Sunday, 6 August 2017

आनी-१५

                    भाग-१५  
         जताततै आधुनिक प्रविधिबाट बनाइएका शानदार तथा गगनचुम्बी भवनहरु।काठमाडौं शहरको जस्तै तर त्यहाँका भन्दा तुलनात्मक रुपमा अग्ला घरहरु।कहिल्यै लोडसेडिङ नहुने झिलिमिली शहर।फराकिला सडक,व्यवस्थित बिधुतीय ट्राफिक इशाराहरु।नेपालको जस्तो खाल्डाखुल्डी नभई पक्की सडक।बस,मिनिबस,कार,भ्यान,रिक्सा,साइकल र मोटरसाइकल जस्ता सवारी साधनहरु आ-आफ्नै गतिमा हुँइकिरहेका।सडक पार गर्नै नसकिएला झैं।तर ठाउँ-ठाउँमा भएका इशारा र जेब्राक्रसिङहरुको व्यवस्थापनले गर्दा पैदलयात्रीहरु सहजै वारपार गरिरहेका।मान्छेहरुको भीड काठमाडौंको जस्तै।हामी दुई जना पनि त्यही भीडमा हराइरहेका थियौं।रुमल्लिएका थियौं।जे भएपनि नयाँ दिल्लीको शहर विकसित र भव्य थियो।समग्रमा दिल्ली मैले कल्पना गरेको भन्दा निकै फरक रहेछ।एकछिन त म हेरेको हेर्यै भएँ।नतमस्तक भएँ।मन्त्रमुग्ध भएँ।प्रभावित भएँ।पहिलोपटक त्यस्तो ठूलो र भव्य शहरमा पाइला टेक्न पाउँदा मेरो खुट्टा भुइँमै थिएन।चन्द्रममा पाइला टेकेको बढ्ता सफल ठानें आफूलाई।मेरो पुलकित मन त्यो ब्यस्त शहरको आकाशमा यताउता उडिरहेको थियो।हवाइजहाज जस्तै।पंक्षी जस्तै।स्वर्गमा पुगेको हो कि दिल्लीमा पुगेको-दोधारमै थिएँ।लाहुरेले त्यत्रो भीमकाय शहरमा पुर्याएकोमा उसलाई खुब मायाको नजरले हेरें।
"लाहुरे!तिमीलाई धेरै-धेरै धन्यवाद।दिल्ली यतिको रमाइलो होला भनेर त मैले सोचेकी पनि थिइन।तिमीले मेरो मन जितेरै छोड्यो।अब म तिमीले जे भन्छौ त्यही मान्छु।तिमी कति असल मान्छे।"
"मैले भनेकै हो नि।भारत देखेपछि त्यतै बस्न खोज्छ्यौ भनेर।गाउँघरको याद आयो कि नाइँ अहिले?"
"गाउँघरको माया पनि आफ्नो ठाउँमा छँदैछ नि लाहुरे।भारत आफ्नो ठाउँमा र नेपाल आफ्नै ठाउँमा।तुलनात्मक हिसाबले हेर्ने हैन नि।"
"आज भारत राम्रो भन्यौ।भोलि देखि सबै बिर्सिनेछ्यौ।"
"मातृभूमि लाई कहिल्यै बिर्सन सकिन्न लाहुरे।बिश्वको जुनसुकै कुनामा पुगेपनि मन त नेपाली नै हुन्छ नि।"
साँच्चिकै केही समयमै दिल्लीले मलाई सम्मोहित गरिसकेको थियो।मेरो मनले एकैचोटी १८०° को कोणले फन्को मारिसकेको थियो।सधैं भारतमा नबसे पनि तत्कालको लागि छोड्न मन भने लागेन।अझै धेरै घुम्नु थियो।हेर्नु थियो।बुझ्नु थियो।अझ मलाई खेद त यस कुरामा लाग्यो-कतै मैले स्वदेश तथा मातृभूमि लाई चटक्कै त भुल्दिन?कतै मबाट महापाप त हुँदैन?देशभक्त मान्छे अप्रत्याशित ढंगले बिदेशभक्त त हुन्न?यदि त्यसो भैहाल्यो भने मातृभूमिको सराप लाग्नेछ।नेपाल आमाको अश्रुले भतभती पोल्नेछ।मन अस्थिर भएर आयो।यो मन किन एकाएक परिवर्तन हुँदै थियोे-मलाई नै थाहा थिएन।स्वदेशको याद कम आउनु र बिदेशको रमझममा भुल्दै जानु पक्कै पनि सकारात्मक लक्षण थिएन कि।खैर,जेसुकै भएपनि मन बेहद खुशी थियो।हर्षको कुनै सिमाना थिएन।हर्षको लहर व्यापक हुँदै थियो।
"डोल्मा!तँ राष्ट्रघाती त हैनस्?देशद्रोही त हैनस्?मान्छे कसरी देशद्रोही हुन्छन् हँ?बिदेश प्रतिको मोह बढेर त हैन?नत्र आफ्नै देशको हित बिपरित कसरी जान सक्छन् मान्छेहरु?अहँ!म देशद्रोही हुनै सक्दिन।मैले देशको हित बिपरित के नै गरेकी छु र?बिदेशमा क्षणिक रुपमा रुमल्लिँदैमा के स्वदेशलाई भुल्न सकिन्छ र?"
