Sunday, 20 August 2017

आनी-२१

                  भाग-२१
        एकपल्ट अतीतका पानाहरु पल्टाएर गहिरो चिन्तन मनन गरिन्।यादै यादहरुको भूमरीसंगै लहरिँदै,बटारिंदै,ठोक्किँदै र पछारिंदै धेरै दूरदराजमा पुगिन्।कहिले चेर्दुङका हिमाल,पहाड,पर्वत,वनजंगल र पशुपंक्षीहरुलाई सम्झिन्।कहिले माया पिरती लाएका पलहरुसंग प्रश्न सोधिन्।अनि कहिले आफूले भोगेका तीता घटनाबाट झस्किन्।कहिले रमाइला पक्षहरु केलाएर हाँसिन् त कहिले दु:खद पक्षबाट बिक्षप्त बनिन्।एकैछिनमा खित्का छोडेर हाँसिन् र एकैछिनमा भक्कानो फुटाएर रोईन्।उनलाई देख्ने जोकोहीले पनि सहजै अनुमान लाउन सकिन्थ्यो-डोल्माको सायद दिमाग खुस्केको हुनुपर्छ।तर होइन।उनी पहिलेको जस्तो कमजोर थिइनन्।उनी अग्राख भैसकेकी थिइन्।काँचको दिल थिएन अब सजिलै टुक्रिने।उनी आफैं फलाम बनिसकेकी थिइन् चट्टान बनिसकेकी थिइन्।अब उनको लागि प्रेमको एउटै परिभाषा भयो।त्यो हो-जुनसुकै कुरालाई फूलको आँखाले हेर्ने।काँडाको आँखाले हेरे सबै कुरा काँडा नै देखिन्छन् भन्ने उनको मान्यता रह्यो।
       उनले मनका अनगिन्ती पानाहरुमा बिगतका तीतामीठा पलहरुलाई समेटेर एउटा ठूलो पुस्तक नै लेखेकी थिइन्।बिगतबाट धेरै ठूलो शिक्षा हासिल गरेकी थिइन्।तर अब उनले त्यो पुस्तकलाई धुजा-धुजा पारेर आगोमा जलाउने निर्णय गरिन्।यादहरुलाई दागबत्ती दिएर दाहसंस्कार गरिन्।त्यो विशाल चिता दनदनी जल्यो।खरानी भयो।उनको मनले नवजीवन प्राप्त गर्यो।अर्को जन्म लियो।अब उनलाई पूर्वजन्मको बारेमा बिल्कुल ज्ञान छैन।अब उनलाई इतिहास पढ्नु थिएन।इतिहास रच्नु थियो।उनको साहस र हिम्मतको लेखाजोखा गर्ने हो भने सायद गिनिजबुकमा नाम लेखिन्थ्यो होला।तर उनलाई लेखाउनु थिएन।उनलाई चर्चाको शिखरमा पुग्नु थिएन।कतिपय संचारकर्मीहरुले उनको अन्तर्वार्ता लिने कोसिस नगरेका होइनन्।तर उनको चासो नै नभएपछि उनीहरू निराश भएर फर्केका थिए।कोही मान्छेहरु संचारका माध्यम खोजी-खोजी जान्छन् र भएनभएका दुस्साहस गरेर चर्चित हुन खोज्छन्।तर उनलाई त्यो चाह कहिल्यै भएन।गुमनाम भएर आफ्नै ठाउँबाट योगदान पुर्याउनु नै उनको सिद्गान्त बन्यो।भनेर हैन गरेर देखाउने उनको बानी भयो।खास उनलाई देखाउनु पनि थिएन।तर उनको योगदान स्वत:समाजले देख्ने नै भए।
         उनको सोचाइ पुनः पूर्णरूपमा परिवर्तन भयो।शुरुमा उनी सही लिगमा हिंडिरहेकी थिइन्।बीचमा कतैबाट अवरोध आयो।त्यो अवरोधलाई लात मारेर आफ्नो बाटोमा हिंड्ने प्रयत्न नगरेका हैनन्।तर उनको जीवनमा यस्तो मोड आयो जहाँबाट उनको सिद्धान्तले नै युटर्न मारेको थियो।अन्ततः उनले पुनः सही ट्र्याक समाइन्।नयाँ जीवन पाए संगै उनले आफ्नो हुलिया र गेटअप पनि परिवर्तन गरिन्।