भुइँ बाट नियाल्दा
टोपी नै खस्ने
उत्तानै पर्ने
विश्वकै अग्लो टावर बुर्ज खलिफामा
चढेर तल हेर्न चाहन्न म
किन कि माथिबाट हेर्दा
भुइँमान्छे सानो देखिन्छ
उसो त म पनि कहाँ आकाशको हुनु
मेरो औकातले नै कहाँ भ्याउनु
म त भुइँमान्छे
बरु भुइँबाटै संसार हेर्छु।
गिट्टी,सिमेन्ट,बालुवा र रडबाट निर्मित
पक्की घरमा निंदाउने
चाहना छैन मेरो
झुपडीमा सन्तुष्टिको सास फेरेर
चैनले निँदाउन चाहन्छु
किनभने
खरको छानोमा
बर्षाको पानीले स्पर्श गर्दाको
मीठो धुन खुब मनपर्छ मलाई
लाखौंको पलाङमा सुत्नुभन्दा
भुइँमा गुन्द्री डस्ना बिछ्याएर
मीठो सपना देख्न खुब मनपर्छ।
बिदेशी ब्रान्डेट खानाहरु
मेकडोनाल्ड,के एफ सी,पिज्जा र बर्गर
खोज्दैन मेरो जिब्रोले
पौरख र पसिनाले फलाएको
दालभात,तरकारी र गुन्द्रुक-ढिंडोनै
मेरो लागि काफी छ
किनभने मेरो गहिरो माया
नेपाली माटोसंग छ।
सुट्बुटमा ठाँटिएर
कानमा हेडसेट कोचेर
लेडी ,ब्रायन र जस्टिन का
अंग्रेजी गीतहरु सुन्नु छैन मलाई
दौरासुरुवाल लाएर
पाउमा हातीछाप चप्पल उनेर
रेडियो काँधमा झुन्ड्याएर
सैलुङको पाखामा
गाइभैंसी चराउँदै
"म हुँ नेपाली बाबु "
"चौबन्दीमा पटुकी "
यस्तै गीतमा रमाउँछु।
हो,कसैले रोक्न सक्दैन
नेपाली पोशाक लगाउन बाट
कसैले छेक्न सक्दैन
नेपाली खाना खान बाट
नेपाल प्रति बिछट्टै माया छ हाम्रो
माटोको माया छातीभरी छ
राष्ट्रियता रक्तबीजमा दौडिएको छ
तर बिडम्बना
कर्णालीका केही जनतालाई हेर्नुस्
छेक्ने रहेछ दालभात खानबाट
दुई छाक सिस्नु-ढिंडो खानबाट
खाने मुखलाई जुँगाले नछेकेपनि
छेक्ने रहेछ गरिबीले!
छेक्ने रहेछ अभावले!!
No comments:
Post a Comment