मन एकातिर खुशी भएपनि अर्कोतिर अनेक सवालहरुका ज्वालामुखी बिस्फोट हुँदै थियो।सायद मैले अनावश्यक सोचेकी पो थिएँ कि।मनलाई स्थिर बनाउन खोजें।त्यहाँको बाह्य वातावरणतिर नजर लाएर मनलाई फकाउन थालें।भुलाउन थालें।
         भौतिक संरचनाको हिसाबले विकसित भएपनि दिल्लीमा धेरै कुराहरुको कमी देखें।मेरो चेर्दुङ लेकमा भएका प्राकृतिक सुन्दरता त्यहाँ हुने कुरै भएन।मुख्य कुरा त त्यहाँ क्षितिज संगै सुर्योदय र सूर्यास्तका दृश्यहरु देख्न नपाइने रहेछ।साँझ झमक्क परिसकेको थियो।भीडबाट मानिसहरू क्रमश पातलिँदै गए।सायद आ-आफ्ना बासस्थान तर्फ उन्मुख भए होलान्।हामी पनि सुरक्षित गन्तव्य तिर लाग्नुपर्ने देखियो।
"लाहुरे!रात र पर्न लागिसक्यो।आजको बसाइँ कता हो?होटलमा कि कता?"
"यहाँ दिल्लीमा मेरो साथीको कोठा थियो।म उसलाई फोन गरेर सोध्छु।त्यता मिल्यो भने खर्च पनि जोगिने र सुरक्षित पनि भइने।"
उसले कसैलाई फोन गरेर हिन्दीमा के-के भन्यो।मैले बुझ्ने कुरै भएन।सायद बासस्थानको टुंगो लाउँदै थियो होला।
"डोल्मा!अहिले मेरो साथी दिल्लीमा रहेनछ।अन्तै रहेछ।आजको लागि हामी होटलमै जानुपर्ने भयो।महंगोमा त सकिन्न,ठिक्कको होटलमा जाऔं।मलाई सबै थाहा छ यहाँको बारेमा।तिमीले चिन्तै लिनुपर्दैन।"
हुनपनि उसैको आशा,बिश्वास र भरोसामा दिल्ली आएकी थिएँ।उसले त्यति भनेपछि म ढुक्क भएँ।
"अनि लाहुरे!तिम्रो जागिर खाने ठाउँमा कहिले जाने हो र?छुट्टी पनि सकिन लाग्यो भन्छौ?"
"मेरो जागिर त अझै टाढा छ डोल्मा।यहाँ त हामी घुमघामको लागि पो आएका हौं त।छुट्टी अझै दुई दिन छ।तिमीलाई दिल्लीको नामि ठाउँहरु देखाएर मात्र जागिरमा जाने।भर्खरै त हाम्रो विहे भएको छ।केही दिन त मोजमस्ती गर्नुपर्यो नि।जागिरमा लागेपछि फेरि जागिरका जागिर गर्नुपर्छ।वाक्कदिक्क भइन्छ।"
"मेरो राजा!मलाई कति धेरै माया गर्छौ है?मेरो लागि कति दु:ख गर्छौ लाहुरे?"