लामो घना केशराशीलाई सैलुनमा गएर पूरै खौरिन्।उनको शीर हेर्दा लाग्थ्यो उनको केश पूर्णरूपमा खुइलिसकेको छ अथवा उनको शीरमा केश कहिल्यै उम्रेकै थिएनन्।रंगीचंगी कपडा फालेर गेरुबस्त्र धारण गरिन्।सर्वप्रथम उनी बौद्धको डोल्मा निवासमा गएर त्यहाँको वातावरणमा रमिन्।सबै तला-तला र कोठा-कोठा चहारिन्।घरको छतमा गएर सकेसम्म दूर-दूरसम्म नियालिन्।त्यो खुल्ला नील-गगन,पवन,मेघ र रविलाई आफ्नो नवरुप प्रदर्शन गरिन्।आफ्नो बारेमा प्रत्यक्ष जानकारी गराइन्।उनको स्वरुप देखेर रवि मुस्कुरायो।पवन सुसायो।मेघ चल्मलायो।वातावरण त्यतिकै रोमाञ्चक बन्यो।सिंगो ब्रम्हाण्ड नै उनलाई स्वागत गरिरहेको थियो।छतमा भएका फूलहरु मन्द मुस्कान दिइरहेका थिए।कुनै फूलहरु उनको सौन्दर्यसंग आत्मसमर्पण गर्दै थिए।
          केहीबेर आँखा चिम्म गरेर दुवै हात विपरीत ध्रुवतिर फैलाएर सबैलाई अंगालो हालिन्।अब उनी अरु कसैकी नभएर प्रकृतिकी भइन्।प्रकृतिकी प्रेमिका।न कुनै लफडा, न त तनाव।न छोडेर जाला भन्ने भय,न कुनै सम्झौता।न कसैलाई खुशी पार्नुछ,न दु:खी।कसैलाई सिकायत गर्नु पनि छैन र कसैको सिकायत सुन्नु पनि छैन।त्यहाँ कुनै बन्धन छैन।जञ्जिर छैन।कुनै सिमाना छैन।केवल स्वतन्त्रता।मनको स्वतन्त्रता।तनको स्वतन्त्रता।उनको शरीरमाथि कसैको आधिपत्य छैन।उनको मालिक आफैं हुन्।आफ्नो ईच्छानुकुल जहाँ पनि जान सक्छे।घुम्न सक्छे।रमाउन सक्छे।कसैको खातिर रुनुधुनु छैन।कष्ट गर्नु छैन।त्यहाँ चारैतिर सुखैसुख मात्र छ।दु:खले आत्मसमर्पण गरिसकेको छ।हार खाएर भागिसकेको छ।उनको जीवन अब ज्ञान र दर्शनले भरिपूर्ण छ।महासागरमा जसरी पानीको मात्रालाई नजरअन्दाज गर्न सकिन्न,त्यतिनै उनको मस्तिष्कमा ज्ञान छ।बिज्ञानका विभिन्न सुत्र र तथ्यहरुको ज्ञान नहोला,त्यो फरक पाटो हो।तर उनमा यथेष्ट व्यवहारिक ज्ञान छ।मृत्युको मुखसम्म पुगेर फर्केकोले उनलाई जन्म देखि मृत्युसम्मको मर्म थाहा छ।वास्तवमा भन्ने नै हो भने २७/२८ को उमेरमा उनले १०० बर्षको जीवन जिइसकेकी छिन्।
        आनी डोल्मा "डोल्मा निबास"को अगाडि ठिङ्ग उभिएर निकैबेर एकोहोरो नियालिरहिन्।अवलोकन गरिरहिन्।उनले सोचिन्-"सायद कृष्णले राधाको लागि बनाइएको राधाभवन पनि यस्तै भव्य थियो होला।सायद यो भन्दा पनि भव्य।फरक यति हो कि त्यतिबेला यस्तो सुबिधाजनक कार चाहिँ थिएन होला।अरु त सब उस्तै होलान्।स्विमिङ पुल,बगैंचा र कृत्रिम झरना सबै उस्तै होलान्।"
"हेल्लो!तुरुन्तै आएर काम गर्दिनुपर्यो।पर्खिने समय छैन।एकैछिनको काम हो,बढीमा दस मिनेट लाग्ला।"
उनले फोन गरेको केही बेरमा मिस्त्री आफ्नो सरसामान बोकेर आयो।
"यसलाई फुटाएर चिल्लो पार्दिनुस्।"
