Friday, 11 August 2017

आनी-१८

                      भाग-१८
          सानो चिटिक्क परेको सुन्दर घर।सानो बगैंचामा रंगीचंगी फूलहरु आफ्ना बैँश मस्त फुलाइरहेका।भमरालाई लोभ्याइरहेका।माहुरी,भमरा,कीराफट्याङ्ग्रा र चराचुरुङ्गीहरु फूलको यौवनसित खेलिरहेका।एकान्त र सुनसान ठाउँ।वरिपरि फाट्टफुट्ट घरहरु।प..र क्षितिजमा पहाड र गगन यौनक्रीडा गरिरहेको जस्तो।चारै दिशातिर हरियाली चिया बगानले वातावरणलाई सजीव बनाइरहेको।गगनमा कपासका टुक्राहरु मानव,गरुड,मानवीय शीर,विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावरहरुका रोमाञ्चक आकृतिहरु बनिरहेका।एक हुल कागहरु कावा खाइरहेका।मा...थि बाट एकजोडा गिद्धा जमिनको धरातलमा नजर डुलाइरहेका।वरिपरि पंक्षीहरुका चिर्बिर ध्वनिको मिठास।प...र पहाडहरु चीर निद्रामा मस्त निंदाइरहेका।धेरै जाडो पनि हैन,धेरै गर्मी पनि हैन,मध्यम खालको मौसम।हावा सिर्र-सिर्र चल्दै पागलपन प्रदर्शन गरिरहेको।चिया बगानमा कार्यरत युवायुवती र अर्धबैशे नरनारीहरु रमाइ-रमाइ गीत गाउँदै डोकामा चियाको मुना टिपेर सर्लक्क-सर्लक्क झारिरहेको दृश्य।त्यहाँको बिद्यामान प्राकृतिक छटाले जोकोहीलाई चुम्बकले फलामलाई झैं आकर्षित गरिरहेको हुन्थ्यो।त्यहाँ पुग्ने आगन्तुकहरु त्यतै हराउँथे।त्यो ठाउँ छोडेर अन्यत्रै पुगेपनि मन भने त्यतै हुन्थ्यो।हो त्यस्तै अलौकिक स्थानमा सिंगै घर भाडामा लिएका थियौं आमा र मैले।कोठीको अँध्यारोबाट मैले आमालाई उद्धार गरेर त्यही राखेको थिएँ।जहाँ आमा र म मात्र बस्थ्यौं।आमाको मन र मस्तिष्कमा लागेको गहिरो चोटमा मलमपट्टी लाउने उदेश्यले त्यहाँ घर भाडामा लिएको थिएँ।त्यहाँ वरिपरिका प्रायः मान्छेहरु सफा दिल र स्वच्छ छविका थिए।त्यसैले पनि हामीले त्यहाँ बस्न रुचाएका थियौं।प्रायः जसो म आफ्नो घर जान छोडेर त्यतै गएर आमासँग जीवन व्यतीत गर्न थालें।सुख-दु:खका कुराहरु आदानप्रदान गर्थ्यौं।संगै हाँस्थ्यौं,संगै रुन्थ्यौं।मैले पनि बिगतमा गरिएका काला कर्तुतहरुलाई सदाको लागि मनबाट निष्कासन गर्नु थियो।त्यही पावन भूमिमा बसेर गरिएका तमाम पाप पखाल्नु थियो।चित्त शुद्ध बनाउनु थियो।रगतको आहालमा पौडिएको शरीरलाई त्यहाँको अमृतरुपी जलले नुहाउनु थियो।
          त्यहाँ आउनुअघि आमा पीडा र तनावले बिक्षिप्त हुनुहुन्थ्यो।शारीरिक र मानसिक दुवै अवस्था नाजुक थियो।त्यहाँ बसोबास गर्न थालेपछि कुनै डाक्टर र औषधिको आवश्यकता नै परेन।स्वर्ग जस्तो सुन्दर र शान्त ठाउँको दृष्यपानले नै सबै कुरा सही हुँदै गयो।आमा बहुत खुशी हुनुभयो।
