इतिहास केलाउँदा
कुनै बेला हामी नेपाली
बहादुर थियौं
साहसी वीर थियौं
उतिबेला हामी असली खेलाडी थियौं
दुष्मनसंग लडेर
जितेका थियौं-सिक्किम,दार्जिलिङ
कब्जा गरेका थियौं पन्जाब,गढवाल
तर अब हामी खेलाडी रहेनौं।
अहिले केन्द्रीय भूमिकामा
राजनैतिक खेलाडी मात्र छन्
कहिले तास खेल्छन्
कहिले चेस खेल्छन्
कहिले जुवा खेल्छन्।
तासको कल्ब्रेकमा
जनतालाई पत्ता बनाएर
प्रतिद्वन्दीको अनुकुलमा खेल्छन्
लम्पसार भएर खेल्छन्
सानोबाट खेल्नुपर्ने बेला ठूलो फाल्छन्
ठूलोबाट खेल्नुपर्ने बेला सानो फाल्छन्
तुरुप हान्नेबेला
हुकुमको एक्का हानेर
शक्तिको दुरुपयोग गर्छन्
तुरुप नभए
चिँडीको खेलमा
पानको एक्का दुष्मनलाई बुझाउँछन्।
चेस खेल्दा जनतालाई
कसैलाई सैनिक
कसैलाई घोडा
कसैलाई हात्ती
कसैलाई ऊँठ
कसैलाई रानी र
कसैलाई राजा बनाएर
उल्टो चाल चालेर
क्रमशः शक्तिका खम्बाहरु बुझाउँछन्
हारेर प्रतिद्वन्दीलाई आल्हादित बनाउँछन्।
जुवाको खेलमा
देशको ढुकुटी लिएर
बेपर्वाह खेल्छन्
भएभरको नगद सकाएर
कहिले कोशी
कहिले कर्णाली
कहिले महाकाली त
कहिले गण्डकी
दाउमा राख्छन्
जितेर हैन हारेर रमाउँछन्
सर्वस्व गुमाइसके पनि
यी खेलाडीहरु खुशीनै छन्
एउटा घतलाग्दो कुरा त
अहिले यिनीहरु सोच्दैछन्
"अझै देश त बाँकी नै छ!!!"
No comments:
Post a Comment