मिस्त्रीले हतौडा र छिना लिएर "डोल्मा निबास"लेखिएको अक्षर फुटाउन थाल्यो।एकाएक गरी अन्ततः सबै अक्षर नामेट भए।उनले चाहेको भए त्यो घरलाई आफ्नो नाममा पास गर्न सक्थिन्।त्यति सम्पति भए अचेल भनेजस्तो केटासँग मोजमस्तीका साथ जीवनयापन गर्न सकिन्छ।तर उनी बिलासी जीवनबाट टाढै हुन चाहिन्।अक्षरहरु फुटाएर चर्किएका सतहलाई मिस्त्रीले साम्य बनायो र रङ लाएर बेग्लै बनाइदियो।त्यहाँ केही लेखिएकै थिएन जस्तो भयो।पुराना यादसंगै भवनको नाम पनि मेटियो।अब भवनको नाम के राख्ने भनेर आनी डोल्मा सोचमग्न भईन्।भवनको नयाँ नाम भविष्यकै गर्भमा हुर्किन थाल्यो।त्यो नामविहीन भवनसंग नयाँ साइनो र सम्बन्ध स्थापित गर्न फेरि भेट्न आउने बाचाका साथ उनी त्यहाँबाट विदा भईन्।
        आनी गुम्बाको परिसर।त्यहाँको वातावरण बिल्कुल सफा।रविका तीक्ष्ण किरणहरुको आगमन निकै पहिले नै भएर पनि धर्तीसंग न्यानो नाता गाँसिसकेको अवस्था।जमिनमा बाँचिरहेका प्राणीहरु उर्जा पाएर चल्मलाउन थालिसकेका।शीत निद्रामा भएका कमिला,कीरा र फट्याङ्ग्रा लगायतका सूक्ष्म प्राणीहरु समेत आफ्नो अस्तित्व कायम राख्न संघर्षको मैदानमा उत्रिसकेका।बगैंचाका रंगीचंगी फूलहरु आफ्नो सौन्दर्य तथा मुस्कान प्रदर्शन गरी रस बाँडेर दायित्व निभाइरहेका।मौरी,भमरा र चराचुरुङ्गी हरु रस लिएर मख्ख हुँदै आ-आफ्ना गन्तव्य तिर उडिरहेका।कपास जस्ता बादलका केही टुक्राहरु पहाड र गगन बीचको सम्बन्ध लाई बिगार्न उपस्थित भए जस्तै।समीरको झोक्का आएर मौरी र फूलको लेनदेन कार्यक्रमलाई बिथोल्न खोजे झैं।बोटबिरुवाका डाली र पातहरु समीरकै सुइँयाsssगीत-संगीतको तालमा नृत्य गरिरहेका।उपस्थित जोकोहीको मनलाई चञ्चल बनाएर नृत्य गरुँगरुँ लाग्ने वातावरण।गुम्बाका शक्तिशाली छातीहरु लाखौं हण्डर खाएर पनि बिचलित नभईकन निर्धक्क फुलिरहेका।गुम्बाका भित्ताहरुमा रंगिएका चित्रहरु सजीव झैं देखिएका।गुम्बा भित्रका बुद्धका मूर्तिहरु अथक पलेटी कसेर ध्यानमा लीन भएका।एक हुल गेरुवस्त्रधारीहरु एकाएक पुष्पगुच्छा,माला र खादा लिएर कसैको आगमनलाई हार्दिक स्वागत गर्न लाइनमा उभिएका।त्यो दृश्य हेर्दा लाग्थ्यो-त्यहाँ कोही महामानवको शीघ्र आगमन हुँदैछ।साक्षात बुद्ध भगवान नै आउँला जस्तो।ती आनी र लामाहरुलाई पनि यकिन थाहा थिएन त्यहाँ को आउँदैथियो।गुरुले उनीहरुलाई यति भनेका थिए-"आज संसार जितेर आएकी एउटी महान नारी आउँदैछिन्,भव्य स्वागत गर्नु।"
गुरुकै आज्ञा अनुसार भव्यरुपमा तयारी गरिएको थियो।सबैजना व्यग्र प्रतिक्षामा थिए।उत्तिकै कौतुहल पनि।एकैछिनमा तलबाट एकजना गेरुवस्त्र धारण गरेको सन्यासी जस्तै मानव आकृति देखियो।स्वागतकर्ताहरु झन-झन उत्सुक भए।आँखा तानी-तानी हेर्न थाले।होहल्ला मच्चिन थाल्यो-"को हो?को हो?"
