भाग-१४
नयाँ ठाउँ,नयाँ परिवेश।घरै घरको शहर।मान्छेहरुको शहर।भीडहरुको शहर।गाडीहरुको शहर।रहरहरुको शहर।सपना र चाहनाको शहर।कोलाहल,धुवाँ,धुलो र फोहोरमैलाले प्रदुषित शहर।काठमाडौं शहर।ब्यस्त भन्दा पनि अस्तब्यस्त शहर।अव्यवस्थित शहर।नेपालको मुटु राजधानी शहर।बसबाट झर्ने बित्तिकै नजरअन्दाज गर्न भ्याइहालें।काठमाडौं नाम मात्रको काठमाडौं लाग्यो।त्यहाँ न वनजंगल थिए न त काठ नै।बरु मैले नामहरु दिन भ्याएँ-धुलोमाडौं,रहरमाडौं,घरमाडौं आदि इत्यादि।मैले सोचेको र सुनेको भन्दा आकाश र जमिनको फरक लाग्यो।सुन्दर,सफा र शान्त गाउँमा बसेको बानी परेको मलाई शुरुमै सास फेर्न समेत गाह्रो भयो।पिंजडामा बन्द भएर गुम्सिए झैं उकुसमुकुस भएँ।त्यहाँका ब्यस्त भीडहरु देखेर लाग्यो-सबै काम नपाएर आएका हुन्।सबै कामकै खोजीमा बर्षौंदेखि भौतारिरहेका छन्।भौतारिरहने छन्।मस्तिष्कमा नकारात्मक तत्वहरुले आक्रमण गर्न थाले।ती गगनचुम्बी महलहरुले मलाई चुम्नै सकेनन्।चिल्ला गाडीहरुको हर्न अन्तरहृदयको कानले सुन्नै सकेन।त्यहाँका दृश्यहरुले आँखाहरुलाई शित्तल बनाउनै सकेनन्।उराठलाग्दो शहर देखेर मन त्यसै-त्यसै बिरक्तियो।उतिबेला एक्कासी मैले मेरो भाइलाई सम्झें।उसैको देन थियो,म त्यतिको सक्षम र सोच्न सक्ने हुनु।भाइले पढ्न-लेख्न नसिकाएको भए कुनैपनि बिषयबस्तु माथि त्यसरी विश्लेषण कहाँ गर्न सक्थें र?कालो अक्षर भैंसी बराबर नै हुने थियो मेरो लागि।खेदको कुरा-पढ्नलाई होस्टेल बस्ने भएकोले आउने बेला पनि भेट भएन।हृदयदेखि नै मुरीका मुरी धन्यवाद भाइ तिमीलाई।मेरो तेश्रो आँखा जो खोलिदियौ तिमीले!
"लाहुरे!यही हो काठमाडौं?"
आश्चर्यको भाव प्रकट गरें।
"यही त हो नि काठमाडौं।अरु पनि होला भन्ने सोचेकी?"
"मलाई त बिश्वासै लागिरहेको छैन,यो काठमाडौं हो भनेर।"
"अचम्म मान्नुपर्दैन डोल्मा,यही हो नेपालको राजधानी काठमाडौं।अहिले बानी परेको छैन तिमीलाई।बानी पर्दै गएपछि सब ठिक लाग्छ।"
"अब हामी कहाँ जाने त?"
"जाने हो।चिन्ता नगर।म छु नि।"
उसले भरोसा दिलाएपछि मन हल्का ढुक्क भयो।बसपार्क देखि तलबाट एउटा पुरानो ट्याक्सीमा चढ्यौं।
"कहाँ जाने भाइ?"-ड्राइभरले सोध्यो।
"यतै कतै नजिकको राम्रो सुबिधासम्पन्न होटलमा लिएर जाउ न।"-लाहुरेले एकै सासमा भन्यो।
"मैले चिनेको सस्तो,सुलभ र सफा होटलमा लिएर जान्छु तपाईंहरुलाई।"
"हुन्छ,लिएर जानुस्।तर राम्रो सुबिधा होस।"-लाहुरेले सतर्क गराउँदै भन्यो।
करीब आधा घण्टापछि ड्राइभरले गोंगबुको "पुजा होटल"मा छोड्यो।हाम्रो स्तरानुसार होटल ठिकै भन्नुपर्छ।पाँचतारे होटलमा छिर्ने हाम्रो हैसियत नै कहाँ थियो र!एउटा डबल बेड,टेबल,कुर्सी,फ्यान,पर्दा,ठूल्ठूला ऐना,एट्याच बाथरुम,टेलिभिजन,फोन,दराज,फ्रीज र पानी तताउने हिटर लगायतका सरसामानहरुले सानो कोठालाई सकेसम्म सजाएका थिए।तर एउटा कुराको कमी थियो-अर्को बेडको।बेडकै कुराले मेरो ध्यान खिचिरह्यो।भविष्यको खाका उतिबेलै कोरिसकें मैले।सम्झेर जीउ सिरिङ्ग भयो।लाहुरेले ढोकामा चुकुल लगायो।जेलखानामा कैद भएझैं भएँ।आफूलाई पिंजडाको सुगासित तुलना गरें।लाहुरेले जे सिकाउँछ,त्यही गर्नु थियोे,भन्नु थियो।पछि हुनसक्ने सम्भावित घटनाक्रम र कृयाकलापहरु आँखा वरिपरि झलझली देखिन थाले।प्रेमी-प्रेमिका बीचको प्रेमयुद्धको लागि आफूलाई मानसिक तथा शारीरिक रुपमा तयार गर्नु थियो।कसरी युद्धलाइ शसक्त बनाउन सकिन्छ भनी युद्धकलाको बारेमा दिमाग लगाएर आक्रमक बन्नु थियो।तर मैले धेरै सोच्नै सकिन।त्यो भन्दा पहिले युद्धमा कहिल्यै सरिक भएकी थिइन।मनभित्र भय सिर्जना भयो।मुटुको धड्कन तेज हुँदै थियो।युद्धको त्रासदीले म त्राही-त्राही भएँ।युद्ध शुरु हुनु अगावै हार स्वीकार्न मन लाग्यो।आत्मासमर्पण गर्न मन लाग्यो।सोच्दा-सोच्दै शरीर फत्तक्कै गलेर आयो।लडाइँको मोर्चामा गोली लागेको घाइते सिपाही जस्तै भएँ।चिटचिट पसिना आयो।मनको धरातलमा भुकम्प आएर मुटुमा कम्पन उत्पन्न भयो।लगातार पराकम्पनहरु आइरहे।
"डोल्मा!कोठा कस्तो लाग्यो?"
