कुनै पनि डर हुन्न रक्सी पिए पछि
जिन्दगीको भर हुन्न रक्सी पिए पछि।
बर्बराई ओकालिन्छ मनका सारा कुरा
बाकी केही कसर हुन्न रक्सी पिए पछि।
बन,पाखा,खोला,नाला जहाँ पनि सुत्छ
आफ्नो न्यानो घर हुन्न रक्सी पिए पछि।
सही के हो,गलत के हो,छुट्ट्याउन गार्हो
सत्य,तथ्य ठहर हुन्न रक्सी पिए पछि।
तिरिमिरी झ्याई हुन्छ,धर्ती घुम्न थाल्छ
चिन्ने कुनै अक्षर हुन्न रक्सी पिए पछि।
No comments:
Post a Comment