ती सन्यासीलाई कुनै हतार थिएन।अगाडि त्यत्रो स्वागतकर्ता देखेर कति पनि नहड्बडाइकन,हतोत्साहित नभईकन लमक-लमक लम्किरह्यो।तर अब सबैको चासो र उत्सुकता सकियो।त्यो सन्यासी अरु कोही नभएर आनी डोल्मा नै थिइन्।उनै आनी डोल्मा जो पहिले त्यही गुम्बामा धेरै सालदेखि बसेकी थिइन्।बुद्धको मूर्तिको केसमा उनलाई प्रहरीले उठाएर लगेका थिए।त्यसबेला देखि उनले त्यहाँ पाइला टेकेकी थिइनन्।सबैको मुहारमा अनौठो चमक देखियो।सबैको खुशी फर्केर आए जस्तो।गुमाएको निधि फिर्ता पाए जस्तो।अँध्यारो रातपछि सुन्दर बिहानी आए जस्तो।सबैले पालैपालो उनलाई नमन गरे।ढोग गरे।फूलमाला र खादाले उनको गला भरियो।सिन्दूरको बर्षातले उनको शरीर रक्तिम भयो।अन्तमा उनले पनि गुरुलाई नमन गरिन्।
"गुरु!कृपया मलाई क्षमा दिनुहोस्।मबाट ठूलो गल्ती भयो।मैले बीचैमा बाटो बिराएँ।म भावनामा बहकिएँ।सत्यको बाटो छोडेर असत्यको बाटोमा अग्रसर भएँ।बडो मुश्किलले फेरि सही बाटो पहिल्याउन सफल भएकी छु।जालझेल,छलकपट र स्वार्थको दुनियाँ छोडेर म पुनः हजुरको शरणमा आएकी छु।हजुरको चरणमा आएकी छु।जहाँसम्म लाग्छ,फेरि पनि मैले सबैको माया र हौसला पाउनेनैछु।फेरि पनि म एकपटक सबैको सामू माफी माग्न चाहन्छु।"
उनले सबैको सामू हात जोडेर माफी मागिन्।सबैको आँखाबाट खुशीको आँसु झर्यो।
"तिमीले आफ्नो गल्तीको महसुस गरिसक्यौ।गल्ती मान्छेबाटै हुन्छ।भुलसुधार गरेर अगि बढ्नुमै सबैको भलाई छ।त्यो तिमीले गर्यौ।त्यो तिम्रो महानता हो।"
"गल्ती गर्नेलाई माफी दिनु झन हजुरको महानता हो।हजुर मेरो गुरु मात्र हैन,भगवान नै हुनुहुन्छ।त्यो महानताको लागि हार्दिक आभार प्रकट गर्दछु गुरु!"
"हामी सबै बुद्धका चेला हौं।हामीले जे सिक्यौं र जे व्यवहारमा लागू गर्यौं,ती सब बुद्ध भगवानका देन हुन्।बुद्धको वाणीलाई व्यवहारमा उतार्नु हाम्रो कर्तव्य एवं दायित्व हो।"
"हजुर गुरु!"
