Monday, 21 August 2017

त्यो दिन

चोर औंला र माझी औंलाले च्यापेर
सुकुटे चुरोट सल्काएर
अधरले चुम्दै
गाला चाउरी पारेर
स्वाट्ट तानेर
सररर धुवाँ फाल्न सिकेको
ठ्याक्कै त्यही दिनदेखि हो
जुन दिन तिमीले मलाई
चुरोटको ठुट्टा झैं
तिरस्कारको एस्ट्रेमा फाल्यौ।

एउटा संघ खोलेर
प्रेमिका-पीडित हरु जम्मा भएर
काँचको गिलासमा रक्सी भरेर
स्वाटका स्वाट पार्दै
पीडा मिश्रित हाँसो हाँस्दै
बिछोड दिवस मनाउन थालेको
त्यही दिनदेखि हो
जुनदिन तिमीले
मेरो सर्वस्व लुटेर
रक्सीको खाली गिलास जस्तो बनायौ।

निधारमा खरानीको टीका लाएर
गेरुवस्त्र धारण गरेर
माया प्रेम,धनदौलत सब त्यागेर
सन्यासी हुने सोच बनाएको थिएँ
जुन दिन तिमीले मेरै आँखा अगाडि
खाली सिउँदोमा पराइको सिन्दूर सजायौ
अनि पत्थरको दिल बनाएर
आफ्नो जीवनबाट लात मारेर निकाल्यौ।

धारिलो ब्लेडले
आफ्नै हातको नशा काटेर
तिम्रो घरको भित्तामा
रगतले अन्तिम पत्र लेख्न खोजेको थिएँ
तिम्रै आँगनबाटै
मेरो मलामीको ताँती लगाउन खोजें
जतिबेला तिमी
बाजागाजा र जन्तीको साथमा
अरु कसैकी भएर
डोलीमा चढेर विदा भयौ।

तर म मरिन
बाँचेरै देखाएँ
किन भने
इँटाको जवाफ पत्थरले दिनु थियो
हो, ठिक त्यही दिनदेखि
नौनी जस्तो मनलाई
त्यसै पत्थर कहाँ बनाएको हुँ र?
ब्यर्थै तिमी सवाल गर्छ्यौ
"भेट हुँदा किन तर्केर हिंड्छौ?"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...