साथ दिन्छु।तिमी ढुक्क होउ।"
मैले उसलाई बालक फकाए झैं फकाएँ।उसलाई साथ दिने वचन दिएँ।
"बरु यसो गरौं लाहुरे।माथिल्लो घरको काकालाई समाचार छोडौं।हामी बिहे गरेर गयौं भनेर सन्देश छोडौं।यति गरे उहाँहरुलाई पनि ढुक्क र हामी पनि निश्चिन्त।"
"हो,ठिक भन्यौ डोल्मा तिमीले।अघिनै यस्तो दिमाग लाएको भए यतिको तनाब पनि हुन्थेन।जेहोस तिमी बुद्धिमानी छ्यौ।तिम्रो सोचाइ एकदमै पाको छ।सर्प पनि मर्ने,लट्ठी पनि नभाँचिने।यसमा कसैको हार छैन।सबैको हीत र जीत छ।"
"आखिर म कसको श्रीमती परें?"
मेरो कुरा लाहुरेलाई घत लागेछ।उ खित्का छोडेर हाँस्यो।मेरो मनको कालो बादल पनि हटेर छङ्ग उज्यालो भयो।म पनि मुस्कुराएँ।
दिनको जवानी क्रमशः ढल्किँदै थियो।पृथ्वीमा तापक्रम घट्ने क्रममा थियो।गहुँगोरो सूर्यनारायणको मुहार लाल हुँदै थियो।उ पश्चिमी क्षितिज माथि टुकुटुकु हिंड्न थाल्यो र केही क्षणमा चिप्लिएर लड्दै ओझेलमा पर्यो।दिन सुत्ने तरखरमा थियो भने हामी उठ्ने तरखरमा थियौं।पशुपंक्षीहरु कोलाहल मच्चाएर बास खोज्दै आ-आफ्ना गन्तव्यस्थलतिर प्रस्थान गर्न आतुर देखिन्थे।हेर्दाहेर्दै साँझ झिस्मिस भैसकेको थियो।हाम्रो बाटोबाट तगारो हटिसकेको अनुमान लगायौं।अब कसैले देख्लान् भनेर डराउनुपर्ने अवस्था थिएन।
"डोल्मा!अब जाऔं।"
उसको आग्रहलाई शीर हल्लाएर सहर्ष स्वीकार्दै सूर्य डुबेको दिशामा अगाडि बढ्यौं।मनमा नौलो सपना सजाएर नवमार्गमा सुन्दर भविष्यको खाका कोर्ने यात्रामा निस्क्यौं।मसंग नया झोला नभएकोले एकजोर फेर्ने कपडा उसैको झोलामा प्याक गरिएको थियो।
"लाहुरे!हामीले सही-गलत के गर्दैछौं,मलाई अवगत छैन।म यो मामिलामा बिल्कुल आलो-काँचो छु।हामीलाई समाजले पक्कै पनि सकारात्मक दृष्टिकोणले हेर्ने छैनन्।गाउँमा भोलिको हेडलाईन हुनेछ-लाहुरेले डोल्मालाई भगायो।दुनियाँ हाँस्नेछन् हाम्रो बिहेलाई लिएर।उपहासका रमाइला पात्र हुनेछौं-हामी।बाबा-आमाको ठाडो शीर शरमले झुक्नेछन्।उहाँहरु शोकमग्न र बिचलित हुनुहुनेछ।चौडा छाती खुम्चिनेछन्।"
