विभिन्न औजार बनाउन
खलखल पसिना बगाउँदै
सुईया सुस्केरा हाल्दै
हातमा ठेला उठाएर
आरानमा तताइएका धातुलाई
ड्याङका ड्याङ घन ठोक्ने
ए घनठकुरी दाइ!
तिम्रो त्यो घन
कुरीति र कुसंस्कारमाथि ठोकेर
सुसंस्कृत समाज बनाउन सकिन्न?
टुक्रिएका सद्भाव
टुक्रिएका माया
अलग्गिएको मन
खल्बलिएको भातृत्वलाई
एकै ठाउँमा जम्मा गरेर
ठोकठाक पारेर
एकै डल्लो बनाउन सकिन्न?
च्यातिएको देश
फाटिएको राष्ट्रियता र
प्वाल परेको स्वप्न लाई
पत्थर पगालेर
एकताको रसायनले
टालटुल गर्न मिल्दैन?
विदेशी संस्कृतिलाई रोक्न
विदेशी दबाबलाई छेक्न
सिमानामा स्तम्भ खडा गर्न
काँडेतार बार्न
उठाउन सकिन्न ती हात?
ठोक्न सकिन्न त्यो घन?
ए घनठकुरी दाइ!
अवश्य सकिन्छ
यदि सकिन्न भन्छौ भने
मिल्काइदेउ तिम्रो घन
दही जमाएर राख हातमा
यदि सकिन्छ भन्छौ भने
हात र हात जोडेर
आउ मिलेर घन ठोकौं
र मिलेर देश निर्माण गरौं।
No comments:
Post a Comment