Wednesday, 16 August 2017

आनी-१९

                    भाग-१९
         टिलपिल चम्कने ताराहरु ब्रह्माण्डबाट लोप हुने क्रममा थिए।आफ्नो ज्वालन्त जीवनलाई उत्सर्ग गरेर पृथ्वीमा उज्यालो ल्याउँदै थिए।नव बिहानीको उदय हुँदै थियो।नभन्दै पूर्वी क्षितिजबाट हामीलाई नौलो आशाको किरण पस्किँदै सूर्यनारायण झुल्क्यो।शरीरलाई न्यानोपनको साथै भिटामिन 'डी' प्राप्त हुने आशाले आमाछोरा कौशीमा निस्की कुर्सीमा बसेर गफिन थाल्यौं।मेरी आमासँगको दूरी घटेर सामिप्यता बढिसकेको अवस्था थियो।आमाको महत्व तथा मातृत्वको मूल्य चुलिएको र ममताको सिमा बिस्तार भैसकेको थियो।दिन त आमाले पहिले पनि अगाध माया दिनुभएकै थियो तर त्यतिबेला मैले ग्रहन गर्न सकेको थिइन।आमा शब्दलाई नै मैले नजरअन्दाज गरेको थिएँ।तर अहिले त आमालाई शीरमा सजाएको थिएँ।हामी एक-अर्काका बारेमा चिन्ता गर्न थालेका थियौं।उहाँको आँखामा मेरो भविष्यप्रति गहिरो चिन्ताको भाव छल्किन थाल्यो।
"बाबु!यदि मैले अल्पायुमै स्वर्गारोहण गरें भने के गर्छौ?कसरी चल्छ तिम्रो बाँकी जीवन।कस्ती जीवनसाथी पाउँछौ होला।यदि तिमीलाई मैले जति या मैले भन्दा पनि बढी माया गर्ने बुहारी पाए त मेरो आत्माले शान्ति पाउँला।नत्र मेरो आत्मा तिम्रै वरिपरि भड्किरहनेछ बाबु।तिमीले दु:ख पाएको कसरी टुलुटुलु हेरिरहन सक्छु भन त?तिम्रो बाबाको हालत त्यस्तै हो,केही आश नगरे हुन्छ।"
"ह्या...आमा पनि।मेरो बारेमा केही पीर लिनुपर्दैन।म आफूलाई सम्हालिहाल्छु नि।तैपनि अझै धेरै बर्षसम्म तपाइँले साथ दिनुहुन्छ।चाँडै छोडेर जाने कुरा नगर्नुस्।के मेरो माया लाग्दैन?यदि लाग्छ भने टाढिने कुरा किन गर्नुहुन्छ?दैव त्यतिको निष्ठुरी होला जस्तो लाग्दैन मलाई।"
"यदि चाहेर हुनेभए त म तिमीलाई तिम्रो जीवनभरी साथ दिने थिएँ नि बाबु।नसिबमा जे लेखेको छ,त्यही हुन्छ।अब कति दिन नै बाँचुला र म?त्यसैले म जानु अगावै तिम्रो घरबार बसेको हेर्न चाहन्छु।यति भए मेरो सास पनि आरामले जाने थियो।"
"बल्ल त ५०औं बसन्तमा पाइला चालिरहनुभएको छ।अझै दुई दशक सम्म त पक्कै पनि आमाको स्नेह पाउनेमा ढुक्क छु।"
"नाइँ बाबु!त्यसो नभन।जिन्दगीको मैदानमा दौडिँदा म खुत्रुक्कै थाकिसकें।अब मलाई विश्राम लिनुछ।किन-किन मलाई यमदूतले समाचार भने झैं लाग्छ।यमराजले बोलाएझैं लाग्छ।सपना पनि गतिलो देख्दिन।"
"सपनाको के भरोसा आमा!के बिश्वास?मलाई एक्लो बनाएर जान पाउनुहुन्न।"
"त्यही भएर त शिल-स्वभावकी बुहारी भित्र्याएर जान लागेकी त।बरु बुहारी खोज बाबु।नत्र म आफैं खोजुँला।"
"बुहारी भित्र्याउँदैमा म खुशी हुन्छु भन्ने के ग्यारेन्टी छ र?रुप राम्रो हुँदैमा मन राम्रो नहुन पनि सक्छ।कसरी चिन्ने?कसरी चुन्ने?सजिलो छैन आमा।मलाई त बिहे गर्न मनै छैन।"
"त्यसो नभन बाबु,मान्छे भएर जन्मेपछि एकदिन एकजनासंग त बिहे गर्नैपर्छ।ढिलो र चाँडो भन्ने मात्र हो।कि सन्यासी हुनुपर्यो।नत्र जिन्दगीको कर्मबाट किन भाग्ने?"