"हामीले के पाप गरेका छौं र?बिहे गर्नु पाप हो भने संसारमा कोही पनि धर्मात्मा छैनन्।सबका सब पापी।चोखो मायाको सामू जस्तोसुकै ठूलो शक्तिले पनि घुँडा टेकेको इतिहास साक्षी छ।दुनियाँमा सबैभन्दा शक्तिशाली कुरा नै प्रेम हो।प्रेमको कारण यहाँ इतिहास बदलिएको छ।अजर-अमर इतिहास लेखिएका छन्।प्रेम संयोगान्त होस या वियोगान्त,प्रेमी-प्रेमिका होस या श्रीमान-श्रीमती,जूनी-जूनीसम्म ताजा भएर रहनेछ।कहिल्यै पुरानो हुने छैन।प्रेम कथा पुरानो हुन सक्ला।प्रेमले दिने सन्देश र उर्जा पुरानो हुँदैनन्।तैपनि अब समय र परिबेश फेरिएका छन्।जमाना फेरिएको छ।हाम्रो बिरुद्धमा समाज पर्खाल भएर उभिन्छ जस्तो लाग्दैन।प्रजातन्त्र हुँदै लोकतन्त्र आइसकेको छ।प्रेम या विवाह बिल्कुल ब्यक्तिगत पाटो हो।कसैको हस्ताक्षेप गर्ने अधिकार छैन।कुरा रह्यो-तिम्रो बाबा-आमाको।उहाँहरुको इज्जतको।हाम्रो कारणले शुरुमा असहज होला।धक्का महसुस गर्नुहुन्छ होला।तर अन्ततः हाम्रो कारणले उहाँहरुको शीर अझ उच्च हुनेछ।छाती अझ चौडा हुनेछ।मलाई बिश्वास गर डोल्मा,सब समयानुकुल हुनेछ।"
उसको सकारात्मक कुराले मलाई केही मात्रामा राहत मिल्यो।मर्न लागेको उमंग फेरि जीवित भयो।माथिल्लो घर अर्थात साइनोले काका पर्नेको घर आइपुगेका थियौं।पसौं कि नपसौं भयो।बाबा-आमालाई समाचार छोड्ने या नछोड्ने दोधारेपनले मन विभाजित भयो।अन्तमा मैले अर्को छुट्टै आइडिया लगाएँ।बाहिर कोही थिएनन्।लाहुरेलाई बाहिरै राखेर म मात्र भित्र पसें।काकी मात्र हुनुहुँदोरहेछ।
"टसिदिले काकी!म केही दिनको लागि राजधानी जाँदैछु।अपर्झट जानुपर्ने काम आइलाग्यो।जान पनि सक्छु भनेर आमालाई भनेकी छु तर जाने यकिन चाहिँ थिएन।गोठबाट कोही आए म गएँ भन्दिनुहोला।"
"किन,के काम पर्यो र त्यस्तो?"
"एकदमै महत्वपूर्ण काम हो काकी।काम बन्यो भने फर्केर आएपछि बताउनेछु।अहिलेलाई म जान्छु।"
"ल ल,राम्रोसँग जाउ।अनि एक्लै पहिलोपटक राजधानी जाँदैछ्यौ।आफ्नो ख्याल राख।"
"हवस् काकी।बाबा-आमालाई पीर नमान्नु भन्नुहोला।म हतारमा छु।"
यति भनेर फटाफट बाहिरिएँ र बाटो ततायौं।कहिले लाहुरे अगि र कहिले म अगि हिंड्न थाल्यौं।अलि माथि पुगेपछि मलाई एक्कासी ठेस लाग्यो।जन्मठाउँको ढुंगामाटोले रोके झैं लाग्यो।नयनबाट तुरुक्क रस चुहियो।हतारमा पुछिहालें।आफूलाई जबर्जस्ती खुशी देखाउनु थियो।आफ्नो निर्णयलाई जायज मान्नु थियो।सही बनाउनु थियो।जन्मभूमिका हावापानी,वनजंगल,जमिन र आकाशले बिछोडका अश्रु खसाएको भान भयो।तिनीहरू प्रति मेरो प्रेम अझ प्रगाढ भयो।जमिनबाट एकमुट्ठी माटो लिएर टीका लगाएँ।लाहुरे अगाडि भएकोले उसले देखेन।काम्से डाँडामा पुगिसकेका थियौं।दिउँसोको प्रहर भएको भए मेरा प्यारा हिमाल,पहाड र पर्वतहरु स्पष्ट देखिने थिए।