सबै आनी र लामाहरुको एकमुष्ट स्वर सुनियो।
एकैछिनमा त्यहाँ एक-अर्कालाई अबीर घसेर हर्षोल्लासका साथ बिजयोत्सव मनाए।सबैजना होलीको रंगले रंगिएझैं भए।जसरी चराचुरुङ्गीहरु बिहानीको उदयसंगै चाराको खोजीमा गुँड छोडेर दूर-दूरसम्म पुगेपनि अन्ततः साँझ परेपछि आफ्नै गुँडमा फर्किन्छन्,ठिक त्यसरी नै आनी डोल्मा पनि भावनामा बहकिएर धेरै टाढा पुगेपनि भोगाइ,अनुभवका खानी र अचम्मको कहानी बोकेर आफ्नै धरातल अर्थात गुम्बामा फर्किन्।त्यसपछि उनले धर्मकर्मका विविध दैनिक नित्यकर्म गरेरै दिनहरु बिताउन थालेसंगै आनीको किस्सा पनि यही खत्तम भयो।
          तर पंक्तिकारलाई एउटा कुरामा अझै कौतुहलता रह्यो।त्यो हो लाहुरेको अवस्था।सोही कौतुहलतालाई मेट्न पंक्तिकार हनुमान ढोकाको कारागार पुग्यो।तर त्यहाँ पुग्दा लाहुरे त्यहाँ थिएन।उसले प्रहरी अधिकृतलाई सोधपुछ गर्दा उ नख्खुको कारागारमा रहेको जानकारी प्राप्त भयो।एकदमै खुंखार र खतरनाक अपराधीलाई मात्र राखिने कारागारको रुपमा परिचित नख्खुको कारागारको बारेमा पहिले पनि धेरै कुरा सुनेको थियो उसले।त्यहाँ थुनिएपछि बाँचेर निस्किने सम्भावना अति न्यून हुन्छ रे।त्यसैले पनि उसको हालत कस्तो होला भन्ने उत्सुकताका साथ पंक्तिकार त्यतै हुँइकियो।
            नख्खु कारागार आफैंमा अति नाजुक।बिरामीले थलिएको जस्तो।भित्ताहरु चर्किएका।बर्षौं पुरानो भवन।मर्मत संभार समेत नगरिएको।मक्किएको छानो।कुना-काप्चामा लेउ उम्रेका।बिजुलीबत्ती र पानीधाराको व्यवस्थापन अति कमजोर।ठस-ठस गन्हाउने शौचालयहरु।एकपटक शौंच गर्नेहरु बिरामी भएर अस्पतालमा भर्ना होलान् जस्ता।कारागार भन्दा उसको चासोको बिषय भनेको लाहुरे नै थियो।तर त्यहाँ पुगेपछि उसको ध्यान अन्तै मोडियो।त्यहाँको वातावरणमा निर्जन थियो।उसले कुनै ढिलाई नगरीकन त्यहाँ कार्यरत प्रहरीलाई सम्पर्क गर्यो।
"लाहुरेलाई भेट्न सकिएला सर?"
"अवश्य सकिन्छ।तर को लाहुरे?"
जवाफ संगै उसले अनबिज्ञता प्रकट गर्दै प्रतिप्रश्न गर्यो।
"लाहुरे के त लाहुरे!चिन्नुपर्ने त खुंखार अपराधी लाई त!"
"म यहाँका प्रायः सबै कैदीहरलाई चिन्छु।तर लाहुरे नाम गरेको त कोही छैन जस्तो लाग्यो।"
उ निराश भयो।भेट्न आएको मान्छे नभएको जानकारी पाएर चिन्तित भयो।अर्कोतिर शंका पनि लाग्यो-कतै पैसाको चलखेल गरेर जेलमुक्त त भएन?नेपालको कानुन सम्झेर दया लाग्यो।घुसखोरी र भ्रष्टाचार सम्झेर रिंगटा लागेर आयो।त्यो अपराधी पक्कै त्यहाँ छैन जस्तो लाग्यो।फेरि उसले ठण्डा दिमागले सोच्यो-सायद लाहुरेको नामले यहाँ कसैले चिन्दैनन्,बैकल्पिक उपाय बिना सम्भव नहुने भयो।उसको दिमागले तुरुन्तै अर्को बिकल्प सोच्यो।
"निमा चिन्नुहुन्छ?"