उसको सवालले झसङ्गै भएँ।खै कस्तो भन्ने-भन्ने।मन दोधारमा उभिरह्यो।उसलाई खुशी बनाउने उदेश्यले सकारात्मक जवाफ दिएँ।
"अँ राम्रो छ लाहुरे।यतिको राम्रो सुबिधा भएपछि पाँचतारे होटल पो किन चाहियो र?हैन लाहुरे?तिमीलाई कस्तो लाग्यो?मलाई चाहिँ मन पर्यो।"
"ठिक-ठिकै लाग्यो डोल्मा।यतिको भए काम चलिहाल्छ।"
उसको कुराले मेरो चेतनाको स्तर अर्को लेभलमा पुर्यायो।काम चलाउ भन्ने शब्दले मेरो अन्तस्करणमा काउकुती लगायो।मेरा कोष र तन्तुहरु सकृय भए।चलायमान भए।तर मैले तत्कालै कुनै प्रतिकृया दिइन।उसले बिषयबस्तुलाई अन्तै मोड्यो।
"खाना के खाने डोल्मा?तिमीलाई के मनपर्छ?आजको दिन बिशेष बनाउनुपर्छ।"
खानाको कुराले मलाई भोकको आभास दिलायो।तर बिशेष भन्ने शब्दले मेरो पापी मनलाई अन्यत्रै पुग्न बाध्य गरायो।बिशेषको मतलब मैले अर्कै किसिमले निकालें।
"तिमीलाई जे मनपर्छ त्यही अर्डर गर न।"
"कुखुरा कि खसी?अनि पिउने कुरा केही?अल्कोहल पिउने बानी छ कि नाइँ तिम्रो?"
"ब्वाइलर त के खानु,खसी नै।नाइँ पिउने बानी छैन।"
"मेरो पनि छैन।"
मैले उसको मनोबिज्ञान बुझिसकेकी थिएँ।तर मैले पिउँदिन भनेपछि उसले आफ्नो इच्छा मनमै दबायो।लाहुरे जस्तो मान्छे-पिउने बानी पक्कै थियो होला।यसै पनि जातले पाएको।जातले पाएपनि मेरो बानी थिएन।बाबा-आमाले त संगै पिउनुहुन्थ्यो।लागेपछि लफडा गर्नुहुन्थ्यो।त्यतिखेरै मैले कसम खाएकी थिएँ-जिन्दगीमा कहिल्यै पिउँदिन।उसले टेबलमा भएको ल्यान्डलाइनबाट खानेकुरा मगायो।के-के मगायो,मैले वास्ता गरिन।फ्रेस हुनलाई उ बाथरुममा छिर्यो।मैले उसको लागि स्पेशल चीज मगाएँ।उसलाई थाहै नदिईकन।
"हैट,कस्तो चिसो पानी।हिटर पनि राखेको रहेनछ यहाँ त।यत्रो पैसा तिरेपछि त नुहाउनलाई तातोपानी चाहियो नि।तिमी नुहाउने हैन डोल्मा?"
ताउल मात्र बेरेर बाथरुमबाट निस्किंदै उसले नुहाउने सल्लाह दियो।मलाई नुहाउनु थिएन।दिनभरी बसको यात्राले थकाएको थियो।केही गर्न मन लागेन।
"नाइँ मलाई अलि सञ्चो छैन।म अहिले नुहाउँदिन।"
मेरो कुरा सुनेर मुन्टो बटार्दै किन नुहाउँदिनौ भन्ने संकेत दियो तर मैले बाल दिइन।उसले टेलिभिजन खोलेर हेर्न थाल्यो।पुरानो फिल्म आउँदैरहेछ।हिरोले हिरोइनलाई जुरुक्क बोकेर चुम्बन गर्यो।मैले ध्यान अन्तै मोडें।उसले मतिर छड्के नजर लगायो।चुम्बनको दृश्य सकेपछि उसले च्यानल बदल्यो।सायद त्यस्तै दृश्य चाहिएको थियो उसलाई।केहीबेरमा खानेकुरा आयो।खानासंगै रक्सीको बोतल देखेर उ छक्क पर्यो।
"भाइ यो कसले मगायो?हामीले मगाएका छैनौं।फिर्ता लैजाउ।"
"मैले मगाएकी हुँ।खास तिम्रो लागि।तिमीले पिउने मन गर्यौ तर भन्न सकेनौ।म तिम्रो मनको कुरा बुझ्छु।"
उसले मासुसंग रक्सी खायो।मलाई पनि ख्वाउने कोसिस गर्यो तर मैले नकारें।उसलाई हल्का लागिसकेको थियो।मैले खाना मात्र खाएँ।खाना खाइसकेकै थिएन,उ त जुरुक्क उठेर मलाई चुम्न थाल्यो।
"पहिले खाना खाइसक लाहुरे।अनि अरु काम पछि गरौंला।पुरै रात हाम्रै त हो।"
मेरो कुराले लाहुरे मख्ख पर्यो र खानेकुरा सकाउने दौडमा लाग्यो।उसको कृयाकलाप हेर्दा लाग्थ्यो-उ निकै हतारमा छ।ठूलै काम बाँकी भएझैं।खै,मलाई भने के चटारो थियो र,चाँडै खाना भ्याएर बेडमा पल्टिन भ्याइसकेकी थिएँ।उ पनि हतार-हतार खाना खाएर बाँकी भएको रक्सी स्वाट्टै पारेर म पल्टेको बेडमा आयो।गिद्धाको झैं लाल-लाल नयन बनाएर मलाई हेर्यो।मलाई कता-कता डर पनि लाग्न थाल्यो।
"डोल्मा मेरो अंगालोमा आउ।हामी एक-अर्कामा हराऔं,समाहित होऔं।तिमी मेरो र म तिम्रो।हामी एक-अर्काका लागि बनेका हौं।आउ,औपचारिक रुपमा नव जिन्दगीको उद्घाटन गरौं।तिमी फूल हौ,म भमरा।फूल र भमराको कथा त थाहै होला तिमीलाई।तर म त्यस्तो खाले भमरा हुँ,जो रस चुसेर टाढिंदैन।हमेसा फूलकै वरपर रहेर साथ दिन्छ।तिम्रो सुवासले म लट्ठिएको छु ए मेरी फूल!मलाई साथ देउ।म तिमीलाई साथ दिन्छु।"
म अवाक भएँ।केही प्रतिकृया दिन सकिन।
"अर्को बेड छैन,तिमी कहाँ सुत्छौ लाहुरे?कि म भुइँमा सुत्छु है?"
"तिमीलाई अलग्गै सुताउन ल्याएको हुँ र?संगै सुत्ने हो नि।लोग्नेस्वास्नी पनि अलग्गै सुत्छन् र?"