तिनीहरुका रहरलाग्दा द्रुष्यहरु देख्नमा चुकिरहेकी थिएँ।सायद ती दुधकुण्ड हिमशृंखला हाम्रो बिछोडमा पग्लिरहेका थिए।चेर्दुङ चुचुरा निराश हुँदै थियो।त्यहाँका पशुपंक्षीहरु मस्त निंदाएर मीठा सपना देखिरहेका थिए।दिनमा भएको भए मलाई गएको देखेर बिरहका गीत गाएर रोक्ने प्रयत्न गर्दा हुन्।बिचराहरुले मलाई देखेनन् र जाती नै भयो।नत्र तिनीहरुको हालत देखेर मेरा पाइला अगाडि बढ्ने थिएनन्।सबैको माया छातीभित्र सजाउँदै दूर-दूर हुँदै थिएँ।तिनीहरुबाट टाढिनुपर्दा बेचैनी बढ्दै थियो।बेहाल-बेहाल हुँदै थिएँ।रातको अन्धकारले धर्तीमा आधिपत्य जमाउन थाल्यो।त्यसैको हालीमुहाली हुनथाल्यो।गगनमा कालो बादलको राज थियो।लाहुरेसंग लाइटरको सानो लाइट मात्र थियो।त्यसले एकजनालाई पनि राम्रो देखाउन सक्ने थिएन।
"ल डोल्मा लाइट तिम्रो हातमा बोक।तिमीलाई गाह्रो भए जस्तो छ।"
निकैबेरको स्तब्धतालाई चिर्दै लाहुरेले सहज माहोल बनायो।
"हैन,तिमी नै बोक।म त यहाँको सबै कुरासँग बर्षौंदेखि चीत-परिचित छु।कहाँ सम्मा,कहाँ खाल्डो,कहाँ चिप्लो छ भनेर सबैको बारेमा ज्ञान छ मलाई।आँखा चिम्लेर पनि हिंड्न सक्छु म।सबैले राम्ररी चिनेका छन्।मप्रति सबैको अगाध माया छ।यिनीहरुलाई छोडेर जान लागेकोले रिसाए के जान्नु,नत्र कति मायालु छन्।कठोर र निर्दयी छैनन् यिनीहरू।स्वार्थी र निष्ठुरी छैनन्।"
तर उसले मलाई अति माया देखाएर लाइट बोक्नु भनेपछि मैले नाइँ भन्न सकिन।लाइट लिएर म अगाडि बढें।लाहुरे पछि-पछि आउँदै थियो।
"ऐया बाबा!मरें नि!"
उसको आर्तनादले म झस्किएँ।आतिंदै पछाडि फर्केर हेरें।उ भुइँमा लडिरहेको थियो।हातमा समाएर उठाएँ।खाल्डोमा परेर लडेको रहेछ।निधारमा थोरै काटिएछ।आलो रगत बगेर नाक हुँदै मुखसम्मै पुगिसकेछ।मैले आफ्नो सल च्यातेर उसको निधारमा बाँधिदिएँ।उसलाई चोट लागेको देखेर म खिन्न भएँ।लाइट उसैलाई फिर्ता दिएँ।
"मैले भनेकै हो नि लाहुरे,लाइट मलाई भन्दा तिमीलाई खाँचो छ भनेर।मानिनौ,के गर्ने?आईन्दा ख्याल गरेर हिंड।"
उसले आफ्नो कमजोरी चुपचाप स्वीकार्यो।लाइट हातमा भए पनि त्यो ओरालो चिप्लो बाटोसंग उ परिचित थिएन।बेला-बेलामा चिप्लिएर पछारिँदै,उठ्दै र पछारिंदै हिंडिरह्यो।हिलोले उसको कपडा हेर्ने नहुने भैसकेको थियो।
"तिमी आफ्नो ख्याल त राख्न सक्दैनौ।मेरो ख्याल कसरी राख्छौ लाहुरे?"