"भागेको हैन आमा।म पापै पापको भकारी हुँ।फोहोरको डंगुर हुँ।मेरो पापको भारी अरु कसैलाई बोकाउन चाहन्न।सात जूनी ब्रम्हाचारी बसें भने बल्ल मुक्ति पाउँछु होला।"
"ब्रम्हाचारी बस्दैमा धर्म हुने र बिहे गर्दैमा पाप हुने भन्ने छ र?आफ्नो श्रीमतीको आवश्यकता तथा ईच्छा पूर्ति गरे र तनावमुक्त राखेर सम्बन्ध सुमधुर राखे दुबैको जीवन सहज अनि सुन्दर हुन्छ।आफ्नो कर्तव्य पूरा गरे बिहे स्वर्ग हो।मर्नु अगाडि मेरो अन्तिम ईच्छा पूरा गरिदेउ बाबु।मेरो यही बिन्ती छ।"
मैले उहाँको कुरा टार्नै सकिन।अन्ततः बिहेको बन्धनमा बाँधिने निर्णय गरें।तर भने जस्तो मन मिल्ने साथीको खाँचो थियो।बिहे भन्ने कुरा जबर्जस्तीले हुने कुरा पनि त हैन।हुनाको लागि त जस्तोसुकै भएपनि हुन्थ्यो।तर म नै कसैको लायकको छैन भन्ने लाग्यो।तैपनि आमाको अन्तिम ईच्छा पूरा गर्नु नै थियो।नत्र मलाई के खाँचो थियो र?दुईचार सालको अन्तरालमा दशवटी श्रीमतीबाट जीवनभरी प्राप्त हुने यौन सुख मैले पाइसकेको थिएँ।आमाको आज्ञा पालन गर्दै एउटी नारीको खोजीमा दिनरात लागें।खोजेको बेला कहाँ पाईंदोरहेछ र!सिंगै भारतभरी चहार्दा पनि भेट्टाउन सकिन।बरु कन्याको खोजीमा म आफैं हराएको थिएँ।मलाई कसले खोज्ने?अनवरतरुपमा हप्तादिनसम्म भौतारिएँ तर फेला पार्न सकिन।चिनजानका सबैसँग कुरा चलाएँ तर कसैले पत्याएनन्।पहिले पो म डन थिएँ र सबैले मान्थे।अब त कुकुर जत्तिको पनि गन्न छोडेका थिए।दुनियाँ केवल शक्तिको पुजारी न रहेछ।सबैले बलेकै आगो ताप्ने रहेछन्।म निभिसकेको आगोलाई कसले जोडजाड गरेर सल्काउने?पहिले आफूले प्रयोग गरिएका नारीहरु कसैले बिहे गरिसकेका रहेछन्।कसैले तीनचार वटा भन्टाङभुन्टुङ निकालिसकेका थिए।सायद मेरो लागि कोही बचेका थिएनन्।
        एकदिन बिहानको खाना खाएर बाहिर निस्कने क्रममा सौभाग्यबश मेरो नजर एउटी रुपसीसंग जुध्यो।सर्लक्क मिलेको जीउडाल।पातली पनि हैन,मोटी पनि हैन।गोरी हिउँ जस्ती।लामो र घना केशराशी।जुम्रा बनेर उनैको केशभित्र बास बसुँ झैं लाग्ने।बदामी नयन र त्यहाँ जमेका जोडा ताल।तालभित्र स्पष्ट आफ्नै प्रतिबिम्ब देख्न सकिने।लिपिस्टिकले सजिएका गुलाबी अधर,लाल-लाल गाला,लामा-लामा परेली,गाजलुले फेरो लाएका ढकनहरु।३६/२४/३६ को साइज।ती जुम्ल्याहा हिमालहरु!पुस्ट नितम्ब।सर्लक्क-सर्लक्क परेका हातखुट्टा।एकै नजरमा म उनको मायाजालमा फसें।उनलाई छोडेर अन्त मोड्न मनै लागेन।उनको पछि-पछि लागें।