फत्फताउँदै उ नजिक-नजिक आयो।उ यति आक्रमक थियो-मानौं उ भोको प्राणी हो र म खानेकुरा हुँ,उसले मलाई क्वाप्पै खान खोज्दैछ।उसंगै आएकी थिएँ।उसलाई साथ दिन।भागेर कहाँ जाउँ?आफ्नो मान्छेबाट किन भागुँ?उसलाई रक्सी पिलाएर मैले गल्ती गरेको रहेछु।रक्सीले उत्प्रेरकको काम गर्ने रहेछ।साहसी बनाउने रहेछ।मैले उसलाई उक्साउन पिलाएकी थिइन।उसको इच्छा पूर्ति मात्र गरेकी थिएँ।उसले बहादुरी देखाउन थाल्यो।आफ्नो कपडा एकाएक फुकालेर टेबलमाथि फाल्यो।उ अर्धनग्न भैसकेको थियो।त्यो भन्दा पहिले कुनै पुरुषको शरीर खुल्लाम खुल्ला देखेकी थिइन।रौंहरुले भरिएको छाती देखेर म लज्जित भएँ।बलिस्ठ पाखुरा र फराकिलो छातीले मनै लोभ्यायो।उसले मलाई स्पर्श गर्न थाल्यो।उसको हात मेरो हात,पाखुरा,अनुहार हुँदै अरु संवेदनशील भागतिर स्वतन्त्रपूर्वक डुल्न थाल्यो।मेरो मन मैन जस्तै पग्लिन थाल्यो,बिना आगो।सास बढ्न थाल्यो।आफ्नै मुटुको ढुकढुकी प्रष्ट सुन्निए।उ एउटा यात्री थियो।कहिले उकालो चढ्यो,कहिले ओरालो झर्यो।समथर भूभाग,पहाड,पर्वत,लेक,बेशी,खोलानाला र वनजंगलतिर पाइलाहरु बढाइरह्यो।म एउटा सिंगो भूगोल भएर सहँदै थिएँ।तर अब असह्य हुन थाल्यो।उसको पाइलाहरुले टेक्दा चरमोत्कर्षमा पुग्दै थिएँ।म अझै दुविधामै थिएँ,उसको यात्रामा अन्तिम सम्म साथ दिने या बीचैमा छोड्ने भनेर।
"नाइँ लाहुरे!यो गलत हो।बिहे भन्दा पहिले यस्तो गर्नु पाप हो।अभिसाप हो।यसको नतिजा भयंकर पनि हुनसक्छ।म तिमीलाई यस काममा साथ दिन सक्दिन।"
"तिमी मेरै हौ डोल्मा।बिहेको लागि बाजागाजा बजाउनैपर्छ र?मनले चाहे यतिकै पनि बिहे भए सरह हो।मैले तिमीलाई श्रीमतीको दर्जा दिइसकें।त्यो भन्दा अरु के चाहियो।"
उसले मेरो बस्त्र उतारेर मलाई पनि नग्न बनायो।मैले प्रतिकार पनि गर्न सकिन।मुखले गरेको प्रतिकारलाई उसले टेरेन।शारीरिक प्रतिकार गर्न म असमर्थ थिएँ।सम्झाएर पनि नसम्झेपछि अन्तत:उसलाई मनोमानी गर्न दिएँ।म पनि उत्तेजित हुँदै गएँ।उसले स्वर्गद्धार लाई ढकढक्यायो।ढोका आफसेआफ खुल्ला हुँदै थियो।आखिरमा उसले संघार नाघेर भित्र प्रबेश गरेरै छाड्यो।ढोकालाई चोटपटक लाग्यो।घाइते भयो।दर्द भयो।तर उसको आवतजावतले ढोकालाई पनि बानी पर्यो।चरम सुखानुभूत गर्न थालें।घमासान प्रेमयुद्ध भयो।उसले जवानीको आगो ओकेल्यो।इन्धन जस्तै बल्न थालें।सायद पेट्रोल जस्तै बलें।अन्ततः प्रेमको सागर उर्लेर आयो र आगोलाई निभाइदियो।हामी पूर्णरूपमा स्खलित भयौं।जवानीको लेनदेन भैसकेको थियो।मसंग भएको सबै उसले लियो।उसको सबै मैले लिएँ।एक हिसाबले हामी रित्तियौं।अर्को हिसाबले हामी भरिपूर्ण भयौं।उसले पुरुषत्वको प्रदर्शन गर्यो र मैले नारीत्व प्रदर्शन गरें।हिसाब बराबर भयो।उसले मलाई लुटिसकेको थियो,जुन सबैभन्दा अमूल्य सम्पत्ति थियो।बर्षौंदेखि जतन गरेर सुरक्षित राखेकी थिएँ।प्रेमको अन्तिम खुड्किला पार गरिसकेका थियौं।त्यतिखेर हाम्रो शरीरमा कुनै उर्जा थिएन।कुनै जोश थिएन।सबै सेलाएको थियो।केहीबेर वातावरण शान्त भयो।खहरे खोला गड्गडाउँदै नदीमा मिसिएपछिको स्थिती जस्तै शान्त।तर जब म ट्वाइलेट जान भनी शिरकबाट बाहिरिएँ,मेरो होसहवासै उड्यो।पूरै बेड रक्तिम भएको रहेछ।हाम्रो प्रेमयुद्धमा त रक्तपातै पो भएछ।हतोत्साहित भएँ।ट्वाइलेट बस्दा देखें-कलकल सङ्लो पानी बग्ने ठाउँबाट रगत बगिरहेको थियोे।शारीरिक सम्पर्क गरेपछि अपराधबोध भयो।आफ्नै सन्तुष्टीको लागि आफैंलाई बलि चढाएझैं लाग्यो।
जब हाम्रो बीचमा प्रेमपछिको पहिलो शारीरिक सम्बन्ध कायम भयो,त्यही नै हाम्रो विवाह र सुहागरात पनि थियो।त्यसपछि पूरै रंगीन रात हाम्रो भयो।जीवनको अँधेरीलाई पराजित गर्दै उज्वल जीवनको खाका कोर्यौं।त्यो रातलाई हामीले सुत्नै दिएनौ।हल्लाइरह्यौं,झकझकाइरह्यौं।आँखा झिमिक्क नगरीकन रात समाप्त भयो।छोटो अवधिमा गरिएको लामो यात्रा समाप्त भयो।रमाइलो संगैको पीडादायी यात्रा टुंगियो।खुकुरी र अचानोको द्धन्द सकियो।धेरैजसो पीडा मैले सहें।उसले त छिनालिमात्र रह्यो।फेरि उस्तै यात्रा कतिबेला शुरु हुन्थ्यो-एकिन थिएन।अर्को यात्राको प्रतिक्षा पनि थिएन र शुरु भएको खण्डमा हाँसीहाँसी पाइला बढाउने मनस्थिति थियो।दुईचार ठेस नलागेको यात्रा के यात्रा।बाधा-व्यवधानहरुको सामना गर्दै अगाडि बढ्नुको मज्जा नै बेग्लै।त्यो एउटा फगत यात्रा मात्र थिएन।जिन्दगीको दौड पनि थियो।स्वर्णिम दौड।दौडमा म उसको प्रतिद्वन्द्वी थिएँ।उ मेरो प्रतिद्वन्द्वी थियो।प्रतिद्वन्द्वी बिनाको दौड के दौड।त्यस्तो दौड दौडिनु के मजा?दौडमा जीत कसको र हार कसको भन्ने सवाल गौण नै रहन्छ।महत्वपूर्ण भनेको दौड्नु हो।दौडलाई पूरा गर्नु हो।एउटा लामो दौड दौडेर विश्राम लियौं।
युद्ध पुन:सुचारु हुने खासै संकेत देखिएन।सिंगै रात युद्ध लडेर थकित थियौं हामी दुई सिपाही।केही समयको लागि युद्धबिराम भएको थियो।अँध्यारोको युद्ध जस्तो रोचक पनि त कहाँ हुन्थ्यो र दिनको युद्ध!युद्ध लड्दा लागेको फोहोरलाई पखाल्नु थियो।बाथरुम गएर पखालें।उसले पनि पखाल्यो।जीउ कट्कटी दुखिरहेको थियो।ब्रेकफास्ट अर्डर गरियो,खाइयो।अरु दिन भन्दा बिहान-बिहानै खुब रुच्यो।नत्र अरु दिन ब्रेकफास्ट गर्ने मेरो खासै बानी नै थिएन।शरीरले तागतिलो खानाको माग गरेको थियो क्यारे।ब्रेकफास्ट पश्चात् शरीरमा हल्काफुल्का उर्जा पैदा भयो।लाहुरे भने खुब प्रफुल्लित मुद्रामा मुस्कुरायो।कारण बुझ्न सकिन र बुझ्न चाहिन पनि।
"डोल्मा!धेरै धेरै धन्यवाद!"