मैले जानी-नजानी खै कस्तो सवाल पो गरें।लाहुरे एकछिन मौन बस्यो।मैले पुनः सवाल दोहोर्याएँ।उसको मानमर्दन भयो क्यारे कड्किन थाल्यो।
"डोल्मा!के म तिमीलाई पाल्न नसकुँला त?यस्तो चिप्लो बाटोमा चिप्लिएर लडिरहेछु भन्दैमा मेरो औकातमाथि प्रश्नचिह्न खडा गर्नुपर्छ र?अवसरवादी रहिछ्यौ डोल्मा तिमी।अवसर पर्खेर बस्दिरहिछ्यौ र मौका पाएपछि उछितो काढ्छ्यौ।शहरमा त बस न मसित।कसरी तिम्रो ख्याल गर्छु म।पछि देखिहाल्छ्यौ नि।"
उसको कुरा छुरा जस्तै लाग्यो।एकैचोटी मुटुमा गएर गढ्यो।बचनबाण सहन सकिन।प्रहार सहन सकिन।छातीको बायाँ पाटोमा असह्य दर्द भयो र नयनरस बगेर मुहार रुझियो।मेरो क्रन्दन उसलाई अवगत भयो।
"मैले त मजाक पो गरेको त।साँच्चिकै तिमीलाई नराम्रो भनेको हैन क्या।नरोउ न मेरी काली!तिमी रोयौ भने म पनि रोइदिन्छु के।"
उसले मेरो केशराशीमा सुम्सुम्यायो।निधारमा म्वाइ खायो।नयनरस लाई बुढीऔंलाले पुछिदियो।मेरो मन अप्रत्याशित ढंगले परिवर्तन भयो।एक्कासी उसको माया लाग्यो।अंगालोमा बेरिएँ।मपनि रोइदिन्छु भन्ने वाक्यले दु:खी बनायो।
"मेरो लागि रुनुपर्दैन लाहुरे!मैले रुनुपरे पनि तिमी सधैं हाँसेको देख्न चाहन्छु।यदि म मरिहाले पनि तिमी कहिल्यै नरुनु ल लाहुरे!सधैं खुशी भएर बाँच्नु।दुर्भाग्यबश मैले संसार छोडें भने अर्की खोजेर बिहे गर्नु।मलाई बिर्सिदिनु।"
मेरो कुराले लाहुरे खुत्रुक्कै भयो।थचक्क भुइँमा बस्यो।बालक झैं हिक्का-हिक्का गर्दै रुन थाल्यो।मेरो कुराले उसलाई चोट परेको देखेर म मर्माहत भएँ।आत्माग्लानी भयो।बेस्सरी पछुताएँ।
"मलाई माफ गर लाहुरे।मैले तिम्रो चित्त दुखाएँ।आइन्दा तिमीलाई कहिल्यै रुवाउनेछैन।कसम लाहुरे!कसम!"
उसको गाला,मुख,नाक,गला र निधारमा अनगिन्ती चुम्बनको वर्षा गराएँ।जिब्रोले उसको आँखामा आएको अश्रु चाटिदिएँ।लाहुरेलाई काउकुती लागेछ क्यारे,खित्का छोडी-छोडी हाँस्न थाल्यो।कठै यो माया प्रेम!यसले क्षणमै हँसाउँछ र क्षणमै रुवाउँछ।मायाप्रेम भन्ने चीज पनि कमालको हुनेरहेछ।
"तिमी बिनाको लाहुरे के लाहुरे?जीवन के जीवन?यदि म भन्दा पहिले तिम्रो इहलीला समाप्त भयो भने आफूलाई सिध्याएर भएपनि तिम्रो संसारमा आउनेछु।यसैपनि एक्लो जीवन जिउँदो लास हुनेछ।मरेर जिइरहनु भन्दा नजिउनु नै बेश।बरु तिमी भन्दा पहिले मैले देह त्यागें भने तिमी कहिल्यै नरुनु।नयाँ जीवनको शुरूवात गर्नु।त्यति गर्यौ भने मेरो आत्माले शान्ति पाउनेछ।"
उसको कुरा सुन्नै सकिन।मैले आफ्नो कान बन्द गरें।सिर्फ हेरिरहें।उसले कानबाट मेरा हात हटाइदियो।
"त्यसो भए हामी एउटा निर्णयमा पुगौं डोल्मा।सकेसम्म हामी संगै बाँच्ने र संगै मर्ने।दैवलाई पनि मेरो यही बिन्ती छ-हाम्रो मरण संगै होस।"