जाँदाजाँदै उनी एउटा स्कुलमा प्रबेश गरिन्।म त्यहाँ जान सकिन।उनकै प्रतिक्षामा दिनभरी स्कुल नजिकै बसिरहें।मुश्किलले स्कुल छुट्टी भयो।पुनः उनको पछि लागें।उनको घर पनि हामी बस्ने घरदेखि करीब ५०० मिटरको दूरीमा रहेछ।उनी घरमा छिरेपछि अलि परैबाट हेरिरहन्थें।कहिलेकाही उनी कौसीमा आउँथिन् र मलाई नै हेरेझैं गर्थिन्।साँझ झमक्क परेपछि बल्ल घर फर्किन्थें।उनलाई पछ्याउने प्रकृया हप्तादिनसम्म चलिरह्यो।एकदिन मैले नजिकको छिमेकीसंग कौतुहल मेटें।
"दाइ त्यो घरमा को-को बस्छन्?अनि स्कुल पढाउने मिसको नाम के रहेछ?"
"त्यो घर सिक्किसको मन्त्रीको घर हो भाइ।सायद तिमी मन्त्रीकी छोरीको बारेमा सोध्दैछौ।उनको नाम सीमा हो।साह्रै शिल-स्वभावकी छे।बिहे भएको छैन।"
मलाई त्यति जानकारी काफी थियो।एकदिन मैले टाढैबाट उनलाई बोलाएँ।
"सीमा!सीमा!!"
भेटघाट भयो।
"धेरै दिनदेखि मेरो पिछा गर्दै थियौ तिमी।किन के काम छ?"
"सीमा म तिमीलाई मन पराउँछु।"
"धन्यवाद।तर ठूलो सपना नदेख्नु।मन पराउनु र माया गर्नुमा फरक छ।"
"म तिमीलाई माया पनि गर्छु र तिम्रो हात सधैंको लागि थाम्न पनि चाहन्छु।"
"मलाई तिम्रो बारेमा बुझ्नुछ।बानी-व्यवहार जान्नुछ।त्यतिकै हुन्छ भन्न सक्दिन।"
"ठिकै छ,केही दिनको समय लेउ।हतार छैन।"
उनको पिछा गर्न छोडिन।एकदिन उनले हरियो सिग्नल दिई।म मख्ख भएँ।तर शतप्रतिशत ग्यारेन्टी भने थिएन।उनले भनेकी थिइन्-
"ठिकै छ म राजी छु।तर मेरो एउटा शर्त छ।"
एकछिन त म अलमल्ल परें।निकैबेर घोत्लिएँ र जवाफ दिएँ।
"हुन्छ म कस्तो शर्त हो।"
"मेरो हात माग्न घरमा आउनुपर्छ।प्रेमविवाह मलाई पनि मनपर्छ तर बाबा-आमाको चाहनालाई मार्न पनि सक्दिन।उहाँहरुलाई मनाउने जिम्मा मेरो भयो।"
मैले पनि सोचेर हुन्छ भन्दिएँ।म निकै पुलकित र उत्साहित थिएँ।उनले म जस्तो मान्छेलाई आफ्नो जीवनसाथीको रुपमा लायक सम्झेकोमा मेरो खुशीको कुनै हद नै थिएन।भारतभरी खोज्दा भेटेको थिईन।घरकै नजिक पाएर को खुशी नहोला।मनको रंगमञ्चमा नृत्य गर्दै-गर्दै म घर गएँ र आमालाई शुभ समाचार सुनाएँ।आमा झन म भन्दा खुशी हुनुभयो।मैले सीमाको फोटो देखाएँ।
"बाबु!तिमी धेरै भाग्यमानी रहेछौ।यस्ती पढेलेखेकी र सुन्दर केटी जोकोहीको भाग्यमा हुन्न।मलाई बुहारी मन पर्यो।"
आमाको सकारात्मक प्रतिकृया सुनेर म भावविभोर हुँदै अंगालोमा बाँधिएँ।
"तर आमा,एउटा समस्या छ।"
"के समस्या बाबु?भन मैले सुल्झाउन सक्छु कि!"