"बाबु!तिमीले मलाई यहाँ ल्याएर ठूलो धर्म गर्यौ।मैले अहिलेसम्म भोगेको सबै दु:ख यही आएर बिसाउन पाएकी छु।अब देखि तिमी पनि कुनै कुकर्ममा सरिक नहुनु।हाम्रो जिन्दगी दुई दिनको हो।यो छोटो अवधिमा अरुलाई सताएर,तड्पाएर अनि दु:ख दिएर के पाउँछस्?सक्छौ भने सबैको भलो गर।सक्दिनौ भने कसैको कुभलो पनि नगर।सकेसम्म सबैको भलाइ हुने कार्यमा लाग।तिमीले गरेका कुकर्मको सजाय अलि कम हुनसक्छ।नत्र भने कर्मानुसारको फल अबश्य भोग्नुपर्नेछ।तिमीले मलाई त नर्कबाट उद्धार गरेर स्वर्गमा ल्यायौ।सम्भब भए म जस्तै पीडित र शोषित नारीहरुको उद्धार गर।"
"हस् आमा।मैले पहिलेको काम छोडिसकें।केही नारीलाई मुक्त गरेर पापको प्रायश्चित पनि गरिसकें।जिन्दगीको शुरुवात देखि नै हजुरको उपदेशको पालन गरेको भए आज मेरो हालत यस्तो भयावह हुने थिएन।पालन गर्न सकिन।बाबाको खराब संस्कार र डर-धम्कीकै कारण म कुमार्गमा हिंड्न बिबश भएँ।देवी जस्ती एउटी महान नारी एउटै घरमा हुँदाहुँदै पनि हामी राक्षस भएका थियौं।बल्ल आज मेरो आँखा खुलेका छन्।यस सफलताको श्रेय हजुरलाई नै जान्छ।"
"स्याबास मेरो छोरा!आज म तिम्रो निर्णयबाट हदै खुशी छु।मेरो आशीर्वाद हमेसा तिमीलाई रहनेछ।तिमीले सोचेका हरेक असल कार्यहरु सफल होउन्।मनोकामना पूरा होउन्।"
आमाको कुरा सुनेर म भावविभोर भएर उहाँको काखमा शीर राखेर रुन्थें।आफूले गरेका गल्ती सम्झेर मुटु भत्भती पोल्थ्यो।त्यतिबेला आमाले एउटा सानो बालकलाई जस्तै शीरमा कमलो हातले सुम्सुम्याउनु हुन्थ्यो।हामीले एक-अर्कालाई खुब माया गर्न थालेका थियौं।बरु सानोमा त्यतिको माया पाइन होला।अलि ठूलो भएपछि त हाम्रो सम्बन्धमै दरार पैदा भएको थियो।हाम्रो सोच फरक थियो।बाटो पनि फरक।एकले अर्कालाई बुझ्ने र चिन्ने मौकै कहाँ पायौं र?हाम्रो माया देखेर वरिपरिका छरछिमेकीहरु छक्क पर्थे।कोही त डाहा र इर्ष्याले जल्थे।मानिसहरु भन्थे-
"आमाछोराको सम्बन्ध होस त यस्तो होस।"
"कति मायामा मात्र डुबेर बस्नुहुन्छ हाँ आमाछोरा?मायामा डुब्दा खाना खान र अरु काम पनि बिर्सिनुहोला नि!"
"माया त हरेक आमा र छोराछोरीको बीचमा हुन्छ।तर यसरी समाजमा छर्लङ्ग देखाइहाल्नुपर्छ र?"
"हाम्रा छोराछोरी त भनेको टेर्ने पनि हैन।छोरा होस त तपाईंको जस्तो होस।"
"तपाईंहरुको जस्तो माया त मैले अहिलेसम्म संसारमै देखेको छैन।"
"तिमी जस्तो छोरा त मरेपछि सिधै स्वर्गमा पुग्छ।"
"अब त बिहे गर्ने बेला भैसक्यो यसको।कति पुल्पुल्याइ राख्नुभएको बच्चालाई जस्तो?"