हामी चाहिने भन्दा बढी भावनाको नदी संगै बग्यौं।जेहोस हामी एक-अर्काप्रति उत्तरदायी भयौं।समर्पित भयौं।संगै मर्ने या नमर्ने त भाग्यमा लेखिएको थियो या थिएन,थाहा थिएन।तर त्यतिबेला देखिएको त्यागको भावना देखेर जोकोही पनि भावविभोर हुन्थे होलान्।जिरी बजार पुग्दा बिहानको एक बजेको थियो।सारा बस्ती चीर-निद्रामा थियो।जिरीको सल्लाघारीमा स्यालहरु कराइरहेका थिए।कुकुरहरू एकतमासले भुकिरहेका थिए।गाडी चल्नलाई अझै ४ घण्टा बाँकी थियो।पहिले बजार जाँदा सूर्य लजको मालिकलाई चिनेको थिएँ।उहाँ बाबाको साथी हुनुहुन्थ्यो र बाबाले नै चिनाउनु भएको थियो।सरासर त्यही गयौं।नभन्दै उहाँले ढोका खोल्नुभयो।नत्र आपत पर्ने थियो।लाहुरेलाई मैले आफ्नो श्रीमान भनेपछि उहाँले पनि खासै चासो दिनुभएन।काम गर्ने मान्छेलाई उठाएर त्यो समयमा खाना पकाउन लगाउनु भयो।खाना खासै रुचेन।केही घण्टाको बिश्रामपछि जिरीको पहिलो ट्रीप चढेर काठमाडौंको लागि हुइँकियौं।हुइँकियौं-असीमित इच्छा र चाहना लिएर।मीठा-मीठा सपनाका पुष्पगुच्छा लिएर।बेलगाम रहरहरुका चंगासंगै उड्दै।हाम्रा दुई शरीर अरनिको यातायातको एउटा बसबाट यात्रारत थिए।तर हाम्रो मन वायुयान भन्दा कम गतिमा थिएन।मनमा उत्साहका पखेटा लागेका थिए।उसको मनभित्र म पस्न सकेको थिइन।त्यसैले उसले के सोचिरहेको थियो-मैले भेउ पाउने कुरै भएन।तर मेरो मन कहिले पुलकित,कहिले छाडा,कहिले लज्जित,कहिले प्रेमिल र कहिले कामुक हुँदै थियो।मुटु एउटै भएपनि मनका स्वरुप र प्रकृति धेरै प्रकारका थिए।आखिर मनै त हो।कहिलेकाही त मनले यस्तो सोच्थ्यो जुन लेख्न,भन्न र बर्णन गर्न असमर्थ भइन्छ।ती मनका कर्तुतहरु म तिमीलाई पनि सुनाउन सक्दिन।ती कुराहरु मनैमा रहन दिउँ।हामीबीच खुलेर कुराकानी भैसकेको थियो।पहिल्यै स्पर्श पनि भएकै थियो।चासोको बिषय त्यता रहेन।चासोको बिषय त्यो भन्दा माथिल्लो तहको थियो जुन बसमा असम्भव थियो।एउटै सीटमा बसेर यात्रा गर्नु सामान्य नै हुने भए।हामीलाई हाम्रो चासो भन्दा हाम्रा नजिकै भएका यात्रुहरुको बढी चासो थियो।उनीहरू घरीघरी हाम्रो कृयाकलाप नियालिरहेका हुन्थे।बिस्फारित नयनले अवलोकन गरेका हुन्थे।हाम्रो समाज नै यस्तै छ।दुई जवान नारी-पुरुष संगै देख्नै नहुने।देखिहालेमा उनीहरुको चासो चाहिने भन्दा बढी नै हुन्छ।अझ रमाइलो घटना त-एकजना युवाले त मलाई नै साइड हान्दै थियो।अनेक इशारा गर्दै थियो।युवाहरु अचम्म लाग्दा हुनेरहेछन्।कसैको छोरी होस या दिदीबहिनी होस,कसैको बुहारी होस या श्रीमती होस,रुपसी देखे भने सीमा पार गर्न खोज्छन्।मैले बसमा त्यस्तै असहज परिस्थितीको सामना गर्नुपर्यो।कसैले जिस्क्याए अन्धो हुनु नै सबैको हीत हुनेरहेछ।नत्र कल-झगडा,के-के हो के-के।
"ल ल सु-सु गर्ने भए झर्नुस् है।"
बसको खलासी चिच्यायो।बस तामाकोशीको उकालोमा रोकिएको रहेछ।अरु जस्तै हामी दुई पनि झर्यौं।मलाई पिसाब सहित दिसा पनि लागेको थियो।लाहुरेलाई पनि पिसाब लागेको रहेछ।मेरो पछि-पछि आयो।
"तिमी कहाँ जाने?"