"सीमाको हात माग्न उनको बाबा-आमाको घर जानुपर्ने रे।"
"यति जाबो समस्या?यो त कुनै समस्या नै हैन।झन खुशीको कुरा हो।भोलि नै गएर हामी उनको हात मागौंला।"
"धन्यवाद आमा!धेरै धेरै धन्यवाद!"
यति भन्दै उहाँको गालामा हजारौंपल्ट चुमिरहें।मेरो पागलपन देखेर उहाँ आश्चर्यचकित हुनुभयो।त्यो रात म भोलिकै प्रतिक्षामा जागाराम बसें।सुत्ने चेष्टा गरेपनि सकिन।काल्पनिक छालहरुले मनको बगर भिजाइरहे।मीठा-मीठा आशाहरुले मलाई खुशी बनाइरहे।नभन्दै हिजोको भोलि आजमा परिणत भयो।सुटबुट लाएर पहिले आमाको चरणमा नतमस्तक भएँ।कारण-मेरो भगवान या देवी जे भनेपनि आमा नै हुनुहुन्थ्यो।आमाको आशीर्वाद ग्रहन गरेपछि हामी सीमाको घरतिर प्रस्थान गर्यौं।शुरुमा त मन्त्रीको घरमा घुस्न अलि अप्ठ्यारो लाग्यो।तर सीमा हाम्रै बाटो हेरेर बसेकी रहिछ।हामी पुग्नासाथ उनले आमालाई ढोग गरिन्।हामी उनकै पछि लाग्यौं।उनका बाबा-आमा पनि तम्तयारमै थिए।सायद सीमाले सबै कुराको जानकारी गराइसकेकी थिइन्।सामान्य औपचारिकता पछि बसेर गफिन थाल्यौं।कुराको चुरोमा पुग्न हम्मेहम्मे भैरहेको थियो।मैले नै शुरु गरें।
"बाबा!सीमा र म एक-अर्कालाई मनपराउँछौं।त्यसैले यहाँ आएका।"
"तिमी के गर्छौ?पढाई कति छ?तिमीहरुको चिनजान कति लामो हो?मेरी छोरी सानैदेखि सुखमा हुर्केकी हुन्।उनैको जिद्दीले मात्र स्कुलमा जागिर खान्छे।नत्र काम गर्नुपर्ने आवश्यकता नै थिएन।"
"मेरो छोरा पनि ज्ञानी र शिक्षित छ।बुहारीलाई सुखमा राख्न सक्छ।म पनि उनलाई बुहारी हैन छोरी बनाएर राख्छु।"
मेरी आमाको कुराले उनका बाबा-आमा निकै खुशी भए।
"हजुर बाबा,आमा!म सीमालाई सकेको खुशी र सुख दिने भरपूर कोसिस गर्छु।उनले कुनै दु:ख गर्नुपर्दैन।हालसालै मेरो कुनै पेशा त छैन तर एक पुस्तालाई पुग्ने सम्पत्ति त कमाइसकेको छु।"
"त्यो त ठिकै छ तर सम्धी चाहिँ कहाँ हुनुहुन्छ?"