छिमेकीका यस्तै-यस्तै सकारात्मक प्रतिकृयाले मेरो खुट्टा भुइँमा थिएन।आफूलाई एक सफल छोरा ठान्न थालें।कहिलेकाही म बाबाकोमा पनि जान्थें।उहाँको बानी व्यवहार अझै परिवर्तन भएकै थिएन।पैसाको पछि दौडिनु उहाँको पेशा थियोे।एकदिन म बिहानै काम बिशेषले घरमा गएको थिएँ।मैले अचम्मको दृश्य देखें।एउटी भर्खरकी केटीलाई हातमा समाएर म्वाईं खाँदै बाहिर निस्किँदै हुनुहुन्थ्यो।मलाई ठम्याउन गाह्रो भएन कि त्यो केटी कि त कार्लगर्ल थिई कि पैसामा बिक्ने स्त्री।मलाई देखेर बाबा हतोत्साहित हुँदै त्यो केटीबाट अलग हुनुभयो र भन्नुभयो-
"बाबु!यो मेरो साथीको छोरी।मेरो सेवाको लागि साथीले केही दिन पठाएको।मैले नाइँ भन्नै सकिन।खुब माया गर्छ मोरोले।"
उतातिर केटीले अनुहार बिगारिसकेकी थिई।साथीको छोरी भनेकोले रिसाइरहेकी थिई।
"ए हो र बाबा?राम्रो गर्नुभएछ।खुशी लाग्यो।"
मैले यति मात्र भनें।अरु केनै भन्नु थियो र?बाबाको मुहारमा कालो बादल मडारिएको प्रष्टै देखिन्थ्यो।त्यसपछिका दिनहरुमा पनि मैले उहाँहरुलाई रंगेहात पक्रेको थिएँ।उहाँले लाज पचाइसक्नुभएको थियो।एकदिन उहाँले अनौठो प्रस्ताव पेश गर्नुभयो।
"बाबु!तँलाई एउटा कुरा सोध्नु थियो।"
"के कुरा भन्नुस् न।"
"हाम्रो घरमा आईमाई मान्छे कोही छैनन्।नारी बिनाको घर उजाड-उजाड लाग्दोरहेछ।त्यो त तैंले पनि महसुस गरिस् होला।एउटी चाहिँ चाहिने रहेछ।खाना पकाइदिने,कपडा धोइदिने र बिरामी पर्दा हेरचाह गर्नलाई नभई नहुने देखियो।बरु यसो गरौं-कि तिमी विहे गर कि म गर्छु।"
उहाँको कुरा सुनेर मलाई निकैबेरसम्म हाँस उठ्यो।उहाँले आफ्नो आवश्यकता पूर्ति गर्न मलाई पनि मिसाइदिनुभयो।उहाँको आसय आफूले विहे गर्ने नै थियो।बाध्यताले मेरो नाम अघि सार्नुभएको मात्र थियो।
"मेरो अहिले विहे गर्ने बेलै कहाँ भएको छ र?तपाईं नै विहे गर्नुस्।मलाई आपत्ति छैन।"
"स्याबास छोरा!मेरो असल छोरा।छोरा होस त तँ जस्तो होस।आमा ल्याएँ भने तिमीलाई पनि त सहयोग हुन्छ नि।"
"हुन्छ,हुन्छ।बरु अलि छिटो गर्नुस्।"
सायद मेरो ब्यंग्य उहाँले बुझ्नुभएन।विहे गर्न खुब उत्साहित र हतासमा हुनुहुन्थ्यो।
"मेरी आमा बेच्ने पापी!दलाल!गद्धार!राक्षस!दानव!पिशाच!तँलाई म छोड्दिन।पर्ख,समय आउन देउ।तँलाई तड्पाइ-तड्पाइ मारिनछु बने म आमाको छोरा हैन।"
यस्तै मुखभरीको गाली दिन मन थियो तर संयमित भएँ।साँच्चै म त्यो समयको पर्खाइमा थिएँ,जब म उसलाई बर्बाद पार्न सकुँ।मेरी आमा बिक्री गर्ने दलाल लाई समाप्त पार्न सकुँ।सकेसम्म आमाकै हातबाट हत्या गराउन सकुँ।एउटा बदला त मैले लिइसकेको थिएँ सानीमाको हत्या गरेर।तर त्यति काफी थिएन।