"केको लागि धन्यवाद?"-मैले उसको सवालको अलि ठाडो जवाफ दिएँ।
"हिजोको रातको लागि।तिमीले मेरो रात अर्थपूर्ण,रोचक र रंगीन बनाइदियौ।अनमोल उपहार दियौ।म कहिल्यै बिर्सने छैन डोल्मा।"
"भो-भो बढी चिल्लो घस्नु पर्दैन।"
"के तिमीलाई मजा आएन?"
"खै थाहा भएन मलाई।तिमीले यसलाई रोचक र रमाइलो ठान्यौ हैन?सायद यस्तैको लागि मात्र होला मलाई ल्याएको।मेरो शरीरसंग खेल्नु खेल्यौ तिमीले।अझै पोलिरहेछ।पाप लाग्छ लाहुरे तिमीलाई।"
"म त्यस्तो खाले केटा हैन डोमा।जीवनमा पहिलोपटक तिमीबाट अनुभव बटुलें।तिमीबाटै शुरु भयो र तिमीमै अन्त हुनेछ।म अरु जस्तो खेलाडी हैन।मैले पनि त आफ्नो कुमारत्व गुमाएँ नि।तर हामीले जति गुमायौं,त्यो भन्दा धेरै गुणा पायौं।"
"के पायौं?"
"चोखो माया।निस्वार्थ माया।यो भन्दा ठूलो कुरा के हुनसक्छ भन त।"
"के यसैलाई माया भनिन्छ र?सच्चा दिलले पनि त माया गर्न सकिन्छ।एकले अर्कोलाई भोग्नु नै माया हो र?"
"मैले त्यस्तो भन्न कहाँ खोजेको हुँ र डोल्मा।यो पनि त मायाकै उत्कृष्ट रुप नै त हो नि।यौन बिना जीवजन्तु त पूर्ण हुँदैनन्।हामी त चेतनशील प्राणी हौं नि।के यसबाट कोही टाढा हुन सक्छन्?यसलाई त अमूल्य उपहार सम्झेर ग्रहन गर्नुपर्छ।"
"त्यही भएर त ग्रहन गरेकी।नत्र लात मारेर बाहिर निकाल्ने थिएँ नि।"
उ मुसुमुसु हाँस्दै मतिर टाँसिन थाल्यो।मलाई काखमा लिएर चुम्न थाल्यो।मैले पनि चुमिदिएँ।फेरि खेल शुरु हुने संकेत देखियो।मलाई खेल्नु थिएन।जबर्जस्ती फुत्किएर अलग भएँ।
"तिमीलाई कति चाहिएको क्या?बोका नै रहेछौ तिमी।मान्छेलाई त यति नचाहिने हो।"
"बोका चाहिं भनी नहाल न डोल्मा।मलाई त्यस्तो कराउन कहाँ आउँछ र त्यस्तो?"
"कस्तो?"
"बोका जस्तो।"
मैले सहन सकिन।हाँस्दिन भन्दाभन्दै हाँसो छुट्यो।लामो हाँसो।मेरो हाँसोमा उसले आफ्नो हाँसो थप्यो।हाँस्दा उत्पन्न ध्वनि कोठाका भित्ताहरुमा ठोक्किएर पराबर्तित ध्वनि गुञ्जियो।हामी दुईजना हैन,६/७ जना हाँसे झैं भयो कोठा।
दिउँसोको खाना खाइसकेर पुनः आराम गर्न थाल्यौं।समय उल्लासमय तरीकाले व्यतीत हुँदै थियो।शिरकभित्र गुट्मुटिएर एकले-अर्कालाई अंगालोमा कस्यौं।ठण्डी हिमालयको हिउँ पुनः पग्लिन थाल्यो।उसको स्पर्शले मेरो जवानी मैनबत्ती झैं जल्दै थियो।पग्लिँदै थियो।स्खलित भएर तप्प-तप्प झर्दै थियो।उसको शरीरले भने मेरो यौवनरुपी प्रकाश ग्रहन गर्दै थियो।जाज्वाल्यमान हुँदै थियो।म क्रमशः सकिँदै गएँ।अन्ततः त्यो उन्मत्तता सकियो।मैन सकियो।मलाई चाहिने इन्धनको अभाव भयो र निभिहालें।म निभेसंगै उसको मुहारको चमक पनि निभ्यो।हामी एकाकार भई स्वर्णिम संसारमा पुगेर फर्किसकेका थियौं।लगभग हामी तृप्त भैसकेका थियौं।समय द्रुतगतिमा फड्को मार्दै थियो।अब हामी भारत जाने तयारीमा जुटौं।होटलको बिल तिरेर नयाँ बसपार्क तर्फ बढ्यौं।लाहुरे काउन्टरमा गएर सुनौली जाने रात्रीबसको टिकट काट्यो।बस जाने समय भैसकेको नभएपनि हामी चाँडै गएर आफ्नो सिटमा बस्यौं।तर एकाएक मेरो मनको गगनमा पीडाको कालो मेघ मडारिन थाल्यो।बसमै पहिलोपटक सदरमुकाम चरिकोटमा नागरिकता बनाउँदा चढेकी थिएँ।दोश्रोपटक लाहुरेसंग काठमाडौं आउँदा चढें।स्वदेशमा त टाढासम्म गएकी थिइन भने अहिले त स्वदेश छोडेर जाँदै थिएँ।आफसेआफ मेरो मन उजाडिन थाल्यो।न्यास्रो लाग्यो।तर भारत घुम्न पाइने सोचेर आल्हादित पनि भएँ।बसमा अझै कोही आइपुगेकै थिएनन्।लाहुरेसंग हिजोको रातदेखि पूर्णरूपमा झ्यामिसकेकी थिएँ।उसंग बोल्न कुनै हिच्किचाहट भएन।उसको कांधमा शीर राखेर बसें।उसले मेरो केश सुम्सुम्यायो।परबाट कसैले हाम्रो कृयाकलाप नियालिरहेको रहेछ।नदेखे जस्तो गरें।जसले जेसुकै सोचेपनि अब लाहुरे मेरो श्रीमान भैसकेको थियो र म उसकी श्रीमती।३ बजेको प्रस्थान समय थियो।३ बज्न ३० मिनेट मात्र बाँकी हुँदा अरु यात्रुहरु पनि धमाधम चढ्न थाले।एकैछिनमा बसका सबै सिट भरिए।हामी बसको बीच भागतिर परेकोले यात्रा सहज हुनेवाला थियो।बस गुड्न थाल्यो।भारतको भ्रमण गर्ने मेरो मीठो सपना पनि बससंगै गुड्दै थियो।अझ भनौं मेरो मन त उड्न थालिसकेको थियो।भारत कस्तो होला भनेर अड्कलबाजी गर्न थालें।
"लाहुरे!भारत कस्तो छ हँ?"