"उहाँ बित्नुभएको त धेरै साल भैसक्यो।"
आमाले एउटा झूट बोल्नुभयो।यदि छोराको घरजम बस्छ भने किन झूट नबोल्ने भन्ने सोचाइ मनमा आएरै होला।उहाँहरुले पनि हामीप्रति सहानुभूतिको भाव प्रकट गर्नुभयो।
"अनि निमा बाबुको आमालाई मैले पहिले पनि कतै देखेझैं लाग्छ।कता...पो देखेको थिएँ...।"
सीमाको बाबा केही कुरा सम्झन खोज्दै हुनुहुन्थ्यो।घोत्लिँदै हुनुहुन्थ्यो।तर झट्टै याद नआए जस्तो पनि गर्नुहुन्थ्यो।यता आमाको मुहारको रंग पनि परिवर्तन हुँदै थियो।आमा पनि सोचमग्न हुनुभयो।मैले केही बुझिरहेको थिइन।हामी सबै असामन्जसमा फस्यौं।
"पक्का मैले सम्धिनीलाई कतै देखेको थिएँ।"
"छोडिदिउँ अंकल।जहाँ देखेपनि राम्रै भो नि।चिनजानको परे झन सुनमा सुगन्ध।बरु बिहेको कुरा छिन्न पाए सजिलो हुन्थ्यो कि।चिनजानै नभएको भए पनि आजदेखि हामी नजिकको हुने भयौं।यही कुरामा म आज बहुत खुसी छु।"
तर उहाँहरु अझै त्यो प्रसंगबाट बाहिरिनु भएन।अझै त्यही आगोमा घिउ थप्नुभयो।प्रसंगको आगो ह्वार्ह्वार्ती बल्ने संकेत पो देखियो।
"छोड्नुस् आमा!अंकल!हाम्रो खास कुरामा जोड दिउँ न।बिहे कुन महिनामा राखौं?पण्डितलाई चिनो पनि त हेराउनुछ।लगन जुर्ने हो-होइन।यतातिर जोड दिउँ न बरु।"
"के हतार छ र निमा?रहस्योद्घाटन होला भनेर कुरालाई निम्ट्याउन खोजेको?"
"कस्तो रहस्य अंकल?मैले त केही बुझिन।के भन्न खोज्नुभएको?"
"अहिले मलाई अलिअलि याद आयो।सायद सम्धिनी र मेरो भेट दिल्लीमा भएको हो कि!"
बैज्ञानिकले केही नयाँ तथ्य पत्ता लगाएपछि खुशी भएझैं प्रफुल्लित मुद्रामा बोल्नुभयो।यता आमाको हालत पनि खराब हुँदै थियो।मेरो मनमा पनि अनेकानेक शंका-उपशंकाहरु जन्मिन थाले।
"हैन होला सम्धीज्यु।सायद तपाईं झुक्किनुभएको होला।"
केही कम्पनयुक्त स्वरमा आमाले भन्नुभयो।
"किन नहुनु।बल्ल ठ्याक्कै सम्झें।तपाईंको नाम शर्मिला हैन?म कहाँ भुल्न सक्छु र!"
अंकलको कुराले आमा स्तब्ध हुनुभयो।उहाँले अंकलको मुखमा सम्म हेर्ने सक्नुभएन।लाज-शरमले शीर निहुरिएको थियो।
"हैन,को शर्मिला?नचाहिने कुरा नगर्नुस् अंकल।मेरी आमाको नाम शर्मिला हुँदै हैन।"
मेरो आवाजको आयतन ठूलो भयो।
"किन हैन?तिम्रै आमालाई सोध,हो कि हैन।अब हामी सम्बन्धमा गाँसिन कुनै हालतमा सक्दैनौं।"
"के भन्न खोज्नुभएको अंकल?"
"यस्ती बेश्याको परिवारमा हामी जस्तो सरिफ मान्छेको सम्बन्ध गाँसिन सम्भव छैन।मैले यिनलाई दिल्लीको कोठीमा देखेको थिएँ।"
"देख्नुभएको थियो या भेट्नुभएको थियो?हो हो हो,मेरो नाम शर्मिला थियो त्यहाँ।म एउटी बेश्या थिएँ।तर तपाईं चाहिँ किन आउनुभएको थियो बेश्यासंग शारीरिक सम्बन्ध राख्नलाई?म त बाध्यताले फसेको थिएँ।फसाइएको थियो।तर तपाईंलाई कसले फसायो?म चाहिँ बेश्या अनि बेश्यासंग रात बिताउने पुरुष चाहिँ सज्जन?रन्डा हुनुहुन्छ तपाईं पनि।के चरित्रको भाषण दिनुहुन्छ?ठूलो कुरा गर्नुहुन्छ?के एउटी नारी पुरुषहरूको संलग्नता बिना बेश्या हुन्छे?"
"जाऔं आमा!तपाईं मेरो लागि महान हुनुहुन्छ।यस्ता मान्छेको अपमान के सहेर बस्नु?मलाई बिहे गर्नु छैन।सीमालाई खुल्ला दिलले माया गर्थें।तर आजदेखि हामीबीच कुनै सम्बन्ध हुने छैन।मन्त्रीसाहब!तपाईं नै सज्जन पर्नुभयो।हाम्रो कुनै मूल्य छैन यो समाजमा।"
म कड्किंदै आमालाई हातमा समाएर डोर्याउन थालें।सीमाको बाबा भने शीर हल्लाएर तुरुन्तै बाहिर निस्क भन्ने संकेत गर्दै थियो।
"निमा!म तिमी बिना बाँच्न सक्दिन।छोडेर जाने भए किन माया लायौ?किन मलाई माया गर्न बाध्य पार्यौ?नजाउ न निमा।जाने भए मलाई पनि संगै लिएर जाउ।तिमी एक्लै जान पाउँदिनौ।"
सीमा भने हात जोडेर बिन्ती गर्दै थिइन्।हामी सरासर बाहिरिन थाल्यौं।
"मलाई माफ गर सीमा।यो जूनीमा त म तिम्रो हुन सक्दिन।सके अर्को जूनीमा भेटौंला।"
उनको आँखाबाट आँशुको बाढी आउँदै थियो,जुन बाढीले मेरो मनलाई डुबानमा पार्यो।हाम्रो सपनाको सुन्दर संसारलाई डुबायो।हेर्दाहेर्दै हामी सीमाको घर बाहिर पुग्यौं।सीमा भने त्यतिखेर कौसीमा निस्किसकेकी थिइन्।उनको अनुहारमा एकप्रकारको हार थियो।उनको हार हुँदा कसले जित्यो थाहा भएन।
         घरमा पुगेपछि आमा भक्कानो फुटाएर रुनुभयो।आमाको बिलौना देखेर म पनि नरोइ बस्नै सकिन।आमाछोरा मिलेर खुब रोयौं।
"बाबु!मेरो कारणले सीमा तिम्रो हुन सकिन।तिम्रो बिहे स्थगित भयो।अनिश्चित भयो।म अलाछिनी आमा हुँ बाबु!"
"यसमा तपाईंको के दोष आमा?सब बाबाको कारणले भएको हो।म बाबालाई छोड्दिन।सखाप पार्छु।बर्बाद पार्छु।"
"अब मैले बाँचेर के गर्नु बाबु!बाँच्नुको औचित्य नै समाप्त भएपछि कुन मुख लिएर बाँच्ने?"
"आमा!त्यसो नभन्नुस्।तपाईंले के बिराउनुभएको छ र?यस्तो कमजोर हुने कुरा गर्दै नगर्नुस्।"
"म बिना तिम्रो हालत कस्तो होला बाबु?यदि मैले संसार छोडें भने हतोत्साहित नहुनु।शोकलाई शक्तिमा बदल्नु।अर्की एकजना खोजेर बिहे गर्नु।एउटा ढोका बन्द भएर के भो अरु धेरै ढोकाहरु खुल्ला छन् तिम्रो लागि।"
यति भनेर सानो बालकलाई जस्तै शीरमा सुम्सुम्याएर माया गर्नुभयो।मेरो शीर आफ्नो छातीमा टँसाएर बात्सल्यको प्रदर्शन गर्नुभयो।ममता र स्नेहको परिभाषा दिनुभयो।धेरैबेरसम्म हामी त्यस्तै मुद्रामा बसिरह्यौं।न भोक थियो न निद्रा।त्यहाँ थियो त केवल चिन्ता।बिरक्तता।उराठलाग्दो वातावरण।निरासा।
"रात छिपिसक्यो आमा!अब सुतौं।"
"ल ल बाबु!भोलि उठेर धेरै टाढा जानुछ।सुतौं।"
त्यति भनेर उहाँले मेरो निधारमा १५/२० पल्ट चुम्नुभयो र आफ्नो बेडमा जानुभयो।म आफ्नो बेडमा सुतें।तैपनि निद्रा दूर-दूरबाट पनि आएन।छट्पटी बढ्यो।सीमाकै यादको ज्वारभाटा आइरह्यो।त्यो रात मलाई सुत्नु पनि थिएन।उज्यालो हुनेबित्तिकै सीमालाई भेट्नु थियो।उनलाई भगाएर लैजाने मनासय बनाएँ।अविभावकको कारण म उनलाई गुमाउन चाहन्नथें।तर थाहै नपाई उज्यालो हुनै लाग्दा पो झ्याप्पै आँखा लागेछ।आँखा खुल्दा छ्याङ्गै उज्यालो भैसकेको रहेछ।घरमा पनि पहिलेको जस्तो चहलपहल थिएन।सन्नाटा छाएको थियो।सरासर आमाको कोठामा गएँ।त्यहाँको दृश्य देखेर म मुर्छा परें।सिलिङको फ्यानबाट आमा तुर्लुङ्ग झुन्डिएको अवस्थामा हुनुहुन्थ्यो।हतास भएर उहाँको पाउमा स्पर्श गरें।पाउ सेलाइसकेका थिए।आमाले संसारबाट विदा लिइसक्नुभएको थियो।
"आमा!.........आमा......आमा..."
चिच्याएँ,बोलाएँ।तर आमा उठ्नु भएन।सधैंको लागि सुत्नुभएको थियो।तर अझै मलाई विश्वासै लागिरहेको थिएन।बोलाएर कुरा गर्ने क्रम रोकिएकै थिएन।
"आमा!तपाईं यति कायर हुन सक्नुहुन्न?मलाई कायर हुनुहुन्न भनेर सम्झाउनु हुन्थ्यो।हिम्मत बढाउनु हुन्थ्यो।उपदेश दिनुहुन्थ्यो।तर आज आफैं किन कायर हुनुभयो आमा?किन?अब मलाई कसले उपदेश दिनुहुन्छ?मलाई एक्लै किन छोडेर जानुभयो?अब यो संसारमा मेरो भन्नु को छ?भन्नुस् आमा।"
धेरैबेरसम्म बोलाउँदा पनि आमाले सुन्नुभएन।मैले हारें।कसले जित्यो थाहा भएन।सायद सीमाको बाबाले जित्नुभयो।यहाँ हार्ने भनेकै नारीले त रहेछ नि।बेश्या र चरित्रहीन हुने पनि नारी नै।पुरुष त जेसुकै गरेपनि सज्जन र चोखा नै हुन्छन्।प्रहरीलाई खबर गरें।पोस्ट मार्टम भयो।आत्माहत्या नभएर हत्या देखाउनै सकेनन् डाक्टरले।मलाई मात्र थाहा थियो-हत्यारा दुई जना थिए।एक-बाबा।दुई-सीमाको बाबा।दुई जना बाबा मिलेर हत्या गरेका थिए मेरी आमालाई।बाबाको हत्या कसले गर्न सक्ने?चरित्रवानहरुको हत्या कसले गर्ने?
          मुश्किलले ८/९ जना मलामी जम्मा भए।हत्यारा बाबालाई आमाको मृत्युबारे केही थाहा थिएन।मैले खबरै गरिन।संयोग यस्तो भैदियो कि घाट जाने बाटोमा अर्को एकजनाको शब पनि लैजाँदै थिए।फरक यति थियो-त्यो शबको मलामी अलि धेरै थिए।आफ्नो आमाको वास्ता गर्न छोडेर त्यतातिर वास्ता गर्ने कुरै भएन।घाटमा पुगेर मलामीहरुले दाउरा मिलाए।अर्को शब पनि करीब सय मिटरको दूरीमा जलाउने तयारी हुँदै थियो।मैले आमालाई दागबत्ती दिएँ।आफूलाई सम्हाल्न सकिरहेको थिइन।शब दनदनी जल्न थाल्यो।कता कता एउटा अनौठो शब्द सुनें-
"सीमा!सीमा!सीमा!"
सीमा भन्ने आवाजले मेरो ध्यान त्यतैतिर खिच्यो।एकजना पुरुषलाई देखेर म खुत्रुक्कै भएँ।त्यो पुरुष अरु कोही नभएर सीमाको बाबा थियो।कौतुहलता बढ्यो।सीमा!भनेर चिच्याउने पुरुष उनै थियो।टाढा भएपनि पाउ देखेर थाहा भयो-त्यो शब कुनै नारीको थियो।यता आमा आगोसित संघर्षरत हुनुहुन्थ्यो।त्यहाँ एकछिन नबसेर केही हुन्थेन।बाँकी कार्यभार मलामीकै थियो।नजिकै भएकोले त्यो नारीको शब जलाउने स्थानतिर गएँ।जाने थिइन तर सीमाको बाबालाई देखेर जान मन लाग्यो।जब नजिक पुगें,मलाई अर्को झट्का लाग्यो।त्यो शब अरु कसैको नभएर मेरी सीमाकै थियो।
"सीमा!सीमा!मलाई छोडेर जान पाउँदिनौ।किन यस्तो निर्णय लियौ सीमा?म कहाँ जाने?कसलाई माया गर्ने?"
बेहोसीमा उनको शबमाथि नै घोप्टिएछु।मलामीले हटाए।उनको बाबा मलाई हेरेर अवाक थियो।उसको मुहारमा पश्चाताप थियो।तर फाइदा हुनेवाला केही थिएन।हेर्दाहेर्दै सीमाको शबलाई पनि दागबत्ती दिए।धर्तीमा पारिलो घाम लागेको थियो।दुई नारीहरु जल्दै गए।जल्दै गए।मौसमले पनि साथ दियो।आकाश धुवाँले धुमिल हुँदै गयो।पालैपालो दुबै सकिए।परिस्थितीले फरक मोड लिएको भए सायद उनीहरु सासू-बुहारी हुने थिए।तर त्यो सम्बन्ध दैवलाई स्वीकार्य थिएन।एकैदिन र एकैचोटी मलाई माया गर्ने नारीहरु संसारबाट विदा भए।यो भन्दा हृदयबिदारक क्षण के होला?भन्नुस् त पाठकबृन्द!अब मैले के गर्ने?आमाको उपदेशको पालन गर्ने कि मनको?उपदेश पालन गर्ने भए म जेनतेन जीवित रहन्थें।मनको आदेश पालन गर्ने भए आमा र सीमा संग भेट्न पाउने थिएँ-अर्को संसारमा गएर।तत्कालै मैले निर्णय लिन सकिन।आफूलाई उपरवालाको जिम्मामा छोडें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...