         एकदिन म घर आउँदिन भनेर गएको थिएँ।प्रायः रातहरु बाबाको घर भन्दा आमाकै घरमा बित्थ्यो।किनभने बाबासित बस्दा मात्र पनि आफूलाई दलालको रुपमा देख्थें।आत्माग्लानी हुन्थ्यो।अभागी छोरा सम्झन्थें।बाबा मेरो अनुपस्थितीको भरपूर लाभ उठाउने हेतुले मुस्कुराउनु भयो।म पनि मन्द मुस्कुराएँ।मेरो उदेश्य रोचक थियो।रातको ११ बजेतिर घरमा गएँ।धेरैपटक बेल बजाउँदा पनि ढोका खोल्नुभएन।तर मैले बजाउन छोडिन।जतिसुकै बजाउँदा पनि नखोलेपछि बाबालाई फोन गरें।
"आज म घरमा छैन बाबु।भोलि आउ।अहिले म सुत्छु।"
"अघि ९ बजे मात्र मैले तपाईंलाई घरमै देखेको थिएँ।नढाँट्नुस्,खुरुक्क ढोका खोल्नुस्।"
एकछिनमा उहाँले ढोका खोल्नुभयो।रक्सी मातिएर जीउ नियन्त्रणमा थिएन।मैले ढोका बन्द गरे।सरासर उहाँकै बेडरुममा गएँ।त्यहाँ अर्धनग्न आईमाई सुतिरहेकी थिई।मलाई देखेर शिरकले शरीर छोपी।
"उनी को हुन् बाबा?तपाईंको बेडमा के गर्दैछिन्?"
"उनी तेरी आमा हुन्।"
"अनि अस्तिको?"
उहाँको गला अबरुद्ध भयो।मुखबाट शब्द प्रवाह हुनै सकेन।
"चरित्रहीन मान्छे!लाज लाग्दैन तपाईंलाई?तपाईंको यही नौटंकी हेर्न आज मैले आउँदिन भनेको थिएँ।कति वटी छन् हाँ आमा?"
"तँ बढ्ता नकरा।मेरो जिन्दगी,मेरो खुशी।बरु तँलाई पनि मिलाइदिउँला।मोज गर।"
"पर्या छैन।तपाईं लाई पुगेको छैन।किन चाहियो मलाई?"
म सरासर बाहिरिएँ।मैले त्यति बुझ्नु थियो कि उहाँले एउटै केटीसंग रात बिताउने रहेछ कि छुट्टाछुट्टै।रातैपिच्छे कार्लगर्ल फेर्ने उहाँको बानी रहेछ।आमालाई नर्कमा धकेलेर मोजमस्ती गर्ने धोकेबाजलाई नछाड्ने कसम खाएँ।
          "जिन्दगीमा कुनै नारीको अनुहार समेत देख्न नपाओस् त्यसले!"
"मर्ने बेला किरा परेर मरोस्।"
"तड्पी-तड्पी मरोस्।"
"बिरामी पर्दा पानी तताएर दिने मान्छे समेत कोही नआओस्।"
"धेरै केटीहरुसंग सम्पर्क राख्ने त्यसको लिंग कुहेर झरोस्।"
"केटीहरु खोज्दै हिंड्ने दुइटै आँखा फुटोस्।लट्ठीको साहारा समेत नमिलोस्।"
"जीवनको उत्तरार्द्धमा कुकुरले नपाउने दु:ख पाओस्।"
एक्लै रिसले रन्थनिँदै,तथानाम गाली गर्दै र सराप्दै आफ्नो बाटो लागें।तैपनि रिस मरेकै थिएन।फर्केर गएर ब्लेडले छाला चिरा-चिरा पारेर नुन-खुर्सानी हालेर तड्पाउन मन लाग्यो।बिभत्स हत्या गर्न मन लाग्यो।खुकुरीले चोक्टा-चोक्टा बनाएर गिद्धालाई खुवाउन मन लाग्यो।तर मार्ने हक मलाई थिएन।मार्ने हक आमालाई मात्र थियो।हुन त म पनि उहीँ ड्याङको मुला थिएँ।तर मबाट पीडित नारीको हातबाट मर्न शारीरिक र मानसिक रुपमा तयार थिएँ।मुर्मुरिँदै आमा राखिएको घरमा पुगेको थाहै भएन।मध्यरात भैसकेको थियो तर म त्यहाँ पुग्दासम्म आमा अनिंदो नै हुनुहुँदोरहेछ।मेरै बाटो हेरेर बस्नुभएको रहेछ।म ढोकामा नपुग्दै ढोका खोल्नुभयो।
"यतिबेर सम्म किन नसुत्नुभएको आमा?"