"पुगेपछि थाहा पाइहाल्छ्यौ नि।भारत धेरै रमाइलो र बिकसित छ डोल्मा।नेपाल भन्दा धेरै बिकसित।त्यसैले त तिमीलाई घुमाउन लैजाँदैछु त।"
उसको जवाफले मेरो चासो यतिकै सेलायो।उहाँ पुगेरै हेर्ने भएँ भारतको शहर।सुनौली सम्म नेपाली भूभाग भएपनि मैले नेपाल छोडेर अन्तै पुगेजस्तो लाग्यो।नयाँ-नयाँ ठाउँहरु आँखा सामू आउँदै-जाँदै थिए।साँझ झमक्कै पर्न लाग्यो।मलाई मेरो गाउँ र लेकको गोठको साह्रै याद आयो।चौंरीगाईहरु धपाउँदै जंगलतिर चरनमा पठाएको,गाइको फाँजो पक्डेर दूध दुहुएर डेक्चीमा सारेको,दूधभात खाएको,छुर्पी चपाएको अनि चाँदुली बाख्रामाथि चढेको जस्ता झलकहरु स्मृतिमा आएर नृत्य गर्न थाले।आँखाबाट अनायासै अश्रुभेल उर्लिन थाल्यो।अरुभन्दा पनि बाबा-आमाको यादले मुटु छियाछिया बनायो।बाबा-आमालाई छोडेर सधैंको लागि धेरै दूर जाँदैछु झैं लाग्यो।मेरो हालत देखेर लाहुरेले रुमाल निकालेर मेरो आँखा ओभानो बनाइदियो।तर पानीको मूल जस्तै भकभक उम्लिंदै थियो मेरो आँखाबाट नुनिलो पानी।
"पीर नगर डोल्मा,म छु नि तिमीलाई साथ दिने।गाउँघरको याद आयो हो?तिमी अहिले मात्र दु:खी भएको हो।त्यहाँ पुगेपछि त सबै कुरा बिर्सिन्छ्यौ।तिमीलाई बस्न मन लागेन भने एक महिनापछि फर्किनेछौं हामी।तिम्रो दु:ख-पीडा म कहाँ टुलुटुलु हेरेर बस्न सक्छु र?नरोउ डोल्मा,नरोउ।"
उसले मेरो चित्त बुझाउन खोजेपनि बुझ्न मानिरहेको थिएन।उसको प्रेमालाप या भलाकुसारीले त्यतिखेर मलाई छुनै सकेन।संसारै शून्य-शून्य लाग्दै गयो।धर्तीमा हलचल आएर उथलपुथल मच्चिंदै जमिन नै भासिएझैं आभास भयो।कुनै अग्लो भीरबाट मूनि खस्दैछु जस्तो लाग्यो।बस नारायणघाट पुगेर रोकियो।
"खाना खाने ठाउँ आएछ।झरौं-झरौं।आधा घण्टा मात्र रोक्नुहुन्छ फेरि गुरुजीले।"
"मलाई खान मन छैन,तपाईंहरु खाएर आउनुस्।"
"मलाई बसमा हिन्दा खानै रुच्दैन।खाएपनि उल्टी आइहाल्छ।"
मान्छेहरु विभिन्नखाले कृया-प्रतिकृया दिइरहेका थिए।लाहुरेले पनि मेरो हातमा तानेर खाना खाने होटलमा लग्यो।खाना त मीठै थियो तर मेरो ध्यान अझै खाना भन्दा गाउँघरतिरै थियो।पीर मात्र गरेर हुने केही थिएन।रुचेसम्म खाएँ।एक बोतल पानी किनेर पुनः बसमा चढ्यौं।बसको यात्रा पुनः सुचारु भयो।बसको बत्ती निभ्यो।मान्छेहरु भटाभट घुर्न थाले।अब मलाई निद्राले झ्याप-झ्याप छोप्न थाल्यो।म लाहुरेको काखमा सुतें।लाहुरे पनि ठाडै सुत्यो।त्यसपछि के-के भए-भए।मेरो आँखा खुल्दा लाहुरे घुरिरहेको थियो।भित्र अँध्यारै थियो।तर छेउको सिटमा केही खस्र्याक-खुस्रुक आवाज आइरहेको थियो।शुरुमा त वास्ता गरिन तर लगातारको आवाजले म कौतुहल भएँ।उठेर उतैतिर नजर लाएँ।बाहिरको जूनको उज्यालो हल्का भित्त छिरेको थियो।भित्री द्रुश्य मुश्किलले ठम्याउन सकिन्थ्यो।म छक्क परें।एक जोडी रासलीलामा मस्त थियो।ब्यस्त थियो।उनीहरुको ध्यान अन्त थिएन।कसैले देखे पनि देखोस् भन्ने सोचमा थिए होलान्।
"जे-जे गर्नुछ-ठाउँमा पुगेर सुरक्षित तरीकाले गरे हुने नि।कस्ता-कस्ता जोडी हुन्छन् संसारमा?"