"निमा?त्यो भोटे?किन नचिन्नु हजुर।उसलाई नचिन्ने को होला र?ल आउनुस् म भेट्टाइदिन्छु।"
उ फटाफट प्रहरीको पछिपछि लाग्यो।प्रहरीले एउटा बन्द कोठा देखायो।त्यो कोठाको झ्याल नभएर ढोका मात्र छ जस्तो लाग्यो।उसले ढोका खोलिदियो।एकदमै सन्नाटा छाएको अँध्यारो कोठा।सूर्यको प्रकाश छिर्ने सानो प्वाल समेत थिएन।न त त्यहाँ बत्तीको व्यवस्था नै थियो।त्यहाँ भित्र पस्दै दिशापिसाब गन्हायो।कुनै फोहोर ट्वाइलेट जस्तो।त्यो कारागार नभएर कुनै जंगली जनावर लुक्ने गुफा जस्तो थियो।उसले आफ्नो मोबाईलको बत्ती बालेर चारैतिर अवलोकन गर्न थाल्यो।एउटा कुनामा केही थोत्रा कपडा बिछ्याएका।सायद उसको सुत्ने बेड त्यही थियो।अलिक पर्तिर ट्वाइलेट,जहाँ पानीको व्यवस्था थिएन।त्यो देखेर पंक्तिकारलाई वाकवाकी लागेर आयो।गोजीबाट हातेरुमाल झिकेर मुख-नाक छोप्यो।अनि अर्को एउटा कुनामा ठिङ्ग उभिएको थियो अजीवको मान्छे।मान्छे के भनौं-खुंखार अपराधी।जंगली मान्छे जस्तै।अग्लो कद।धुलोमैलो पुरानो कपडा लगाएको।कपाल झ्याम्म पालिएको आइमाई जस्तो।दाह्रीजुँगा जुगौंदेखि नकाटेको जस्तो।आँखाहरु भित्र गढिएका।गालाहरु चाउरिएर खोपिल्टो परेका।नाकबाट एकनासले रगत बगिरहेको।हेर्दै डरलाग्दो।हातखुट्टाका नङहरु लामा-लामा।शरीर सुकेर हाडछाला मात्र बाँकी।अँध्यारोमा उसका आँखाहरु टिलपिल हुँदै टल्किए।प्रहरी र पंक्तिकारलाई देखेर उ मुसुक्क हाँस्यो।तत्कालै अट्टहास गर्दै यताउता गर्न थाल्यो।
"लाहुरे!के छ हालखबर तिम्रो?"
"खबरदार म लाहुरे होइन।म डन हुँ।तेरो साम्राज्य म छिट्टै ध्वस्त पार्नेछु।भोलिको ठिक यतिबेला दुई खोका बोकेर मलाई भेट्न आउने।नत्र तेरो खोपडी उडाइदिन्छु।ए व्यापारी!तेरो छोरा मेरो कब्जामा छ।छोराको माया भए तुरुन्तै पचास लाख रुपियाँ लिएर दर्शन गर्न आउने।म यो देशको राजा हुँ।यहाँ मेरो हुकुम चल्छ।मेरो मनोमानी चल्छ।ए कान्छी!तिमीलाई राम्रो काम मिलाइदिन्छु,मसंग मुम्बई हिंड।अरे तेरो जवानी!यतिको मस्त त कहिल्यै चाखेको थिइन।प्यारी!म तिमीलाई बिहे गरेर संगै पल्टनमा लैजान्छु।"
उसले विभिन्न हाउभाउमा संवाद बोल्यो।मानौं त्यो कारागार नभएर रंगमञ्च हो र कथाले मागे अनुसार जबर्जस्त अभिनय गर्दैछ।आफूले लगाएको थोत्रो गन्जी पनि च्यातच्युत पारेर नग्न भयो।पाइन्ट पनि फालेर भित्री कपडा मात्र राख्यो।जीउ पूरै मैलिएको थियो,मानौं त्यो जीउले जिन्दगीमा कहिल्यै पानी भेट्टाएको छैन।लाहुरेको चिन्ताजनक अवस्था देखेर पंक्तिकार बिक्षिप्त भयो।भावविभोर भयो।आँखाहरुबाट एकजोर नदी बगे।
"लाहुरे!के भयो तिमीलाई?मानसिक अस्पतालमा हिंड मसंग।"
"कहाँ हुन्छ हजुर,यहाँ आइसकेपछि कतै जान पाइन्न।जिन्दगीको अन्तिम गन्तव्य यहीसम्म हो।"
प्रहरीको भनाइले पंक्तिकार निराश भयो।उसले मानवताको नाताले गर्न सक्ने केही थिएन।केही सीप नलाग्ने देखेर पंक्तिकार त्यहाँबाट बिदा भयो।
"लौ त लाहुरे म लागें।राम्रोसँग बस है।मौका मिले फेरि भेटौंला।"
"आओ-आओ मर्दलोग,आओ।अपना काम तमाम करके जाओ।"
बिचरा लाहुरेलाई समयले यसरी बदला लियो कि उसको मानसिकताले उसलाई एउटी बेश्या आईमाई बनायो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...