"तिमी नहुँदा न त भोक-प्यास लाग्छ, न निँद्रा नै।सास फेर्न पनि तिमी साथमा हुनुपर्छ मलाई।यो संसारमा मेरो एउटै साहारा र माया गर्ने मान्छे भनेकै तिमी त हौ नि बाबु।तिमीलाई सानोतिनो ठेस लागे पनि शुरुमा मेरो मुटुमा दर्द हुन्छ।मनमा पीडा हुन्छ।तिमी आयौ,अब ढुक्कसँग सुत्छु।आउ बरु खाना खाउ।तिमीलाई मनपर्ने खाना बनाएकी छु।"
"आहा!आमा भन्ने शब्द नै कति मायालु।कति प्यारो।आमाको त मुखै मीठो।प्रत्येक शब्द मीठो।ममता मीठो।स्नेह मीठो।आमाको हातले बनाएको जस्तोसुकै खाना मीठो।गुन्दुक र ढिंडो पनि चौरासी-व्यञ्जन भन्दा कम मीठो लाग्दैन।आमाको हातको पानी पनि अमृत समान।आमाको मुहार मात्र देख्दा पनि एकप्रकारको उर्जा प्राप्त हुन्छ।आमाको उपस्थिती मात्र पनि खास भैदिन्छ।नौ महिना गर्भमा बोकेर असह्य प्रसवपीडा सहेर रक्तको आहाल बगाएर जन्मदिने आमा त्यसै पनि महान।दुई किलोको मासुको डल्लालाई जतनकासाथ पालनपोषण गरेर,दूधधारा चुसाएर लायकको बनाउने आमाको महिमा अपरम्पार र अतुलनीय हुन्छ।आमाको बराबर कोही हुनैसक्दैन।आमालाई रुवाउने सन्तान कहिल्यै खुशी र सुखी रहन सक्दैनन्।आमाको दूधको भार कहिल्यै चुकाउन सकिन्न।सदैव आमाकै ऋणी भईन्छ।"
मनमा यस्तै कुराहरुको बाढी आएर चुर्लुम्मै डुबायो।भावविभोर भएर आमालाई अंगालोमा बेरें।फेरि सानो बालक भएर आमाको काखमा लुट्पुटिएँ।यसैपनि आमाको लागि जस्तोसुकै जवान छोराछोरी पनि बच्चा समान नै हुन्छन्।बच्चा भएँ।आमाको माया पाउन म दुधे बालक जस्तै उहाँको काखमा सुतें।उहाँको कोमल र ममतामयी हातहरु मेरो निधार र शीरतिर सल्बलिए।सायद आमाको काख नै स्वर्ग हो।आमाको काखमा जतिको आनन्दानुभूत अरु कतै गर्न सकिंदोरहेनछ।मन त्यसै शित्तल भयो।ठूलै उपलब्धि हासिल गरेको आभास भयो।हरहमेसा त्यसरी नै आमाको न्यानो काखमा सुतिरहन मन लाग्यो।जवान भएपछि जोकोहीले आमाको काखको न्यानोपन महसुस गर्न सक्दैनन्।मैले महसुस गरें।मान्छेहरु सानोबाट ठूलो हुने इच्छा जाहेर गर्छन्।कोही पनि ठूलोबाट सानो हुन चाहँदैनन्।तर कहिलेकाही सानो हुनुको मजा नै पृथक र बृहत हुनेरहेछ।कोठीमा आमालाई पहिलोचोटी देख्दा म मरेतुल्य भएको थिएँ।तर पछि यो पापी र फोहोर मस्तिष्कले उहाँलाई नै फोहोरी देख्यो।तथानाम गाली गरेको थिएँ।त्यो दिन सम्झेर पछुताएँ।पश्चातापको आगोमा जलेर मन खरानी भयो।धुरुधुरु रोइदिएँ।आमा छक्क परेर हेरिरहनु भयो।सानो बालकलाई फकाएझैं धाप मारिरहनु भयो।
"चुप लाग बाबु!कति रोएको?किन रोएको?"