यस्तै भनेर गाली गर्न मन लाग्यो।तर भनेर केही फाइदा होला जस्तो लागेन।त्यस्तो अवस्थाबाट अलग गर्नु महापाप सम्झेर चुपचाप सुनिरहें।केही बेरमा शान्त भए।उनीहरू संगै आएका थिए या बसमा मात्र भेटेका थिए भनेर खुब जान्न खोजें।पछिमात्र थाहा भयो उनीहरूको भेटघाट त्यही दिनै बसमै भएको रहेछ।दुनियाँ देखेर अचम्म लाग्यो।यस्तो पनि लाग्यो-मन मिले के चाहिँ नहुँदोरहेछ र संसारमा!उज्यालो हुने क्रममा थियो।बसमा बत्ती बल्यो।मेरो चासो अझै बेला-बेलामा त्यही जोडी तिरै खिचिन्थ्यो।बेलाबखत उनीहरूलाई कामुक र उत्तेजक रुपमा पाउँथें।उनीहरूको प्रेम क्षणिक आकर्षण मात्र थियो या दीर्घकालीन थियो-बुझ्न सकिरहेकी थिइन।पछि सोचें-जेसुकै होस,आफ्नो हालत त यस्तो छ,अरुको बारेमा के चासो दिनु!पूर्वी क्षितिजले सूर्यलाई जन्माउनु अगावै हामी सुनौलीमा पुग्यौं।सुनौलीको बोर्डर क्रस गरेपछि दिल्लीको बसमा चढ्यौं।अब भने मेरो मुटु फुट्ला झैं गरी दुख्न थाल्यो।आफ्नो देश,आफ्नो मातृभूमि छोड्नुको पीडाबोध बल्ल भयो।भारतीय भूमिमा पाइला टेकिसकेका थियौं।मान्छे अलग,ठाउँ अलग,परिवेश बिल्कुल अलग।भाषा त झन बुझिनसकिने।दोलखाको लेकमा चौंरीगाई संग आफ्नै भाषामा गीत गाइहिंड्ने ममा हिन्दी भाषाको ज्ञान हुने कुरै भएन।भारतीयहरुले मान्छे खाने भाषा बोले झैं लाग्थ्यो।बस भित्रका अन्जान मान्छेहरु मतिरै क्वार्क्वार्ती हेरिरहेका हुन्थे।मान्छेको अनुहारै कहिल्यै नदेखे जस्तो।स्वदेशमा भएको भए नङ्ग्राले चिथोर्ने थिएँ।तर पराइदेशमा त्यस्तो हर्कत गर्न सकिन।आफूलाई नियन्त्रण गरें।बिस्फारित लाल-लाल नयनले हेरिदिएँ।तर उनीहरू उल्टै ङिच्च-ङिच्च हाँस्थे।झन-झन रिसको पारो तात्दै जान्थ्यो।भित्रभित्रै मुर्मुरिन्थें।तर केनै गर्न सक्थें र।
"लाहुरे!हेर न ती पाजीहरु मतिरै हेरिरहेका छन्।तिमीलाई त हिन्दी आउँछ नि।थर्काइदेउ न।"
"यस्तो कुरा छोड डोल्मा।यहाँ यस्तै छ।अर्काको देशमा आएर के लफडा गर्नु।आँखा चिम्लेर बस।"
शीर हल्लाएर उसको कुरामा सहमति जनाएँ।तर अझै रिस मरेकै थिएन।
एकोहोरो बसमा यात्रा गर्दा-गर्दा आजित भैसकेकी थिएँ।शरीर थकित र लखतरान भैसकेको थियो।रातभर सुतेकोले दिउँसो निद्रा पनि लागेन।गफ गर्नु कति गर्नु।सोच्नु कति सोच्नु।उफ हायलकायल भएँ।जिन्दगीमा कहिल्यै बसको यात्रा गर्न नपरोस् झैं लाग्यो।तत्कालै बस रोकेर निस्केर भागुँ-भागुँ लाग्यो।अथवा झ्यालबाट हाम्फाल्न मन लाग्यो।भारतको गर्मीले जीउ तातिँदै थियो।सूर्यको नजिक गए जस्तो।म हिमालमा बसोबास गर्ने मान्छेलाई काठमाडौंको तापक्रम नै अत्याधिक थियो।तातो तेलमा फ्राइ गर्न लागिएको माछाकै हाल भयो मेरो।जाँदाजाँदै पाक्छु कि जस्तो।छाला खुइलिएला झैं।पसिनाले निथ्रुक्कै भिजें।चेर्दुङको लेकमा साउने झरीमा उझिएको याद आयो।मिल्ने भए चरी झैं भुरुरु उडेर त्यतै जाने थिएँ।केवल मन मात्र उडेर गयो,शरीर बसमै कैद थियो।
"लाहुरे!यो मन आज आफसेआफ रोइरहेको छ।यसलाई कसरी फकाउने हँ?"
मैले बिना प्रसंग प्वाक्क सोधिहालें।एकछिन त उसले अनौठो मानेर मलाई हेरिरह्यो।मेरो मनासय बुझ्न खोज्यो।मेरो मनमा पस्ने चेष्टा गर्यो।तर उसको कोसिस असफल भयो।
"चिन्ता नगर डोल्मा,म तिमीलाई सुखमा राख्नेछु।कुनै दु:ख र अभावमा राख्नेछैन।बरु भन तिमीलाई के-के चाहिन्छ?जानेबित्तिक्कै हामी एउटा ठूलो फ्लाट लिने।म जागिर गएर आउने।तिमी दिनभरी सुखमा बस्ने।मीठो-मीठो खाने।राम्रो-राम्रो लगाउने।छुट्टीको दिन कहाँ-कहाँ घुम्न जाने।सपिङ गर्ने।आरामको जिन्दगी बिताउने।यति भए पुग्छ मेरी रानीलाई?"
"भौतिक सुख नै वास्तविक सुख हैन लाहुरे।वास्तविक सुख त दिलमा हुन्छ।जब यो दिल नै दु:खी छ भने सुनचाँदी,हीरामोती,गाडी,महल र यश-आरामले खासै फरक पार्न सक्दैनन्।दिल खुशी भए ढिंडो र गुन्द्रुक खाएर,झुपडीमा बसे पनि दु:खी भइंदैन।"
"केही दिनलाई ती गाउँघर,लेकबेशी सब बिर्सिदेउ डोल्मा।अब यताको वातावरणमा घुलमिल हुने कोसिस गर।वास्तवमा खुशी संसारको जुनसुकै कुनामा पनि पाउन सकिन्छ।बश खोज्न सक्नुपर्छ।खुशी हुन सक्नुपर्छ।"
"मनमा ठूलो चोट लिएर कसरी खुशी हुन सकुँला र?"