"यो त के हो र डोल्मा?तिम्रो लागि त ज्यानै दिन पनि पछि पर्दिन।"
"ज्यान दिने कुरा चाहिँ नगर क्या।मेरो मन रुन्छ।"
साँच्चै उसको कुराले मेरो मुटुमै चस्स छोयो।भावविभोर भएर उसको आलिंगनमा बाँधिएँ।थाहै नपाइ आँखाबाट साउने भेल उर्लिसकेछ।
"अब यसरी डुलेर हुन्न डोल्मा।गन्तव्यतिर लाग्नुपर्छ।म ट्याक्सी बोलाउँछु।"
यति भनेर उ सरासर गएर प..र रोकिएको ट्याक्सी ड्राइभर संग कुरा मिलायो।हातको इशाराले उसले मलाई पनि उतै बोलायो।म दौडेर पुगिहालें।हामी ट्याक्सीमा चढेर होटलतर्फ प्रस्थान गर्यौं।शहरको दृश्य हेरेर अघाएकै थिइन।बाँकी कुराहरु भोलि हेर्ने आशा लिएर होटलमा पुग्यौं।होटेलको सामने झरेर ठिङ्ग उभिएर हेरें।होटल खासै स्तरीय लागेन।गोंगबुको पुजा होटल जतिको राम्रो पनि लागेन।
"लाहुरे!यो होटल त सस्तो खाले हो क्यारे।खासै राम्रो छैन।बरु अर्को होटलमा जाऔं।होटलको साइनबोर्ड पनि छैन।के नाम हो कुन्नि होटलको?"-कौतुहल हुँदै सोधें।
"नाम किन चाहियो र डोल्मा?हामीलाई त बस्न चाहिएको।फेरि नेपालको जस्तो सस्तोमा कहाँ पाइन्छ र?आजलाई यतै गुजारा चलाऔं।राम्रो रहेनछ भने भोलि बिहानै अर्को होटलमा जाउँला।अहिले रात पनि परिसक्यो।"
मैले निन्याउरो मुख लाएर शीर हल्लाउँदै उसको कुरामा सहमत भएँ।उसले रिसेप्सनमा गएर चाबी लियो।सरासर कोठामा छिर्यौं।सानो कोठामा एउटा सानो बेड मात्र रहेछ।एट्याच बाथरुम पनि थिएन।सिलिङमा फ्यान झुन्डिएको थियो।न टेबल,न कुर्सी।पुजा होटल त कहाँ हो कहाँ स्तरीय।
"बेकारमा आइएछ डोल्मा यो होटलमा।केही सुविधा रहेनछ।बसौं कि के गरौं?पैसा नतिरी जान दिंदैनन् होला।"
"होस लाहुरे आजको लागि दु:खसुख यतै रात गुजारौं।यति राती कहाँ जानु?"
"ल हुन्छ।त्यसो भए तिमी बस्दै गर।म खानेकुराको बन्दोबस्त गरेर आउँछु।चुकुल लाएर बस।बाहिर ननिस्क।कसैको बिश्वास हुन्न यहाँ।"
"ल ल लाहुरे!छिटो आइहाल है।"
यति वार्तालाप पश्चात् उ बाहिरियो।म एक्लै के-के सोचेर टहलिँदै बसिरहें।दिनभरीको यात्राले थकित त शिथिल भैसकेकी थिएँ।पेटमा गाइँगुईं गरेर मुसा पनि दौडिन थाल्यो।मुख पनि सुकेर च्याप्प-च्याप्प भयो।करीब आधा घण्टा जति भयो तर लाहुरे अझै आएन।उसको पर्खाइमा बस्दा-बस्दा वाक्क भएँ।किन लाहुरे आएन होला भनेर उत्सुक भएँ।मलाई त्यो साँगुरो कोठामा बस्न मनै लागेन।सास फेर्नै गाह्रो भयो।लाहुरेले बाहिर ननिस्क भनेपनि अटेरी भएर निस्कें।रिसेप्सनमा पुग्नै लागेकी मात्र के थिएँ,लाहुरे एउटा ब्रीफकेस बोकेर फटाफट बाहिर निस्क्यो।एकछिन त दोधारमा परें।लाहुरेको जीउडाल संग मिल्ने अरु कोही पनि हुनसक्थ्यो।तर लाहुरेकै जस्तो कपडा लाएको थियो।राम्रोसँग हेरें-उ नै थियो।म झन कौतुहल भएँ-लाहुरे किन र कहाँ जाँदैछ?बाहिर जाने भए उसले मलाई किन भनेन?उसलाई सोध्नुपर्यो भनेर म हतार-हतार बाहिर निस्कन खोजें।उतिनै बेला दुई बलिया हातहरुले मेरा दुबै पाखुरा तिर च्याप्प-च्याप्प समाए।काला-काला,अग्ला र बलिया ती दुई भुसतिघ्रेहरुले मलाई घिसारेर भित्रै लगे।
"लाहुरे!लाहुरे!लाहुरे!......तिमी कहाँ छौ लाहुरे?मलाई यिनीहरुले किन समाएका?मलाई पनि संगै लैजाउ लाहुरे!"