"किन-किन आज मलाई हजुरकै काखमा सधैंको लागि निंदाइदिउँ झैं लाग्यो।हजुरको अगाध स्नेह पाइरहुँ लाग्यो।मलाई धित मरुन्जेल रुन दिनुस् आमा!म जस्तो अभागी छोराले फेरि हजुरको ममता पाउने हो कि हैन।"
"के कुरा गरेको बाबु तिमीले यस्तो?ठूलो मान्छेले पनि यस्तो कुरा गर्न सुहाउँछ र?अब त तिमी जवान भैसक्यौ त।के बच्चा जस्तो पुल्पुलिएको हाँ?के म तिमीलाई माया नगरुँला त?"
"धेरै दिनपछि आज मनको गह्रौ भारी हजुरको विशाल छहारीमा बिसाउन पाएको छु।शितल ताप्न पाएको छु।सुख नजिकै र आफूसँगै भएर पनि भौतारिएर दूर-दूर पुगेको रहेछु आमा।तर जति-जति दूर हुँदै गएँ,उति-उति दु:ख मात्र पाएँ।आज संसारको सबैभन्दा ठूलो सुख मिलेको छ।आशीर्वाद र वरदान माग्न धेरै मठमन्दिरहरु धाएँ।तर असली देवीको दर्शन गर्न चुकेको रहेछु।आज मैले गन्तव्य भेट्टाएँ आमा!धनदौलतको पछि दौडिन छोडेर हजुरको चरममा आएको छु।मैले सबैथोक पाएँ।"
"तिमी भन्दा आज म धेरै खुशी छु बाबु।कुमार्ग छोडेर सुमार्गमा हिंड्न थालेका छौ।मैले त तिमी र तिम्रो बाबालाई पहिल्यै सजग गराएकी थिएँ नि,तिम्रो बाबाले गर्दा तिमी पनि अन्यत्रै रुमल्लियौ।तर आज तिमीले आफूलाई चिन्यौ।सही मार्ग चुन्यौ।आत्मासमिक्षा गरेर गल्तीको महसुस गर्यौ।यही नै काफी छ।मान्छेबाट गल्ती जान-अन्जानमा हुनसक्छ।भुल सुधारेर अग्रगामी दिशामा अघि बढ्नु नै महानता हो।हिटलरले पनि अन्तमा शान्तिको मार्ग अपनाएको थियो।खुंखार डाकु रत्नाकर पनि अन्ततः वाल्मीकि भए।हिंस्रक तथा साम्राज्यवादी सम्राट अशोक पनि अन्तमा बुद्धको मार्गमा हिंडेको थियो।तिमी पनि अब भोटे डन रहिनौ।तिमी निमा मात्र रह्यौ।मैले मेरो छोरो गुमाएकी थिएँ।आज फिर्ता पाएँ।यो भन्दा ठूलो खुशीको कुरा अरु के हुनसक्छ बाबु?"
बाहिर अँध्यारो रात थियो।एकछिनमा टहटह जून लाग्यो।आमाको काखबाट सुस्तरी उठेर खिर्कीबाट बाहिर शीर निकालें।गगनमा भएको घनाघोर कालो बादल फाटेर पूर्ण चन्द्रमा मुस्कुराइरहेको थियो।सायद हाम्रै खुशीमा मुस्कुराएको हुनुपर्छ।हाम्रो जीवनबाट पनि अँध्यारो भागिसकेको थियो।उज्यालो आइसकेको थियो।तर त्यो जून पनि मेरी आमा जत्तिको उजेली थिएन।बिहानको दुई बजिसकेको रहेछ।अझै सुनौलो सपनाको प्रतिक्षामा आँखालाई विश्राम दियौं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...