Monday, 14 August 2017

सुपरस्टार

          कान्तिपूर टेलिभिजनमा पत्रकारले सोधिएका प्रश्नहरुको जवाफ बहुत रवाफपूर्ण ढंगले दिंदै थियो-एकजना चलचित्र निर्माता तथा निर्देशक।
"सर,सुपरस्टार सुरजसिंह तपाईंको आफ्नै छोरा।उहाँलाई चलचित्र दुनियाँमा ल्याएर सुपरस्टार बनाउनमा तपाइँको योगदान कस्तो रह्यो?"
"हो,उसलाई सुपरस्टार बनाउनमा मेरो ठूलै योगदान छ।आज म यही टेलिभिजनबाट एउटा कुराको खुलासा गर्न चाहन्छु।उसलाई मैले बिदेशको महंगो युनिभर्सिटीमा पढाएँ।धेरै लगानी गरें।उसलाई कुनै कुराको अभाब हुन दिईन।उसको आमा नभएपनि माया दिएर आमाको कमीको महसुस गर्न दिईन।एउटा अचम्मको कुरा त के छ भने-सुरज वास्तवमा मेरो आफ्नै छोरा हैन।"
पत्रकारले निकै कौतुहल र उत्साहित हुँदै अर्को प्रश्न सोध्यो।
"ए,सर त महान हुनुहुँदोरहेछ।सरलाई मानें मैले।सर जस्तो मान्छेलाई सलाम गर्न चाहन्छु।अनि यो भन्दिनुस् कि सुरजसित तपाईंको भेट कसरी भयो?अर्थात अहिलेको नामी सुपरस्टार सुरजलाई तपाईंले कहाँबाट ल्याउनुभयो?"
"उसलाई मैले सानैमा फुटपाथबाट उठाएको हुँ।उसलाई याद पनि छैन।उसलाई हुर्काउन धेरै दु:ख-कष्ट गरें।आफ्नै छोरा जस्तो मानेर पालनपोषण गरें।शुरुमा त उसलाई निमोनिया भएको रहेछ।अस्पतालमा लगेर उपचार गराएँ।बाँच्ला भनेर त सोचेको पनि थिईन।चन्द्रमा उसको दाहिने रहेछ र बाँच्यो।"
"तपाईं साँच्चिकै आदर्श मान्छे।हेर्दा खेरी चलचित्रको खलनायक जस्तो देखिए पनि तपाईंको वास्तविक रुप अर्कै रहेछ।"
           अन्तर्वार्ता अझै चलिरहेकै थियो।म भने आफूसँग भएको धनदौलत,नाम र इज्जत सबै एक ठाउँमा थन्क्याएर एउटा अनिश्चितकालीन यात्रामा निस्कें-छुट्टै परिचय बोकेर।एउटै मात्र कारण-सुरजसिंह अरु कोही नभएर म नै थिएँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...