"पिसाब फेर्न।"
"अनि यतै गर न।किन मेरो पछि?"
"मैले के गर्छु र तिमीलाई?"
म लाजले भुत्तुक्कै भएँ।उ मेरो पछि आएकोमा मलाई आपत्ति भन्दा पनि असहज लागेको थियो।लाहुरे त त्यतै कुकुरले झैं झ्याङतिरै तेर्स्याउन थाल्यो।नदेखेंझैं गरी अलि परसम्म पुगेर काम तमाम गरेर फर्कें।उ मलाई नै पर्खेर बसेको थियो।मेरो अनुहारमा अनौठो भावले हेर्यो।मैले बुझिन।सबै बसमा चढ्यौं।बसमा गीत घन्किन थाल्यो।
"तल पनि पिरालो,माथि पिरालो,चोरी खान पल्केको ढाडे बिरालो।"
तामाकोशी र चरिकोट बीचको उकालोमा बसको गतिमा ह्रास आयो।यताउता चलमल नगरीकन बस एकोहोरो कुदिरहेको थियो।बसले हल्लाएको भए बहानामा उसित टाँसिन पाइन्थ्यो तर त्यतिबेला बसले निकै पाप गरिरहेको थियो।चाहना पूर्ण गर्ने बहाना भेटिएन।हुन त उसंग टाँसिनलाई बहाना जाबो केनै चाहिन्थ्यो र ।तर बिना काम लुसुक्क टाँसिन पनि मेरो नैतिकताले दिएन।
हेर्दाहेर्दै बसले चरिकोट पार गरिसकेको थियो।खरिढुंगाको गिट्टीयुक्त सडकमा बस गुड्दा बहुत मजा आयो।कारण-बस चाकाचुली झैं हल्लिँदै थियो।सबलाई चाहिएको त्यस्तै त थियो।कहिले म लाहुरेसंग टाँसिन पुग्थें र कहिले उ मतिर टाँसिन्थ्यो।मनमनै सडक र बस लाई मुरीका मुरी धन्यवाद टक्र्याएँ।खरिढुंगाबाट मेरो जन्मभूमि प्रष्टै देखियो।हनुमन्ते,चेर्दुङ र ताँबे पहाडहरु निन्याउरो मुख लाएर बसेका थिए।गौरीशंकर र दुधकुण्ड हिमालहरु पनि उदास-उदास मुहार लिएर मुकुराउन समेत भुलिरहेका थिए।त्यहाँका डाँफे,मुनाल,मृग र कस्तुरीहरु कति रोए होलान्।मुनाल र कोइलीले बिछोडमा कति बिरहको गीत गाए होलान्।अनायासै म भावुक भएँ।बसले खाना खानलाई मुडेमा लगेर पछार्यो।खाना खासै रुचेन।थपेर खानै सकिन।मैले नथपेपछि उसले पनि त्यस्तै गर्यो।त्यसपछिको यात्रा निंदाएरै सक्यो।
Tuesday, 1 August 2017
आनी-१३
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment