आम्मै नि!
कस्तो रहर जागेको छ मलाई
कवि हुन!
तर रहरले नहुँदोरहेछ
कहरले नहुँदोरहेछ
अक्कल चाहिनेरहेछ।
कविहरुको कविता पढेर,सुनेर
कविताले छोएकै हो
अछूत हुन सकिन
कति सहजै लेखेका
अनि सहजै सुनाएका
अनि कति चर्चित भएका
र त मलाई पनि जोश चलेको
कवि बन्न।
लेख्न थालें
सुनाउन थालें
तर मेरो कविता
कविता बन्न सकेन
फगत भावना मात्र
अकविता मात्र!
मेरो हर्कतले
मेरो शब्द प्रहारले
बरु घाँटी रेट्यो कविताको
बलात्कृत भयो कविता
कारण
मैले कविता जोडेको रहिनछु
कविता तोडेको रहेछु
कथित कवि बन्ने होडमा
कविताको ता तोडेर
कवि बनेको रहेछु।
कवितालाई मबाट
अन्याय भएपछि
न्याय दिन नसकेपछि
कवि मा ता जोड्न नसकेपछि
मैले छोडेको हुँ
कविता लेख्न
राजीनामा दिएको हुँ
कवि बाट।
No comments:
Post a Comment