उसको नाम लिएर रोएँ,कराएँ,चिच्याएँ।तर लाहुरे फर्केर आएन।ती भुसतिघ्रेहरुले मलाई इशाराले माथि जाउ भने।म सरासर पहिलो तल्लामा उक्लें।त्यहाँ बरन्डामा केही युवतीहरु होहल्ला गर्दै थिए।ओठमा लाली,मुहारमा पाउडर घसेका,छोटा-छोटा कपडा लाएका र उताउली ती युवतीहरु बाहिरतिरै हेरेर जोड-जोडले कराउँदै थिए।
"आओ,आओ!मर्दलोग आओ।अपना काम तमाम करके जाओ।"
मैले उनीहरुको सबै कुरा स्पष्ट त बुझिन तर मर्द,आओ,काम,तमाम र आओ शब्दहरु भने प्रष्टै बुझें।मेरो मनमा शंकाको बादल मडारियो।डरले मुटु ढुक-ढुक गर्न थाल्यो।म सरासर ती युवतीहरु भएकै बरन्डामा गएर सोधें-
"यो कहाँ पर्यो?म कहाँ छु।किन छु।तिमीहरू किन कराएका?"
"वाह रे!नई मछली फस्गई रे!गया तु।"
मैले त्यो युवतीको कुरा बुझिन।अश्रुभेलले मुख नुनिलो हुँदै थियो।मेरो हालत देखेर एकजना अर्धबैशे आईमाई नजिक आइन्।
"बहिनी!तिमी नेपाली हो?"
उनको कुराले म फुरुङ्ग भएँ।हराएको सामान भेट्टाए जस्तो प्रफुल्ल भएर जवाफ र प्रश्न एकैपटक दिएँ।
"हो नि दिदी।यो कस्तो ठाउँ हो दिदी?दुईजना मान्छेले मलाई घिसारेर किन ल्याए?म मेरो लाहुरे भेट्न जाँदै थिएँ।"
"अब तिम्रो लाहुरे कहिल्यै आउँदैन बहिनी।"
"किन दिदी?"
"उसले तिमीलाई बेचेर गैसक्यो।देखेनौ हातमा पैसाको ब्रीफकेस?यो कोठी हो बहिनी कोठी।यहाँ दैनिक हजारौं पुरुष आएर यौनप्यास मेटेर जान्छन्।हामीले नै उनीहरुलाई तृप्त बनाएर पठाउँछौं।"
दिदीको कुराले म एक्कासी छाँगाबाट खसेझैं भएँ।म बेचैन भएँ।पागल भएँ।
"हैन दिदी,मेरो लाहुरेले मलाई चोखो माया गरेको छ र गर्छ।उसले मलाई बेच्न सक्दैन।यो हुनै सक्दैन।"
"भैसक्यो बहिनी भैसक्यो।तिम्रो जवानीको किनबेच भैसक्यो।मैले सुने अनुसार तिमीलाई हाम्रो मालिकनीले निकै महंगोमा किनिन् रे।यहाँ कसैको बिश्वास हुन्न बहिनी।मलाई पनि केही बर्ष पहिले आफ्नै मान्छेले बेचेर गयो।शुरुमा त नर्क झैं लाग्थ्यो।अब त बानी परिसक्यो।"
म झन-झन चिन्तित र बेहाल हुँदै गएँ।मनबाट पीरका ज्वारभाटा उम्लिन थाले।मेरो मस्तिष्क अचेत जस्तै भयो।केही सोच्नै सकिन।जीवनमा ठूलो आँधीबेहरी आएर उथलपुथल बनाइसकेको थियो।मेरो सारा सपनाको संसार चकनाचुर भयो।शिशमहल लाई पत्थरले प्रहार गरेजस्तो भयो मेरो जिन्दगी।म उभिएको धरातल अचानक भासिएझैं लाग्यो।
"गुहार दिदी!मलाई बचाउनुस्।म यहाँबाट उम्किन चाहन्छु।यो नर्कबाट मलाई पार लाइदिनुस् दिदी।"
"माफ गर बहिनी।अब यहाँबाट उम्किनु असम्भव नै छ।म कुनै मद्धत गर्न सक्दिन तिमीलाई।मार्छिन् मालिकनीले।यहाँबाट