"चोटमा लाउने मलम मसंग छ।दुई दिनमै तिमीले भन्नेछ्यौ-आहा!कति सुन्दर संसार।कति सुन्दर जीवन।गाउँको याद केही दिनमै दूर भएन भने म तिमीले जे भन्छ्यौ,त्यही मान्न तयार छु।अहिलेको लागि खुशी भैदेउ।"
"कोसिस गर्छु लाहुरे!ए साँच्ची एउटा कुरा-मैले त तिम्रो नामै पो बिर्सिसकेछु त।तिमीसंग संगत गरेपछि त म आफूलाई पनि भुल्छु क्यारे।निमा!मलाई निमा भन्दा लाहुरे नै प्यारो।"-मैले बिना प्रसंगको कुरा गरें।
"ल ल तिम्रै मर्जी,जे भनेपनि मलाई फरक पर्दैन।अनि एउटा कुरा-तिमीसंग संगत गरेपछि मैले आफूलाई चाहिँ कहिले सम्झेको छु र?मैले पनि आफूलाई भुलिसकें।बल्ल आज तिमीले सम्झायौ।"
हामी दुबै खित्का छोडेर हाँस्यौं।हाम्रो नजिकका सिटहरुमा बस्नेहरु हामी तिरै ट्वाल्ल परेर हेर्दै थिए।तैपनि हाम्रो हाँसोले निरन्तरता पाएकै थियो।हामी रमिते भयौं,मानौं हामी रंगमञ्चमा अभिनय गरिरहेका थियौं।साँच्चिकै त्यतिबेला हामीले संसारलाई भुलेका थियौं।आफैंलाई भुलेका थियौं।फेरि सोचें-यो पो रहेछ त जीवन जिउने कला।खुशी तरीका।अनि सोचें-साँच्चिकै म लाहुरेसंग बेहद खुशी हुन्छु क्यारे।
"मलाई धेरै माया नगर लाहुरे।कतै तिमीले धोका दियौ भने जिउन गाह्रो हुनेछ।तिमी मलाई चाहिने भन्दा बढ्ता माया दिने कोसिस गर्दैछौ।कतै शिखरमा चढाएर झार्ने त हैनौ?पहिले मलाई थोरै उचाइमा रम्न देउ लाहुरे।थोरै उचाइबाट खस्न पनि सजिलै हुन्छ र चोट सहन पनि।शिखरबाट खसें भने कहिल्यै उठ्न सक्दिन।मलाई खुशी र सुखी बनाउन करोडौंको धन-दौलत,यश-आराम,महंगा गहना र गगनचुम्बी महल चाहिन्न लाहुरे।म त स-साना कुराहरुमा खुशी हुन्छु।सधैं यसरी नै हँसाइराख।बश यति भए अरु चाह छैन।"
"तिमी ढुक्क होउ डोल्मा।म मेरो तर्फबाट सक्दो प्रयास गर्नेछु।तिमीलाई १००% त नसकुँला तर म आफ्नो जिन्दगी दाउमा राखेर भएपनि तिमीलाई सुखी र खुशी बनाउनेछु।यो लाहुरेको बाचा भयो।"
उसको कुराले मेरो अन्तर्हृदयमै स्पर्श गर्यो।म भावविभोर भएँ।"लाहुरे!" भन्दै उसको आलिंगनमा बांधिएँ।बस भित्रका दर्शकहरुका लागि रंगमञ्च झन-झन रोमाञ्चक हुँदै थियो।सबैको मुहारमा एक प्रकारको चमक देखिन्थ्यो।सायद हाम्रो अभिनय घतलाग्दो थियो होला।तर हाम्रो अभिनय कुनै भर्चुअल थिएन।जीवनको वास्तविक अभिनय थियो।त्यो अभिनय १००% अर्गानिक थियो।त्यसमा कुनै झूटको मिसावट थिएन।थियो त केवल यथार्थ।सक्कली।
बस द्रुतगतिमा हुँइकिरहेको थियो।सडक वरपरका रुखहरु ठोकिएला झैं गरी सामू आइरहन्थे।म आँखा झिम्मिक्क नगरी हेरिरहन्थें।कहिलेकाही झ्यालबाट पछाडी फर्केर हेर्थें।ती रुखहरु उस्तै गरी हामीलाई छोडेर जाँदै थिए।मैले ती रुखहरुलाई सुखसंग तुलना गरें।हाम्रो जीवनमा सुख पनि छिट्टै आउँछ र छिट्टै जान्छ।अनि बसलाई दु:खसंग तुलना गरें।जसरी बस लामो समयसम्म साथमा रहन्छ,दु:ख पनि रहन्छ।जीवनबाट दु:ख जानै मान्दैन।जुका झैं टाँसिएर रहन खोज्छ।नेताहरु कुर्सीमा टाँसिएर बसे झैं।मैले मनमनै भगवानलाई पुकारें।
"हे भागवान!दु:ख टाँसिएर बसे जस्तै लाहुरे पनि मेरो जीवनमा टाँसिरहोस्।मबाट चाँडै दूर नहोस्।यही मेरो पहिलो र अन्तिम इच्छा हो।मेरो यही एउटा इच्छा पूरा गरिदेउ।अरु म केही माग्दिन।"
मेरो पुकारलाई भगवानले सुन्यो या सुनेन,केही थाहा भएन।भगवान त अपरम्पार हुन्छ रे।उहाँ हाम्रो नजरमा अदृश्य भए पनि उहाँको नजरमा केही अदृश्य हुँदैनन् रे।सायद सुने होलान्।यही आशा मनमा सजाएर दिल्लीसम्मको यात्रालाई सरल र सहज बनाउँदै थिएँ।तर किन-किन मलाई लागिरहेको थियो-लाहुरे मसंग भएर पनि टाढा भएजस्तो।म एक्लै बसको यात्रा गरे जस्तो।जति उसले बोल्नुपर्ने थियो,बोलिरहेको थिएन।कुराको प्रसंग जहिल्यै मैले निकाल्नुपर्ने।प्रसंग सक्यो-कुरा सक्यो।फेरि लाहुरे चुप।सुनेकी थिएँ-सेनाहरु एकोहोरो हुन्छन्।पक्कै हो जस्तो लाग्यो।स्कुल-कलेज नपढे पनि म त्यस्ती थिइन।मनमा लागेको कुरा भनिहाल्ने मेरो बानी।सुत्नु कति सुत्नु।गफ गरौं-लाहुरेको पारा त्यस्तो।निकै लामो अन्तरालपछि पुनः मैले गफको प्रसंग निकालें।
"लाहुरे!तिमी त भन्छौ कि मलाई सुखमा राख्छु भनेर।तर सेना जस्तो मान्छे जतिबेला जहाँ पनि जानुपर्छ।लडाइँमा जानुपर्छ।जे पनि हुनसक्छ।अनि तिमी मलाई कसरी सुखी र खुशी राख्छौ?"