उम्किने एउटै मात्र उपाय भनेको उनले भनेजतिको पैसा तिर्नु मात्र हो।अरु कुनै उपाय छैन।उनको धेरै ठूल्ठूला मान्छेहरुसंग संगत छ।हाम्रो केही लाग्दैन।पुलिसले पनि छुन सक्दैन उनलाई।त्यति शक्तिशाली छे।मसंग प्रशस्त पैसा भएको भए नेपाली चेलीबेटीको नाताले पनि तिमीलाई यो नर्कबाट बचाउने थिएँ।तर म लाचार छु बहिनी।म पनि तिमी जस्तै निरीह छु।"
"पुलिसको मद्धत लिन सकिन्न र दिदी?पुलिसको नम्बरमा फोन गरिदिनु न।कसरी हुन्छ,आफूलाई जोगाउनुछ।"
"पुलिसको पनि के आशा गर्नु र बहिनी।यहाँका पुलिस पनि नेपालको जस्तै भ्रष्ट छन्।बिना पैसा केही हुन्न।दु:खमा सहानुभूति दिनु बाहेक म पनि केही गर्न सक्दिन।अब त आफैंलाई घृणा लाग्न थालेको छ।बरु तिमी आफैं सोचबिचार गर।"
अन्तिम बिकल्प पनि असफल भएपछि म निराश र उदास भएँ।यौनपिपासुहरुको सिकार हुने नै भएँ।आफूलाई माया गर्छु भन्ने लाहुरेले नै बेचेर गएपछि अरुबाट त के नै आशा राख्न सकिन्छ र?मेरो जीवन समाप्त भएको ठहर गरें।अरु कुनै भरपर्दो उपाय पनि त थिएन।मानव तस्कर लाहुरेलाई सामू भेटेको खण्डमा घाँटीमा टोकेर आलो रगत घटघटी पिउन मन लाग्यो।तर उ त पैसा टन्न कमाएर गैसकेको थियो।फेरि भेटिने कुरै भएन।पूर्णे जस्तो उज्ज्वल जीवनमा एकैछिनमा खग्रास ग्रहण लागिसकेको थियो।बाँचेर फर्किने कुनै आश बाँकी रहेन।दुई नयनबाट गंगा-जमूना बग्न थाल्यो।अविरल बग्न थाल्यो।पानी नभई रगतको नदी बग्यो।भुइँमा थचक्क बसेर बिलाप गर्न लागें।तर मेरो हालत कसले बुझिदिने?मेरो आवाज कसले सुनिदिने?मलाई कसले दु:खको भूमरिबाट निकाल्ने?कोही थिएन त्यस्तो साहसी नायक।फिल्ममा जस्तो भित्ता फोडेर आई बचाएर लैजाने हिरो कोही आउने वालामा थिएन।आफ्नो ज्यान माया मारें।
"ॐ माने पेमे हुँ.....हे बुद्ध भगवान!मेरो रक्षा गर।मलाई शक्ति देउ।मलाई बचाउ बुद्ध!म तिम्रो शरणमा आएकी छु।म तिम्रो चेलो बन्न चाहन्छु,मलाई उद्धार गर।मलाई बाटो देखाउ।"
भगवानलाई पुकारेर पनि केही हुने संकेत देखिएन।त्रेतायुगमा भए भगवान कुनै मनुष्यको रुपमा आएर बचाउने थियो।तर कलियुगमा भगवानको बिश्वास पनि उडिसकेको थियोे।भगवान प्रति आस्था भएपनि पूरै भरपर्ने अवस्था थिएन।अब कसैको भरपर्नु उचित लागेन।जे गर्नुछ,आफैंले गर्नुपर्छ भन्ने मान्यता मस्तिष्कमा सल्बलाउन थाल्यो।