"मैले भनिहालें नि डोल्मा।पूर्णरूपमा सुखी र खुशी बनाउन नसकेपनि सक्दो कोसिस गर्नेछु।सम्भव भएको भए म हनुमान बनेर सुमेरु पर्वतबाट तिम्रो दु:ख-पीर हटाउने जडीबुटीको औषधि टिपेर ल्याइदिन्थें।अनि पूच्छरमा आगो बालेर तिम्रो दु:खको संसार या पीरको लंका जलाइदिन्थें।तर सम्भव नभएर पो त।आज अचानक मलाई यस्तो लाग्दैछ कि रामले सीतालाई वनबास लिएर गएझैं मैले पनि तिमीलाई वनबास लिएर जाँदैछु।म राम त बन्न सक्दिन तर रामले सीतालाई दिए जतिको सम्मान दिने प्रण गर्छु।तर भगवानलाई पुकार्छु कि कोही रावण बनेर मेरी सीताको हरण गर्न नआओस्।यदि आइहाल्यो भने बध गरिदिनुहोला भगवान!हुन त म सुनको मृगको पछाडि दौडने खाले राम हैन।राम त स्वयं भगवानको अवतार भएर पनि रावणको छलकपट र जालझेल बुझ्न सकेनन्।"
अहिले भने लाहुरेले अत्यन्तै मर्मस्पर्शी कुरा गर्यो।उसको कुराले यतिको कहिल्यै छोएको थिएन।म भावविभोर भएर उसको अंगालोमा बाँधिएँ।
"लाहुरे!मलाई सीता जत्तिको सम्मान पनि चाहिएन।म त तिम्रै दासी भएर बाँच्न चाहन्छु।म त तिम्रै पाउको धुलो।मलाई पाउमै रहन देउ।शीरमा सजाउनु पर्दैन।"
"हैट,आफूले आफूलाई किन गिराएर बोलेकी?"
हाम्रो कृयाकलाप बस भित्रका केही यात्रुहरुले नियालिरहेका थिए।मलाई लाहुरेको अंगालोमा देखेर होला,उनीहरु अनौठो नजरले हेर्दै थिए।एकजनाले त प्वाक्कै भन्यो-
"क्या जबर्जस्त माल है यार!हम लोकको क्युँ नही मिलता ऐसा माल?"
मैले उसको कुरा बुझिन।क्या माल भन्ने मात्र बुझें।सायद मेरै बारेमा नराम्रो बोलेको होला भन्ने शंका लाग्यो।
"लाहुरे!उनीहरुले मतिर हेरेर के-के भन्दैछन्?जवाफ देउ त।"
"छोडिदेउ डोल्मा।अर्काको देशमा आएर कसले के भन्छन् भनेर चासो दिनु नै बेकार छ।कस्तो महत्वपूर्ण कामले हिंडेका छौं।त्यतातिर लफडा गरेर कहाँ हुन्छ र?भन्नेलाई भन्न देउ।मुख टाल्न सकिन्न क्यारे।"
त्यतिखेर म खिन्न भएँ।लाहुरे भएर पनि लाहुरे जस्तो भएर देखाउन सकेन उसले।एकमनले सोचें-ठिकै हो,अर्काको देशमा आएर अनावश्यक कुरामा चासो लिनु पनि बेकारै छ।चुप बस्न बाध्य भएँ म।एकैछिन फेरि सन्नाटा छायो।बसमा गीत बज्न थाल्यो।
"मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए।"
सबैले गीत गुनगुनाउन थाले।शीर हल्लाएर मजा लिन थाले।मलाई भने हिन्दीको ह समेत नआउने भएकोले केही बुझिन।हिन्दी नजानेकोमा आफूलाई निरीह पाएँ।कमजोर पाएँ।मक्किएर झर्न लागेको काठ झैं।
"लाहुरे!मलाई पनि हिन्दी सिकाइदेउ न।"
मैले उसलाई अनुरोध गरें।
"हुन्छ डोल्मा,किन नहुनु।म तिमीलाई यस्तो हिन्दी सिकाउँछु कि तिमीले बोलेको सुनेर सबै हेरेको हेर्यै हुनेछन्।सबैले तिम्रै तारिफ गर्नेछन्।"
उसको आश्वासनले म प्रफुल्ल भएँ।उत्साहित भएँ।मनमा अनेकानेक उमंग लिएर कैयौं सपना बुन्न पनि भ्याएँ।लाहुरेको अनुहारमा हेरें।उ त मस्त निंदाइसकेको रहेछ।उसलाई डिस्टर्व गर्न चाहिन।फेरि केहीबेरको लागि म एकलकाँटे भएँ।मन फेरि स्वदेशमै गयो।अतीतले नराम्रोसँग कोपार्यो।
चेर्दुङको लेकमा स्वर्गलोकबाट पुष्पदल खसे झैं हिउँ खसेका क्षणहरु।असारे मासमा रिमझिम वर्षा हुँदा आफ्नै रहरलाग्दो फक्रेको यौवन जानीजानी रुझाएका क्षणहरु।घामपानी हुँदा गौरीशंकर हिमालमा देखिएको सप्तरंगी इन्द्रेणी।फागुन-चैत्र मासमा फुलेका रंगीचंगी गुराँस र चिमलका आकर्षक फूलहरु।चाँप र सुनाखरीका लोभलाग्दा श्वेत फूलहरु।पहाड,खोंच र कुना-कन्दरामा चरिरहेका चौंरी र भेडा-बाख्राका बथान।सप्तरंगी डाँफे र मुनालका मिठास गीत र मन्त्रमुग्ध बनाउने नाचहरु।अग्ला-अग्ला भीरहरुबाट हाम्फाल्दै आत्महत्या गरिरहेका कलकल-झरझर झर्ने झरनाहरु।एक रुखबाट अर्को रुखमा हाम्फाल्दै मान्छेहरुसंग सिँगौरी खेल्ने बाँदर र ढेडुहरुका चर्तिकला।अक्कर ठाउँहरुमा मस्त चरिरहेका मृग,घोराल र झारलहरु मान्छे आएको सुँइको पाउनेबित्तिकै बुरुक-बुरुक उफ्रेर भागेका दुर्लभ दृश्यहरु।बर्षायाममा सुकेका र मक्किएका रुख र ओसिलो जमिनमा असरल्ल उम्रेका सेता-राता च्याउहरु।अग्ला,सुरिला र आकाश चुम्ने ठिंग्रे सल्लाका रुखहरु।ती क्षण र दृश्यहरु कम त मनमोहक थिएनन्!ती सबका सब यादगार बनेर दिलमा गढिएका थिए।ती दिनहरु स्मृतिमा नृत्य गरिरहेका थिए।सम्झेर यस्तो लाग्यो-म स्वर्गबाट सिधै नर्कमा झर्न पुगें।कामको दु:ख भएपनि त्यहाँ प्राकृतिक सुन्दरताको कमी थिएन।अलौकिक थियो त्यो ठाउँ!यस्तै-यस्तै भावनाको सागरमा चुर्लुम्म डुबेर पौडिँदै-पौडिँदै दिल्लीको दूरी घटाउँदै गएँ।
No comments:
Post a Comment