       म पूर्णरूपमा समस्याको दलदलमा फसिसकेको थिएँ।उम्किने त कुनै बाटो नै देखिन।अब कमजोर र निराश भएर केही काम थिएन।यसै त नारीको जात,कमजोर हुनेबित्तिकै त्यसै पनि लुटिन्छन्।अब मुटुलाई नौनी जस्तो कोमल हैन छुरी जस्तो धारिलो बनाउनुको बिकल्प थिएन।पत्थर जस्तो चाम्रो बनाउनु थियो आफूलाई।बुद्धि र विवेक लाई संयमित भएर प्रयोग गर्नु थियो।बिलौना गर्दागर्दै रातको ११ बजिसकेको थियो।
"दिदी!अब यी दलालहरुले के गर्छन् त?मैले कसरी बच्नुपर्छ?"-मैले त्यो दिदीलाई सोधें।
"अब तिमीलाई फकाइफुल्याइ मीठो-मीठो खानेकुरा ख्वाएर मख्ख बनाउनेछन्।अनेक लोभ-लालच देखाउनेछन्।माया देखाए जस्तो गरेर एउटा कोठामा सुत्न पठाउनेछन्।तिम्रो फोटो पनि हाम्रै समूहमा मिसाएर ग्राहकलाई देखाइनेछ र मोलमोलाइ हुनेछ।कसैले तिमीलाई मनपराए भने भरपूर पैसा तिरेर तिम्रो शरीरसंग खेल्न आउनेछन्।तिमीले सहर्ष स्वीकार्यौ भने लुछ्नेछन्,खेल्नेछन् र प्यास बुझाएर जानेछन्।तर यदि तिमीले आनाकानी गर्यौ या मनाहा गर्यौ भने कि त खानेकुरामा औषधि मिसाएर बेहोस बनाउनेछन्,कि दुईतीन जना पठाएर हातखुट्टा समाएर बलात्कार गर्नेछन्।"
दिदीको कुराले मलाई ठूलो झट्का दियो।मुटुको धड्कन रोकिएला झैं भयो।सास टुट्ला जस्तो भयो।सबै घटना नमीठो सपना झैं लागिरहेको थियो।तर त्यो कुनै सपना नभएर तीतो सत्य थियो।मैले मनमनै आफूलाई मुक्त गर्ने आइडिया सोच्न थालें।चानचुने योजना बनाएर त्यहाँबाट उम्किने कुनै सम्भावना थिएन।त्यो पूरै रात जाग्राम बसेरै बित्यो।म कोठामा गएर सुत्न लागें।भाग्यबश त्यो रात कुनै ग्राहक आएन।मालिकनीबाट पनि त्यस्तो कुनै क्रूर आदेश भएन।
            मैले कोठीबाट ठूलै युद्ध लड्नु थियो।नत्र मेरो खैरियत थिएन।यसैपनि म ठूलो खाडलमा फसिसकेको थिएँ।हिम्मत र साहस जुटाएर संघर्षमा उत्रन सके मात्र मेरो अस्तित्व सम्भव थियो।रोएर,बिन्ती गरेर मात्र केही होला जस्तो नदेखेपछि जिन्दगी दाउमा राखेर खतरा मोल्नुको बिकल्प थिएन।मैले मनमनै दृड संकल्प लिएर एउटा भयंकर तथा भयावह योजना बनाएँ।त्यो योजना सफल भए म नेपाल फर्किन सक्ने थिएँ।बिहानको खानापछि कोठीकी मालिकनीले मसंग भेटघाट गरिन्।शुरुमा मैले आफूलाई मुक्त गर्न अनुरोध गरें।रोए जस्तो गरें।हिन्दी नआएपनि नेपालीमै बोलें।
"साउनी मलाई जान दिनुस्।यस्तो पाप नगर्नुस्।म भर्खरकी केटी हुँ।मलाई केही थाहा छैन।कसैले फसायो।म यहाँ रहन सक्दिन।"
मेरो कुरा नबुझेपछि एकजना नेपाली केटीलाई उल्था गर्न लगाई।
"तँलाई एक लाख रुपियाँमा किनेकी हुँ।कसरी छोड्न सक्छु र?जाने भए एक लाख खुरुक्क निकाल।"
"मैले कहाँ बाट निकाल्ने?"
"त्यसो भए धन्दा गर।"
मेरो केही लागेन।पैसा तिर्न पनि सम्भव थिएन।म कोठामा गएर बसेकी थिएँ।एकजना मोटो,अग्लो मान्छे आएर बिस्फारित नयनले हेर्दै थुक घुटुक्क निल्न थाल्यो।
"कपडे उतारो।"
उसको कुरासंगै इशारा हेर्दा कपडा खोल भने जस्तो लाग्यो।भयले थरथर काम्न थालें।उसको आज्ञा पालन नगरे ख्वाप्पै खाउँला झैं गरी अगाडि बढ्यो।मैले बिस्तारै बाह्य वस्त्र उतारें।उ हर्षित हुँदै मेरो शरीरमा स्पर्श गर्न थाल्यो।मैले सहँदै गएँ।हुँदाहुँदै उसले मेरो बक्षस्थल लगायत संवेदनशील अंगहरुतिर हात बढायो।एउटा राक्षसको साक्षात रुप अगाडि देखिएझैं लाग्यो।मुटु ढुकढुक गर्दै तीब्र गतिमा धड्किन थाल्यो।उसको मुख मेरो कलिलो मुनातिर सल्बलाउन थाल्यो।उसले मेरो भित्री वस्त्रहरु पनि एकाएक उतार्यो।आफूले चाहेको चीज पाउनेमा उ शतप्रतिशत ढुक्क थियो।अब मैले धेरै ढिलाइ गरें भने मेरो अस्तित्व मेटिने निश्चित थियो।मैले बनाएको योजना सफल बनाउनै पर्थ्यो।सिरानी मुनि हात हालेर योजना मुताविक राखिएको धारिलो चक्कु निकालेर उसको घाँटी रेटिदिएँ।फेरि-फेरि दोहोर्याइ-तेहेर्याइ रेटिरहें।बेडमा रगतको खोला बग्यो।त्यो मान्छे त्यही बेडमा घोप्टियो।मैले आफ्नो योजना सफल पारें।चक्कु हातमा लिएर भाग्न थालें।त्यहाँ कार्यरत बाउन्सरहरुले रोक्न खोजे।तर म कराउँदै,चक्कु देखाउँदै अगाडि बढें।चक्कुमा रगतको छिटा देखेर उनीहरू डराए।अन्तत:कोठीबाट भाग्न त सफल भएँ।तर नौलो ठाउँमा कहाँ जाने,के गर्ने भनेर अन्यौलग्रस्त भएँ।भाग्दा-भाग्दै पुलिसको भ्यानले लेखेट्न थाल्यो।मेरो केही जोड चलेन।पुलिसद्धारा समातिएँ।सिधै जेलमा थुनियो।पुलिसले केरकार गर्न थाले।मैले नढाँटीकन सत्य-सत्य बताएँ।त्यो धन्दाकी आइमाइले पैसाको बिटो पछारेको हुनुपर्छ-शुरुमा मलाई चरम यातना दिए।हत्केला र पैतालामा लाठीले प्रहार गरे।जीउमा पानी खन्याउँदै मारपिट गरे।जेलभित्रै रगतम्य भएँ।कुकुरले समेत नखाने खालको खाना ख्वाए।बाँच्नको लागि भएपनि खानैपर्थ्यो।नानाभाती भनेर गाली दिए।ती गाली म कहिल्यै बिर्सिन्न।
"साला च्युतिया!राँड!बेश्या!तेरी गाँड मारुँगा।"
शारीरिक यातना संगै दिइएको मानसिक यातनाले म आजित भैसकेकी थिएँ।नर्कमा बरु त्यतिको सजाय र यातना दिइँदैन होला।पुलिस हरु पालैपालो आएर भक्कु भकुर्थे।लगातार महिनौं दिनसम्म क्रूरतापूर्वक पिटाइ खाँदा-खाँदा शरीर जीर्ण हुँदै थियो।सुकेर हड्डी र छाला मात्र भएँ।नारकीय जीवन जिउन बिबश थिएँ।ती कहालीलाग्दो दिनमा कति रोएँ,कराएँ र बिन्ती गरें-मलाई छोडिदेउ,मेरो गल्ती छैन।तर ती पापीहरुले के सुन्थे र!कहिलेकाही त प्रहरी अधिकृत आएर मेरो संवेदनशील अंगहरुसंग खेल्थे।बलात्कार गर्न खोज्थे।जेलमा बदला लिनलाई हतियार पनि थिएन।नत्र मैले कोठीमा जस्तै प्रहार गर्ने थिएँ।मेरो मनबाट डर-त्रास सबै बसाइँ सरिसकेका थिए।घामको प्रकाश छिर्न नसक्ने त्यो जेलको चिसो छिंडी र क्रूर यातनाले मेरो ज्यान बूढो रुख जस्तै भएको थियो।जतिखेर पनि ढल्न सक्थें।बिमारी भएर इन्तु न चिन्तु हुँदा पनि औषधि उपचार पाइन।प्रशासन र कानुनको नजरमा म खुंखार अपराधी थिएँ।पुलिस भन्थे-
"ए लड्की बहुत खतरनाक किलर है।इसको नही छोड्न चाहिए।"
तर उनीहरुले कहिल्यै भनेनन् कि म एक बेचिएकी पीडित चेली थिएँ।नारीको पीडा,मर्म र ब्यथा बुझ्ने संसारमा कोही नहुनेरहेछन्।हुनको लागि म हत्यारा थिएँ।तर मेरो मर्जीले हत्यारा भएको थिईन।मलाई समय,बाध्यता र परिस्थितीले हत्यारा बनायो।अपराधी बनायो।तर म खुशी थिएँ।बेचिएपनि कोठीबाट उम्कन सफल भएँ।कदंकदाचित कानुनले मलाई मृत्युदण्द नै दिएपनि म हाँसीहाँसी जीवन उत्सर्ग गर्न तयार थिएँ।कोठीमा बारम्बार मर्नु भन्दा बरु एकैचोटी मर्नु कता हो कता उपयुक्त थियो।फाँसीको फन्दामा परेपनि मलाई शानदार मृत्यु स्वीकार थियो।जे नहुनु भैसकेको थियो।व्यवधानसंग जुध्नु नै मेरो एउटै उदेश्य रह्यो।मैले आफूलाई मानसिक रुपमा शक्तिशाली बनाएँ।पुलिससंग नेपाली र हिन्दी मिसाएर बाझ्न थालें।
"ए साला हो!सकता है तो गोली ठोकेर मार।किन तड्पाता है?हम नेपालकी छोरी है।कमजोर नही ठान।बुझिस्?हमको अदालतमा पेश गर।मुद्दा लड्ता है।वकिल राख्ता है।"
मैले त्यति भनेपछि सायद पुलिसले कुरा बुझेछन्।केही दिनपछि अदालतमा पेश गर्ने भए।मैले वकिल राख्न पाएँ।वकिलले घटनाको यथार्थ विवरण माग्यो।मैले दिएँ।उसले मलाई जीतको आश्वासन दियो।मैले केही राहतको अनुभूत गरें।मरिसकेको मेरो आशाको मुना पुनः पलाउन थाल्यो।जीवनमा रहरका किरणहरु सल्बलाउन थाले।मृत्युको मुखमा पुगेर पनि फर्कने बाटो पाउँदै थिएँ।ढल्न लागेका आस्थाको खम्बा उठाउँदै थिएँ।बिलाएका सुखहरु मेरै बाटो हेरेर बस्न थाले।मनमा नौलो उमंग,चाह,उत्साह र खुशीका लहरहरु लस्करै लाम लाएर आउँदै थिए।वकिलको आश्वासनले थप उर्जा मिल्यो।हार र जीत भन्ने कुरा त भविष्यकै गर्भमा थियोे।तर मैले आफ्नो न्यायको लागि लड्ने सुवर्ण अवसर पाएँ।मैले हर हालतमा मुद्धा जित्नै पर्थ्यो।हारेको खण्डमा मृत्युअदण्डको सजाय निश्चित थियो।हारेपनि मेरो केही गुनासो थिएन।किनभने लड्दा-लड्दै मृत्युवरण गर्नु चानचुने कुरा थिएन।त्यस्तो खाले मृत्यु सार्थक मृत्यु हुने थियो।मलाई हारेर पनि जित्नु थियो।खास मैले जितिसकेकी थिएँ।मेरो युद्धको मोर्चा भनेकै कोठी थियोे।त्यहाँ बाट मैले शानदार जीत हाँसिल गरेकी थिएँ।मान्छेले एकदिन त मर्नु नै पर्छ।तर अन्यायमा पिल्सिएर भएको मृत्यु तल्लोस्तरको हो।मलाई माथिल्लोस्तरको मृत्यु चाहिएको थियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...